Wednesday, June 5, 2013

'सिम्प्लिफाई ३६०' सफलताको कथा

भारतको बैङ्लोरमा हेडक्वार्टर रहेको सोसल बिजनेस इन्टलिजेन्स कम्पनी 'सिम्प्लिफाई ३६०' गत महिनामा इन्टरनेट प्रविधिको बजारमा फेरि एकपटक चर्चामा आयो। गुगल प्लसको सामाजिक सञ्जालमा भइरहने पब्लिक पोस्टको अनुगमन गर्ने अवसर पायो, सिम्प्लिफाई ३६० ले। त्यस्तो अवसर पाउने उक्त कम्पनी एसियाकै पहिलो हो। र, त्यसका संस्थापकहरूचाहिँ नेपाली तन्नेरी। कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी भूपेन्द्र खनाल, ३१, भने यसलाई त्यति ठूलो उपलब्धि मान्दैनन्। उनी बैङ्लोरबाट नेपालसँग भन्दै थिए, "हाम्रो कम्पनीको हैसियत अन्तर्राष्ट्रिय जगत्मा कहाँ रहेछ भन्ने जान्न यो सहयोगी छ। तर, हाम्रा सपनासँग तुलना गर्दा यो खासै ठूलो उपलब्धि होइन।" सिम्प्लिफाई ३६० सोसल मिडिया एनलाइसिसमा एसियाकै शीर्ष वेब कम्पनीमा गनिएको छ।

क्लाउडबेस्ड कम्पनी सिम्प्लिफाई ३६० ले ११ देशका एक सयभन्दा बढी ठूला ग्राहकसँग प्रत्यक्ष र साझेदारमार्फत काम गररिहेको छ। कम्पनीले त्यसका लागि २८ विभिन्न भाषामा विश्वभर सामाजिक सञ्जालमा चलेका विषयवस्तुलाई विभिन्न टुल्समार्फत ट्रयाक गरेर विश्लेषण गर्छ। ग्राहक कम्पनीहरूले त्यसलाई आफ्नो रणनीति बनाउन उपयोग गर्छन्। बजारमा कस्तो कुराको अपेक्षा छ, कुन ठाउँमा कस्तो व्यापार रणनीति आवश्यक छ, कम्पनीको कुन पक्षमा कस्तो आलोचना भइरहेको छ र त्यससँग जुध्न के गर्नु आवश्यक छ ? आदिमा। 


यो सपनाको सुरुआत उर्लाबारी, मोरङका भूपेन्द्रबाटै सुरु हुन्छ। भारतको पश्चिम बंगालस्थित नेसनल इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्जिनियरङि्मा स्नातक गरेलगत्तै उनी एक अमेरिकी कम्पनी 'ग्लोबल एनलिटिक्स'का लागि चेन्नईबाट काम गर्थे। त्यस कम्पनीले अमेरिकाका विभिन्न बैंकका लागि तिनका तथ्यांकसँग खेलेर आफ्नो रणनीति तय गथ्र्यो। जस्तो : अमेरिकामा तीन सयदेखि एक हजार अमेरिकी डलरसम्म बिनाधितो ऋणका लागि बैंकले आफ्ना ग्राहकको 'ह्युमन हिस्ट्री' अध्ययन गर्दै प्रोफाइल बनाएर राख्छन्। ग्राहकले यसअघि बैंकमा कुन रूपमा पैसा राख्ने/झिक्ने गरेको छ, ऋण चुकाउने मामिलामा उसको विगत कस्तो छ, उसले कुन समयमा बढी खर्च गर्छ जस्ता अनेकन् पक्ष हेरेर उसलाई बिनाधितो ऋण दिन सकिने/नसकिने तय गरिन्छ। भूपेन्द्र सम्झन्छन्, "तथ्यांकसँग खेलेर बिजनेस डिजाइन गर्ने काम थियो त्यो। बंैकका नयाँ शाखा, कर्मचारी थपघटजस्ता कामका लागि समेत त्यसकै सहारा लिइन्थ्यो।" 


