Wednesday, September 4, 2013

फर्जी भीड

बंगलादेशस्थित विश्वव्यापी नेपाली विद्यार्थी संगठनले तीन महिनाअघि एक तस्बिर प्रतिस्पर्धा आयोजना गरेको थियो। इन्टरनेटमा आधारति सामाजिक सञ्जाल फेसबुक लाइकका आधारमा विजेता छुट्याइने त्यस प्रतिस्पर्धामा अगाडि रहेका एक जनाको लाइक संख्या अन्तिम दुई दिनमै अस्वाभाविक ढंगले चार हजार थपिएपछि प्रतियोगिता नै विवादमा पर्‍यो।

पछि थाहा भयो, त्यसमा त किनिएका अर्थात् फेक लाइक्स रहेछन्। संगठनका अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य राकेश साह भन्छन्, "ती प्रतियोगीलाई प्रतिस्पर्धाबाटै हटाइयो। यसले हामीलाई अब सोसल मिडियाको भर परेर विश्वसनीय जनमत बटुल्न सकिँदो रहेनछ भन्ने पाठ सिकाएको छ।"

फेसबुक पेजमा हुने लाइक्स हुन् वा ट्वीटरका 'फलोअर्स', अहिले बजारमा त्यस्ता फर्जी एकाउन्टको बिगबिगी छ। हजारौँको संख्यामा त्यस्ता एकाउन्ट खोलेर नक्कली साथी अर्थात् फेक फ्रेन्ड्सको व्यवसाय नै चलाउनेहरू इन्टरनेट बजारमा थुप्रै आइसकेका छन्।

फेसबुकका झन्डै १ अर्ब २० करोड प्रयोगकर्तामध्ये १० करोड त फर्जी एकाउन्ट नै छन्। ट्वीटरसमेत यो मामिलामा कम छैन। झन्डै ५० करोड कुल प्रयोगकर्ता रहेकामा उसका फर्जी एकाउन्ट दुई करोडजति छन्। अझ ट्वीटरमा त समस्या कतिसम्म छ भने यसका ४० प्रतिशत प्रयोगकर्ता अरूलाई फलो मात्र गर्छन् र आफू 'ट्वीट' गर्दैनन्।

इन्टरनेट संसारमा फर्जी एकाउन्टको सबैभन्दा चर्चित घटना पछिल्लो अमेरकिी राष्ट्रपतिको निर्वाचनमा मिट रोम्नीको चुनाव प्रचारताका भएको थियो। उनीमाथि आफ्नो सोसल मिडिया अभियान आक्रामक देखाउन ट्वीटरमा १ लाख ७० हजार फर्जी एकाउन्टलाई पछ्याउन लगाएको आरोप छ।

भर्खर आफ्नो ब्रान्ड प्रचारमा जुटेकाहरू वा आफ्नो प्रभाव बढिरहेको देखाउन कतिपयले यस्तो शैली अपनाउँछन्। सेलिबि्रटी, राजनीतिज्ञ, खेलाडीहरू पनि यस्ता भर्चुअल भीडप्रति आशक्त देखिन्छन्। यसबाटै समग्र लोकपि्रयताको प्रतिविम्ब देखिने ठान्छन् उनीहरू। इन्टरनेट बजार विश्लेषक आकार अनिल भन्छन्, "यसको अन्तिम ध्येय त असली वा गुणस्तरीय प्रयोगकर्ता तान्ने नै हो। धेरै फ्यान वा फलोअर्स देखाउँदा समाजमा ब्रान्डको विश्वसनीयता र प्रतिष्ठा बढ्ने मनोविज्ञानले यसमा काम गरेको हुन्छ।"

इन्टरनेटमा अहिले फिभर, सोसल पि्रजेन्स, इन्टर ट्वीटर, फ्यान मी नाओ, लाइक्ड सोसलजस्ता थुप्रै चर्चित वेबसाइटले केही हजारदेखि लाखौँसम्मको संख्यामा ट्वीटर फलोअर्स बेच्छन्। कम्प्युटर इन्जिनियर सुरज सापकोटा भन्छन्, "प्रयोजन फर्जी हुन सक्छ। तर, हरेक एकाउन्ट खोल्ने प्रक्रिया एउटै हो।"

