Sunday, July 28, 2013

स्टाइल कोरियन

'ब्वाइज ओभर फ्लावर्स,' 'सिटी हन्टर'जस्ता टेलिसिरियलका डीभीडी किनबेच सुरु हुनासाथ काठमाडौँका तन्नेरीले कोरियाली अभिनेता ली मिन होको जस्तै 'हेयर स्टाइल' बनाए। अहिले पनि नेपाली तन्नेरीको ध्यान कहिले मिलिनियर फस्ट लभका ह्युन बिनको हेयर स्टाइलतर्फ मोडिन्छ त कहिले साउथ कोरियाली ब्यान्ड सुपर जुनियरतर्फ।

के–पपमा विश्वभर ध्यान खिचिराखेको सुपर जुनियरका हरेक सदस्य भिन्नभिन्न हेयर स्टाइलमा देखिन्छन् । कसलाई एउटाले तान्छ त कसलाई अर्काकोले । “कोरियन हेयर स्टाइल आधारभूत रुपमा एकखाले भएता पनि कुनै अभिनेता वा गायकले हल्का ट्विस्ट गरिदियो भने त्यही नै फेसन बन्छ,” कोरियन ब्युटी पार्लरकी बरिष्ठ ब्युटिसियन सोनाम घले भन्छिन्, “कपालका शैली मात्र होइन, रंग समेत अहिले कोरियाली प्रभावमा फेरिरहन्छन् ।”

नेपालको टाढाको छिमेकी भइकन पनि नेपालमा कोरियाली संस्कृतिको प्रभाव नजिककोझैं लाग्छ । हेयर स्टाइलमा मात्र नभई शहरका परिकार, पहिरनदेखि सिनेमा र संगितसम्म कोरियाली प्रभाव बढिराखेको छ । झण्डै आधा दशकअघिसम्म पनि कोरियाली फेसनबारे जानकार दुईथरी मात्र हुन्थे जो वा जसको परिवार कोरिया पुगेर फर्केको छ वा उसको घरमा कोरियाली च्यानल आउँछ । सन् २००५ अगाडिसम्म डिभिडि यति सहजै नपाइंदा कोरियाली च्यानल अरिराङमा मानिसहरु झुम्मिन्थे । तर पछिल्लो ३/४ बर्षमा जब कोरियन फिल्म तथा ड्रामा डिभिडिको रुपमा नेपाली बजारमा सहज उपलब्ध हुन थाले, त्यसले कोरियन संस्कृतिको प्रभाव एकाएक बढेर गयो । अहिले सन् २००८ यता ठूलो सङ्ख्यामा इपिएसमार्फत नेपालीहरु कोरिया जाने थालेता पनि त्यसअघि भने कोरिया जानु भनेको त्यहाँ रहेका आफन्तमार्फत या धेरैजसो पदयात्रा एवं तिर्थाटनका लागि नेपाल आउने कोरियाली पर्यटकमार्फत थियो । झण्डै २ दशकयता ठमेलमा चलिआएको कोरियाली रेष्टुराँ ‘भिल्ला एभरेष्ट’का दावा शेर्पा भन्छन्, “उनीहरु फर्केपछि त्यो लहर झनै बढ्नेछ ।”

कोरियाली फेसनको बजार अहिले नेपालमा मात्र नभई विश्वभर बढिराखेको छ । ब्युटिसियन घले भन्छिन्, “अन्य देशका फेसनभन्दा यसले बढि तन्नेरी देखाउँछ ।” सायद त्यही कारण हो कोरियाली फेसनमा ३० बर्षमुनिकाकै क्रेज सबैभन्दा बढि पाइन्छ ।

पर्दाको प्रभाव

विश्वको एउटा बलियो अर्थतन्त्रको रुपमा अगाडि बढिराखेको कोरियाको लगानी अहिले संस्कृतिक कुरामा उत्तिकै छ । एकातर्फ कोरियालीहरु सहजै अंग्रेजी बोल्दैनन् अर्कोतर्फ उनीहरुको प्रभाव विश्वभर बढिराखेको छ । त्यसैले चलचित्र, ड्रामा र भाषा प्रबद्र्धन हुने थुप्रै रणनीतिमा कोरिया आक्रमक रुपबाटै अघि बढिराखेको पाइन्छ । पछिल्ला बर्षमा शहरका सीडि पसलमा धाउने हो भने हिन्दी र अंग्रेजीपछि कोरियाली चलचित्र पर्छन् । महाबौद्धमा फिल्मका सिडिको व्यापार गर्ने सतिस श्रेष्ठ भन्छन, “अझ चलचित्र भन्दा बढि क्रेज कोरियन ड्रामामा छ ।” कोरियाली टिभीमा आउने धारवाहिक नाटकहरु अहिले सिडिको रुपमा बजारमा पाइन्छन् । त्यसले दर्शकमा एकखाले नशा नै बसाल्नेहुँदा त्यसका दर्शक एकपटक हेर्दैमा हराउँदैनन् ।

