Sunday, May 26, 2013

बबाल बौद्ध


उपत्यकाको उत्तरपूर्वमा रहेको आध्यात्मिक एवं पर्यटकीय स्थान बौद्धमा चिया पिउनका लागि 'बिग पट' नामको मौलिक भाँडो पाइन्छ। एक लिटरभन्दा बढी अटाउने यो भाँडो लामो समय एकै स्थानमा बस्दै चिया थपीथपी पिउँदै गफिने उद्देश्यका साथ बनाइएको हो। तर, बौद्धको यही 'बिग पट' लम्बेतान र रमाइला कुराकानीको मात्र नभई कतिपय गैरकानुनी 'डिजाइन'को समेत साक्षी बन्ने गर्छ। 

अन्तर्राष्ट्रिय चलखेल, वैदेशिक तस्करी र 'फ्रि तिब्बत' आन्दोलनजस्ता थुप्रै स्वार्थमा बौद्ध कतै न कतै जोडिएकै हुन्छ। बौद्ध क्षेत्र पुग्ने जोकोहीका लागि त्यहाँ चारै प्रहर गुन्जिरहने बौद्ध मन्त्रले शान्ति क्षेत्रमा पुगेको आभास त दिन्छ तर यो क्षेत्रको अन्तरमा रहेको फरक पाटोबारे सुइँको मिल्दैन। झन्डै पाँच दशकअघिसम्म बौद्धमा बेग्लै खाले स्थानीयता थियो। बौद्धवासी मुद्दा-मामिलाका सरकारी प्रक्रिया पूर्णतया नकार्थे। परम्परागत स्थानीय कानुनका भरमा सबै मुद्दा-मामिला छिनोफानो हुन्थे। बौद्धवासी आफ्नो क्षेत्र लागेपछि कति बलिया हुन्थे भने साँझ परेपछि काठमाडौँतिरबाट ट्याक्सीहरूसमेत त्यस क्षेत्रमा छिर्न डराउँथे। 


बौद्धमा बसोवास गर्दै आइरहेका जापानका लागि पूर्वराजदूत गणेश योञ्जनका अनुसार बौद्धका बौद्धमार्गी लामा समुदायले आफैँ दण्ड, सजाय र पुरस्कारको व्यवस्था गरेको थियो। "कर्तव्य ज्यानका मुद्दासमेत प्रहरी, प्रशासन र अड्डा-अदालतमा पुग्दैनथे," योञ्जन सुनाउँछन्, "काठको हतकडी थियो, दोषीलाई सजाय दिनका लागि। गम्भीर अपराध गर्नेलाई यही हतकडी लगाइदिने गरिन्थ्यो ।" भगवान् शाक्यमुनि बुद्धको जन्म भएको केही वर्षपछि निर्माण भएको स्तूप बौद्धको सबैभन्दा सुन्दरतम् आकर्षण हो। यो संसारकै सबैभन्दा ठूलो छ्योर्तेन पनि हो। एक हजार बुद्ध र स्वर्गका देवताहरू लामाका रूपमा आएको विश्वासका कारण बौद्ध धर्मावलम्बीको मुख्य धाम बनेको हो, बौद्ध। 


