Friday, February 7, 2014

“...अनि नाम फेरियो”

डन्ट जज् बुक बाई इट्स कभर । यसको अर्थ प्रकाश लामिछाने उर्फ बाबाजीले सायद अझ राम्ररी बुझेका छन् । नबुझुन् पनि किन ट्वीटरमा उनको डिस्प्ले नेम र ह्याण्डल बाबाजी छ । भर्चुअल वल्र्डमा भर्खर चिनाजान हुँदै गरेका कतिलाई लाग्लो रहेछ, उनी साँच्चिकै कुनै शिवभक्त हुन् वा उनमा राम्रै दार्शनिक/ धार्मिक चेत छ । जब शिवरात्री आउँछ झण्डै ५ हजार फलोअर्स बोकेका बाबाजीको चर्चा ट्वीटरमा झन् बढि हुँदोरहेछ । “तपाईंसँग त गाँजा पक्कै होला नि भन्दै अपरिचितहरु मेन्सन् गर्छन्,” उनी सुनाउँछन्, “पशुपतिमा कतातिर हुनुहुन्छ भन्दै सोध्छन् ।”

खासमा बाबाजीलाई यस्ता प्रतिक्रियासँग कुनै गुनासो छैन । रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर गर्दा उनको लामो कपाल थियो । साहकारी भएकै कारण साथीहरु बफ म:ममा होमिँदा उनको अगाडि भने आलुमटर हुन्थ्यो । अनि कुनै साथीले जिस्केर भिराएको बाबाजीको विल्ला कलेजमा फैलन कुनै बेर लागेन । त्यसरी ट्वीटरसम्म आएर जोडिएको हो । रेडियो कार्यक्रम उत्पादक बाबाजीको परिचय नै अहिले फेरिएको छ । धेरै घुलमिल भइसकेका कति व्यावसायिक साथीहरु पनि जब औपचारिक नाम कतै उल्लेख गर्नुपर्ने हुन्छ फोन गरेर सोध्दा रहेछन्–– तपाईंको नाम चाहीं के हो ? पछिल्लो चार बर्षमा फैलिएको बाबाजी नाम उनलाई यति प्रिय लागेको छ त्यसको पछाडि आफ्नै शैलिमा टिएम (ट्रेडमार्क) नै झुन्ड्याएका छन् ।

बाबाजीजस्तै ट्विटरमा अहिले अर्काे एउटा नाम चर्चित् छ, माइला साउ । माइला साउको खास नाम भुवन राउत हो । गाइघाट, उदयपुरका यी २७ बर्षे तन्नेरी घरका माइला छोरा हुन् भने आफ्नो मोवाइल पसलका साउ पनि । ५ हजार बढिले ट्वीटरमा पछ्याएका छन् उनलाई । पेट्रोलियम पदार्थदेखि प्याजको भाउ बढ्यो कि टाइमलाइनमा उनलाई मेन्सन् गर्दै अन्धाधुन्ध ट्विट आउँदो रहेछ, ‘साउको गोदाममा त पक्कै राम्रै स्टक छ होला नि’ भन्दै । चिनाजान भइसकेका धेरैका लागि उनी सामाजिक/राजनीतिक ट्वीटमा हुने अन्तरक्रिया बाहेक उनी मोवाइलका भाउ सोध्ने व्यक्ति भएका छन् । एन्ड्रोइड एप्सहरुबारे पनि उनी अलि बढि नै ट्वीट गर्छन् ।

