Saturday, March 8, 2014

अजैमेरुकोट: डोटेली राज्यको अवशेष [Travel]

पश्चिम नेपालका बाइसे राज्यबारे ईतिहासमा धेरैपटक पढिएको हो । त्यहीमध्येको एक डोटेली राज्यको सम्झना हुन्छ हाल डडेलधुरा जिल्लामा पर्ने अजयमेरुकोट पुग्दा । अजैमेरुकोट खासमा एउटा डाँडाको थुम्कोमा रहेको दरबार हो । यो ठ्याक्कै के थियो भन्नेमा दुईखाले भनाई पाइन्छ । एउटाले भनाइले डोटीका संस्थापक राजा निराजनदेवले स्थापना गरेको डोटेली राजधानी भन्छ भने अर्कोले चौधौं शताब्दीमा तत्कालिन डोटेली स्वर्ण युग हाँकेका राजा नाग मल्लको गृष्मकालिन राजधानी । सत्य जे सुकै भएता पनि त्यसलाई गन्तव्य बनाएर तय गर्न सकिने पदयात्रा र त्यहाँको भौगोलिक अवस्थित र बास्तुकलाले भने जो कोहीको मन लोभ्याउन सक्छ ।

यहाँ पुग्ने यात्रा शुरु हुन्छ सुदुरपश्चिमको हिल स्टेसन डडेलधुरा जिल्लाको सदरमुकाम ‘अमरगडि नगरपालिका’बाट । १५ मिनेटको जिप यात्रा गरेर आइतबजारसम्म पुर्‍याउँछ । आइतबजारबाटै अजैमेरुकोटसम्मको झण्डै ३ घण्टे यात्रा शुरु हुन्छ । र, त्यहाँबाट अगाडि बढ्नका लागि कि त पैदल यात्रा गर्नुपर्छ या घोडसवार । शान्त जंगलबिचबाट चराचुरुंगीको आवाज सुन्दै यात्रा गर्नुको आनन्द निकै अनुपम हुन्छ ।

बिचमा आउँछ सुन्ताला र अन्य अग्र्यानिक फलफूलका लागि चर्चित सुनेन्दा गाउँ । सुन्ताला गाउँको अर्को विशेषता भनेको त्यहाँबाट निकै राम्रोसँग देखिने अपी हिमश्रृङ्खला पनि हो । यदि घोडसवार भइएको छ भने सुन्ताला गाउँको अन्त्यसम्म मात्र त्यसको आनन्द लिन सकिन्छ । किनकि त्यहाँबाट सिंडिजस्तो बाटोमा निकै ठाडो ओरालो झर्नुपर्छ । घोडामा यात्रा गर्नेका लागि अजैमेरुकोटको रुट किन पनि बढि रोचक हो भने यहाँ घाँेडाहरु समथरदेखि उकालो, ओरालो र खोंचमा समेत यात्रा गर्छन् । उकालो यात्राको क्रममा घोंडाले तान्न नसक्ला कि भनेर पहिलोपटक घोडसवार हुनेहरु निकै डराउँदा रहेछन् । तर घोंडासाथ हिड्ने स्थानिय गाइडहरु पनि हुन्छन् । घोंडसवारमा एउटा उखानै रहेछ, “ओरालोमा घोंडालाई बचाउने, उकालोमा घोंडाले बचाउँछ ।”


पौवा



नाउला

नाउलाभित्र कुदिएको कलाकृति

कमलको फूल आकृतिको गजुर, जुन नाउला र, देवल र पौवामा राखिएको छ

अजैमेरुकोट दरबारको भग्नावसेस

 
तल मजरगाड नदिको किनारमा अजैमेरुकोटको तल्लो भाग देख्न पाइन्छ जहाँ देवलहरु छन् । शिखर शैलीमा बनेका १२ देवलहरुमध्ये अहिले दुई मात्र पूर्ण रुपमा छन् । यी देवलहरु डोटेली राजाहरुले स्थापना गरेका हुन् वा अरु कसैले भन्ने ठोस प्रमाण भने अहिलेसम्म पाइएको रहेनछ । किनकि सुदुरपश्चिममा धेरैतिर पाइने यस्ता देवलहरु जुम्लाको खसमल्ल राज्यकालमा स्थापना भएको पाइन्छ । इतिहासकारहरु बाइसे राज्यहरु स्थापनाको शुरुतिर पनि केही त्यस्ता देवलहरु बनेका थिए भन्नेगर्छन् । त्यसैले ती देवलहरु १२ औंदेखि १६ औं शताब्दीबिचमा बनेका हुनसक्छन् । अहिले ३ वटा भने भत्किएर जिर्ण भइसकेका देवलको अस्तित्व देख्न त पाइन्छन् अन्यको नाम निशाना छैन । तीनमा प्राचिन समयमा ठूला ढुंगा काटेर वा कुदेर बनाइएका कलाका नमूना निकै आकर्षक छन् । गजुरका रुपमा भने कमलका पातयुक्त गोलाकार प्रस्तर पाइन्छ ।
अजैमेरुकोटको दरबार पुग्ने सिंडीबाटो