त्यसो हुनुमा कोरियाली फिल्म तथा ड्रामामा हुने हदैसम्मको प्रेमभाव पनि हो जसले नेपालमा बढि लोकप्रियता हासिल गरेको छ । यद्यपि कोरियन एक्सन, थ्रीलर फिल्मका पारखीहरु उत्तिकै छन् । “कोरियाली फिल्ममा केटा–केटी दुवै उत्तिकै प्रेममा समर्पित भेटिन्छन् जुन हामीले धेरै हेर्ने हिन्दी नेपालीमा त्यतिधेरै हुँदैन,” महाबौद्धमै ‘अ मुमेन्ट टु रिमेम्बर’ हातमा लिएर भेटिएका सरोज जिशी, २५, भन्छन्, “कहिलेकाहीं त लाग्छ कतै केटीहरु कोरियन चलचित्र हेरेर आफ्नो ब्वायफ्रेन्डबाट अलि बढि नै अपेक्षा गर्न नथालुन् ।” नेपालमा चीनको खासाबाट सबैभन्दा बढि कोरियन फिल्म तथा ड्रामा भित्रिन्छन् । कोरियन फिल्मप्रति बढिराखेको लहरलाई हेरेरै हुनुपर्छ पछिल्ला केही नेपाली फिल्ममा बढि नै कोरियाली प्रभाव भेटिन्छ ।

प्रभाव नेपालमा मात्रै होइन बलिउड फिल्म अग्ली और पग्ली पनि कोरियाली ब्लकबस्टर ‘माइ स्यासी गर्ल’ कै प्रभाव हो । जुन नेपालमा सानो संसारमा देखिन्छ । त्यस्तै ‘मेरो एउटा साथी छ’ चलचित्र पनि कोरियन ‘मिलिनियर फस्ट लभ’बाटै प्रभावित हो । नेपाली चलचित्र ‘मिस यु’ पनि कोरियाली फिल्मबाटै प्रभावित मानिन्छ । फरक यत्ति हो कि पहिलेका कोरियाली चलचित्र बलिउडमा रिमेक वा कपि हुँदै कलिउडसम्म आइपुग्थे भने अहिले सिधै कोरियालीबाट नेपालीमा आइपुग्छन् । नेपालमा चलचित्रको यही बढ्दो क्रेज देखेरै नेपालस्थित कोरियाली दुतावासले सन् २००७ यता बर्षेनी कोरियाली चलचित्र महोत्सव पनि गरिराखेको छ ।

अहिले चाहे जुनसुकै डिभिडी पसलमा जाँदा पनि हिन्दी, अंग्रेजी, नेपालीसँग कोरियाली चलचित्रको छुट्टै लहर भेटिन्छ । डिभिडी व्यावसायी श्रेष्ठ थप्छन्, “फिल्मका पारखीहरु बढि केटीहरु हुन्छन् । केटीहरु आफूले मन पराउनु त छंदैछ, आफ्नो प्रेम अभिव्यक्त गर्नका लागि ब्वायफ्रेन्डलाई उपहार दिन समेत लैजान्छन् ।” चलचित्र निर्देशक आलोक नेमाङ भन्छन्, “कोरियाली फिल्मको विशेषता भनेकै रंगिन दुनियासँग बढि नजिकबाट देखाउनु हो । कसलाई मन पर्दैन त त्यस्तो संसार ?” अर्कोतर्फ युट्युबमा जाने हो भने थुप्रै त्यस्ता नेपाली गीत भेटिन्छन् जसमा भिडियो भने कोरियाली गितकै हुन्छन् । कोरियातिर लोकप्रिय भएका त्यस्ता गीतलाई उस्तै भावमा नेपालीमा ढालेर यहाँ गाइन्छ जुन कलेजे तन्नेरीका मोवाइलमार्फत रातारात भाइरल भइदिन्छन् ।