फेक प्रोफाइलको व्यवसायमा लागेकाले थुप्रैतिरबाट आउट सोर्सिङ् गरेर एकाउन्ट किन्छन् र आफ्नो प्रयोजनमा उपयोग गर्छन्। त्यस्ता एकाउन्ट बनाइदिएबापत उनीहरूले प्रतिएकाउन्ट २ देखि ३० अमेरिकी डलरसम्म बुझ्छन्। तिनलाई ठूलो संख्यामा बेच्ने वेबसाइटहरूले भने प्रतिएक हजार फलोअर्स वा लाइक्स १० देखि २० अमेरकिी डलरसम्म लिएर बेच्ने गर्छन्।

त्यस्ता व्यवसायीले धेरै लाइक्स वा फलोअर्स बढाउन थुप्रै खाले टुल्स बनाइरहेका हुन्छन्। इन्जिनियर सापकोटा स्वयंले केही महिनाअघि भारतमा छँदा आफ्ना काम र विचार मिल्ने थुप्रैलाई एउटै सञ्जालमा बाँध्ने रणनीति अनुरूप त्यस्तै एउटा टुल्स बनाएका रहेछन्, जसबाट एउटै क्लिकले थुप्रैलाई फलो गर्न मिल्थ्यो।

अहिले ठूलो संख्यामा लाइक्स वा फलोअर्स बढाउनुमा पनि उस्तै खाले तर अझ परिष्कृत टुल्स प्रयोग गरिन्छ। उनी थप्छन्, "विभिन्नखाले एप्लिकेसन प्रोगामिङ् इन्टरफेस (एपीआई)ले एकाउन्टबीच सम्बन्ध स्थापित गरिदिन्छ। प्रयोगकर्ताले धेरै टाउको दुखाउनु पर्दैन।"

उक्त एपीआईसँग एकाउन्टको सम्बन्ध बनाउने क्रममै त्यस एकाउन्टका तर्फबाट लाइक वा फलो गर्न सकिनेबारेमा सहमति लिइएको हुन्छ। ट्वीटरमा भने अहिले धेरै संख्यामा एकाउन्ट बनाउन त्यति सहज छैन। अहिले एउटै आईपी ठेगानाबाट धेरै एकाउन्ट बन्न थालेमा उसले क्याप्चा (अंग्रेजी अक्षर वा नम्बर) माग्छ। मेसिनले वा मानिसले काम गररिहेको जाँच्न क्याप्चा प्रयोग हुने भएकाले कुनै अटोमेटेड सिस्टम बनाएर एकाउन्ट खोल्न सकिँदैन।

यसरी फैलिरहेको फर्जी एकाउन्टले सोसल मिडियाप्रति नै मानिसको धारणा बिग्रन सक्ने भन्दै फेसबुकले केही त्यस्ता व्यक्तिगत एकाउन्टको पहिचान गरी तिनलाई बन्द गरििदएको छ। तर, लाखौँको संख्यामा रहेका त्यस्ता फर्जी एकाउन्टसँग जुध्न बेग्लै संयन्त्र चाहिन्छ। त्यसो गर्दा कम समय दिने असली फेसबुक प्रयोगकर्तासमेत मुछिन सक्ने चुनौती छ, सोसल मिडिया कम्पनीलाई।

फर्जी एकाउन्टको हालीमुहाली बढ्दै जाँदा ट्वीटर र फेसबुकले पछिल्लो समय आफ्ना नियमहरूमा केही कडाइ गर्न थालेका छन्। यस्ता सोसल साइटले एकै दिन धेरैतिर लाइक गर्दा वा धेरैलाई फलो गर्दा ती फर्जी भन्ने थाहा पाउँछन्। जसले गर्दा किनिएका लाइक्स वा फलोअर्सको संख्या एकाउन्टमा थपिन केही दिनदेखि एक साता पनि लाग्न सक्छ।

