Saturday, March 8, 2014

बोल्ने अनुहार

बाटोमा हिंड्दा मानिसहरु टक्क अडिएर हेरुन् ।
“अम्मै के भ’को यस्तो !” भन्दै जिब्रो टोकुन् ।
“हजुरसँग एउटा फोटो खिचौं न ?” भनुन् ।

फेस पेन्ट गराउने तन्नेरीहरु यस्तै ठान्छन् । अझ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका बेला त ‘वान एण्ड वन्ली’ बन्ने लहर चलेको छ आजकल । पारखीहरुले भन्ने गरेको पेन्टर अर्जुन भण्डारी, २५, सुनाउँछन्, “पत्रिकामा छापिने खालको, लाइभ खिच्ने क्यामेराले दोहोर्‍याई तेहेराई देखाउने खालको हुनुपर्‍यो ।”

फेस पेन्टिङको लहर कुनै बेला नेपालमा अन्तर्राष्ट्रिय खेल हुँदा वा विश्वकप फुटबल वा क्रिकेटका बेला मात्र हुन्थ्यो । “यो इन्फर्मल र रफटफ हुने शैली हो,” फेस पेन्टिङका एक सौखिन शक्ति दिपराजले भने, “भिडमा मानिसहरु हराउँछन् तर तपाईं हल्का मात्र पनि युनिक र क्रियटिभ पेन्टिङ आफ्नो अनुहारमा गराउन सक्नुभो भने भिडमा सबैभन्दा बढिले तपाईंलाई नै हेर्छन् ।”

अहिले मानिसहरु जमघट हुने अवसर भए हुन्छ फेस पेन्टिङ जोडिनु कुनै नयाँ अवसर बन्दैन । त्यसैले कन्सर्ट होस् वा मेला अनुहार रंगाएर हिंड्न रुचाउँछन् आजकल । अवसर पिच्छे केही शैली परिवर्तन् हुन्छन् तर उद्देश्य त्यही अरुलाई आकर्षित गर्ने नै हो । जस्तो, होलीमा हुने फेस पेन्टिङमा पाइने एउटा समानता भनेको त्यसले पूरै अनुहारलाई ढाक्छ । शिवरात्रीमा भने गाँजाका पातदेखि लिएर शिवका आकृतिसम्म अनुहारमा कुदिन्छन् ।

अहिले विवाह, बत्रबन्ध, बर्थडेजस्ता उत्सवहरुमा समेत फेस पेन्ट गराउन थालिएको पाइन्छ । विभिन्न अभियानमा समेत अहिले फेस पेन्टिङ जोडिन्छ । वातावरण सप्ताह मनाउँदा एक युवा अभियानकर्ताहरुले कतै अनुहारभरी हरियो पोतेर त कतै रुखका चित्र बनाएर सचेतनाको काम गरेका थिए । विरोधका लागि समेत फेस पेन्टिङ अहिले गतिलो माध्यम बनेको छ । 


‘वाइल्ड बन्ने कि कुल, त्यसले पेन्टिङको शैली निर्धारण गर्छ,’ झण्डै २० बर्षदेखि फेस पेन्टिङ गर्दै आएका मनिष बज्राचार्य, ४८, सुनाउँछन्, ‘युवाहरुमा अहिले संगित, फिल्मको प्रभाव बढि छ, त्यसको झल्को उनीहरुले गराउने पेन्टिङमा झल्किन्छ ।” अन्डरग्राउन्ड कन्सर्टहरुमा त्यस्ता वाइल्ड शैलीहरु बढि भेटिन्छन् । जस्तो: थ्रीलर मुभीमा देखाइने भूत, अनुहारबाट रगत आइरहेको, आँखाबाट आँशु चुहिरहेको वा बाहिरसम्म निस्कएको गिँजा आदि । कुल देखिन खोज्नेहरु भने पुतली, फूल, कार्टुन कुद्न लगाउँछन् । बज्राचार्य भन्छन्, ‘फेस पेन्टिङको आयु धेरै लामो समेत नहुने हुँदा तन्नेरीहरु धेरै सोच्दै नसोची अनुहारलाई अनेकखाले आकृतिमा ढाल्छन् जुन ट्याटुका हकमा लागु हुँदैन ।’ त्यसैले अनुहारमा भगवानदेखि जनावरसम्मका चित्र बन्छन् । कतिले त आधा–आधा गरेर एउटै अनुहारमा दुईखाले आकृतिसम्मले रंगाउँछन् । अहिलेको आम पुस्ताको स्वभाव अरुले कस्तो प्रतिक्रिया दिन्छ भन्नेसँग मतलब हुँदैन । राम्रो सोचुन् वा नराम्रो ‘नोटिस’ होस् भन्ने चहान्छन् उनीहरु ।

