Saturday, February 1, 2014

नदेखेको देश


मसुद अहमद, बर्ष ६, को घर पाकिस्तानको साल्कोटमा हो । उनलाई थाहा छ, साल्कोट पाकिस्तानको पञ्जाब प्रान्तमा पर्छ । पाकिस्तानको राजधानी इश्लामावाद नजिकै छ उनको गाउँ । यी सबै कुरा उनले आफ्ना बुवाले बताए अनुसार थाहा पाएका हुन् । धेरैपटक पाकिस्तानको नक्सा पल्टाएर उनी आफ्नो गाउँ कहाँ पर्छ हेरेका छन् ।

उनी स्वयं भने पाकिस्तान कहिल्यै पुगेका छैनन् । उनी काठमाडौंकै पाटन अस्पतालमा जन्मिएका हुन् । आजभन्दा १० बर्षअघि उनका बुवा नविद् अहमद नेपाल आएर शरणार्थी बनेका थिए । अहिले मसुद आफ्ना बुवाआमा, भाई र चार अंकलका साथ काठमाडौंमा छन् ।

उनीहरु अहमदिया मुस्लिम हुन् । पाकिस्तानमा भने अहमदियालाई मुस्लिम नै मानिदैन । त्यहाँको सरकारले नै उनीहरुलाई अरु मुस्लिमसँगै मस्जिदमा गएर प्रार्थना गरे कारवाही हुने नियम बनायो । हामीले कसैलाई भेट्दा नमस्ते भनेझैं मुस्लिमहरु ‘सलाम वालेकुम’ भन्छन् र नमस्ते फर्काएझैं ‘वालेकुम सलाम’ भन्छन् । त्यसो भनेको ‘ईश्वरले तिम्रो रक्षा गरुन्’ हो । अहमदियाहरुले त त्यसो भन्न पनि नपाउने भए । गाउँघरमा उनीहरुलाई अछुत्जस्तै व्यावहार गर्न थालियो । ज्यानकै डर भनेपछि मसुदका बुवा नविद भागेर नेपाल आएका थिए ।

धर्म, राजनीति, शरीरको रंग, भाषाजस्ता कुरामा मतभिन्नता भएसँगै त्यसले निम्त्यने असहज वातावरण र युद्धले मानिसहरुलाई शरणार्थी बनाउँछ । र, उनीहरु आफ्नो देश, आफन्त छाडेर अन्य देशमा बस्छन् । विश्वभर यस्ता शरणार्थीहरु झण्डै ३ करोड छन् । कति लामो समयसम्म शरणार्थी नै रहन्छन् त कोही जन्मंदै शरणार्थीको रुपमा जन्मन्छन् ।

नेपालमा अहिले मसुदजस्ता थुप्रै देशका शरणार्थी छन् । सबैभन्दा बढि भुटानका छन् । त्यसपछि चीनको तिब्बतबाट आएका छन् । भुटान र तिब्बतबाट आएकाहरु थुप्रै परिवार एकैसाथ आएकाले एकै ठाउँमा क्याम्प बनाएर बसेका छन् । तर मसुद्जस्ता अन्य देशबाट आउनेहरु भने थोरै थोरै छन् र एक दुई परिवार भएर छुट्टाछुट्टै आएका कारण काठमाडौंमा कोठा भाडा लिएर बस्छन् । उनीहरुलाई ‘शहरी शरणार्थी’ भनिन्छ । कोठा भाडामा लिएर बस्नेहरु म्यानमार, सोमालिया, इराक लगाएतका देशका छन् । नेपाल सरकारले चाहीं भुटानी र तिब्बतीलाई मात्र शरणार्थी मान्छ । तर पनि यहाँ आइसकेका र घर फर्कन नसक्ने त्यस्ता शहरी शरणार्थीलाई मानवियताका आधारमा राखेको छ । शरणार्थी भएपछि काम गर्न पनि पाइंदैन । सरकार वा संयुक्त राष्ट्रसंघिय शरणार्थी नियोग (युएनएचसिआर)ले दिने थोरै पैसामा जीवन चलाउनुपर्छ ।

शरणार्थीहरु भनेका विभिन्न देशको फरक फरक रहनसहन र परिवेशमा हुर्केका मानिसहरु हुन्छन् । नेपालीहरुको शैक्षिक र अन्य सामाजिक अवस्था धेरै राम्रो नभईसकेकोले नेपालमा धेरै शरणार्थी राख्न नहुने नेपाल सरकारको तर्क छ । अमेरिका र युरोपेली देशहरु भने धेरै विकसित भइसके । त्यहाँका मानिसहरु उत्तिकै शिक्षित पनि छन् । उनीहरुको देशमा त विभिन्न देशका थुप्रै मानिसहरु पनि बस्छन र शरणार्थीको नयाँ जीवन शुरु गर्न अप्ठ्यारो छैन । आफ्नो घर पनि फर्कन नसक्ने र नेपालजस्ता देशमा बसेर पनि राम्रोसँग जीवनयापन गर्न नसक्नेलाई अहिले त्यहाँ केही मात्रामा पुर्नस्थापनाको व्यावस्था पनि गरिएको छ । नेपालबाट धेरै भुटानी शरणार्थीहरु त्यसरी नै अमेरिका र युरोपका देशमा पुगेका छन् ।

नत्र त हामीजस्तै मानिस भएर पनि शरणार्थीहरुले जीवनभर दु:ख र सास्ती पाए भने त राम्रो भएन नि । मसुद र उनका भाई सहिदकै कुरा गरौं न । काठमाडौंको सल्लाघारीमा उनी आफ्ना भाईका साथ त्रिमूर्ति सह–शिक्षा निकेतनमा पढ्न जान्छन् । तर स्कुलमा उनलाई नेपाली बिषय सबैभन्दा अप्ठ्यारो लाग्छ । नलागोस् पनि कसरी घरमा त उनीहरु उर्दू बोल्छन् । किनकि उर्दू पाकिस्तानको राष्ट्रिय भाषा हो । उनीहरुका हजुरबुवा र हजुरआमा पाकिस्तानमै छन् । वहाँहरु आफ्ना नातीहरुलाई भेट्न असेट लागेर फोनमा रुनुहुन्छ । तर भेट्न जाने वातावरण नै छैन ।

सहिदलाई भविष्यमा पाइलट हुने मन छ । उनी भन्छन्, “प्लेन उडाउन जान्ने भएपछि सबैभन्दा पहिले उडेर पाकिस्तान पुग्छु ।” 

First Appeared in Kopila (Kantipur)

यो पनि पढ्नुहोस :: काठमाडौँको शरणमा पाकिस्तानी पनि

No comments:

Post a Comment