Monday, September 23, 2013

र्‍यापमा दोहोरी #rawbarz

तीन महिनाअघि झम्सीखेल, ललितपुरको पेरीपेरी रेस्टुराँमा आयोजित र्‍याप ब्याटलमा मुस्किलले सय जनाजति थिए दर्शक। त्यहाँ ब्याटल गरेकामध्ये थिए, उत्साह जोशी उर्फ युनिक पोयट र आशिष राना उर्फ लाहुरे। उनीहरूको त्यही र्‍याप ब्याटल अहिले युट्युबमा चर्चाको शिखरमा छ। ८ लाख २५ हजारभन्दा बढीले यो प्रस्तुति हेरसिकेका छन्। युट्युबमा त्यति धेरै संख्याले हेरेका नेपाली भिडियो औँलामा गन्न मिल्ने छन्। 

र्‍याप ब्याटल दोहोरीजस्तै हो, जुन र्‍यापमा गरिन्छ। उनीहरू एकअर्काको कमजोरी र सबल पक्ष खोज्दै त्यसमाथि शब्द प्रहार गर्छन्। अझ र्‍याप संगीतमा यसको विशेष स्थान छ। भनिन्छ, 'राम्रो र्‍याप गर्न ब्याटलमा पोख्त हुनैपर्छ।' नेपालमा भने र्‍याप राम्रैसँग लोकपि्रय भइसकेपछि बल्ल ब्याटल संस्कृति मौलाउन थालेको हो। 

झन्डै दुई वर्षअघि नेपालको पहिलो ब्याटल लिग 'र बार्ज' सुरु भएको थियो। त्यतिखेर र्‍याप संगीतमा जमेका केहीले आपसी रमाइलोका लागि मात्र ब्याटल गरेका थिए। ब्याटलको दोस्रो सिजनयता जब ती ब्याटलका भिडियो युट्युबमा राख्न थालिए, नेपाली ब्याटलसमेत लोकपि्रय हुन धेरै समय लागेन। सन् २०११ मा सुरु गर्दा ब्याटल गर्न मुस्किलले एक दर्जन र्‍यापर जुटेको 'र बार्ज' चलाइरहेको एक्सक्लुसिभ इन्टरटेनमेन्टका संस्थापक कोलिनविक्रम राणा बताउँछन्। भन्छन्, "अहिले राम्रोसँग ब्याटल गर्न सक्ने मात्रै ५० जनाभन्दा बढी छन्। रहर गर्ने र सिकिरहेका उत्तिकै छन्।" र्‍याप संगीतको स्वभाव नै प्रेम, सद्भावभन्दा पनि आक्रोश र विरोधमा बढी रुमलिन्छ। त्यसमाथि ब्याटलमा विपक्षीलाई कमजोर पार्न उसलाई गिज्याउनेदेखि होच्याउनेसम्मका शब्दहरू प्रयोग हुन्छन्। त्यसैले र्‍यापरहरू आफ्ना विपक्षीमा खोट खोजिरहेका हुन्छन्। र, विपक्षीका नजरबाट पनि आफ्ना कमजोरी हेर्दै त्यसका लागि प्रतिरक्षात्मक पंक्तिसहित तयार हुन्छन्। "धेरै त आपसमा साथी-साथी भएकाले एकअर्काका बानी-बेहोरा र लवाइ-खुवाइ नजिकबाट जानेका हुन्छन्," र बार्जको अवधारणा ल्याउनेमध्येका एक र्‍यापर अनिल अधिकारी उर्फ यमबुद्ध भन्छन्, "पहिलोपल्ट भिड्न लागेकाहरू भने त्यसका लागि विपक्षीका सोसल मिडिया प्रोफाइलदेखि उसका गीतलाई ३६० डिग्रीमा केलाउँछन्।" जस्तो: अहिले चलिरहेको सिजनमा साम्योन कार्की र प्रेक्षा बज्राचार्य उर्फ परीले ब्याटल गरेका थिए। उनीहरूको चिनाजानी र भेटघाट त्यसअघि थिएन। दुवैले एकअर्काका फेसबुक हेरेर ब्याटलका लागि पंक्तिहरू सोचे। फेसबुक हेरेर परीले साम्योनका कमजोरी आफूभन्दा होची र मोटी हुनु भेटाइन्। साम्योन पनि के कम ! परीलाई देख्नेबित्तिकै उसले आफ्नो उचाइ र मोटाइमा प्रहार गर्न सक्ने ठम्याइहालिन्। 