अमेरिकामा त्यसरी लिएको ऋण झन्डै ८० प्रतिशत ग्राहकले चुक्ता नगर्दा व्यवसाय नै धरापमा परेको थियो त्यतिबेला । आफूहरूले तयार पारेको ह्युमन हिस्ट्री प्रभावकारी नहुँदा त्यहाँका बैंकहरू तनावमा थिए। भूपेन्द्रले त्यस बेला अपनाएको टुल्सले ह्युमन हिस्ट्रीभन्दा बाहिर निस्केर समस्यासँग जुध्न खोज्यो। उक्त विश्लेषणकै प्रभावस्वरूप बैंकको लोन प्रोसेसिङ् खर्च १ सय ४९ डलरबाट २२ अमेरिकी डलरमा झारियो। भूपेन्द्र भन्छन्, "एकातर्फ बैंकहरू फाइदामा जान थाले, अर्कातर्फ मेरा लागि आफ्नै काम गुड इम्प्रेसन भइदियो।"


त्यहाँ डेढ वर्ष काम गरेपछि उनी अमेरिकी एनलिटिक्स कम्पनी 'फिको'मा गए, जहाँ उनले कोकाकोला, हार्थफोर्ड इन्स्योरेन्स, स्मिथ एन्ड हकिङ्सजस्ता चर्चित अमेरिकी कम्पनीका लागि मार्केटिङ् रणनीति बनाउन थाले। सँगैसँगै उनी सोसल मिडिया मार्केटिङ्बारे ब्लगिङ् गर्थे। भूपेन्द्रको शैली कतिसम्म सिर्जनशील थियो भन्ने जान्नलाई ब्लगिङ् हिस्ट्री केलाउँदा हुन्छ। उनको ब्लग त्यतिबेलै भारतको एक नम्बर आईटी ब्लग बन्न सफल भएको थियो।


यसरी प्रसिद्धि बटुलिरहँदा भारतको प्रसिद्ध 'सिटी बैंक'को एनलाइसिस विङ्का भाइस प्रेसिडेन्ट र किङ्फिसर बियरका मार्केर्टिङ् प्रमुखले भूपेन्द्रसँगको साझेदारीमा छुट्टै कम्पनी खोलेर काम गर्ने इच्छा राखे। "भारतजस्तो विशाल देशको चर्चित कम्पनीका मार्केर्टिङ् हस्तीसँग काम गर्न पाउनु मेरा लागि ठूलो अवसर थियो," उनी सम्झन्छन्, "तर, बिजनेस पार्टनर हुन आवश्यक पैसा मसँग थिएन।" 


तर, लगानी ठूलो समस्या बनेन। क्षमताकै कारण बिनालगानी उनलाई संस्थापक तथा एक हिस्सेदार बनाए, अन्य दुई साझेदारले। यसरी खुल्यो कम्पनी, मार्केटिलिजेन्ट। त्यस बेला ६ जनाबाट खुलेको उक्त कम्पनीमा अहिले ८० जनाभन्दा बढी इन्जिनियर काम गर्छन्। भूपेन्द्र त्यसमा छँदै उक्त कम्पनीले अपेक्षाकृत सफलता हासिल गरसिकेको थियो। माइक्रोसफ्ट भारतका लागि डिजाइन गरिएको एउटा मार्केटिङ् टुल्स यति सफल भयो कि त्यो पछि माइक्रोसफ्ट ग्लोबलकै लागि पठाइयो। 


माइक्रोसफ्ट भारतमा आफ्नो आम्दानी दोब्बर बनाउने रणनीतिमा थियो। तर, पाइराइटेड सफ्टवेरको बढ्दो बिक्रीका कारण ठ्याक्कै के गर्ने भन्ने निक्र्योल गर्न सकिरहेको थिएन। भूपेन्द्रले उक्त उद्देश्यमा सफल हुनका लागि सबैतिर एउटै रणनीति भन्दा प्रयोगकर्ताको प्रकृति हेरेर फरक-फरक उपाय सुझाएका थिए। 