विसं १८औँ शताब्दीको अन्त्यतिर चीन सरकारले विशेष लामाको नियुक्ति गरी बौद्ध स्तूपाको रेखदेख, पूजापाठ र सुरक्षाको व्यवस्था गर्न लगाएको थियो। त्यही बेलादेखि बौद्ध र चीनको साइनो प्रगाढ बन्दै आएको छ। झन्, सन् १९५९ को तिब्बत विद्रोहसँगै नेपाल छिरेका तिब्बती शरणार्थीको एउटा ठूलो समूह बौद्धमा 'खम्पा क्याम्प' बनाएर बस्यो। नेपाली हिमाली जनजाति समुदायको बसोवास भएको यो क्षेत्रमा तिब्बती प्रभाव पनि मिसियो। व्यापारका अवसर बढे। बाहिरबाट हेर्दा तिब्बती शरणार्थीहरू घरेलु गलैँचा उद्योगमा मात्र संलग्न देखिए तापनि चीनको तिब्बतसँग जोडिने तस्करी र अन्य व्यापार-व्यवसाय उनीहरूले नै सुरु गरेको स्थानीयको भनाइ छ। तिनका अनुसार खम्पा क्याम्पमा बस्ने थुप्रैसँग नेपाली नागरकितासमेत छ। "थुप्रैले आफ्नो चालचलन र भाषा मिल्ने हिमाली जिल्लामा गएर नागरकिता बनाएका छन्," नेपाली कांग्रेस जोरपाटी एकाइ सभापति लालबहादुर लामा भन्छन्, "यहाँका ठूल्ठूला व्यवसाय उनीहरूकै छन्।" यतिसम्म कि, अहिले बौद्ध क्षेत्रमा व्यापार गर्ने मारवाडीहरूसमेत व्यवसाय गर्नुअघि तिब्बती भाषा सिक्छन्। पि|m तिब्बत पक्षधरको आन्दोलन हुँदा पनि प्रदर्शनकारीहरू बौद्ध वरपरै भेला हुन्छन्। तर, तिनका योजना कहाँ बन्छन् र ती कहाँबाट आउँछन् भन्ने खास स्थानीयले पत्तो पाउँदैनन्।

'कनेक्सन’ तस्करी 


२ जेठमा महानगरीय प्रहरी परसिर काठमाडौँबाट खटिएको विशेष टोलीले बौद्ध सुन्दरबस्तीमा १६ किलो सुनसहित पाँच जनालाई पक्राउ गर्‍यो। तिब्बतबाट तस्करी गरेर ल्याइएको सुन तस्करले अर्का व्यक्तिलाई हस्तान्तरण गर्न लागेको थाहा पाएर प्रहरीले पछ्याइरहेको थियो। बौद्ध-जोरपाटी क्षेत्रमा सक्रिय तस्करहरूबीच सुनको रकम लेनदेनमा कुरा नमिल्दा कसैले यसबारे प्रहरीलाई सूचना दिएको थियो। प्रहरी स्रोतका अनुसार प्रहरीले थाहै नपाउने गरेर बौद्ध क्षेत्रमा तस्करी भइरहेको छ। 


पछिल्लो समय चिनियाँ अवैध कारोबारको प्रमुख ट्रान्जिट बनेको छ, बौद्ध। सामान्य चोरीका घटनादेखि गम्भीर अपराध र तस्करीमा बौद्ध क्षेत्र अगाडि रहेको पुष्टि गर्छ, महानगरीय प्रहरी परसिर काठमाडौँले ३१ वैशाखदेखि थालेको एकहप्ते चोरी नियन्त्रण अभियानले। उक्त अभियानका बेला बौद्धबाट सबैभन्दा बढी नौ जना पक्राउ परेका थिए। नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा निर्धारण गरेदेखि तिब्बतबाट नेपालतिर सुन तस्करी मौलाइरहेको छ। तस्करी सुनमा मात्र सीमित छैन। रक्तचन्दन तस्करीमा पनि बौद्ध क्षेत्र मुछिएकै छ। २९ पुसमा बौद्धबाट १ सय १७ किलो रक्तचन्द बरामद भएको थियो। खासा पुर्‍याउन ठिक्क पारएिको रक्तचन्दन भएको सोही गाडीको इन्धन ट्यांकीमा लुकाइएको हात्तीको दाह्राका मालासमेत भेटिएको थियो। बौद्ध क्षेत्र वन्यजन्तुका अंग र प्राचीन बुद्धका मूर्तिका तस्करीका लागि कुख्यात ठाउँ हो। जानकारहरूका अनुभवमा अवैध वन्यजन्तुका अंग र त्यसबाट बन्ने प्राचीन चिनियाँ औषधीहरूको केन्द्र ओसारपसारको 'कनेक्सन' बौद्धसम्म छ। यस्ता औषधीहरू गिरोहले ल्हासासम्म पुर्‍याउँछ। 


