Sunday, September 15, 2013

नोटबुक: भाद्र २०७०

छुटेको प्रसंग

पछिल्लो अंग्रेजी नयाँ वर्षमा नेपाली बजारमा एउटा नामले चर्चा पायो- मारी फरारी। विश्वकै सबैभन्दा 'सेक्सी डिजे' कहलिएकी फरारीबारे मैले त्यसअघि सुनेको थिइनँ। धन्न गुगल, युट्युब थिए र उनलाई जान्न धेरै बेर लागेन। उनी त टपलेस भएर डिजेइङ् गर्दी रहिछन्। विश्वका थुप्रै चर्चित क्लब र समुद्री किनारमा हजारौँमाझ प्रस्तुति दिनुका साथै मोडलिङ् जगत्मा उत्तिकै जमेकी। मारीसँग अन्तर्वार्ता लिने मेरो प्रयासलाई सघाए, ओडिसी इन्टरटेनमेन्टका प्रमुख कार्यकारी सीमान्त गुरुङले।

एउटी सुन्दरीसँगको अन्तर्वार्तामा साँच्चिकै बेग्लै अनुभूति थियो, आधा घन्टा कसरी बित्यो, पत्तै पाइएन। फोटो सेसनका क्रममा फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले समेत अघिपछिझैँ धेरै दुःख गर्नुपरेन। बस्, केही लाइटिङ् इफेक्ट मिलाएर क्लिक गरे पुग्थ्यो। जब अन्तर्वार्ता छापियो, साथीभाइ र शुभेच्छुकले मैले मारीलाई सोधेभन्दा बढी प्रश्न सोधे अफिस क्यान्टिनदेखि कलेजसम्म।

एक त 'सेक्सी' शब्द जोडिनेबित्तिकै अलिक घोत्लिने नेपाली स्वभावका बीच धेरैले जिस्क्याउँदै सोध्ने एउटा साझा प्रश्न थियो, 'के तिमीले उनलाई टपलेसमै देख्यौ ?' संयोगले केही दिनअघि मैले मलेसियाको एक अनलाइनमा छापिएको मारीकै अन्तर्वार्ता पढेँ, जसमा सुरुमै लेखिएको रहेछ, "उनी टपलेस भएर डिजेइङ् त गर्छिन् तर अन्तर्वार्ताका क्रममा भने टपलेस थिइनन्।" धेरै महिनापछि मलाई लाग्यो, मेरो अन्तर्वार्तामा छुटेको मुख्य कुरा त्यही रहेछ।

पत्रकार हुनुको पीडा

पत्रकार हुनुको फाइदा धेरै प्रकृतिका मान्छे भेट्न पाउनु हो। तर, कहिलेकाहीँ अचम्मका पात्रहरू भेटिन्छन् र हैरान पार्छन्। कुराकानीका लागि जाँदा कसैले आफूकहाँ ढिलो पत्रिका आउने गुनासो पोख्छन् त कसैले देशको राजनीतिक प्रक्षेपण सुन्न चाहन्छन्। उनीहरूलाई लाग्दो हो, पत्रिकामा एउटै पत्रकारले जे पनि लेख्छ, जे पनि बुझ्छ।

हालै एकाबिहानै एक जनाले मलाई फोन गरेर उनीसँग कुराकानी गरेको रपिोर्ट छापिए/नछापिएको जानकारी मागे। बबाल बौद्ध लेख्ने क्रममा भेटिएका ती स्थानीय राजनीतिक कार्यकर्तालाई मैले दुई साताअघि नै उक्त रिपोर्ट छापिसकिएको बताएँ। त्यसपछि उनले झोक्किँदै भने, "अनि, खै त मलाई पत्रिका छाड्न आएको ?" म त रुनु न हाँस्नु भएँ।

भूकम्पको धक्कामा आवरण

'सोसल मिडिया सेलिबि्रटी' आवरण सामग्रीको अन्तिम काम भइरहेका बेला मध्यरातमा भूकम्पको धक्कासँगै भागाभाग सुरु भयो। केही बेर मूल सडकतिर बसेर के फर्किएका थियौँ, दोस्रो धक्का महसुस भयो र पुनः लुकामारी खेलेझैँ बाहिरै दगुर्‍यौँ। लेखाइ नै राम्रोसँग सकिएको थिएन। त्यसमाथि डिजाइन र तथ्यगत त्रुटि जाँच्ने कामको समय जोड्दा अझै कम्तीमा तीन घन्टाको काम बाँकी थियो। उता भूकम्पका बेला पनि बहिनीलाई घरमा एक्लै छाडेर कार्यालयमै रहेकामा बुबाआमा र दिदीहरूले तारन्तार फोन गर्दै तुरुन्तै घर पुग्न उर्दी दिइरहेका थिए। उनीहरू भन्दै थिए, "यहाँ भूकम्प आइसक्यो, तँलाई केको कभर स्टोरी ?" एक तरिकाले उनीहरूका कुरा पनि गलत थिएनन्। तर, आफ्नो जिम्माको काम पनि कम महत्त्वपूर्ण थिएन।

त्यसै बेला एकथरी भने सोसल मिडियामा भूकम्पलाई चुट्किला बनाइरहेका थिए। कसैले 'चाइनिज भूकम्प धेरै टिकाउ नहुने' भन्दै थिए भने कसैले 'बाबुराम भट्टराईले चर्काएर छाडेका घरको के हालत भयो होला' भन्दै थिए। आफू भने त्यही आवरण कथा लेखनको तनावले चुटकिला सुन्दा पनि हाँस्न सकिरहेको थिइनँ।

साँच्चै असुरक्षित

सहकर्मी उपहारजंग शाहले गत चैतमा दशरथ रंगशालाबारे नेपालमा एउटा रिपोर्ट लेखेका थिए, असुरक्षित रंगशाला। जुन रिपोर्टको गहिराइ हालै सम्पन्न साफ च्याम्पियनसिपका क्रममा मैले नजिकबाट महसुस गरेँ। २० हजारभन्दा बढीको भीडभाड हुने ठाउँमा सामान्यभन्दा सामान्य 'मेटल डिटेक्टर'समेत रहेनछ। धूमपानयुक्त सामग्री लैजान कडा निषेध गरिए तापनि भित्र खुलमखुला चुरोट दोब्बर/तेब्बर मूल्यमा बिक्री भइरहेको थियो। प्रहरी हुन् वा स्टेवार्ड भूमिकाविहीन मात्र थिएनन्, उल्टै धेरैजसो समय मैदानमा आँखा डुलाइरहेका थिए। त्यसैले सधैँ त्रासमै खेल हेर्नुपर्ने।

पाकिस्तानविरुद्धको खेल हुँदा त्यस्तै भयो। जब उत्तरपट्टिको प्यारापिटबाट झन्डै आधा दर्जनको संख्यामा रहेका पाकिस्तानीले झन्डा फहराउँदै आफ्नो टिमलाई हौस्याउँदै थिए, नेपाली प्रशंसकहरूले एकैसाथ ठूलै अपराध गरेझैँ उनीहरूमाथि औँला ठड्याए। पाकेट मारेको हल्ला के चल्यो, सबै मान्छे उसैमाथि जाइलागे। लाग्थ्यो, त्यहाँ सत्य/असत्यभन्दा पनि दंगा भड्काउन कसैले सानो निहुँ बनाए पुग्थ्यो। सहकर्मी मनबहादुर बस्नेत मलाई जिस्क्याउँदै थिए, "भन्दिउँ तिमी पाकिस्तान गएर आ'को कुरा ?"

No comments:

Post a Comment