स्वादमै आकर्षण

रेष्टुराँमा सामान्य रुपमा एक दुईटा कोरियाली परिकार थप्नु त छंदैछ, तर कोरियाली परिकार मात्र पाइने रेष्टुराँ ठमेलमै २ दर्जन नाघिसके । दरबारमार्ग, झम्सिखेल समेत खुलिराखेका छन् । भिल्ला एभरेष्टका दावा शेर्पा यसलाई २ तरिकाबाट हेर्छन् । कोरियाली एक त स्वभावैले जहाँ जाँदा समेत आफ्नै परिकार खोज्छन् । त्यसैले नेपालमा आउने कोरियाली पर्यटकले नै पनि कोरियाली खानपान प्रबद्र्धन गरेका हुन् । अर्कोतर्फ भने कोरियाली परिकार र खाने शैली अन्यभन्दा निकै मौलिक छ जसले नेपालीलाई तानेको छ । शेर्पा थप्छन्, “धेरैजसो परिकार आफै पकाएर खानेखालका हुन्छन् । जसको लागि सामाग्री पूर्ण रुपबाट जुटाएर राखिदिने काम महत्वपूर्ण हो ।” त्यसैले कोरियाली रेष्टुराँमा हरेकजसो टेबलमा ओभन राखिएको हुन्छ । जहाँ मासुका परिकार भए आवश्यकता अनुसार सेक्दै खाइन्छ । सुप सबैजसो कोरियाली परिकारमा छुट्दैन् । कोरियाली परिकार चाहे त्यो नुडल्स होस् वा मासुप्रधान साङ्गेप सल वा समुद्री लेउमा भात बेरिएको किम बाप, ति सबैमा खिम्ची सस छुट्दैन ।

अर्कोतर्फ शैली फरक भएता पनि हाम्रो जिब्रोले खोज्ने पिरो र अमिलो तत्व ठिक्कसँग मिसिनाले यो नेपालीमाझ भिजिराखेको छ । कोरियालीहरु कुरामा भाग्यमानी छन् भने उनीहरुमा मोटोपन त्यति ठूलो समस्याको रुपमा छैन । कारण उनीहरुको खानपान शैली पनि हो । मासुका पारखी भइकन पनि उत्तिकै सागपात पनि साथसाथ लिनुले उनीहरुको खानपान व्यवस्थित बनाएको हो । त्यसैबाट पनि एकथरी नेपालीहरु कोरियाली परिकारमा आकर्षित भएका हुन् । एक हलुका कोरियाली पेय (सोजु) अहिले तन्नेरीका पार्टीमा भित्रिराखेको छ । आफूभन्दा बरिष्ठसँग बसेर पिउँदा छेउमा फर्केर पिउनुपर्ने उक्त पेयसँग जोडिएको एउटा नियम हो । त्यससँगै कोरियाली रेष्टुराँमा अहिले सानोसानो झुण्डमा गाउँदै रमाउने नोरेबाङ हल देख्न पाइन्छ । जहाँ कोरियन, अंग्रेजी गीतको ट्याक पछाडिबाट बज्छ भने गीत आफैले गाइन्छ ।

भाषा मोह

नेपाली बोल्दा हिन्दी/अंग्रेजी मिसिएजस्तै कोरियाली संस्कृतिको प्रभाव बढेसँगै अब बोलिचालीमै कोरियाली शब्द समेत घुस्न थालेका छन् । फिल्म र ड्रामाको प्रभाव बढेसँगै तन्नेरीहरु दाईलाई ‘आपा’ त हेलो भन्दा ‘आङ्योङ’ भन्दै जिस्किन्छन् । प्रेम प्रस्ताव राख्दा समेत ‘आइ लभ यु’ भन्दा ‘साङ्गे’ भन्छन् । प्रेम र सम्बन्ध निकै आदर्श रुपबाट कोरियाली फिल्ममा देखाइनाले पनि तिनै शब्द उच्चारण गर्दा त्यो झन् बढि भावनात्मक हुने ठान्छन् तन्नेरीहरु ।

कोरियाली भाषा कक्षाहरु इपिएसमार्फत नेपाली कामदार कोरिया जाने क्रममा सबैभन्दा धेरै सङ्ख्यामा खुलेता थिए । तर अन्य समयमा समेत त्यो क्रम उत्तिकै छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपालका ३० भन्दा बढि शैक्षिक संस्थामा त्यही भाषा सिकाउने उद्देश्यका साथ कोरियाली स्वयंसेवक पठाउने गरेको छ । त्यसबाहेक कोरिया ओभरसिज स्वयंसेवक कार्यक्रम अन्तरगत अहिले नेपालमा ५० कोरियाली स्वयंसेवकहरु स्वास्थ्य, प्रविधि, कृषिजस्ता क्षेत्रमा छन् । विश्वभाषा क्याम्पसमा समेत अन्यमा जस्तै आकर्षण बढाउन कोइकाले झण्डै २० लाख लगानीमा एक सुविधासम्पन्न ल्याब स्थापना गरेको थियो । अहिले दू्रत गतिमा नेपालमा बढिराखेका पर्यटकमध्ये कोरियाली पनि रहेकाले भाषा सिक्नु नेपालमा लोकप्रिय बन्दै गएको छ ।