माला बनाउन प्रयोग हुने कतिपय सामग्री नेपालमा प्रतिबन्धित छन् तर यिनको खरदिबिक्री बौद्धमा सहज रूपमै भइरहेको छ। बौद्धमार्गीका धार्मिक आस्थासँग जोडिएका त्यस्ता सामग्रीबारे के गर्ने भन्ने अन्योल प्रहरीमा पनि छ। बौद्ध वृत्तका प्रहरी नायब उपरीक्षक मनोज केसी भन्छन्, "पूर्ण नियन्त्रण गर्दा धार्मिक आस्थामा आँच पुग्ला कि भन्ने चिन्ता हुन्छ तर बिक्री-वितरण खुकुलो गर्दा त्यसैका आडमा तस्करी बढिरहेको हुन्छ।" बौद्ध क्षेत्रमा पुरातात्त्विक महत्त्वका प्राचीन मात्र होइनन्, पछिल्लो समय बनेका बुद्धका मूर्ति पनि प्रशस्तै पाइन्छन्। तर, त्यसैको फाइदा उठाएर मूर्तिसँगै अन्य तस्करी बढाउनेको संख्यासमेत कम छैन यहाँ। गत पुसमा प्राचीन बुद्धको मूर्ति र वन्यजन्तुका अंग तिब्बती मूलका नेपाली लोडु डिमेको घरबाटै बरामद गरिएको थियो। प्रहरीले छापा मार्दा बुद्धका मूर्ति, हात्तीका दाँतबाट बनेका सामग्री र विदेशी मुद्रा भेटेको थियो।


डिमेकी श्रीमती डिकी छिरङिले ती सामान आफ्नै भएको बयान दिए पनि उनी धरौटीमा रहिा भइसकेकी छन्। प्रहरीका अनुसार लोडु र डिमे दुवै तिब्बती भए पनि नेपाली नागरकिता लिइसकेका छन्। बौद्ध कतिसम्म संगठित तस्करीको केन्द्र बनेको छ भन्ने बुझ्न यही घटना पर्याप्त छ। एक प्रहरी अधिकृत भन्छन्, "रंगेहात पक्राउ परेका अपराधीसमेत धमाधम छुटिरहेका छन्।" नयाँ मूर्तिको किनबेचमा हुने अदृश्य चलखेलको अर्को पाटो झन् झस्काउने खालको छ। बौद्धमार्गीहरूले बुद्धको मूर्तिमा आत्मा भर्न सूङ पूजा गर्ने चलन हुन्छ। तर, तस्कर गिरोहले सूङ भरेर बेच्नुपर्ने मूर्तिभित्र लागूपदार्थ हालेर बेच्ने गरेको प्रहरीको भनाइ छ।


गुम्बा


बौद्ध क्षेत्रमा प्रशासनमा दर्ता गरएिका तीन दर्जन मात्रै गुम्बा छन्। एक दर्जनभन्दा बढी त दर्ता नै नभईकन चलिरहेका छन्। यस्ता गुम्बाहरूभित्र के कस्ता धार्मिक गतिविधि हुन्छन्, यिनीहरूको आर्थिक स्रोत के हो र कसरी परचिालन हुन्छ भन्ने कसैलाई थाहा छैन। उनीहरू लेखा परीक्षण त गर्छन् तर सरकारलाई त्यसको जानकारी दिँदैनन्। नियम अनुसार व्यक्तिगत वा सामुदायिक दुवै खाले गुम्बा सरकारी दर्तामा आउनुपर्छ। दर्तामा आएकालाई कसरी अनुगमन गर्ने भन्ने प्रावधान सरकारसँग छैन। 


नेपाल सरकार अन्तर्गत बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति त छ तर त्यसले गुम्बा निर्माणको स्वीकृति दिनेभन्दा बढी केही गर्न सकिरहेको छैन। गुम्बा सञ्चालन नियमावली तयार भए पनि कार्यान्वयनमा आइसकेको छैन। "नियमावली स्वीकृति भएमा अनुगमनका लागि कानुनी अड्चन हट्छ," समितिका कार्यकारी निर्देशक कर्णबहादुर घले भन्छन्, "नत्र हामी उल्लेख्य कारबाही वा बाध्यकारी काम गर्न सक्दैनौँ।" बौद्ध क्षेत्रका गुम्बाहरू आर्थिक रूपमा निकै सम्पन्न र शक्तिशाली रहेको कुरा कहीँकतै छिप्दैन। यहाँका उर्गेन छोलिङ, यारङि, छुप्साङ, साम्देलिङ, सेचेनलगायत झन्डै एक दर्जन गुम्बाको अचल सम्पत्ति मात्रै एक अर्ब रुपियाँभन्दा बढी रहेको सरकारको गुप्तचरी रिपोर्टमा उल्लेख छ। 


