Friday, August 2, 2013

ग्लोकल मन

अमेरिकामा पढ्ने विद्यार्थीको लागि गर्मीयाम रमाइलोको समय हो । कसैले त्यही ३ महिने छुट्टिमा काम गरेर पैसा जम्मा पार्छन् त कोही आ–आफ्ना परिवारसँग बस्छन् वा कतै घुम्न जान्छन् । तर सहदेव याङमाली राई भने भोजपुर पुगेर दिप्सा गाउँको खेतबारीमा बिताए । त्यहाँका स्थानिय महिलालाई अदुवा, लसुन र विभिन्न सागसब्जीको उब्जाउने नयाँ–नयाँ शैली बताए र त्यही अनुसार कामको शुरुवात पनि गरे । तिनको उत्पादन कसरी धेरै गराउनेदेखि बजारमा कसरी पुर्‍याउने भन्नेसम्म योजना र शुरुवाती काम गरे । राईलाई खेतिपातीबारे त्यतिधेरै अनुभव थिएन तर ३ महिनायता उनले विभिन्न पुस्तक एवं विज्ञलाई भेट्दै त्यसबारे सिकिराखेका थिए ।

राई पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टनको पहलमा स्थापित क्लिन्टन ग्लोबल इनिसेटिभ अवार्डका ९ हकदारमध्ये एक हुन् । बिगत ६ बर्षयता उक्त अवार्ड सामाजिक सेवा र जीवनस्तर उकास्ने काममा योगदान दिन चहाने विश्वविद्यालयका विद्यार्थीको लागि आकर्षण बन्दै आएको छ । यसपटक राई विभिन्न ७५ मुलुकबाट ६ सयभन्दा बढि योजनासँग प्रतिस्पर्धामा थिए । उनले जितेको अवार्डलाई अमेरिकाको मिजोरीस्थित वेस्टमिनिस्टर्स कलेजले आफ्नो वेवसाइटको होमपेजमै ‘असामान्य सफलता’ मानेर राखेको छ । “स्थानिय स्रोतकै सदुपयोग गरेर महिलाको जीवनस्तर उकास्ने र द्वन्द्वले दिएको घाउ बिर्साउने मेरो कामको लक्ष्य हो,” राई भन्छन्, ‘त्यसले प्रभाव अन्तत: दिप्साका थुप्रै पक्षमा देखिने हुँदा अवार्ड पाएको हुनसक्छ ।’

त्यहींको जनोदय उच्च माविमा सोलार जोडेर कम्प्युटर कक्षा शुरु गर्ने अर्को योजना यसैको सफलतासँग जोडिएर आउनेछ । अहिले जाँदा पनि उनले १ सोलार प्यानल स्कुललाई लगिदिएका थिए । भन्छन्, “त्यही खेतीबाट बर्षेनी ५० हजार छुट्याउन सकियो भने स्कुलमा सोलारबाट कम्प्युटर कक्षा दिगो रुपमा चल्न सक्छ ।”
क्लिन्टन ग्लोबल इनिसेटिभ अवार्ड पाउँदाको प्रसंग भने रोचक छ । अवार्डका लागि आवेदन दिनमा उनीबाहेक सबै समहमा थिए । राई एक त एक्लै थिए त्यसमाथि अवार्ड पाउने अधिकतम ५ हजार अमेरिकी डलरको सीमा नाघेर १० हजार प्रस्ताव गरेका थिए । त्यही सहि उनको योजना उत्कृष्ठ ठहरियो र अमेरिकी नायिका जाडा पिंकेट स्मिथ, जो विल स्मिथकी श्रीमती हुन्, ले उनलाई अवार्ड हस्तानतरण गरिन् । पछि उनलाई राष्ट्रपति क्लिन्टनकी छोरी चेल्सीले भनेकी थिइन्, “यो शुरुवाती रकम मात्र हो, काम राम्रो हुँदै गयो भने तिमीले थप सहयोग पाउँदै जानेछौ ।” पछि उनले विल क्लिनटनलाई पनि भेटेर आफ्नो कामबारे बताउने अवसर पाएका थिए ।  