माइक्रोसफ्टले समेत काम रुचाएपछि कम्पनीले झन् द्रुत गतिमा प्रगति गर्न थाल्यो। भूपेन्द्र भने कामको प्रकृति फेर्न चाहन्थे। एक महिना एउटाको काम, अर्को महिना अर्काको काम गर्दा गर्दा उनी दिक्क भइसकेका थिए। भन्छन्, "पैसा पनि राम्रै थियो तर म सेवाभन्दा पनि उत्पादन क्षेत्रको मान्छे थिएँ। म ठूलो परविर्तन चाहन्थेँ, जुन उत्पादन क्षेत्रबाट मात्र सम्भव थियो।" अन्य दुई पार्टनर 'प्रोडक्ट'मा जान चाहिरहेका थिएनन्। अन्ततः उनले मार्केटिलिजेन्ट छाडे। 


बल्ल सुरु हुन्छ, सिम्प्लिफाई ३६० को कथा। भूपेन्द्रलाई राम्ररी थाहा थियो, राम्रो आईटी कम्पनी बनाउन सिर्जनशील आईटी प्रोफेसनल्स त चाहिन्छ नै। त्यसभन्दा बढी उनीहरूको प्रतिबद्धता चाहिन्छ। उनी लागे, टिम निर्माणमा। पश्चिम बंगालको दुर्गापुरमा पढ्दाखेरिका नेपाली साथी थिए, विनीत थापा, २९। विनीतलाई उनी आफ्नो जीवनमा देखेको सबैभन्दा राम्रो प्रोग्रामर ठान्छन्। भन्छन्, "मलाई कलेजदेखि नै लाग्थ्यो, जीवनमा मैले ठूलो कम्पनी खोलेँ भने एउटा जिनियस मान्छे चाहिन्छ र त्यो विनीत हुन सक्छ।" उनले आफ्नो योजना विनीतलाई सुनाए। विनीत भोलिपल्टै आफ्नो जागिरबाट राजीनामा दिएर बैङ्लोर गए। 



लक्ष्मी खतिवडा, ३१, उनको सानैदेखिका साथी हुन् । जससँग उर्लाबारीदेखि नै कहिले मःम चेन खोल्ने त कहिले कोल्ड स्टोरको चेन खोल्ने सपना बुन्थे। एमआईटी सकेर काठमाडौँको एक सफ्टवेर कम्पनीमा काम गररिहेका लक्ष्मीसमेत उनको फोन पाएको एक हप्तामै बैङ्लोर पुगे। हाल चिफ मार्केटिङ् अफिसर रहेका दीप शेरचन, २६, जोडिनुको कथा अझ रोचक छ। पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरङि् गर्दै गर्दा अन्तिम परीक्षा दिनुअघि नै उनले दुग्ध विकास संस्थानका लागि सेवाग्राही लामबद्ध गर्ने सिस्टम बनाएका थिए। बीई सकिएको एक वर्ष नबित्दै उनले खोलेको सानो कम्पनी घाटामा गयो, सहकर्मीहरू एकपछि अर्को गर्दै बिदेसिए। काठमाडौँ छाड्न चाहिरहेका दीपलाई कसैले बैङ्लोर जान सुझायो। संयोगले काठमाडौँका एक परििचतले सुरुका केही दिन भूपेन्द्रसँगै बस्ने व्यवस्था मिलाइदिए।

संयोग नै मान्नुपर्छ, दीप बैङ्लोर पुगेकै भोलिपल्ट भूपेन्द्रसँग एकै फ्ल्याटमा बस्ने साथी एउटा छात्रवृत्तिमा नाम निकालेर दिल्ली हान्निए। भूपेन्द्रले दीपलाई त्यहीँ बसाल्ने भए। दीप यति लगनशील निस्किए कि केही महिनामै उनको ब्लग भारतको शीर्ष १० आईटी ब्लगमा पर्‍यो। त्यसपछि भूपेन्द्रले दीपलाई फुत्कनै दिएनन्। तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेकी भारतीय साथी श्वेता शर्मा, २८, सँग मार्केटिलिजेन्टमा काम गरेका थिए उनले। सिस्को नेटवर्किङ् पोर्टलमा काम गरसिकेका श्वेताकै प्रेमी रोहित गुप्ता प्रोगामिङ्को डाटा प्लेमा राम्रा मानिन्थे। 