नियमावलीको मस्यौदा सरोकारवाला पाँच मन्त्रालयमा पठाइएकामा गृह, संस्कृति, पर्यटन तथा नागरकि उड्डयन र स्थानीय विकास मन्त्रालयबाट पारति भइसकेका छन् भने शिक्षा र अर्थ मन्त्रालयले अनुमोदन गर्न बाँकी छ। तर, एकअर्कालाई सोध्ने बहानामा उक्त नियमावली पारति हुन नसक्नुमा गुम्बाहरूकै दबाबले काम गरेको हुन सक्ने स्रोतको भनाइ छ। 


पछिल्लो समय थुप्रै गुम्बामा ठूलो संख्यामा मानिसहरू राख्न सकिने गेस्टहाउसहरू स्थापना गरिएका छन्। अनुयायीका नाममा कतिपय गुम्बाले पैसा लिएर पर्यटकलाई बास दिन थालेको सुइँको समेत प्रहरीले पाएको छ। "यही कारण यो क्षेत्रको होटल व्यवसाय पछिल्लो समय ओरालो लाग्न थालेको छ," बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष दीपेन्द्र लामा भन्छन्, "गुम्बाभित्र हुने इन्टरनेट, लाइब्रेरी, क्याफेजस्ता निकै आधुनिक सुविधासम्पन्न वातावरणले पर्यटकलाई त्यसतर्फ तानेको छ।" 


'फ्रि तिब्बत’को केन्द्र


एक चीन नीति अपनाइरहेको नेपालमा बेलाबखत 'फ्रि तिब्बत' आन्दोलन भइरहन्छन्। यस्ता आन्दोलन नियन्त्रण होऊन् भन्ने चाहना चीनले राख्ने गरेको छ। एकातर्फ नेपालमा तिब्बती शरणार्थीको एउटा प्रमुख आश्रयस्थल बौद्ध हो भने अर्कोतर्फ फ्रि तिव्बत आन्दोलनको प्रमुख केन्द्र पनि यही क्षेत्र बन्दै आएको छ। २ फागुन ०६९ मा बौद्धनाथ परसिरमै भएको थेन्डुप गोप्चेको आत्मदाहको घटनालाई लिएर चीनले नेपाललाई 'डिप्लोम्याटिक नोट' नै पठाउँदै आफ्नो गम्भीर चासो व्यक्त गरेको थियो। यसअघि पनि बौद्धमा फ्रि तिब्बत पक्षधरले आत्मदाहको प्रयास गरेकाले चिनियाँ कूटनीतिका नजरमा बौद्ध गम्भीर क्षेत्रका रूपमा चित्रित छ।


खासमा फ्रि तिब्बत पक्षधरहरूप्रति सद्भाव राख्ने अमेरिका र युरोपेली मुलुकहरूको नजर कुनै न कुनै रूपमा बौद्धसम्म आएर अडिन्छ। त्यसैले त विदेशी समाचार माध्यमहरूले यहाँका तिब्बती शरणार्थीसम्बन्धी ससाना गतिविधिबारे समाचार बनाइरहेका हुन्छन्। आत्मदाह प्रकरणका बेला निरन्तर रूपमा यस्ता अन्तर्राष्ट्रिय समाचारहरूमा बौद्ध छाइरहेको थियो। आत्मदाह वा अन्य विरोधका बेला तिब्बती शरणार्थीहरू भारतको धर्मशालादेखि बौद्धसम्म आउने गरे तापनि ती कहाँ बस्छन्, कसरी योजना बनाउँछन् भन्ने नै थाहा पाउन सकिएको छैन। यस्ता व्यक्तिहरूले यतैका गुम्बामा आश्रय लिने गरेको भनिए पनि यसको पुष्टि कतैबाट हुँदैन। 


