Saturday, July 27, 2013

दुइटा बाघ र बुच लामा

बाघ र मान्छेको मन कति मिल्छ ? बुच लामालाई थाहा छैन । फिल्म लाइफ अफ पाईमा देखाइएको छ, बाघमा देखिने मानिसप्रतिको कोमलता मानिसको आफ्नै कोमलताको प्रतिबिम्ब हो । ४५ बर्षे जीवनमा लामाले पछिल्लो २२ बर्ष अधिकांश समय बाघकै वरपर बिताए । संशयसहित उनी लाइफ अफ पाइकै तर्कमा सहमत छन् । 

एक जोडि बाघ, चार्जर र सीतालाई भने सबैभन्दा नजिकबाट उनैले चिने । र, त्यही जोडि बाघलाई नै विश्वले सबैभन्दा राम्ररी चिन्यो । यो जोडिको जति फोटो र भिडियो खिचियो त्यति कुनै बाघमात्र होइन सायद अहिलेसम्म कुनै एउटै जनावरको पनि खिचिएको छैन । सीताको तस्विर त सन् १९९७ डिसेम्बरमा नेसनल जोग्राफिक म्यागेजिनले आफ्नो आवरणमा नै छाप्यो । बिबिसीले वृत्तचित्र बनायो । उता बुचको परिचय चार्जर र सीताजत्तिकै रातारात बदलियो, वाइल्ड लाइफ गाइड र वाइल्ड लाइफ फोटोग्राफरका रुपमा । 
***
सन् ८० को दशकतिर काठमाडौंमा पर्यटन व्यावसायमा जमेको एउटा परिवारका छोरा हुन् बुच । उनका बाबु नेपालको पहिलो “द रोयल होटल” खोल्ने रसियन नागरिक बोरिस लिसानिभिचसँगै कलकत्ताबाट नेपाल छिरेका थिए । उनको टाइगर टप्समा केही लगानीदेखि त्रिशुलीमा र्‍याफ्टिङको व्यावसाय थियो । उनी चहान्थे छोराले छिट्टै एसएलसी सकोस् अनि तिनै व्यावसायमा हात हालोस् । बुचले न त कहिल्यै एसएलसी सके न त बुवाको इच्छा बमोजिम पुस्तौनी काममा नै जमे । उनको संगत नै त्यस्तै थियो, प्रहरीको वान्टेडमा परेका, भर्खर जेलबाट छुटेका, न्यूरोडका नामूद डनजस्तासँग । “हाम्रो संगतमा परेपछि पढ्ने मान्छे पनि बिग्रिन्थ्यो,” झण्डै एक महिनाअघिको एक साँझ न्यूरोडमा उनी आफ्नो बाल्यकाल सम्झिरहेका थिए, “सहपाठी पिट्नु त हाम्रो लागि कुनै नौलो काम थिएन, शिक्षक समेत छाड्दैनथ्यौं ।” कक्षा ५ पछि उनी झण्डै आधा दर्जन स्कुलमा भर्ना भए तर कतै एक बर्ष पूरा काटेनन् । सन् ८० को दशकको अन्त्यतिर उनले दृष्टि साप्ताहिकमा समेत एक बर्ष काम गरेका छन्, कम्पोजरका रुपमा । व्यापारिक परिवारमा छोराले गरेको त्यो काम झन् सह्य भएन र उनलाई सजाएँ स्वरुप भारत मध्यप्रदेशको बान्धवगढ राष्ट्रिय निकुञ्ज पठाइयो । 

नेपालको एक राणा परिवारको त्यता रहेको सम्बन्धले बुवामार्फत उनलाई त्यहाँ पुर्‍यायो । १ बर्ष अघिमात्र त्यहाँ पुगेका चन्द्र समशेरका खनाती नन्द राणाका साहकर्मी भए उनी । 

सन् ९० को दशकको शुरुवाती समय । अहिले हवाइजहाजबाट उत्रेको ३ घण्टामा पुगिने त्यस ठाउँ त्यसबेला निकै बिकट लाग्थ्यो, दिल्लीबाट पुग्न मात्र ३६ घण्टा लाग्ने । आदिवासीको बाहुल्यता भएको त्यस्तो ठाउँमा १२ टेन्ट र एक लजमा उनीहरु रिसोर्ट चलाउँथे । त्यही ठाउँमा अहिले ताज, ओबेरायजस्ता भारतका चर्चित होटलले आफ्नो शाखा खोलेका छन् । 

