Tuesday, March 12, 2013

नोटबुक: फागुन २०६९

प्रबल प्रशंग 

न्यूयोर्क  फेसन नगरीदेखि बलिउडसम्म नेपाली फेसन डिजाइनर प्रबल गुरुङको लोभलाग्दो क्रेज छ। अझ केही साताअघि उनको नयाँ कलेक्सन सार्वजनिक गर्दा त्यसबारेको ह्यासट्याग प्रबलफरटार्गेट त सामाजिक सञ्जाल ट्वीटरको विश्वव्यापी ट्रेन्डमै पर्‍यो। यसले संसारभर उनको फैलँदो आकर्षण झल्काउँछ पनि। 

उनैबारे नेपालले आवरण सामग्री बनाउँदाको प्रसंग हो। पत्रकार दीपक अधिकारी र मैले उनीसँग विभिन्न चरणमा कुराकानी मात्र गरेनौँ, उनको प्राथमिक तह पढ्दादेखि अहिलेको उचाइ चुम्दासम्मका उतारचढावको लामै फेहरस्ति तयार पार्‍यौँ। अर्थात्, त्यो सामग्री उनीबारे हालसम्म गरिएको सबैभन्दा विस्तृत कभरेज थियो, पाठकले उनीबारे सांगोपांगो जानकारी पाए। साधारण तहबाट उठेको नेपालीको त्यो सफलताको कथा धेरैले रुचाए। एक हितैषीले त यतिसम्म भन्न भ्याए, "होइन, लुगा सिलाएकै वा त्यसमा डिजाइन भरेकै भरमा पनि त्यस्तो हुँदो रहेछ है!" स्टोरीमै धेरै लेखिसकेकाले मैले उनलाई थप बुझाउन आवश्यक ठानिनँ। मात्र भारतीय लेखक शिव खेडाको एउटा भनाइ सुनाएँ, 'विजेता कुनै फरक काम गर्दैनन्, उनको काम गर्ने शैली मात्र फरक हुन्छ।'


डक्टर मार्टिन ब्लुज 

सार्वजनिक गाडीमा हिँड्नु आर्थिक हैसियतको कुरा मात्र होइन, रहर पनि हुन्छ धेरैको। म त्यस्तै एउटा हुँ। प्रसंगचाहिँ सार्वजनिक गाडीको नभई बेलायतबाट एक आफन्तले ल्याइदिएको डक्टर मार्टिन ब्रान्ड जुत्ताको हो। जुत्ता पाएपछि मलाई दिनभर डुलिरहने काम मात्र होस् भन्ने लाग्यो। कारण, त्यो आरामदायी बुटमा हिँड्नुको सान नै बेग्लै थियो। तर, त्यसले मलाई पीडाबोध पनि गरायो। केही महिनाअघिसम्म म कीर्तिपुरमा बस्थेँ। साँझपख जब कलेज/अफिस सकेर घर जानुपथ्र्यो, मानिसको चापले माइक्रोबसमा झुन्डिन पाउनु नै ठूलो भाग्यजस्तो हुन्थ्यो। त्यसरी त पहिले पनि झुन्डिरहेकै हो। तर, डक्टर मार्टिनसँग झुन्डिँदा भने ब्रान्डकै खिल्ली उडाएजस्तो भयो। 


कामका सिलसिलामा हालैको एक बिहान चाबहिल पुगेर नयाँबानेश्वर र्फकंदै थिएँ। बसमा यस्तो भीड थियो कि चाहेर पनि बाहिर निस्कन नसक्ने भएँ। एउटा जुत्ता माइक्रोबसमा र एउटा हावामा झुन्डिनुसम्म त ठीकै थियो। त्यस दिन मानिसहरूले यति नमज्जाले मेरो डक्टर मार्टिन कुल्चिँदै ओहोरदोहोर गरे कि म रुन मात्र सकिनँ। लाग्यो, देशै अस्तव्यस्त भएपछि आफूसँग राम्रो चीज हुनुको पनि अर्थ रहेनछ।

पीटीआई काइदा

पत्रकारका सुख-दुःखका फेहरसित बनाउने हो भने दुःख नै बढी निस्केलान्। जस्तो : रिपोर्टिङ्का क्रममा कसैले समय नै दिँदैनन्, कोही चाहिएको कुरा बोल्दैनन् त कोही भएको र दिन मिल्ने सूचना पनि दिँदैनन्। आखिर पद्धति खराब भएपछि मान्छेमै भर पर्नुपर्ने बाध्यता पनि त छ।


झन्डै एक वर्षअघि एक वृत्तचित्र बनाउने क्रममा स्याङ्जा पुग्दा एउटा नयाँ जुक्ति निस्कियो, पीटीआई अर्थात् पर्सनल टच इन्टरभ्युको। मुख्य उद्देश्य वृत्तचित्र नै भए तापनि हामीले त्यहाँबाट पत्रिकाका लागि पनि केही रिपोर्ट तयार गरेका थियौँ। हामीलाई त्यहाँका मानिससँग भेट्न काठमाडौँमा रहेका दीपक पाण्डेले सघाए। हरेकलाई भेट्नुअघि उनी ती व्यक्तिको संक्षिप्त व्यक्तिगत विवरण भन्थे। अनि, हामी उनकै सूचनाका आधारमा मात्र हाम्रा कुरा सुरु गथ्र्यौं। आफूबारे जानकार रहेको थाहा पाउँदा उनीहरू यति खुसी हुन्थे कि चाहिएभन्दा बढ्तै सहयोग गरे। हामीले सकीनसकी नाता जोड्ने प्रयास गर्‍यौँ। स्याङ्जामा त्यो फर्मुलाको सफल अभ्यासपछि अचेल म सकेसम्म सब्जेक्टसँग भेट्नुअघि टाढाकै भए पनि मामा, अंकल, दाइ, दिज्यूजस्ता नाता लगाउन खोज्छु। आखिर पीटीआई काइदाले जो सिकाएको छ। 



No comments:

Post a Comment