ट्विटरमा रहेको उनको संक्षिप्त परिचयमा लेखिएको छ–– एनी हाउ, पैसा कमाउ । ह्याण्डल, वायोजस्ता कुरामा पूरै क्लासिक साउको झल्को पाउँदा मानिसहरुलाई उनीप्रति हिन्दी फिल्ममा देखाइने जुंगावाल, मोटो भुँडी भएको, मुखमा पान चपाइरहने व्यक्तिको प्रतिबिम्ब बन्दो रहेछ । प्रत्यक्ष भेट्दा भने जिन्स पाइन्ट, क्याप टोपि, रेबनको कालो चश्मा लगाएको अग्लो मान्छे देख्दा मानिसहरु पूरै अचम्म मान्दा रहेछन् । भन्छन्, “यस्ता थुप्रै अनुभवले रमाइलो हुन्छ ।” एउटा सामान्य व्यक्ति भएर पनि यत्तिको फलोअर्स हुनमा उनको त्यही मौलिक ह्याण्डलको भूमिका बढि छ । यस्ता ह्याण्डल हुनेले झेल्ने अर्को मुख्य समस्या के भने मानिसहरु फर्जी एकाउन्ट सोच्दा रहेछन् । माइला साउलाई सायद त्यही भएर हो नेतृ सरीता, गिरी, प्रचण्डपुत्र प्रकाश दाहाल लगायतले त ब्लक नै गरेछन् ।

कुमार फुयाँल शर्मा उर्फ पागलबस्तीलाई पनि मानिसहरुले वास्तविक नाम नभेट्दैमा फर्जी भनिंदिएको साह्रै चित्तबुझ्दो रहेनछ । धेरैबाट यस्ता जिज्ञासा आएको आयै गरेपछि एकदिन उनले ट्वीटरमा मुखै फोरेर लेखे, “व्यक्ति देखिए पनि नदेखिए पनि मानिसहरुले पछ्याउने विचारलाई हो ।”

फुयाँलले आफ्नो ह्याण्डल ‘पागलबस्ती’ राख्नुपछाडि भने सरुभक्तको उपन्यास पागलबस्तीको प्रभाव रहेछ । भन्छन्, “खासमा मैले सरुभक्तप्रति सम्मान दर्शाउन त्यस्तो ह्याण्डल राखेको थिएँ, अहिले त मेरो नाम नै पो फेरियो ।” अहिले उनको सर्कलमा उनलाई पागलबस्ती नै भनेर साथीहरु चिन्छन् । कसैले दाई वा भाई जोडेर पागल नै पनि भन्छन् त कसैले पागल मात्रै पनि । उनका लागि भने ती हरेक सम्बोधन प्रिय लाग्दा रहेछन् । भन्छन्, “आजकल त म नै आफ्नो परिचय नाम नभई ह्याण्डल भन्छु ।” एकताका एकजना साथीसँग परिचय गर्दा उनले ‘पागलबस्ती’ के उच्चारण गरेका थिए, उनी त आत्तिएछन् । उनका कतिपय स्वभाव अचम्मका छन् । जस्तो, उनी एयरफोनमा गीत सुन्दैनन् तर म्युजिक प्लेयरमा यति सानो भोल्युममा बजाउँछन् कि अरुले पत्तै पाउँदैनन् । भन्छन्, “यो मेरो पुरानो र सामान्य स्वभाव हो तर साथीहरुले त्यसको पाएपछि कतै साँच्चै पागल नै त होइन यो भन्ने पनि सोच्दा रहेछन् ।”

शुरुमा उनको डिस्प्ले नेम मात्र पागल बस्ती थियो ह्याण्डल भने आफ्नो नामको संक्षिप्त रुप ‘के पी शर्मा’ । धेरैले त्यसबेला उनलाई एमाले नेता केपी शर्मा ओली त होइन भन्दै मेन्सन गर्न थालेपछि दुवै पागलबस्तीमा ढालेका रहेछन् ।

सविन सिंह उर्फ एकतारेलाई पछ्याउने ३ हजार बढि छन् ट्वीटरमा तर उनको असली नाम जान्ने त्यसमा मुस्किलले १ सय होलान् । हाल कोरियामा रहेका उनले सुनाए, “यो नाम यति प्रिय भइसक्यो कि धेरै घनिस्ट भइसकेका साथीहरु पनि असली नाम बुझ्नै खोज्दैनन् ।” बरु उनको ह्याल्डललाई धेरैले ‘एउटा तारा’को रुपमा बुझ्दा रैछन् र ‘असई’ भन्दै जिस्क्याउँछन् । भने, “सियोलमा एउटाले त नजिस्क्याईकन नेपालमा कुन पुलिस चौकीमा हुनुहुन्थ्यो भनेर सोधे ।” गजल, कविता र कथा लेखनका सौखिन सिंहको यस्तो ह्याण्ड उनकै पुरानो साहित्यिक नाम एकतारेबाट बनेको थियो । जसमा उनले आफ्नो एक्लै रमाउन सक्ने स्वभाव झल्काउन खोजेका थिए एउटै तार भएको बाजाझैं ।