एकदिन कामकै क्रममा बुच र नन्द दिल्ली पुग्दा उनीहरुको भेट नेसनल जोग्राफिकका रिपोर्टर निक निकोल्ससँग भयो । नेसनल जोग्राफिकका लागि बाघबारे स्टोरी गर्ने उद्देश्यसाथ हिंडेका निकोल्स कतै चित्तबुझ्दो परिवेश नभेटेपछि विरक्तिएर अमेरिका फर्कन लागेका थिए । उनको योजना सुनेपछि उनीहरुले एकपटक बान्धवगढ जान सुझाए । निकोल्स जब त्यहाँ पुगे चार्जर र सीताको सहवासको दृश्य देखियो जुन झण्डै २ हप्तासम्म चलेको थियो । उनमा त्यसैले एउटा गुड इम्प्रेसन बनायो । निकोल्सले निधो गरे आफूले खोजेको कथा त्यहीं छ । 

खास नेसनल जोग्राफिकले सन् १९९७ को अन्तिमतिरका लागि बाघको कथा खोजिराखेको थियो । त्यही समय किनभने, एकातर्फ चीनबाट बाघ लोप भइरहेको कथालाई सम्बोधन गर्नुथियो र सन् १९९७ डिसेम्बरबाट चिनिया क्यालेन्डरमा बाघ बर्ष शुरु हुँदै थियो । उक्त जोडि बाघले भर्खर सहवास गर्दै गरेकोले पनि त्यसपछिका विकासक्रम पछ्याउन त्यो निकै ठिक समय थियो । अनि शुरु भयो, लाखौं डलर लगानी भएको काम । उक्त काम कतिसम्म महत्वसाथ गरिएको थियो भने अमेरिकी राष्ट्रपति विल क्लिन्टनले सिधै भारतिय राष्ट्रपतिलाई पत्राचार गरेर उक्त कामका लागि हदैसम्मको सहयोग गर्न आग्रह गरेका थिए । त्यसबेला बान्धवगढमा अरुले नपाउने पैदल यात्राको सुविधा त्यही पत्राचारको कारण पाएका थिए उनीहरुले । काम थालेको ३ बर्षपछि उक्त आवरण प्रकाशित भयो । कारण, एउटा बाघको बच्चाले जन्मिएको २ बर्षभित्र सिकार खेल्नेदेखि लिएर जिउन आवश्यक पर्ने सबै कुरा आफ्नी आमाबाट सिक्छ ।  

निकै आकर्षक र सुविधासम्पन्न काम भइकन पनि बाघसँग नजिकिएर गर्ने उक्त काम सहज भने थिएन । बुचले सुनेका त थिए मानिसले हमला नगरेसम्म बाघले हमला गर्दैन । सुनेको आफैले नझेलेसम्म सधै सही लाग्दैन । बुचमा पनि कताकता त्यही भाव थियो । तर उनले बान्धवगढमा भेटेका थुप्रै बुढा आदिवासीले बाघ अहिलेसम्म नदेखेको सुन्दा त्यो बुझाईमा विश्वास पनि लाग्दो रहेछ । उनी भन्छन्, “अहिले बाघले मानिसलाई हमला गर्ने भनेको जंगल अतिक्रमण भएर आएको बाध्यात्मक अवस्था हो ।” उनीहरुले त्यसबेला बाघको आवतजावत हुने जंगलका विभिन्न कुनामा क्यामेरा फिट गर्नेदेखि लिएर हात्ती/गाडि सबै शैली अपनाएका थिए । निकोन र क्यानन कम्पनीका बरिष्ठ प्राविधिकहरु तस्विर एवं भिडियोको गुणस्तर जाँच्न त्यसबिचमा एकपटक आएका थिए । नेसनल जोग्राफिकले एउटै अंकमा एकै बिषयबारे २ वटा आर्टिकल प्रकाशित गरेको उक्त अंक उसका निकै विशेष अंकमध्ये गनिन्छ । ४० पेजको उक्त सामाग्रीमा २० पेज सीता, चार्जर उसका बच्चाबच्ची र बान्धवगढमा रहेको बाघको बासस्थानमा केन्द्रित थियो भने अर्को २० पेज बाघका समस्यामा । 

