Monday, October 28, 2013

रहमान राज


दुई दशकपछि जब दुई-दुई पटकका ओस्कार र ग्रेमी अवार्ड विजेता संगीतकार तथा गायककार एआर रहमानले भारतमा आफ्नो कन्सर्ट टुर 'रहमानइक्स' घोषणा गरे,  धेरैलाई खुसीसँगै अचम्ममा पार्‍यो । कारण, उनी मुम्बई, दिल्ली, बैंगलोर कहीँ पुगेनन् जहाँ व्यावसायिक रूपमा सबैभन्दा बढी फाइदा हुन्थ्यो । उनलाई लाइभ सुन्ने सौभाग्य पाउने ठाउँहरू बने, कोलकाता, विशाकापटनम, जयपुर र अहमदावाद । 

हुन सक्छ, उनले सिर्फ भीड खोजेनन्, थोरै सही तर त्यसको मर्म बढीभन्दा बढी बुझ्ने श्रोता रोजे । अक्टाबेर १ मा कोलकाताबाट सुरु भएको रहमानइक्सको यात्रा २७ अक्टोबरमा अहमदावादमा टुंगिँदै छ । रहमानइक्ससँग जोडिएको सन्दर्भ जेसुकै भए पनि विश्व संगीतमा पूर्वीय जगतले गर्व गर्नलायक बनेका रहमानको गुणस्तरप्रति कति संवेदनशील छन् भन्ने उनले छानेका सहरबाट झल्किन्छ । 

तमिल मातृभाषी उनी हिन्दी नै पनि धेरै राम्ररी बोल्न सक्दैनन् । यद्यपि निकै कम शब्दसाथ सार्वजनिक समारोहमा बोल्दा उनका हिन्दी शब्दको कम्पोजिसन उत्तिकै सुन्दर हुन्छ । जसमा उनको मन्द मुस्कान, स्वरको मात्राजस्ता थुप्रै पक्ष मिसिन्छन् । अनि मानिसहरू सीर्फ रहमानको कामको फ्यान बन्दैनन्, उत्तिकै फ्यान बन्छन् उनको व्यक्तित्वको पनि । 

रहमानइक्सको पहिलो कन्सर्टका लागि कोलकाताको साल्ट लेक फुटबल रंगशालामा मैले रहमानको अनेकखाले परिचय एकैपटक देख्न पाएँ । मनसुन लम्बिएपछि अक्टोबर १ को साँझ हुने कन्सर्ट अन्तिम अवस्थासम्म दोधारमा थियो । झरिकै बीच पनि न उनका फ्यान रोकिए न रहमान नै । उनले स्टेज टेकेलगत्तै झरिमय बनेको माहोल संगीतमय बन्यो । 

कन्सर्टको भोलिपल्ट भारतको द टेलिग्राफ दैनिकले लेखेको थियो, 'जब रहमानले स्टेज सम्हाले, झरीका देउता पनि झरी बिर्सेर गीतमा रमाए ।' 
***
रहमानको सबैभन्दा ठूलो सफलताको साधारण सूचक के हो भने उनलाई रूचाउने खास कुन उमेर समूहका छन् भन्न निकै गाह्रो छ । उनी शुद्ध क्लासिकलदेखि आधुनिक रकसम्म गाउँछन् । 

हिन्दुस्तानी स्वाद, पश्चिमा क्लासिक र नुसरत फतेअली खान शैलीको कवालीसम्ममा उनी उत्तिकै जम्छन् । संगीतमा यो दायरा यति फराकिलो हो कि जसलाई एउटा गायकले दुर्लभ रूपमा समेट्न सक्छ । यहि विविधताले उनलाई विश्वकै शीर्ष १० सदावहार प्रभावशाली संगीतकर्मी बनाएको छ । बीबीसीको अनुमानमा अहिलेसम्म विश्वभर उनका एल्बम मात्र १० करोडभन्दा बढी बिकेका छन् । 
***
मद्रास (हालको चेन्नई) को एक सांगीतिक परिवारमै जन्मिए तापनि यो सफलतासम्मको उनको यात्रा सहज भने भएन । उनका बुवा आरके शेखर तामिल फिल्मका लागि म्युजिक कम्पोज गर्थे । त्यही देखेर उनले धेरै सिके पनि । कतिसम्म भने रेकर्डिङकै समयमा उनले किबोर्ड बजाएर बुवालाई सघाउँथे । यो उनी ९ वर्षभन्दा कम उमेरको छँदैको हो । किनकि ९ वर्षमा उनका बुवाको निधन भयो । 

उनको परिवार आफ्नो दैनिक गुजारा चलाउनकै लागि बुवाले संगालेका बाद्यबादनका सामग्री भाडामा दिन्थ्यो । तर उनले संगीत छाडेनन् बरू चेन्नईमै साथीहरू जम्मा पारेर रक ब्यान्ड खोले । ११ वर्षदेखि नै बुवाका साथीसँग संगीत सिक्न थाले । उनको फिल्मी करिअर भने २ दशकअघि आफै घरछेउमा एक रेकर्डिङ स्टुडियो 'पञ्चथन रेकर्ड' खोलेसँगै भयो । 