उनले परीतर्फ फर्काएको एउटा पंक्ति यस्तो थियो,

ब्वाई फ्रेन्ड भनेको मेरो जस्तो स्मार्ट हुनुपर्छ
ट्यालेन्ट त जंगलको टार्जन पनि हुन्छ
केटी भनेको त मजस्तो मोटी हुनुपर्छ 
पातलो त नोकियाको चार्जर पनि हुन्छ। 

प्रशंसा गर्दागर्दै जिल्याउनसमेत उत्तिकै खप्पिस हुन्छन् र्‍यापरहरू। युनिक पोयट ब्याटल जगत्मा निकै प्रसिद्धि कमाएका र्‍यापर हुन्। लाहुरेलाई त्यो पचेन। उनले भने, 


युनिक पोयटको चर्चा परचिर्चा
काठमाडौँदेखि पोखरा सहरमा, धरान, चितवन, विराटनगरमा 
तर, मेरो नजरमा तँजस्तो एउटा कालो भैँसी अर्ना 
गर्नुपर्छ तँलाई चिडियाखानामा भर्ना।
अनुहार के भा'को तेरो 
ग्यासको सिलिन्डर पड्क्याथ्यो क्या घरमा ? 

युवतीहरू भने ब्याटलमा यसै सिजनबाट मात्र प्रवेश गरेका हुन्। ब्याटलमा सधैँ तयारी गरेर आएको पंक्तिले मात्र काम गर्छ भन्ने छैन। कहिलेकाहीँ विपक्षी यति धेरै आक्रामक भइदिन्छ कि उसलाई निस्तेज पार्न तत्काल जवाफ बनाउनुपर्छ, जसलाई र्‍यापरहरूको भाषामा 'रबिटल' भनिन्छ। युनिक पोयटको अनुभवमा ब्याटलमा उत्रनुअघि आफूलाई तयार पार्नुपर्ने हुन्छ। उनी भन्छन्, "कुनै बेला आफ्नो हदै बेइज्जती र अपमान हुने अवस्था पनि आउन सक्छ वा दर्शकको भीड पूरै विपक्षीको पक्षमा भइदिन्छ, त्यतिखेर संयम नगुमाईकन क्राउडलाई आफूतर्फ मोड्न पूर्वतयारीबिनाको 'पि|mस्टाइट र्‍याप' वा 'रबिटल' गर्ने क्षमता हुनुपर्छ।" युनिक पोयट र लाहुरेबीचकै ब्याटलमा एउटा त्यस्तै रोचक रबिटल भएको थियो। जब युनिक पोयटले 'लाहुरे' शब्दसँग खेल्दै उसले अंग्रेजीमा र्‍याप गर्न नसक्ने चुनौती दिए, लाहुरेले तत्काल त्यसको कडा प्रतिरोध अंग्रेजी र्‍यापमै फर्काए। भीड उनकै पक्षमा चिच्यायो। 

त्यस्तै अवस्थाका लागि आफूलाई सक्षम बनाउन र्‍यापरहरू आफ्नो दिनचर्या नै ब्याटलमय बनाइदिन्छन्। बालेन शाहले आफूलाई पि|mस्टाइल र रबिटलमा पोख्त बनाउन घरका सदस्यलाई केही न केही भनी आफूलाई चिढ्याउन वा जिस्क्याइरहन भन्दा रहेछन्। घरका सदस्यले जिस्क्याएको कुरालाई तत्काल र्‍यापमै प्रतिक्रिया दिने रहेछन् उनले। कोठामा कुनै गीत घन्काएर एक्लै कुनै विषयमा भट्याउने अभ्यास पनि चलेको रहेछ, जसले दर्शकका बीच पनि नयाँ पंक्ति निकाल्न सघाउने र्‍यापरहरू ठान्छन्। सायद त्यसकै प्रभाव होला, र बार्जमा धेरै रबिटल गर्नेमा पर्छन्, शाह पनि। उनी भन्छन्, "मुख्य कुरा मौलिक र नेचुरल देखिनुपर्‍यो। हुन त ब्याटलमा अफेन्सिभ वा डिफेन्सिभ भएर उत्रले आफ्नो स्वभाव र रुचिको कुरा पनि हो।" 