उनलाई आफ्नो फैलिएको यस्तो नाम किन पनि बढि प्रिय लाग्छ भने ट्विटरमा त्यस्तो लेख्दा मानिसहरु सीर्फ उसको ट्विटका शब्द मात्र हेर्छन् न कि उसको पृष्ठभूमि, राजनीतिक/धार्मीक आस्था, काम वा अन्य सन्दर्भ नजोडिएका कुराहरु । अनि उनलाई बल्ल स्वच्छन्द भएर ट्विट गर्नुको मज्जा आउँदो रहेछ । पछिल्लो चुनावको नतिजा आएपछि उनले एउटा रमाइलो ट्विट गरेका थिए–

प्रचण्ड, “गूरु, बम बाँकी छ ?”
बैद्य, “बन्दुक बुझाईस्, सेना मिसाइस, झापड पनि खाइस । लास्टाँ लोप्पा पनि खाइस् । अब ढुंगा मात्र बाँकी छ, हिन् सँगै उचालम् ।”

उता अस्ट्रेलियमा नर्सका रुपमा काम गर्ने अर्का तन्नेरी छन्, शंखेकिरोखास नाम भने शदन अधिकारी । २ हजार ८ सय बढिले पछ्याएका उनलाई धेरैले साना बालबालिका सोच्दा रहेछन् । र, उस्तैले पछ्याउने । तर उनले शंखेकिरो भने आफ्नो गृहनगर धनगढिमा शंखेकिराले दिने सास्ती सम्झेर गरेका रैछन् । उनले आफ्नो स्वभाव पनि त्यही शंखेकिरासँग मिल्दोजुल्दो ठान्दा रहेछन्, देख्दा सुस्त गतिको तर शक्तिशाली । उनका ट्विटमा त्यस्तै कडा अभिव्यक्तिहरु ह्युमरस तरिकाले राखेको भेटिन्छ । हालै उनले आफ्नो ट्विटरमा लेखे, “जब तिम्लाई ‘जान्ने छु’ भन्ने अहम पलाउँछ, ट्विटर खोल्नु र टाइमलाइन हेर्नु , तिमी बाहेक सबै जान्ने भेट्छौ । अनि आफ्नो अहमलाई मार्नु ।” चुनावको नतिजा आएको बेला उनले भनेका थिए, “प्रचण्डको नजरमा आज सबै नेपाली दलाल हुन् । कति चाँडै महानबाट दलालमा डिमोसन भइयो ।” उनलाई ट्विटरमा उनले यस्तो स्वतन्त्रताको छुट किन पनि छ भने त्यहाँ उनले सकेसम्म आफन्त र व्यावसायिक साथी धेरै छैनन् जति फेसबुकमा छन् । भन्छन्, “शुरुमा त भूमिगत भएरै ट्विटम भन्ने सोचेको थिएँ । तर एक दुई जनाले थाहा पाएपछि त्यो लामो समय टिकेन ।”
 
भनिन्छ, फेसबुकमा तपाईले चिनेका मान्छेसँग अन्तरक्रिया हुन्छ भने ट्वीटरमा चिन्नुपर्नेहरुसँग पनि । त्यही भएर आफूलाई प्रभावशाली देखाउन हजारौंको भिडमा बेग्लै देखाउन ह्याण्डलहरु कसरी उपयोग भइरहेका छन् भन्ने राम्रो उदहारण हुन् यी तन्नेरीहरु ।

No comments:

Post a Comment