फेस पेन्टिङको व्यावसायको रोचक पक्ष के छ भने यसमा पसल थापेर ग्राहक बटुल्न निकै गाह्रो छ । कलाकारहरु जता ठूलो जमघट हुन्छ उतै आफ्ना रंगका बट्टा बोकेर कुद्न थाल्छन् । र, कतै कुनामा आड लागेर आफ्नो काम शुरु गर्छन् । बज्राचार्य सुनाउँछन्, “यो पेशा नै यस्तो हो कि एकैपटक थुप्रै ग्राहक आउँछन् । त्यसैले औसत पाँच मिनेटमा एउटा पेन्टिङ सक्छौं ।”

खेलका बेला यस्तो धपेडि सबैभन्दा बढि हुँदोरहेछ । हुन पनि त्यसबेला देशको झण्डा, खेलाडिको नाम वा जर्सी नम्बर वा फुटबल र क्रिकेट ब्याट/बल सबैभन्दा सबैभन्दा बढि पेन्टिङ गरिन्छ । अझ त्यस्तोबेला सँगै बस्नेगरी युवाहरुको समूह बनेर लामो वाक्य पनि जोडिरहेका हुन्छन् । विश्वकपका बेला जब खेलहरु सेमिफाइनलबाट उकालो लाग्छन् फेस पेन्टिङ गर्नेहरु बढ्छन् । किनकि त्यसबेला गु्रपमा जम्मा भएर खेल हेर्न क्रम बढ्छ । हुन पनि हो, भिडभाड नै नभए त केको लागि पेन्टिङ गर्नु नि ?

पहिले पहिले फेस पेन्टिङ गालामा मात्र गर्ने बुझिन्थ्यो तर अहिले त्यो निधारदेखि घाँटीसम्म फैलन्छ । अझ पछिल्लो समय छालाकै रंगमा खेलेर पेन्टिङ गराउन खोज्नेहरु निकै बढेका छन् जसले मानिसहरुलाई पेन्ट गरिएको भन्दा पनि प्राकृतिक नै जस्तो भान पार्दोरहेछ ।

अंग्रेजी नयाँ बर्षको अवसरमा पोखराको स्ट्रिट फेस्टिभलमा भण्डारीले एक युवाको अनुहारमा उनकै अनुहारको अर्को पेन्ट गरेका थिए, झण्डै २० मिनेट लगाएर । पछि त मानिसहरु खोजी खोजी उनीसम्म आइपुगे ।
अर्जुनलाई यो काम किन पनि रमाइलो लाग्दो रहेछ भने यसमा अरुको आइडियाले धेरै कुरा सिकिन्छ । कलाकारहरुले पेन्टिङ गरिने केही नमूना त राख्छन् तर युनिक हुने लहरमा धेरैले त्यसलाई हल्का परिवर्तन गर्दै नयाँखाले बनाउँछन् । विश्वको कुनै कुनामा चलेको फेसन मोवाइलमा देखाउँदै त्यस्तै बनाइदिन आग्रह गर्छन् । भण्डारी भन्छन्, “सीर्फ काम शुरु गर्नुपर्छ धेरै त ग्राहकबाटै सिकिन्छ ।”

शैली, रंग, आकारमा जस्तो सुकै प्रयोग फेस पेन्टिङले दिने अर्थ एउटै हो, अनुहार बोल्छ पनि । 

First appeared in Hello Shukrabar.

No comments:

Post a Comment