अहिले उनले आफ्नै नाममा ‘याङवार्ड फाउन्डेसन’ स्थापना गरेका छन् जसले सोही योजनाको सफलताका लागि धेरैतिरबाट प्राविधिक र आर्थिक सहयोग जुटाउनेछ । यस पटक काठमाडौं आउँदा खेरी नै उनले यहाँ रहेका आफ्ना साथीहरुको सामाजिक संस्था ‘कायाकल्प’सँग मिलेर ५ हजार ५ सय पुस्तक तथा म्यागेजिन संकलन गरेर त्यही विद्यालयका लागि पुस्तकालय बनाउन जम्मा पारे ।

अर्को हप्ता उनी वेवमिनिस्टर फर्कंदैछन् तर अब उनको आधा मन यतै डुल्नेछ । किनकि यो एकैछिनका लागि बनेको योजना होइन, यसलाई नमूना बनाएर धेरैतिर लानु पनि पर्नेछ । भन्छन्, “अर्को छुट्टिमा आउँदासम्मको लागि दिप्सामा मैले चाहिनेजति चाँजोपाजो मिलाएर आएको छु ।”
****

व्यावस्थापन पढिराखेका म्यासाच्युसेट इन्स्चि्सच्युट अफ टेक्नोलोजी (एमआइटी)विद्यार्थी शम्बुबाबु कोइरालालाई व्यावस्थापन गर्नुको अनुभव अहिलेको गर्मीयामले सिकाइराखेको छ । तर त्यो सिर्फ उनको व्यक्तिगत सिकाई हुनेछैन त्यससँगै त्यस गाउँका मानिसहरुको अर्थोपार्जन समेत बढ्नेछ । किनभने, उनी सुनसरीको दुम्रहा गाउँमा एउटा मिल खोल्न जुटिराखेका छन् । जसका लागि उनले ‘एमआइटीे आइडिया ग्लोबल च्यालेन्ज’मा उत्कृष्ठ ठहरिएर १३ हजार अमेरिकी डलर (झण्डै १२ लाख ३५ हजार रुपियाँ) रकम पाएका थिए । यो अवार्ड एमआइटी भित्रकै विद्यार्थीका लागि धेरैजसो त्यहाँबाट पढाई पूरा गरेका व्यक्तिहरुले दिने सहयोगबाट दिइन्छ ।

तराईतिर अहिले धेरैजसो धान निकै सस्तोमा बिक्री भएर भारत जान्छ । र, त्यही धान चामल भएर नेपाल फर्कंदा आकासिंदो गरी महंगिन्छ । तराईबाट काठमाडौं पुग्दा सम्म चामलको भाउ दोब्बरभन्दा बढि पुगिसक्छ तर किसानको जीवनस्तर कहिल्यै उकासिंदैन । यसरी नै उनको योजना जन्मिएको हो । शम्भु भन्छन्, “मैले गर्ने काम कुनै नयाँ प्रविधि वा अवधारणा नभई बिचौलियाको भूमिका कम वा मनपरी हुन नदिंदा कति फरक पर्न सक्छ भन्ने देखाउनु हो ।” उनको काम कुनै समाजसेवा मात्रै पनि होइन तर ‘विन–विन’ व्यापारको एउटा नमूना हो ।