लाहुरे लोकपि्रय हुनुमा उनको अनुहारको आकर्षक हाउभाउ एउटा प्रमुख कारण हो। उनी कतै हदै आक्रामक स्वभावका लाग्छन् त कतै रमाइलो गर्न खोजेजस्तो। "तर, म सधैँ एकनासको हुन्छु। हाउभाउ मिलाउनकै लागि मैले घरमा दिनहुँ ऐनाअगाडि बसेर आफैँलाई विपक्षी सम्झँदै ब्याटल गररिहेको हुन्छु।" यद्यपि, ब्याटलमा यही गर्नुपर्छ भन्ने कडा नियम छैन। कसैले र्‍यापकै बीचमा दोहोरी पनि मिसाउँछन्। कसैले पंक्ति मिलाउन शब्दलाई छिटो वा ढिलो उच्चारण गर्छन्। असली ब्याटल भनेकै पि|mस्टाइल हो, जसका लागि युवा आफूवरपर देखेका वस्तु वा व्यक्तिलाई आफ्ना शब्दमा बुन्ने अभ्यास गर्छन्। यद्यपि, ब्याटलको एउटा न्यूनतम सर्त के हो भने यसलाई कम्तीमा तीन चरणसम्म पुर्‍याउनुपर्छ। एउटाले आफ्नो पालोमा १६ देखि २४ लाइनसम्म भट्याउँछन्।

पहिले पहिले कसले सुरुमा र्‍याप गर्ने भन्ने त्यति अर्थको हुँदैनथ्यो। तर, अचेल ब्याटल सुरु गर्नेले एकपटक मात्र रबिटल गर्न पाउने हुँदा अहिले सुरुआतका लागि समेत 'टस' गर्नुपर्ने र्‍यापरहरू ठान्छन्। कतिसम्म भने एक चरणको ब्याटल देखेपछि त्यसलाई युट्युबमा पछ्याउनेहरू अब आफैँ र्‍यापरका प्रतिद्वन्द्वी तोकिदिँदै उनीहरूको ब्याटल गराइदिन माग गर्छन्। त्यस्तै माग पहिलो सिजनमा सबैभन्दा बढी रुचाइएका लाहुरे र दोस्रो सिजनका बालेनको छ। 

ब्याटल एकातर्फ रातारात लोकपि्रय भइरहेको छ भने अर्कोतर्फ यसमा प्रयोग हुने अश्लील र असभ्य शब्दलाई दर्शकहरू चिन्ताको विषय बनाइरहेका छन्। युट्युबमा भिडियो राख्दा १८ वर्षमाथिका लागि मात्र भनिने भए पनि यसका प्रवर्द्धकहरू सबैले हेर्न मिल्ने 'क्लिन ब्याटल'कै पक्षमा छन्। एक्सक्लुसिभ इन्टरटेनमेन्टका राणा भन्छन्, "पहिलो सिजनमा धेरै कुरा हामीलाई थाहै भएन। लोकपि्रय भएसँगै अब भने यस्ता कुरामा निकै सचेत बनेका छौँ।" त्यसैले अहिले चलिरहेको सिजनमा यौनांग इंगित हुने शब्द, परिवारका सदस्य र प्रेम सम्बन्ध जोड्न नपाइने नियम बनाइएको छ। तर, अश्लील नै भए पनि कतिपय चल्तीका अंग्रेजी शब्दलाई भने उनीहरूले बन्देज लगाएका छैनन्। जसको विकल्पका रूपमा दोहोरो अर्थ लाग्ने शब्दहरू बढी नै प्रयोग हुन्छन्, र्‍याप ब्याटलमा। परीको तर्क छ, "र्‍याप ब्याटलमा पर्सनल कुरामा धेरैजसो प्रहार गरीने भएकाले धेरै नियममा बाँधिँदा पनि राम्रो हुँदैन। तर, सुन्नै नसकिने शब्दहरू अचेल र्‍यापरहरू आफैँले घटाउँदै लगेका छन्।" व्यक्तिगत कुरा जोडेर बेइज्जत गरििदँदा वा हदैसम्म लज्जित गर्ने गरी उडाउँदा कहिलेकाहीँ त झडपै होलाझैँ हुन्छ। यमबुद्धको भनाइ छ, "र्‍यापको मर्म बुझेकाहरूमा त्यसलाई स्वीकार्ने क्षमता पनि हुने हुँदा बाहिर देखिएजस्तो समस्या बन्दैन।" ब्याटलमा आउनुअघि उनीहरूले र्‍याप टेस्टदेखि यस्ता अवस्था आत्मसात् गर्न सिकाउने कक्षाहरू पनि लिन्छन्। तर, साम्योनको अनुभवमा भने केटीहरूमा र्‍यापमा उठेका कुरा मनमा राखिरहने स्वभाव अलि बढी हुन्छ।

