Sunday, September 15, 2013

खुत्रुके एप्सका सर्जक

एन्ड्रोइड फोनका नेपाली प्रयोगकर्तामाझ नयाँ एप्स 'क्यासअनएड' डाउनलोडको लहर चलेको छ। मोबाइल प्रयोगकर्तालाई फोन उठाउँदासमेत पैसा कमाउने अवसर दिएको छ यसले। यो एप्स मोबाइलमा इन्स्टल गरेपछि फोन आउँदा सामान्य रङि् टोनको साटो ६ सेकेन्ड लामो भिडियो विज्ञापन बज्छ। पूरा भिडियो हेरेर फोन उठाए एउटा विज्ञापनबापत एक सेन्ट अर्थात् झन्डै एक रुपियाँ प्रयोगकर्ताको खातामा जान्छ।

"यो विन-विन बिजनेसको नयाँ प्रयोग हो," एप्सका सहनिर्माणकर्ता सजत श्रेष्ठ भन्छन्, "विज्ञापनको प्रभावकारिताका लागि पनि यो नयाँ माध्यम हो किनभने फोन उठाउनुअघि आँखा मोबाइल स्त्रिmनमा अडिएकै हुन्छ।" यो एप्सलाई सजतसँगै अन्य दुई सफ्टवेर इन्जिनियर राजेश शर्मा, सञ्जय सीके र ग्राफिक्स डिजाइनर कैलाश ज्ञवालीले तयार पारेका हुन्। झन्डै चार वर्षअघि नोकिया कम्पनीले यस्तै भिडियो टोनको अवधारणा सार्वजनिक गरे पनि आफ्ना मोबाइल सेटमा प्रयोग गरेको थिएन। त्यसैले निर्माणकर्ताहरू 'क्यासअनएड'लाई विश्वमै नयाँ अवधारणा मान्छन्।

यसलाई एन्ड्रोइड मार्केटबाट मोबाइलमा निःशुल्क राख्न सकिन्छ। नेपालमा झन्डै १२ लाख एन्ड्रोइड फोन प्रयोगकर्ता छन्। तीमध्ये ८ लाख ८० हजारले फोनबाटै फेसबुक चलाउँछन्। त्यसमाथि एन्ड्रोइड प्रयोगकर्ता हरेक वर्ष १०-१२ प्रतिशतका दरले बढिरहेका छन्। "पहिले पहिले एन्ड्रोइड फोन सामसुङ्, एलजी र सोनीका मात्र थिए, अहिले अन्य ब्रान्डमा पनि एन्ड्रोइड लोकपि्रय हुँदै छ," सजत भन्छन्, "मार्केटिङ्को यो शैलीको भविष्य राम्रो छ।"

उनीहरू यसलाई आइफोनमा समेत अनुकूल हुने गरी ढाल्न लागिपरेका छन्। सजत सुनाउँछन्, "अन्य माध्यमबाट हुने विज्ञापन मानिसहरूले हेर्छन् वा हेर्दैनन्, थाहा हुँदैन तर यो अचूक माध्यम हो।" सार्वजनिक महत्त्वका सन्देश फैलाउन वा खोप खुवाउने दिनजस्ता छुटाउनै नहुने अवसरका लागि यो माध्यम प्रभावकारी हुने उनीहरूको भनाइ छ।
एप्स सार्वजनिक भएको दुई सातामै प्रयोगकर्ताको संख्या २० हजार नाघ्नु र एप्समार्फत विज्ञापन गर्न चाहनेहरू बढ्नुले पनि उनीहरू उत्साहित छन्। अर्का निर्माता राजेश शर्मा भन्छन्, "छिट्टै एप्लिकेसनमा आफ्ना रुचिका क्षेत्र राखेर सेटिङ् गर्न मिल्नेछ, त्यसपछि प्रयोगकर्ताका रुचिका क्षेत्रसँग सम्बन्धित विज्ञापन मात्र मोबाइलमा आउनेछ।"



हाललाई भाइब्रेसन मोडमा चाहिँ यसले काम गर्दैन । निर्माणकर्ताहरू भिडियो मोडमै शब्दहरूले मात्र काम गर्ने विज्ञापन राख्ने योजना बनाइरहेका छन्। तिनमा रेस्टुराँका मेनुदेखि विभिन्न पसलमा आउने नयाँ सामग्रीका विज्ञापन हुनेछन्। एसएमएसमा समेत विज्ञापनका जिंगल बनाएर त्यसरी राख्न सम्भव हुनेछ। विज्ञापन प्रदायकले सुरुमै यति जनासम्म विज्ञापन पुग्नुपर्छ भन्ने तोकेका हुन्छन्। र, एउटा मोबाइलमा उक्त विज्ञापन पाँचपटकभन्दा बढी बज्दैन, जसले गर्दा विज्ञापनको पहुँचमा शंका हुँदैन।

ग्राहकको खातामा जम्मा भएको रकम दुई दिनभित्रै ई-सेवामा पुग्छ, जसलाई उनीहरूले आफू अनुकूल प्रयोग गर्न सक्छन्। इन्टरनेटमा नजोडिँदासमेत काम गर्ने भए पनि खाता व्यवस्थापनका लागि २४ घन्टामा कम्तीमा एकपटक भने इन्टरनेटमा जोडिनैपर्छ।

No comments:

Post a Comment