Friday, July 19, 2013

वेम्बलीमा नेपथ्य

१९ साउनमा लन्डनको वेम्बली एरिनामा हुने कन्सर्टको तयारीमा छन्, नेपथ्य ब्यान्डका गायक अमृत गुरुङ। विश्वकै तेस्रो ठूलो 'इन्डोर कन्सर्ट भेन्यु' हो वेम्बली। द बिटल्स, द होलिजदेखि पछिल्ला डिपिक मोड, मेटालिका, मे-डे, बिग ब्याङ्जस्ता थुप्रै ब्यान्डले प्रस्तुति दिइसकेको थलो। बि्रट्नी स्पेयर्स, म्याडोना, साकिराजस्ता चर्चित सेलिबि्रटीको समेत कन्सर्ट गर्ने पि्रय स्थान ।

नेपाली ब्यान्डले विश्वको त्यति ठूलो प्रतिष्ठित ठाउँमा पहिलोपटक प्रस्तुति गर्न लागेको कन्सर्टको समन्वय गर्ने संस्था नेपालयको दाबी छ। त्यसैले ब्यान्डका फ्रन्टम्यान अमृत गुरुङ भने त्यसलाई नेपाली संगीतले फड्को मार्ने नयाँ अवसर मान्छन्। १२ हजार ५ सय दर्शक अट्ने उक्त रंगशालाका लागि अनलाइन टिकट बुकिङ् खुला गरिएको छ। गायक गुरुङ थप्छन्, "यसमा हाम्रो प्रस्तुति र दर्शकको सहभागिता कस्तो हुन्छ, त्यसले भविष्यमा नेपाली संगीतले पाउने थप अवसर निर्धारण गर्नेछ।"

सन् १९९१ मा पहिलो एल्बम नेपथ्य सार्वजनिक गरेयता यो ब्यान्डका गीत थुप्रै नेपालीका मुखमा झुन्डिएका छन्। नेपाली संगीतका श्रोताहरू अझै पनि नेपथ्य भनेपछि मरिमेट्छन्। "नेपाली मौलिकता र एकरूपतासहित नेपाली संगीतको पर्यायको रूपमा रहेको ब्यान्ड हो यो," वेम्बली एरिनाकै वेबसाइटमा नेपथ्यको परचिय दिँदै लेखिएको छ, "यसका गायक गुरुङ नेपालका कुना-कन्दराका लोकभाका खोजेर लोभलाग्दो कम्पोजिसन गर्छन्।" तिनै लोकभाकालाई 'पप' र 'रक' मिश्रति गराउँदा ती गीत विकट गाउँका पाखादेखि सहरका रात्रिक्लबमा समेत घन्किन सफल छन्।

नेपथ्यको विगत भने उसका गीतजस्तो एकनासको छैन। सन् १९९० मा स्थापना भएयता ब्यान्डमा अहिलेसम्म २३ जना अनुहार आउने-जाने भए। अहिले ब्यान्डमा रहेका संस्थापक भने गुरुङ मात्र हुन्। दुःखका दिन सम्झने हो भने सन् १९९८ मा जापानमा कन्सर्ट गर्न जाँदा चार जना ब्यान्ड सदस्य उतै बसे। कन्सर्ट पनि नमज्जाको भयो। गुरुङ सम्झन्छन्, "दर्शकभन्दा बढी थिए, प्राविधिक र ब्यान्ड सदस्य। सबै गरेर ४२ जना मात्र।"

त्यसले दिएको नमीठो अनुभव बोकेर र्फकेका गुरुङले मनमनै 'अब कहिल्यै नगाउने' निश्चय गरसिकेका थिए। दुई वर्ष केही नगरी नेपाल टेलिभिजनमा कार्यक्रम उत्पादकको रूपमा काम गरे उनले। शुभेच्छुकहरू भने उनले गाएको हेर्न चाहन्थे, सुन्न चाहन्थे। एक दिन बेलायती सेनामा काम गर्ने भाइ किरण गुरुङले विदेश र्फकने बेलामा अमृतका लागि डेढ लाख रुपियाँ छाडेर गएछन्। पछि उनले फोन गरेर भनेको गुरुङ सम्झन्छन्, "तपाईंलाई संगीतमा र्फकन सहयोगी होस् भनेर पैसा छाडेको छु। तर, मन लागेको कुरामा खर्च गर्न तपाईंलाई छुट छ।" वेम्बलीमा कन्सर्टका लागि अवसर पाउँदा समेत उनले किरणको प्रेरणा भुलेका छैनन्।

आफूले गाउने गीतका शब्द प्रायः अमृतकै हुन्छन्। उनका गीतले कहिले राष्ट्रियता बोल्छ त कहिले दुःख सम्झिँदै शान्तिको कामना। जनजीवनमा चलेका ठेट शब्द टपक्कै टिपेर गीतमा बुनेकाले उनी सबैका प्रिय गायक बनेका हुन्। सन् २००६ मा सम्पन्न उनको सांगीतिक अभियान 'सबैका लागि संगीत'ले श्रवणशक्ति गुमाएका, दृष्टिविहीनजस्ता शारीरकि र मानसिक समस्या रहेका व्यक्तिलाई त्यही अनुकूलको वातावरणमा प्रस्तुति दियो। "अपांगलाई घरमै गुम्स्याएर राख्ने हाम्रो समाजमा त्यो काम गर्व गर्नलायक थियो," उनी सुनाउँछन्, "यो जिन्दगानी बोलको गीत त्यसैबाट जन्मिएको हो।"

वेम्बली एरिनामा कन्सर्ट गर्न पाउँदा विश्वका चल्तीकै गायक वा ब्यान्डले समेत आफूलाई एक खुड्किलो उक्लिएको सम्झिन्छन्। त्यहाँ कतिपटक प्रस्तुति दिन पाइयो भन्ने कुराले पनि अर्थ राख्छ। बि्रटिस पप गायक सर क्लिफ रिचार्डले सन् १९८४ देखि २००९ बीचमा वेम्बलीमा पाँच दर्जनभन्दा धेरैपटक कन्सर्ट गरेर त्यहाँ सबैभन्दा बढी कन्सर्ट गर्ने रेकर्ड राखेका छन्।

जेहोस्, वेम्बलीमा कन्सर्ट गर्ने कुराले अमृत दंग छन्। लाखौँ नेपालीको स्नेह पनि भुलेका छैनन् उनले। उनकै गीतको भावझैँ, जोगले हुने भेट र मायाले हुने सम्झनाको साइनोलाई वेम्बली एरनिासँग अमृतले कसरी जोड्ने हुन्, त्यो थाहा पाउन भने केही साता कुर्नैपर्छ।

No comments:

Post a Comment