Sunday, September 15, 2013

फुटबलका प्रवर्द्धक

काठमाडौँमा साफ च्याम्पियनसिप चलिरहँदा धपेडीमा छन्, विक्रम थापा, २९। नेपाली टिम सम्मिलित खेलअगाडि वा पछाडि टेलिभिजनमा आउने उनको विश्लेषणले फुटबल फ्यानलाई तानिरहेकै छ। त्यसमाथि उनको वेबसाइट गोलनेपालडटकमले नेपाली फुटबललाई ब्रान्डिङ् गर्न सघाइरहेको छ।

नेपाली फुटबललाई नजिकबाट नियाल्न खोज्ने र इन्टरनेटसँग अभ्यस्त पछिल्लो पुस्ताका लागि यो साइट साथीजस्तो छ। थापा भन्छन्, "नेपालमा फुटबल यति धेरै लोकपि्रय छ कि ३ सय ६५ दिन नै कहीँ न कहीँ प्रतियोगिता भइरहेको हुन्छ। देशलाई एकीकृत गर्न सक्ने बलियो माध्यम यही हो।"

मुलुकको दुर्गम गाउँदेखि नेपालको सहभागिता रहेको अन्तर्राष्ट्रिय फुटबलसम्म विक्रमको टोली पुगेकै हुन्छ, खेल प्रत्यक्ष प्रसारण गर्नेदेखि लुकेर बसेका प्रतिभालाई मूलधारमा चिनाउन। सानैदेखि फुटबलका सोखिन रहेछन् यिनी। एक दशकअघि उनले अन्तर्राष्ट्रिय रूपमा लोकपि्रय फुटबलको साइट गोलडटकममा दक्षिण एसिया र आसियाना क्षेत्र 'कभरेज' गर्ने अवसर पाएका रहेछन्। उनलाई लाग्थ्यो, स्वदेशीभन्दा विदेशी राष्ट्र तथा क्लब फुटबलका बढी फ्यान छन् नेपाली। गोलडटकममा नेपाली फुटबलको कभरेज सुरु भएपछि त्यसले अपत्यारलिो ढंगले लोकपि्रयता बटुल्यो। सम्झन्छन्, "आहा गोल्डकप हुँदा त्यसबारे सिरजिमा कभरेज गर्दा बल्ल नेपाली फुटबलको लोकपि्रयता थाहा पाएँ।"

यद्यपि, सन् २००६ देखि २००९ बीचमा नेपाली फुटबल थुप्रै आन्तरकि विवादमा अल्भिmयो र खेल शून्यप्रायः भयो। एकातिर नेपाली फुटबलमा पाएको अनपेक्षित चासो र अर्कोतर्फ त्यसप्रतिको चर्को उदासीनता देखिरहँदा उनले चार वर्षअघि गोलनेपालडटकम सुरु गरेका हुन्। भन्छन्, "फुटबलको विकास त्यसले दिने मनोरञ्जन, चर्चा र देशभित्र हुने फ्यान संस्कृतिले मात्र हुन्छ। त्यसका लागि मैदानबाहिर पनि थुप्रै पक्षमा लगानी आवश्यक छ।"

उनको टिमले अहिले देशभित्रका ४५ जिल्लाबाट स्थानीय खेलको समेत लाइभ अपडेट, फोटो फिचरजस्ता काम गर्छ। सुनाउँछन्, "विदेशमा रहेका मानिस अहिले आफ्नो गाउँठाउँका खेलबारे जान्न चाहन्छन्। त्यसको कभरेज मूलधारका सञ्चारमाध्यमले विस्तृत रूपमा गर्न सकेका छैनन्।"

टेलिभिजन होस् वा इन्टरनेट, कुनै पनि माध्यमबाट लाइभ अपडेट हुन पाएमा मात्र खेलको वास्तविक आनन्द अनुभूत गर्न सकिने उनको बुझाइ छ। उनको साइटले फुटबललाई ३६० डिग्रीबाट हेर्ने काम गर्छ, टिमको स्तरदेखि, फ्यानका मनोभावसम्म। केहीअघि यसले नेपाली फुटबलसँग जोडिएका आफ्ना तस्बिरहरू 'नेपाललाई सपोर्ट गरौँ' भन्दै पठाउन आग्रह गर्दा ६ हजारभन्दा बढी तस्बिर संकलन भएका थिए। भन्छन्, "अहिले मोबाइलबाटै इन्टरनेट धेरैतिर फैलिएको छ। त्यसको असर नेपाली फुटबलमा समेत उत्तिकै सकारात्मक रूपमा पररिहेको छ।"

उनीहरूले खेलको एसएमएस अपडेटदेखि मोबाइल एप्ससमेत बनाएका छन्। महत्त्वपूर्ण खेलको अनलाइन कमेन्ट्रीदेखि भिडियोसम्म देखाउँछन् उनीहरू। हालसालै स्थापना भएको 'गोलनेपाल कोष'ले हरेक महिना 'अन्डर-६' देखि 'अन्डर-१६' सम्मका देशका विभिन्न फुटबल एकेडेमीलाई बल, जर्सी, पोर्टेबल पोस्टजस्ता अत्यावश्यक सामग्री दिइरहेको छ। भन्छन्, "खेलको लोकपि्रयता बढ्यो भने त्यसप्रति प्रायोजकहरू हौसिन्छन्। त्यसले बढाउने लगानी भनेको अन्ततः फुटबलकै विकासका लागि हो।"

महत्त्वपूर्ण फुटबल प्रतियोगितामा यो साइटले मैदानवरपर आफ्ना स्वयंसेवक खटाएको हुन्छ। १५ भदौदेखि राजधानीमा भइरहेको साफ च्याम्पियनसिपमै झन्डै ५० त्यस्ता स्वयंसेवक छन्। तिनले फुटबल फ्यान संस्कृति बढाउन नजानिँदो ढंगबाट सिकाउँछन्। गोलनेपालडटकमले देशभित्रका फुटबल क्लबदेखि अन्तर्राष्ट्रिय फुटबल क्लबका फ्यान क्लबहरूबीच वाषिर्क रूपमा प्रतियोगिता गर्दै आएको छ। थापा भन्छन्, "भारतमा क्रिकेटमा लगाव भएका फ्यान छन् भने नेपालमा फुटबलका। दुई दशकयता नेपालले ठूलो उपाधि नजित्दा पनि दर्शकमा फुटबलमोह बढिरहनु नै यसको प्रमाण हो।"

No comments:

Post a Comment