इन्टरनेट सञ्जालमा अहिले फर्जी वा निस्कृय एकाउन्ट कति छन् भन्ने देखाइदिने थुप्रै टुल्स उपलब्ध छन्। तिनले सक्रियताको स्तर, अन्तरक्रिया, तस्बिर, फलोइङ्/फलोअर्स अनुपातजस्ता विषय हेरेर फर्जी एकाउन्ट छुट्याउँछन् । आकार अनिल भन्छन्, "जाँच्ने यो प्रक्रियाले ठीक परिणाम देखाउँछ भन्ने त हुँदैन तर धेरै हदसम्म मिल्छ।"

ट्वीटरअडिटडटकम त्यस्तै एउटा एनलाइटिकल साइट हो। उसले ट्वीटर अकाउन्ट फेक र रयिल छुट्याएर देखाउँछ भने सोसलबाकर्सडटकमले शंका गर्न लायक एकाउन्ट बनाएर त्यत्तिकै छाडिएका, निष्त्रिmय र राम्रो गरी तीन प्रकारले ट्वीटर फलोअर्सका प्रोफाइल वर्गीकरण गर्छ।

फर्जी एकाउन्टको एउटा सामान्य हुलिया के हो भने उसमा विविधता कम, एकरूपता बढी हुन्छ। जानकी टेकका कम्प्युटर इन्जिनियर ध्रुव अधिकारी भन्छन्, "फर्जी एकाउन्टबाट लाइक वा फलो आएको थाहा नपाऊन् भनेर त्यसमा केही भइरहेको त देखाइन्छ तर त्यसमा उस्तै खाले वा एकनासका विषयवस्तु हुन्छन्।" उनका भनाइमा ती कि त अन्य कसैसँग लिंक गरएिका हुन्छन् वा सर्च इन्जिनमा धेरै दुःख नगरीकनै सजिलै भेटिने कसैका भनाइ, उद्गारजस्ता सामग्री राखिन्छन्।"

सोसल मिडियामा अरूको फोटो राख्दा कानुनको फन्दामा पर्न सकिने हुँदा पछिल्लो समय चर्चित सेलिबि्रटी वा जनावरको चित्र राख्ने क्रम पनि बढ्दो छ। फर्जी एकाउन्टमा तस्बिर एल्बम हेर्ने हो भने पनि तिनमा एउटा वा दुइटाभन्दा बढी फोटो राखिएको पाइँदैन। ट्वीटरअडिटडटकमको तथ्यांकलाई विश्वास गर्ने हो भने झन्डै ४ करोड ३० लाख फलोअर्स भएका क्यानेडियन पपगायक जस्टिन विवरलाई ४३ प्रतिशत त फर्जी एकाउन्टवालाले फलो गरेको देखिन्छ। अमेरकिी गायिका लेडी गागाको हकमा त्यो ३८ प्रतिशत छ।

अहिले धेरै त्यस्ता ब्रान्ड एवं सेलिबि्रटीका सोसल मिडिया एकाउन्टको व्यवस्थापनको जिम्मा छुट्टै व्यवस्थापन कम्पनीले लिएका हुन्छन्। तिनीहरूले ग्राहकलाई हदैसम्मको आश्वासन दिँदै मोटो रकम असुल्छन् पनि। प्रविधिसम्बन्धी पत्रिका लिभिङ् विथ आईसीटीका सम्पादक राजन नेपाल भन्छन्, "सोसल साइटमा सफल अभ्यासका लागि चाहिने त रयिल आईडी नै हुन्। हरेक ब्रान्ड वा सेलिबि्रटीको असली सफलता सही व्यक्तिबाट आउने प्रतिक्रिया र अन्तरक्रियामा निर्भर हुन्छ। फर्जी आईडीले अन्तरक्रिया गर्दैन।" फर्जी आईडी अरूलाई फ्लर्ट गर्न वा आपराधिक क्रियाकलापमा प्रयोग हुन सक्ने हुँदा त्यसले अन्ततः राम्रोभन्दा नराम्रो गर्ने सम्भावना बढी हुन्छ।

No comments:

Post a Comment