ती देवलहरुमा अहिले पुजा त हुँदैन तर तीनका शैली हेर्दा कुनैबेला तीनमा शिवको पूजा हुन्थ्यो होला भन्ने लाग्छ । किनकि त्यहाँ मूर्ति राख्ने वेदी, पूजा मण्डप भने अझै पाइन्छ । त्यस वरपर देखिने पार्टी–पौवाका कारण पनि त्यहाँ पुजा हुनसक्ने ठानिन्छ । रोचक त के छ भने ती शिखर शैलीका मन्दिरहरु काठमाडौंको जयवागेश्वरी, पाटन र भक्तपुरकासँग पनि मिल्दाजुल्दा लाग्छन् तर ती काठमाडौंमा ती १७/१८औं शताब्दीतिर बनेका हुन् भने डडेलधुराका १३/१४औं शताब्दीतिर ।

त्यस वरपर ३ वटा प्राचिन नाउला (इनार) पनि छन् जसमा अझैसम्म पनि पानी रसाइरहेको पाइन्छ । पानी भण्डारणको नाउला बनाउने शैली खसमल्ल साम्राज्यमा चलेको थियो । ती नाउलाहरु सायद अजैमेरुकोट निर्माणकै क्रममा बनेका हुनसक्छन् । ती चित्र कुदिएका ढुङ्गाकै खुम्बा, फ्याक्क र छानाले बनाइएका छन् । ती अझैसम्म पनि स्थानियले पानीको स्रोतको रुपमा प्रयोग गरिरहेका छन् ।

तिनै इनारको छेउ लाग्दै पुन: आधा घण्टाजती उकालो लागेपछि बल्ल अजैमेरुकोटको माथिल्लो भाग आउँछ आउँछ । त्यहाँ अहिले जिर्ण दरबार छ । जुन रुपमा त्यो अहिले संरक्षणविहीन बनेको छ, त्यसले गर्दा थप पहल नगरिए छिट्टै अहिलेको स्वरुप झन् बढि बिग्रन सक्ने ठानिन्छ । एउटा कोठाको भने छाना मात्र छैन, अन्य स्वरुप भने अझै देख्न सकिन्छ । अन्य भने भग्नाभसेस मात्र छ । त्यसको पश्चिमपट्टि थप केही कोठाहरुको भग्नावसेस छ तर उत्खननको अभावमा यकिन गरेर भन्न सकिएको छैन । सबैभन्दा रोचक त के छ भने दरबारको दक्षिण पश्चिम कुनामा स्त्रीहरु स्नानको लागि पुग्ने सुरुंगे मार्ग मार्ग छ जसको भग्नावसेस आकृति अझै पनि देख्न सकिन्छ ।

कोटको भूबनोट तीनतिर नदिले घेरेको छ ।  पुरातत्वविद्हरुले डोटीको मध्यकालिन वास्तुकलाका थुप्रै रोचक पक्षको रहस्योद्घाटनका लागि अजैमेरुकोटको छिटोभन्दा छिटो उत्खनन् हुनुपर्ने सुझाएता पनि अझै केही उपलब्धी हुन सकेको छैन । इतिहासमा केसम्म पनि भनिन्छ भने डोटीको वास्तुकला त्यसबेला कतिसम्म चर्चित थियो भने त्यसको सम्पन्नताबारे सुनेर लखनौका गर्भनर हुसेन खाले समेत आक्रमण गरेर अजैमेरुकोट समेत ध्वस्त पारेका थिए । 

खासमा शुरुमा डोटेली राज्य शुरुमा स्वतन्त्र नभई खसमल्ल साम्राज्यकै एउटा प्रदेशको रुपमा थियो । जब विसं १४४४ तिर खसमल्ल साम्राज्य कमजोर भएपछि नाग मल्लले डोटी प्रदेशलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । अजयमेरुकोटको नामाकरण भने डाँडामाथि भएकाले शत्रुले पराजय गर्न नसक्ने भन्दै ‘अजयमेरु’  (जित्न नसकिने पर्वत) राखिएको हुनसक्ने ठानिन्छ ।
समग्रमा अजैमेरुकोटको ऐतिहासिक महत्वको ठाउँ त हो नै तर त्यसरी ऐतिहासिक महत्व पाउनुपछाडि त्यसको भौगोलिक अवस्थिति पनि हो । त्यसैले यहाँसम्मको यात्राले प्रकृति र इतिहासको उत्कृष्ठ आनन्द दिन्छ ।

No comments:

Post a Comment