सीता र चार्जर दुवै अहिले यो संसारमा छैनन् । सीताले सन् १९९८ मै भने चार्जर २००१ यो संसार छाडे । तर सीताले आफ्ना बच्चा हुर्काएको, सिकार खेल्न सिकाएको लगायतका नजिकबाट खिचिएका दृश्यका तस्विर एवं भिडियोले उनीहरु धेरैका मनमा बस्न सफल छन् । 
***
बाघको स्वभाव कस्तो हुन्छ भने भालेले संभोग बाहेक बच्चा हुर्काउनमा योगदान दिंदैन । त्यसपछिको सम्पूर्ण काम पोथी बाघको हुन्छ । एउटा भाले बाघको श्रीमती नै ३/४ वटा हुन सक्छन् । र, ती सबै बस्ने च्याम्बर वरपर उसले निरन्तर गस्ती गर्छ । पोथी–पोथीको पनि इलाका हुन्छन् तर भालेको भन्दा स–साना । आफ्नो च्याम्बरमा अर्को भालेलाई प्रवेश गर्न नदिनु भालेको मुख्य जिम्मेवारी हो । “आफ्नो इलाकाको जनाउ दिन भालेले कतै रुख त कतै भुई कोतरेत वा कतै पिसाब फेरेर संकेत दिन्छ,” बुच सुनाउँछन्, “त्यसका बावजुद अर्को भाले आफ्नो इलाकामा भेटियो भने उसले आफ्नै  बच्चालाई मार्छ ।” भालेहरुबिच शक्ति प्रदर्शनको एउटा शैली के पनि हो भने उसले जति रुखको माथिसम्म कोतरेर आफ्नो इलाकाको संकेत गर्न सक्यो त्यति नै बलियो देखिन्छ । आफ्नो इलाका सुरक्षित गर्न एउटा बाघले एक रातमै ६० देखि ७० बर्गकिलोमिटर ‘पेट्रोलिङ’ गर्छ ।

बुच एक घटना सम्झन्छन्, जोग्राफिकको आवरणका लागि बच्चा सहितको तस्विरको खोजि गर्दाको । बच्चाको लागि आहारा खोज्न जाँदा पोथीले यति सुरक्षित ठाउँमा आफ्ना बच्चालाई लुकाएको हुन्छ कि त्यो पत्तो पाउन निकै मुस्किल हुन्छ । उनीहरु भने त्यही जान्न चहान्थे । त्यहाँबाट पोथीले बच्चालाई निकालेको दृश्यहरु क्यामेरामा कैद गर्न चाहिरहेका थिए । १६ दिनको निरन्तर खोजपछि सीताले बच्चा लुकाएको एउटा निकै साँघुरो गुफा भेटियो । बुच सम्झन्छन्, “भित्रबाट भ्यागुता कराइरहेको जस्तो आवाज आइराखेको थियो । वरपर बाघको पञ्जा हेर्दा त्यहीं बच्चा लुकाइएको छ भन्ने लगभग निश्चित भइसकेको थियो । उनीहरुले त्यस वरपर इन्फ्रारेड क्यामेरा फिट गरेर छाडेका थिए । जब सीता आइ, उसले त्यहाँ मानिस आएको गन्धले थाहा पाइछ । त्यही रिसले उसले त्यहाँ १२ देखि १५ फिट माथिसम्म सेट गरिएका क्यामेराहरु फोरिदिइ पनि र बच्चालाई लिएर अन्तै लागी । त्यस्ता थुप्रै घटना छन् उनको स्मृतिमा । उनीहरुका लागि ति नौला लागेता पनि असली ती बाघका स्वभाव हुन् ती । 
***
अहिले बुच बर्षमा आधाजसो समय बान्धवगडमा बिताउँछन् भने बाँकी समय नेपाल अमेरिका र विभिन्न देशमा । बान्धवगढमा अहिले रहेका ५० जति बाघमध्ये ३० भन्दा बढिलाई उनले नजिकबाट चिन्छन्, उनीहरुको आवतजावत बुझेका छन् । सायद त्यही उनको गुण कारण हो उनलाई गाइड बनाएर बान्धवगढमा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन समेत घुमेका छन् । आफूले घुमाएका विश्वका कति प्रतिष्ठित व्यक्तिलाई त उनले पछि मात्र चिन्दा रहेछन् । त्यस्तै २००१ तिरको एक घटना हो, बेलायती विदेशमन्त्री रविन कुक आएर बुचसँगै बान्धवगढमा बाघ हेरेर गए । पछि फर्कंदा कुकलाई सबैले गरेको स्वागत र त्यहाँ उपलब्ध सुरक्षा देखेपछि मात्रै मन्त्री भएको थाहा पाए । उनले एक जना घुमाएबापत दिनकै ३ सय अमेरिकी डलरसम्म लिन्छन् । तर बुचको तर्क छ, “यो मानिसको सौख र लगावले गर्ने काम हो । पैसालाई केन्द्रमा राखियो भने यसमा जम्नै सकिंदैन ।” पैसा नै कमाउन खोज्ने हो भने कहिलेकाहीं बाघको नजिकै पुर्‍याइदिन्छु भन्दा पारखीहरु ज्ति पनि खर्च गर्न तयार हुन्छन् । त्यही सिद्धान्तमा उनी अहिलेसम्म चलेका छन् । एक पटकमा २ जना भन्दा बढिलाई घुमाउँदैनन् । र, दिनमा २ पटक भन्दा बढि घुम्न जाँदैनन्  पनि । भन्छन्, “एउटा नआए अर्को आउँछ, कोही नआए म एक्लै घुम्न समेत जान्छु । र, ती जुनमा पनि मलाई उत्तिकै आनन्द आउँछ ।” र, उनको हरेक ग्राहकले दिने ३ सयमध्ये १ सय डलर त नेपालमा विश्व वन्यजन्तु कोषमार्फत हिउँ चितुवा संरक्षण अभियानमा जान्छ ।