र्‍याप ब्याटल र्‍याप गीत गाएजस्तो दोहोर्‍याउँदै गर्न सकिँदैन। ब्याटलको मज्जा नै सबैलाई पहिलोपल्ट सुन्दामा हुन्छ। बालेन भन्छन्, "कसले के भन्दै छ भन्ने उत्सुकताले धेरै काम गरेको हुन्छ।" त्यसैले र्‍यापरहरू यसलाई प्रसिद्धि बटुल्ने मञ्चका रूपमा लिन्छन्, जसकै भरमा पछि र्‍याप संगीत तथा कन्सर्टमा भविष्य बनाउन सकियोस्। हुन पनि हो, बालेन, लाहुरेजस्ता र्‍यापरहरू ब्याटलमा आउनुअघि नै थुप्रै र्‍याप तथा मेलोडी संगीतमा भिजिसकेका हुन्। लाहुरेले ब्याटल गर्नुअघि झन्डै आधा दर्जन र्‍याप गीत रेकर्ड गरेर आफ्नो युट्युब च्यानलमा राखेका थिए भने बालेनले विदेशी र्‍यापलाई नेपालीमा ढाल्नेदेखि थुप्रै नेपाली र्‍याप गाएका छन्। प्रहरीले लामो कपाल र मुन्द्रा पाल्नेलाई तारो बनाउँदा उनले 'प्रहरी प्रतिकार' बोलको र्‍याप युट्युबमै सार्वजनिक गरेका थिए। तर, बालेन हुन् वा लाहुरे, तिनका ती भिडियोलाई त्यतिबेला हेर्नेहरू मुस्किलले केही हजार मात्र हुन्थे। जब युट्युबमा उनको ब्याटल 'हिट' भयो, मानिसहरूले खोजीखोजी उनका पुराना र्‍याप सुन्न थाले। र, अहिले ती र्‍याप सुन्नेहरू पनि हजारबाट लाखमा पुगेका छन्। 

ब्याटल गररिहेकाहरूमा अहिले के चिन्ता छ भने यो सधैभरी यसरी जान सक्दैन। सबैले बुझेका छन्, चर्चा यसबाट बढी हुँदाहुँदै पनि असली कला देखाउने भनेको र्‍याप संगीतमै हो, एल्बम निकालेर होस् वा कन्सर्ट गरेर। "तर, ब्याटललाई मानिसहरूले यति धेरै मन पराए कि र्‍याप भनेकै ब्याटल मात्र बुझ्न थाले, ब्याटल मात्रै खोज्न थाले," बालेन आशावादी हुँदै भन्छन्, "सायद अहिले नेपालमा ब्याटलको उत्कर्षको बेला भएर पनि त्यस्तो देखिएको होला।" त्यसो त नेपाली ब्याटलमै पनि अहिले थुप्रै नयाँ-नयाँ प्रयोग र स्वाद भेट्न थालिएको छ। एकातर्फ युवतीहरू पनि ब्याटलमा आए भने अर्कोतर्फ दुई-दुई जनाको ब्याटल पनि यसै सिजनबाट सुरु भयो। हालै सम्पन्न एउटा त्यस्तै ब्याटलमा युनिक पोयट र लिटिल गि्रजल एकातर्फ थिए भने अर्कोतर्फ इजी टुवेल्भ र बुगी। दुई-दुईमा पनि केटाकेटी मिश्रति भएर ब्याटल हुन थाल्यो। यसले गर्दा बिस्तारै व्यक्तिगत दृष्टिबाट र्‍याप ब्याटल विषयगत बन्ने र्‍यापरहरू ठान्छन्। 