सन् २००९ मा स्थापित सिम्प्लिफाई ३६० का संस्थापक ६ सदस्यहरू दिनरात एनलाइटिकल प्रोडक्ट तयार पार्न जुटे। त्यसअघि कमाएको र घरबाट मागेको केही पैसाकै भर थियो। जागिर हुँदा सप्ताहन्तमा प्रायः भइरहने पार्टीसमेत ठप्प थियो। लामो मिहिनेतपछि सन् २०१० को अक्टोबरमा प्रोडक्टको अल्फा भर्सन (प्रारम्भिक संस्करण) रिलिज भयो। "प्रोडक्ट बेस्ड कम्पनीमा तत्काल फाइदा भइहाल्दैन," कम्पनीका चिफ फाइनान्स अफिसर लक्ष्मी खतिवडा भन्छन्, "त्यस बेलाको विश्वव्यापी आर्थिक मन्दीका कारणसमेत कम्पनीहरू हाम्रो प्रोडक्टबारे बुझ्न चाहिरहेका थिएनन्।" 


आफूले तयार पारेको प्रोडक्टको क्षमता देखाउन उनीहरूले कतैबाट डाटा पाउन सकेनन्। त्यसै बेला कतैबाट थाहा पाए, अमेरिकाको आर्थिक तथ्यांक निःशुल्क पाइन्छ। उनीहरूले सोचे, अब त्यही तथ्यांकलाई आफ्नो प्रोडक्ट 'एफक्युब'सँग खेलाएर आर्थिक प्रक्षेपणहरू गर्नुपर्छ। उक्त निःशुल्क डाटा एनलाइसिस किन पनि आवश्यक थियो भने उनीहरूको सुरुआती लगानी सकिसकेको थियो। चिफ सफ्टवेर आर्किटेक्ट विनीत थापा भन्छन्, "हामीसँग माकेर्टिङ् बजेट हुने कुरै भएन।" 


त्यसपछि नै हो, उनीहरूले फेसबुक, ट्वीटर, ब्लग, यू-ट्युब, लिंक्डइनजस्ता सोसल मिडियालाई आक्रामक ब्रान्डिङ् टुल्सका रूपमा प्रयोग गरे। ट्वीटरमा तयार पारेको टुल्स लाइभ गर्नेबित्तिकै उनीहरूको वेबप्रोडक्ट 'बुजुम'का सब्सक्राइभर २० लाख पुगे। विश्वको उत्कृष्ट पाँच टुल्समा पर्न सफल भयो पनि। त्यस बारे भारतका स्थानीयदेखि फोब्र्स, पीसी वल्र्डजस्ता कहलिएका पत्रिकाले समेत कभरेज दिए। 


आर्थिक मन्दीका बीच रिलिज भएको प्रोडक्टबाट फाइदा त थिएन तर त्यसबाटै जन्मिएको ट्वीटर मार्केटिङ् रणनीतिमा भने उनीहरू मज्जाले जमेका थिए। भूपेन्द्र सम्झन्छन्, "ट्वीटरमा यति धेरै परनिर्भर भइयो कि सोसल मिडिया नीति फेरिएमा हाम्रो हालत त चौपट हुन सक्थ्यो।" व्यवसाय दिगो बनाउनु उत्तिकै महत्त्वपूर्ण थियो। उनीहरूले बुजुमलाई त्यही कारण ब्लगमा परिणत गरे।


उनीहरू कुनै अन्तर्राष्ट्रिय मञ्चबाट आफ्नो प्रोडक्ट लन्च गर्न खोज्दै थिए। सन् २०१० को सेप्टेम्बर २७ मा अमेरिकाको सिकागोमा भएको 'मिडभेन्चर्स लन्च'मा निवेदन दिँदा छनोट पनि भए। भूपेन्द्रले अमेरिका गएर आफ्नो सिम्प्लिफाई ३६० प्रोडक्टको अल्फा भर्सन लन्च गरे। अमेरिकामा उनीहरूको काम धेरैले रुचाए। कामका लागि ठूल्ठूला ग्राहकसँग सम्पर्क भयो। लगत्तै अर्को महिना बैङ्लोरमा बिटा (परिस्कृत) भर्सन लन्च भयो। फुल भर्सन भने सन् २०११ को फेब्रुअरीमा लन्च भयो। 