जुन अहिले एसियाकै प्राविधिक रूपमा निकै कम उत्कृष्ट स्टुडियोमा पर्छ । त्यही वर्ष उनले तामिल फिल्म 'रोजा' का लागि संगीत दिने अवसर पाए जुन उनका लागि गज्जबको भइदियो । युवाअवस्थामै उनको त्यो कामले 'इन्डियन नेसनल अवार्ड' पायो । त्यो भन्दा ठूलो अमेरिकी म्यागेजिन टाइमले सन् २००५ मा रोजाको म्युजिकलाई '१० बेस्ट साउन्डट्याक्स अफ अल टाइम' मा दर्ज गर्‍यो । 
***
झट्ट सुन्दा उनी त्यति सुमधुर स्वर भएका व्यक्ति पनि होइनन् । हुन त उनी सबैभन्दा बढी संगीतकार नै हुन्, जसपछि मात्र गायक । तर उनले जति गाएका छन् ती उत्तिकै जमेका छन् । 'दिलसे रे,' 'ख्वाजा मेरे ख्वाजा' केही शसक्त उदाहरण हुन् । उनी सानोभन्दा सानो कुरामा जोड दिन्छन्, अरूले खासै प्रयोग नगर्ने बाजाहरू चलाउँछन् । कहिलेकाहीँ त उनी संगीतको चल्तीको सिद्धान्त पनि छाडेर निस्कन्छन् । 

त्यही सिद्धान्त समातेर अघि बढेका संगीतकर्मीहरू नै उनको लयको लख काट्न सक्दैनन् । एउटा रागमा गाउँदा गाउँदै अर्को राग मिसाइदिन्छन्, स्वर जहाँ उठ्नुपर्छ त्यहाँ नउठाउन पनि सक्छन् तर अगाडि गएपछि त्यो मिल्छ । उनी सफल हुनुको एउटा मुख्य राज नै त्यही प्राविधिक रूपमा बलियो र मौलिक हुनु पनि हो । साल्ट लेकको कन्सर्टमा समेत उनको दलबल त्यसकै कारण ८० जनाको थियो । 

संगीतका कुनै पक्ष कम्प्युटर त कुनै लाइभ गरी सम्मिश्रण गरिएको थियो त्यहाँ । जुन एकखाले नयाँ अभ्यास पनि हो जसमा अब्बल दरिनुमा रहमानको क्षमताको अर्को विशेष पक्ष देखिन्छ । उनको संगीतमा गाउन पाउनु भनेको संगीतमा एउटा उचाइ हासिल गरेको सम्झन्छन् गायकहरू । तर रहमान स्टार मात्र हेर्दैनन् बरु नयाँलाई टपक्क टिपेर स्टार बनाउँछन् । 

रंग दे वसन्तीको 'रुब रु रोशनी' गीतका लागि उनले खासै धेरै मूलधारका गीत नगाएका सामान्य गायक नरेश औरलाई लिएका थिए । नभन्दै त्यसकै कारण नरेशको करिअर त्यसपछि कहिल्यै ओरालो लागेन । एकताका उनको कम्प्लेक्स कम्पोजिसनहरू, जो संगीतमा अक्सर चल्तीका नियम छाडेर बनाइन्छ, हरिहरणले गाउँथे जुन सुक्वदेन्दर सिंह हुने अहिले जावेल अलीसम्मले गाइराखेका छन् । 

उनका 'फिल गुड' गीतमा धेरैजसो उदितनारायण हुन्छन्, आधुनिकमा मोहित चौहान । हर्सदीप कौर, स्वेता पण्डित, नीति मोहन उनले पछिल्लो समय बढ्ता रूचाएका गायक हुन् । यसले उनको साख बचाउने पछिल्ला पुस्ताप्रतिको उनको लगानी समेत झल्किन्छ । हलिउडमा समेत उत्तिकै रूचाइने मोसन पिक्चर्सका उनी सबैभन्दा धेरै पैसा तिरिने संगीतकार पनि हुन् उनी । 

सलमडग मिलिनियर, इन्साइड म्यान, लड अफ वार, डिभाइन इन्टरभेन्सनजस्ता थुप्रै फिल्ममा उनको संगीत छ । उनले अमेरिकी राष्ट्रपतिको प्रेसिडेन्सियल डिनरमा प्रस्तुति दिनेदेखि लिएर सन् २०१२ को लन्डन ओलम्पिकका लागि समेत आफ्नो संगीत कम्पोज गरेका छन् । रहमान चाहे आफ्नो संगीत होस् वा व्यक्तित्व मान्छेको दिलसम्म छुनेगरेर मिहिनेत र मेन्टेन गर्छन् । 

मानिसलाई त्यही मन पर्छ । साल्ट लेकमा झरीमा रुझ्दै आएका दर्शकलाई उनी भन्दै थिए, 'कोलकाता, झरीको कत्ति प्रवाह नगरेर यहाँसम्म आएको मलाई अझै विश्वास लागेको छैन ।' सामान्य शब्दका यो वाक्य उनकै अगाडि बसेर सुन्दा शब्दको अर्थले दिनेभन्दा धेरै बुझिन्थ्यो । सायद त्यो संगीतमा रहेको उनको त्यही टेक्निकल दक्षताको प्रभाव हो । 

No comments:

Post a Comment