सुहाउँदो फेसन 

कोरियाली फेसन भन्नासाथ कि त ठूल्ठूला बटमदार ज्याकेट दिमागमा आउँछन् कि त फिटिङदार पाइन्ट । बाहिरपट्टि भिभिन्न कपडाका डिजाइन भरिएका लङ बुट एवं जडिदार बुट्टा भएका टिसर्ट । नेपालमा यिनै कुरा बढि चलेको छ । तर कोरियाली फेसनको दुनियाँ निकै ठूलो छ । हरेक रंगमा धेरै गाडापन नहुनु र स्पोर्टी लाग्नु अर्को विशेषता हो कोरियाली फेसनको । झण्डै १४ बर्षअघि खुलेको नेपालको पहिलो ‘द कोरियन सप’की रीना श्रेष्ठ भन्छिन्, “पार्टी वेयर होस् या फर्मल कोरियन पहिरन उत्तिकै विविधतापूर्ण हुन्छ ।” अझ जाडोको समयमा सबैभन्दा बढि कोरियाली पहिरन नेपाली बजारमा देखिन्छन् । भुवादार र हुड भएका ज्याकेटहरु । त्यसबेला फिटिङ ज्याकेट र मफलर उत्तिकै चल्तिमा हुन्छन् । गर्मीमा भने टिसर्ट र बुटकट (चुजभन्दा ठूलो र बेलीभन्दा सानो) नै हुन् कोरियाकी पहिरनका मुख्य आकर्षण । “कोरियन पहिरनको विशेषता भनेकै साधारणमा पनि फेसनेवल देखिनु हो जुन नेपालमा धेरै चल्ने भारतिय, चिनियाँ वा अन्य कपडमा पाइंदैन,” कोरियन सपकी श्रेष्ठ भन्छिन्, “बरु कोरियन पहिरन लगाएपछि कपाल वा फेसियन मेकअप, फुटवेयरको कम्बिनेसन मिलाउन सकियो भने चाहीं त्यो सबैभन्दा बढि जम्छ ।” निकै हलुका र धेरै रंग नमिसिएका चप्पल यहाँ उत्तिकै रुचाइन्छन् ।

सन ग्लास, आइ र्‍यासेज कोरियन शैलीका अर्को मुख्य पाटा हुन् । अर्कोतर्फ कोरियामा बनेका कस्मेटिक यहाँको हावापानी सुहाउँदा पनि छन् । कोरियन कस्मेटिक्स मात्र बेच्ने सिभिल ट्रेड सेन्टरस्थित मिसुमी कस्मेटिक्सकी सानु श्रेष्ठ भन्छिन्, “कोरियन मुभि, पहिरनले लोकप्रियता लिइराखेको अवस्थामा कस्मेटिक्सले पनि बजार लिनु कुनै नौलो होइन ।”

केटाहरुको फेसन कपाल बनाउनेदेखि कपाल सजाउनेसम्म हुन्छ । र, त्यही सुहाउँदो पाइन्ट टिसर्टदेखि फुटवेरसम्म कस्तो लगाइएको छ भन्नेले अर्थ राख्छ । छेउतिर छोटो छाड्ने र बिचमा जेलले चुच्चो पार्ने ‘मग स्टाइल’ मुख्य हो भने केटीहरु भिक्टोरिया स्टाइलमै बजारमा चलेका ससाना परिवर्तन आत्मसाथ गर्दैन् । उनी ‘बप स्टाइल’ जसमा कपाल स्ट्रेट गरेर बिचमा छोटो  र छेउतिर लहरा छाडिन्छ । ब्युटिसियन घले भन्छिन्, “यी सबैमा कलेज पढ्ने तन्नेरीकै क्रेज छ ।” फिल्म र ड्रामा नहुँदो हो त यसरी कोरियाली प्रभाव सहजै फैलन सहज नहुनेमा सबै व्यावसायिहरु सहमत छन् । अहिले काठमाडौंबाहेक धरान र पोखरामा कोरियाली फेसनको प्रभाव बढि देखिन्छ जसकै कारण कोरियाली फेसनका आउटलेट त्यसतर्फ समेत उत्तिकै खोल्न थालिएका छन् ।

जे होस् कोरियाली संस्कृति अब नेपालका लागि जिब्रो टोक्नेगरी नौलो रहेन । बदलिरहने फेसनको दुनियाँमा कतिले अब कोरियन संस्कृति ‘आउटडेटेड’ पनि भयो भन्नेहरु छन् । तर ब्यावसायिहरु भने झन् आशावादी छन् । उनीहरुको आशाभित्र लुकेको एउटै पक्ष अहिले इपिएसमार्फत कामका लागि गएका हजारौं नेपालीहरु हुन् जो फर्केपछि झन् यहाँ कोरियाली संस्कृति अझ सहज बन्नेछ ।

First Appeared in Nepal Magazine

No comments:

Post a Comment