उनको ‘ग्रामिण मिल्स’बाट उत्पादन हुने चामलको एउटा छुट्टै ब्राण्ड हुनेछ, ‘ध्युदाना चामल’ । जसको प्रतिस्पर्धा नेपालमा नाम चलेका चामलका ब्राण्डसँग गर्ने उनको योजना छ । अहिले सानो मात्रामै भएता पनि गुणस्तरमा उनीहरुभन्दा केही कुरामा पनि कम नहुनु उनको लागि चुनौति छ । अर्कोतर्फ करोडौंमा खुलेका कम्पनीसँग केही लाखको सानो व्यापार भिड्न सहज भने छैन । कोइराला भन्छन्, “मसँग विज्ञापन वा प्रचारप्रसारको लागि पैसा हुनेछैन । त्यसैले अरु सिर्जनशील तरिका लगाउनु पर्छ ।” जस्तो उनको मिलमार्फत धान बेच्दा किसानलाई अन्यभन्दा कम्तिमा २० प्रतिसतले नाफा हुनेछ । र, शम्भुले ध्युदाना चामलको प्याकेटमै लेख्नेछन्, ‘यो चामल किन्नुभयो भने किसानमा अन्यभन्दा २० प्रतिसत बढि मुनाफा जानेछ ।’ सोसल मिडिया टुल्सहरु त छंदै छन् । योजना अनुसार चल्ने हो भने एउटा मिलले २ बर्षमा अर्को मिल किन्न सक्ने पैसा जम्मा पार्नेछ । र, उनको व्यापार फस्टाउन समय लाग्नेछैन । काठमाडौंका मललाई लक्षित गरेर आफ्नो व्यापारिक रणनीति बनाउनेदेखि गाउँमा किसानसँग धानको लागि वातावरण बनाईसकेका छन् उनले । अबको झण्डै २ हप्तामा मिल समेत गाउँमा सेटअप गरेर उनी अमेरिका फर्कनेछन् भने यता उनकै योजना र तयारीको भरमा मिलले काम गर्न थाल्नेछ ।

एमआइटीजस्तो विश्वको शीर्ष विश्वविद्यालयको विद्यार्थी गाउँमा गएर व्यापार शुरु गर्नु एमआइटीमा निकै ठूलो काम मानिन्छ । शम्भु भन्छन्, “शहरकेन्द्रित समाजमा यदि कसैले गाउँमा सम्भावना देख्छ भने त्यतिखेर आफ्नो पढाई सार्थक भएको सोच्छन् एमआइटीका प्राध्यापकहरु ।” एमआइटीमा बर्षेनी हुने आइडिया ग्लोबल च्यालेन्जमा विश्वविद्यालयले विद्यार्थीमार्फ थुप्रै कुरामा ‘एक्सपेरिमेन्ट’ पनि गरिराखेको हुन्छ । त्यसैले त्यस्तो रकम झट्ट सुन्दा निकै हावादारीझैं लाग्ने योजनाले पनि पाइराखेका हुन्छन् । र, ती सबै कामको प्याटेन्ट राइट्स एमआइटीको हुन्छ । अहिले चर्चित क्लाउड स्टोरेस सेवा ‘ड्रपबक्स’ होस् या एचडी टिभी, ती सबै एमआइटीकै प्याटेन्ट राइट्स हुन् जसबाट स्वभाविक रुपमा मोटो रकम बर्षेनी त्यहाँ गइराखेको हुन्छ । माइक्रोसफ्टको पहिले नै क्लाउड स्टोरेज सुविधा रहेको अवस्थामा सन् २००९ मा ड्रपबक्स शुरु गर्न खोज्नु त्यसबेला निकै चुनौतिपूर्ण काम थियो जुन अहिले करोडौं डलरको व्यावसायको रुपमा स्थापना भइसकेको छ । शम्भु भन्छन्, “सयौं त्यस्ता काममा पैसा खन्याउँदा एउटा मात्रै पनि राम्रो भइदियो भने ति सबैको पैसा सजिलै उठ्छ ।”

विश्वभर थुप्रैतिर सहकारीमार्फत जीवनस्तर विकासका काम हावी भइराखेको बेला शम्भुको यो काम भने ‘मुनाफाका लागि नीजि क्षेत्र’ अभियानका साथ लागि परेको हो । सायद, ठूलो एमआइटीको लागि उनको सानो कामको अर्थ बाहिर देखिनेभन्दा बढि छ ।
***
राई र कोइरालाको दिने एउटै सन्देश के हो भने उनीहरु संसार चिनेका र आफ्नो परिवेस नभुलेका तन्नेरी हुन् । ग्लोबल र लोकल मिश्रित ‘ग्लोकल’ मन ।


First Appeared in Kantipur.

No comments:

Post a Comment