नेपालमा तिब्बती शरणार्थीको यकिन तथ्यांक सरकारसँग छैन। गृह मन्त्रालयका प्रवक्ता शंकर कोइराला भारत जानसमेत तिब्बतीहरूले नेपालकै बाटो प्रयोग गर्ने भएकाले नेपालमा स्थायी रूपमा बसोवास गर्ने शरणार्थीको संख्या निकाल्न नसकिएको बताउँछन्। नेपाल सरकारले १८ वर्षयता तिब्बती शरणार्थीहरूलाई नयाँ परचियपत्र बाँडेको छैन भने पुरानाको समेत अद्यावधिक गरएिको छैन। 


मन्त्रालयले पछिल्लोपटक ०५२ सालमा १८ वर्षमाथिका २० हजार तिब्बतीलाई परचिय पत्र बाँडेको थियो। त्यसयता शरणार्थीहरूले क्याम्पमै विवाह गरेर घरबारसमेत बसाएका छन् भने यसबीचमा थप तिब्बतीहरूको समेत नेपाल प्रवेश भएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन्। ती अधिकारीका अनुसार नेपालमा करबि ४० देखि ५० हजारको संख्यामा तिब्बती शरणार्थी छन्। तीमध्ये ८० प्रतिशतको बसोवास बौद्ध र यस आसपासका गुम्बामा छ। तिब्बती शरणार्थीको संख्या बढेसँगै नेपालको बौद्ध क्षेत्रमा गुम्बाहरूको संख्या बढेको बौद्धनाथ क्षेत्र विकास समिति सदस्यहरूको दाबी छ।


गुम्बाहरूमा स्वतन्त्र तिब्बत पक्षधर र विरोधी दुवै किसिमका शरणार्थीको चलखेल हुने समितिका एक पदाधिकारी बताउँछन्। भन्छन्, "चीन र पश्चिमा देशहरूले प्रवर्द्धन गरेका दुवै खाले गुम्बा छन् यहाँ।" महानगरीय प्रहरी वृत्त बौद्धका एक अधिकारीका अनुसार बौद्ध क्षेत्रका गुम्बाको अवस्थाबारे जानकारी लिन धेरै कठिन छ। पटकपटक गुम्बाको सुरक्षा र त्यहाँको गतिविधिबारे छलफलका लागि बोलाउँदासमेत गुम्बा प्रतिनिधिले अटेर गररिहेका छन्। "बौद्ध ग्लोबल गेमको अखडा बनिसक्यो," प्रहरी प्रधान कार्यालयका एक डीआईजीको विश्लेषण छ, "यो क्षेत्र जस्तो देखिन्छ, त्यस्तो छैन।" बौद्ध क्षेत्र कसरी पश्चिमा राष्ट्र र चीनको खेल मैदान बन्दै गएको छ भन्ने बुझ्न नेपालको गुप्तचरी संस्थाले चार वर्षअघि तयार पारेको एक प्रतिवेदन पर्याप्त छ। विसं ०६६ मा राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको प्रतिवेदन अनुसार राजधानीका सातवटा गुम्बालाई सुरक्षाका दृष्टिले अति संवेदनशील सूचीमा राखिएको छ। तीमध्ये आधा गुम्बा बौद्ध क्षेत्रमा पर्छन्। बौद्धका सेतो गुम्बा, सेचेन गुम्बा, साम्देलिङ गुम्बा त्यस्तो सूचीमा राखिएका छन्। त्यस्तै यो क्षेत्रका १० वटा गुम्बालाई 'नियमित अनुगमन गर्नुपर्ने गुम्बा' भनेर सो प्रतिवेदनले औँल्याएको थियो।



गुम्बामा विश्वविख्यात कलाकारको रहस्यमयी आगमनले समेत बौद्ध क्षेत्र अन्तर्राष्ट्रिय चासो बन्दै गएको छ। कात्तिक ०६८ मा अमेरिकी अभिनेता तथा इन्टरनेसनल क्याम्पेन फर तिब्बतका निर्देशक रचिर्ड गेर सेचेन गुम्बाको भ्रमणमा आएका थिए। १४ वर्षअघि पनि उनी त्यसैगरी अर्का हलिउड कलाकार स्टिभन सेगलसित बौद्ध आएका थिए। गुप्तचरी प्रतिवेदनका अनुसार प्रसिद्ध गायिका तथा मोडल पेरसि हिल्टन, बेलायती कलाकार रोसेल ब्राड, स्यारोन टमले समेत बौद्धका गुम्बा तथा तिब्बती शरणार्थीहरूलाई सघाउँदै आएका छन्। 