पछिल्लो समय उनी बाघसँगै चरा अवलोकनमा समेत पुग्छन्/पुर्‍याउँछन् । यो बर्ष उनी पोलार बियरको अध्ययन टोलीसाथ अन्टार्टिका पुग्दैछन् । डार्विनले अध्ययन गरेको इक्वेडरको गालापेगोस आइल्याण्ड र क्यानाडाको मन्टोवा टापु पनि जाँदैछन् । श्रीमती सुसी एलिसन लामा भएपनि उनको टिमवर्क झनै मिलेको छ । भन्छन्, “बुद्धि उसको हो, फिल्डको काम मेरो ।”

पछिल्लो समय उनी आफै तस्विर खिच्छन् । अरुलाई बाघको तस्विर खिच्न सघाउँछन् । त्यही उनको खुबी अहिले विश्वका चर्चित ट्राभल एजेन्टमाझ लोकप्रिय बनेको छ । सन् २००९ मा अमेरिकाको आउटडोर फोटोग्राफर म्यागेजिनका लागि ‘द क्वेस्ट फर टाइगर्स’ शीर्षकमा उनको तस्विर र श्रीमती लामासँगको सहलेखनले उनको चर्चा झन् चुलाएको छ । ट्राभल एड्भाइजरहरुमा बाघको तस्विर र लामा पर्यायजसरी देखिन्छन् । तर ती तस्विरसँग उनको त्यतिधेरै महत्वकांक्षा जोडिएको छैन । उनको नीजि वेवसाइट ‘बुचलामाडटकम’ मा अर्काइभ छन् ती । भन्छन्, “मन पर्नेहरु आफै किन्न खोज्छन् तर म बेच्न मरिहत्ते गर्दिन ।” बाघमा रुचि राख्ने विश्वका धेरै नामूद फोटोग्राफर उनीसँग डुलेर फोटो खिचेका छन् । 

काठमाडौंमा पंक्तिकारसँग भेटिरहंदा बुचसँग बाध्यकालका साथीहरु थिए । उनीहरु त्यही पूराना दिन सम्झंदै रमाइरहेका थिए । बुचमा न घमण्डीपन थियो, न जीवनप्रति हतारो न पछुतो नै । उनले फेसबुक र इमेल आफैले नखोलेको नै ३ महिना नाघिसकेको रहेछ । भन्दैथिए, “तर मसँग सम्पर्क गर्न खोज्नेहरु केही घण्टामै मेरो प्रतिकृया पाउँछन् ।” किनकि ती सबै काम श्रीमतीले हेर्दिरहिछन् । बुचमा एउटै पछुतो छ, “भारत छिरेको ३ बर्षमै बितेका कारण, म पनि कसैलाई काम लाग्न सक्ने मान्छे बन्न सकेको बुवाले देख्न पाउनु भएन ।”

For More on Butch Lama:: www.butchlama.com 

First Appeared as a Cover Story in Kantipur Koseli

No comments:

Post a Comment