सिम्प्लिफाई ३६० अहिले भारतमा कतिसम्म लोकपि्रय छ भन्ने जान्न उसको ग्राहक सूचीमा रहेका महिन्द्रा, यामाहा, आईटी कम्पनी वाईप्रो, स्टार टीभी, बहुराष्ट्रिय कफी चेन क्याफे कफी डेजस्ता कम्पनीलाई हेरे पुग्छ। कम्पनीहरू किन उनीहरूको प्रोडक्टमा आधारति रहेर आफ्नो मार्केटिङ् र एनलाइसिस गर्न चाहन्छन् भने उनीहरूको टुल्सले ४० करोडभन्दा बढी वेबसाइटमार्फत डाटा लिन्छ। अर्को विशेषता उनीहरूले गर्ने सेन्टिमेन्टल एनलाइसिस हो। जस्तो : कम्पनीबारे बजारमा कुरा चल्नु आफैँमा राम्रो हो। तर, सकारात्मक कमेन्ट छ भने त्यो मार्केटिङ् विभागका लागि आवश्यक हुन सक्छ, नकारात्मक भए, पब्लिक रिलौसनतर्फ। यस्ता विविध आयामका कमेन्टलाई टुल्स आफैँले वर्गीकरण गरिदिन्छ।


अमिर खानको टेलिभिजन कार्यक्रम 'सत्यमेव जयते'को विश्लेषण गरेका कारण उनीहरूको प्रोडक्टले भारतीय सञ्चारमाध्यममा अर्को चर्चा बटुलेको थियो। अहिले उनीहरूको प्रोडक्टको प्रयोग व्यवसायी मात्र नभई भारतका केही राजनीतिक दल र प्रहरीसम्मले गर्छन्।


सुरुआतका तीन वर्ष लगभग निःशुल्क गरेको कामको रटिर्न उनीहरूले बल्ल पाउन थालेका छन्। वेब प्रोडक्ट सिम्प्लिफाई ३६० सब्सक्राइब गरेको मासिक तीन सयदेखि तीन हजार अमेरिकी डलरसम्म लाग्छ। सन् २०१२/१३ मा उनीहरूले दुई करोड भारतीय रुपियाँको व्यापार गरेका थिए। उनीहरूको आफ्नै कम्पनीको एनलाइसिसले के भन्छ भने यही गतिले अघि बढ्दा सन् २०१३/१४ मा कम्पनीले १६ करोड भारुको कारोबार गर्नेछ, २०१४/१५ मा ६० करोड र सन् २०१५/१६ मा एक अर्बको। गत अपि्रलमा मात्र उनीहरूले ब्राजिल, साउदी अरेबिया, दक्षिण कोरियाजस्ता ठूला बजारका स्थानीय साझेदारसँग काम थालेका छन्। "राम्रो कम्पनी बन्न आउँदो प्रोडक्ट चल्तीको टेक्नोलोजीभन्दा अगाडि हुनुपर्छ," भूपेन्द्र भन्छन्, "जस्तो : माउस चाहियो भनेर कसैले भनेका थिएनन्। जब यो बन्यो, लोकपि्रय हुन समय लागेन।" 


उनीहरू सबैले बुझेका छन्, औसत व्यापारी बन्न गाह्रो छैन। तर, अगुवा बन्न इनोभेसन चाहिन्छ। सिम्प्लिफाई ३६० अहिले भारतको शीर्ष सोसल मिडिया इन्टिलिजेन्स कम्पनी बन्नुको श्रेय भूपेन्द्र साथीहरूले आफूलाई गरेको विश्वासलाई दिन्छन्। भन्छन्, "उनीहरूले मलाई जस्तोसुकै अवस्थामा पनि एक्लै छाडेनन्।" अर्को कुरा उनीहरूमा बेग्लै मोटिभेसन थियो, असफल हुँदासमेत एक कदम अगाडि बढेको सम्झने। सिम्प्लिफाई ३६० सफलताको कथा यत्ति हो।



No comments:

Post a Comment