बौद्धमा भारतबाट नेपालको बाटो हुँदै चीन तस्करी हुने रक्तचन्दनसमेत पुग्ने गरेको उच्च प्रहरी स्रोतको दाबी छ। "बौद्धका गुम्बाहरूमा राम्ररी छापा मार्ने हो भने यी सबै कुरा स्पष्ट हुन्छन्," बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक छिरङि दोर्जे लामा भन्छन्, "तर, यही काम हुन सकेको छैन।" गुम्बाभित्र सुरक्षा र निगरानी बढाउँदा एकातर्फ कानुनी अस्पष्टता र अर्कोतर्फ त्यसले धार्मिक आस्थामा आँच पुर्‍याउने हो कि भनेर प्रहरी हच्किरहेको छ। 


पछिल्लो समय बौद्ध क्षेत्रमा चिनियाँ लगानीका रेस्टुराँ खुल्ने क्रम तीव्र बनेको छ। बौद्ध स्तूप परसिर उत्तरपट्ट िभर्खरै खुलेको एक रेस्टुराँ 'तिब्बत किचेन'मा स्वतन्त्र तिब्बतका सांकेतिक वस्तुहरू राखिएको छ तर यसबारेमा स्थानीय प्रशासनले कुनै प्रतिक्रिया जनाएको छैन। कतिपय पसलमा 'पि|m टिबेट' लेखिएका टिसर्टसमेत बेच्न राखिएका छन्। बौद्धमा रहेका तिब्बती शरणार्थीलाई वर्गीकरण गरेर हेरिनुपर्ने बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लामा बताउँछन्। उनका अनुसार शरणार्थी क्याम्पमा बस्ने तिब्बती, नेपाली नागरकिता लिइसकेका तिब्बती र बौद्ध गुम्बाहरूमा बस्ने तिब्बतीलाई छुट्याएर वर्गीकरण गर्दा कतिपय कुरा सहज हुनेछन्। दुई विपरीत महाशक्तिको टकरावले गर्दा सरकारले समेत आक्रामक नीति लिन नसकेको राष्ट्रिय अनुसन्धान विभागका एक वरिष्ठ अधिकारीको अनुभव छ। भन्छन्, "बौद्धमा हुने हरेक घटनाप्रति विदेशी समाचार माध्यमको चासो रहन्छ। नेपाल सबैको आँखामा लायक देखिन चाहन्छ, त्यसैले पनि बौद्धको असली तस्बिर सतहमा आएको छैन।" 


यति हुँदाहुँदै पनि, काठमाडौँको पूर्वी भेग र त्यस आसपासका क्षेत्रका बासिन्दा व्यापार र भेटघाटका लागि जुट्ने थलो बौद्ध सबैका लागि त्यत्तिकै लोभलाग्दो आकर्षणको केन्द्र हो। स्तूप, योग गररिहेका बौद्ध धर्मावलम्बीहरू, तिब्बती सामग्री तथा परिकार पाइने पसलहरू र हिमाली संस्कृतिको झल्को भेटिने बौद्धमा बिदाका दिन टहल्दै मन बहलाउनेहरू प्रशस्तै भेटिन्छन्। कतिपय बौद्धलाई काठमाडौँमा ठमेलपछिको अर्को मुख्य पर्यटकीय 'हब' ठान्छन्। कर्णपि्रय हिमाली संगीत बजिरहने बौद्ध स्तूप वरपर घुम्दा काठमाडौँदेखि कतै टाढा र फरक स्थानमा आएजस्तो लाग्छ। बुद्ध धर्मका मन्त्रोच्चारण गररिहेका या माला जपिरहेका भिक्षुहरू र छेउछाउका बस्तीनजिकै देखिने गुम्बाहरू रहेको यो क्षेत्रमा अनेकन् भाव र रंगहरू निहित छन्। 


No comments:

Post a Comment