ब्याटलहरू धेरैजसो नेपाली र अंग्रेजीमिश्रति भाषामा हुन्छन्। अंग्रेजीमा मात्रै ब्याटल गर्नेहरू पनि उत्तिकै छन्। जसबाट हौसिएका आयोजकहरू छिट्टै नेपाली र्‍यापरलाई भारतीय र अस्ट्रेलियाली र्‍यापरसँग ब्याटल गराउने गृहकार्यमा छन्। छिट्टै बेलायतमा पनि यसको कन्सर्ट हुँदै छ। 

नेपाली ब्याटल यो अवस्थामा पुग्नका लागि र्‍यापर यमबुद्धको उल्लेखनीय भूमिका छ। सुरुमा उनकै युट्युब च्यानलबाट भिडियोहरू सार्वजनिक गरन्िथे। एक त नेपहप अर्थात् नेपाली हिपहप जगत्मा धेरैका आइकन मानिन्छन् उनी। अर्कोतर्फ झन्डै ६० हजारले उनको युट्युब च्यानल सब्सक्राइब गरेका छन्। ब्याटललाई चर्चामा ल्याउन उनको युट्युब त्यत्तिकै सहायक माध्यम बन्यो। अहिले भने र बार्जकै अफिसियन युट्युब च्यानलबाट भिडियोहरू पोस्ट गरन्िछन्, जसको ६ हजारभन्दा बढी सब्सक्राइबर्स छन्, रबार्जडटटीभी वेबसाइटमा समेत नियमित भिडियो पोस्ट हुन्छ। "युट्युबमा पोस्ट गर्दा कति लोकपि्रय छ भन्ने ठ्याक्कै थाहा हुन्छ, जुन टीभी वा रेडियोमा थाहा हुँदैनथ्यो," परी भन्छिन्, "त्यसमाथि र्‍यापका असली दर्शक देशविदेशमा फैलिएका छन् र इन्टरनेटमै सबैभन्दा बढी झुम्मिन्छन्।"

नेपालमा र्‍यापलाई पक्ष-विपक्ष बनाएर जहिल्यै बहसको विषय बनाइन्छ। क्लिन र्‍यापमै पनि आममानिसको बुझाइ पहिल्यै नकारात्मक हुने ठाउँमा र्‍याप ब्याटललाई नकारात्मक सोच्ने मानिसहरू उत्तिकै हुनुलाई अस्वाभाविक मान्दैनन् ब्याटलबाजहरू। यमबुद्धको तर्क छ, "यो हाम्रो शैलीको आशुकवि बन्ने अभ्यास हो। यो सिर्जनाको एउटा फरक पक्षसमेत हो भन्ने सबैले बुझ्नुपर्छ।" 

यमबुद्ध चार्म 

यमबुद्ध अहिले चलिरहेको 'र बार्ज' लिगमा छैनन् । नत्र, अघिपछि उनकै मध्यस्ततामा ब्याटल चल्थ्यो । र बार्जलाई यति धेरै चर्चा दिलाउन सुरुमा उनकै युट्युब च्यानल प्रयोग गरिएको थियो । उनका ५० भन्दा बढी र्‍याप गीत बजारमा आइसकेका छन् । उनी इन्टरनेटमा बढी रुचाइने व्यक्ति हुन् । पेसाले उनी आईटी इन्जिनियर हुन् । उनको फेसबुक पेज दुई लाखभन्दा बढीले लाइक गरेका छन् ।

First Appeared in Nepal Magazine

1 comment: