Thursday, June 19, 2014

तर्क बोकेका सिपाही

काठमाडौंका एकथरी तन्नेरीमा अहिले ‘डिबेट’को भुतसवार छ । त्यो त्यस्तो डिबेट होइन, जुन अक्सर स्कुलमा वादविवादका रुपमा हुन्थे, ‘कलम बलियो कि हतियार’, ‘छोरीलाई अंश दिने कि शिक्षा’ भन्नेजस्ता शीर्षकमा ।

“यो बौद्धिक बहस हो जुन परम्परागत बहसभन्दा निकै फरक र वैज्ञानिक छ,” अहिलेसम्म झण्डै एक सय डिबेट गरिसकेका प्रदीपराज घिमिरे भन्छन्, “समाजमा विवेकशील मानिसहरु जन्माउने एउटा गतिलो माध्यम हो यो ।” उनीजस्ता थुप्रै तन्नेरीले  तर्कलाई बलियो शक्ति मान्छन । उनीहरुले राम्रोसँग बुझेका छन्, समाज रुपान्तरण हुनलाई पहिले त्यहाँका मानिसहरु अन्धभक्त हुन छाड्नुपर्छ, अरुलाई सुन्न सक्नुपर्छ । र, सबैभन्दा महत्वपूर्ण कुरा अरुको आँखाबाट पनि आफूलाई ठिक/बेठिकको कसीमा हेनुपर्छ । घिमिरे भन्छन्, “जब मानिस विवेकी हुन्छन् उनीहरु ढुंगा हान्न छाडेर बहस गर्छन् जसले अन्तत: प्रजातन्त्र फस्टाउन सघाउँछ ।” 

काठमाडौंका थुप्रै स्कुल तथा कलेजमा अहिले डिबेट क्लबहरु छन् । जो ‘बेलायती संसदिय शैली’ देखि ‘कार्ल पोपर’जस्ता थुप्रै ढाँचामा आफ्नो तर्क निखार्ने र तर्क बनाउने अभ्यासमा जुट्छन् । जस्तो, बेलायती संसदिय शैलीको डिबेटमा पक्षमा २–२ जना हुने गरी दुई समूह हुन्छन् भने विपक्षमा पनि त्यस्तै । यसरी एउटा बहसमा ८ जना एकैचोटी भिड्छन् । कार्ल पोपरमा ३–३ जनाको पक्ष–विपक्ष हुन्छ । बेलायती शैलीमा बहस गरिरहंदा बिचमै विपक्षीले हात उठाएर प्रश्न गर्न पाउँछ भने कार्ल पोपरमा भने त्यसको लागि छुट्टै समय हुन्छ ।  

बेलायती मोडलमा पक्ष–पक्ष वा विपक्ष–विपक्ष भित्रै फरभित्र पनि एकअर्काभित्र अझ बलियो तर्क राख्ने भन्ने प्रतिस्पर्धा हुन्छ, भलै उनीहरु आफ्नो पक्षको कुरा काट्दैनन् । ब्रिजवाटर डिबेट एसोसिएसनकी सहारा भेटवाल भन्छिन्, “यी ढाँचाले हामीलाई डिबेटमा अन्तरक्रिया, अध्ययनको लागि उत्प्रेरित गर्छन् ।’ जस्तो, कार्लकोपर ढाँचाले समसामयिक मुद्दा उठाउन प्रेरित गर्छ ।

विश्वभर सबैभन्दा प्रभावकारी ढंगबाट डिबेट हुने थलो सदन हो । किनकि, त्यहाँ महत्वपूर्ण बिषयमाथि पक्ष–विपक्षबिच बहस हुन्छ । त्यसैले डिबेट हुनुअघि छानिने मोसन (शीर्षक) समेत ‘यो सदनले यो विश्वास राख्छ/दावी गर्छ  ...’ जस्तो शैलीमा हुन्छ । डिबेट गर्नुअघि छानिने त्यस्तो मोसन कुनै एक हप्तादेखि एक महिना अघिदेखि तयारी गर्न मिल्ने गरी हुन्छ भने कुनै आधा घन्टादेखि केही घन्टाको समय तयारीका लागि हुनेगरी हुन्छन् । थाइल्याण्डको एजोमसन युनिभर्सिटीमा पढाई सकेर फर्केकी साजल प्रधान भन्छिन्, “कहिलेकाहीं त्यो छोटो समयमा इन्टरनेट पनि प्रयोग गर्न नपाइने नियम बनाइन्थ्यो जसले आफूसँग भएको सीमित ज्ञानबिचबाटै तर्क बनाउनुपथ्र्यो ।”

राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा डिबेट लिगहरु समेत आयोजना भइरहन्छन् जुन फुटबल जसरी टाइसिट नै निकालेर विभिन्न चरणहरु पार गर्दै हुन्छन् ।  नेपालमा डिबेटको टेक्निेकल जनशक्ति कम भएकाले यी तन्नेरीहरु यसअघि धेरै बहस गरिसकेकालाई मध्यस्तकर्ता, निर्णायकजस्ता पदमा राख्छन् ।


बहस कहिलेकाही कतिसम्म रमाइलो भइदिन्छ भने आफूलाई मन नै नपरेको बिषयको पक्ष लिएर बोल्नुपर्छ । “तर त्यस्तो बाध्यताले त्यो कुरा पहिले किन आफूलाई मन परेन भन्ने छर्लंग पार्छ,” स्मार्ट क्लबबाट डिबेटमा प्रवेश गरेकी शिक्षा न्यौपाने भन्छिन्, “पछि त्यही कुरा मन पर्न पनि सक्छ ।”

यसरी रामराजकै विरुद्धमा बोलेजस्तो हुने गरी कहिलेकाहीं डिबेटमा ठूलो अप्ठ्यारो पर्छ । ‘यो सदनले बाल श्रमलाई वैद्य गर्छ’  भन्ने पक्षमा एकपटक प्रधानलाई डिबेट गर्नु परेको थियो । त्यसबिचमा गरेको अध्ययनले उनको निश्कर्ष नै बदलिएको छ, “वैद्य गर्नुमै उनीहरुको हित छ किनभने त्यसले श्रमिक बालबालिकाको अवस्था के छ भन्ने नै थाहा पाउन सघाउँछ र ठूला समस्याबाट बचाउँछ । फेरी त्यसै पनि हामी बन्द गर्न सकिरहेका छन् ।” 

यो डिबेटको स्वरुप नै यस्तो छ कि थोरै रिसर्चले हुँदैन । फराकिलो भएर सोचिएन भने विपक्षीलाई सबैभन्दा कमजोरी भेट्न झन् सहज हुन्छ । उनीहरुका भनाईमा हामी दृष्टिविहीनले हात्ती छामेजस्तो आफ्नो धारणा बनाइरहेका छौं । “डिबेटले हात्ती यस्तो रहेछ भनेझैं पार्छ । र, आँखा खुलाउँछ,” चेल्सी डिबेट क्लबका सौरभ भट्ट भन्छन्, “यसरी नै हो यो बौद्धिक खेलले विद्यार्थीमा क्रिटिकल सोचाई र आत्मविश्वास बिकाश गर्ने ।” त्यसमाथि हाम्रोजस्तो देश जहाँ नागरिक सचेतना कम छ, त्यहाँ नेताहरु योजनाविनै देशलाई सिंगापुर बनाउँछु भन्दा पत्याउँछन् । तर यहाँ कसरी बनाउने भन्ने बिषयमा कहिल्यै छलफल गर्न खोज्दैनन् 

त्यसैले डिबेटका बिषयहरु सामान्यदेखि निकै गम्भिरसम्मका हुन्छन् । जस्तो, ‘यो सदनले केटाले पहिले प्रेम प्रस्ताव राख्नुपर्छ भन्ने कुरामा विश्वास गर्छ’ ‘यो सदन ठान्छ कि सुपरम्यानले मानिसलाई फाइदाभन्दा बढि हानी गरेको छ’, ‘यो सदन ठान्छ सेलिब्रेटीले आफ्नो प्रेम जीवन गोप्य राख्नुपर्छ’, ‘यो सदनले विश्वका सम्पूर्ण सीमाहरु खुला गर्छ’, ‘यो सदनले यो विश्वास गर्छ कि पुरुषको लागि दोस्रो विवाह गर्न पहिलो श्रीमतीको अनुमति चाहिंदैन’, ‘यो सदनले यो विश्वास गर्छ कि सन् २०३० सँगै यो ससार निकै सुन्दर ठाउँ बन्नेछ’, ‘यो सदन बुद्धको जन्मस्थानबारे र्चिकरहेको  बहसप्रति खेद व्यक्त गर्छ’, ‘यो सदनले विज्ञापनमा हुने महिलाको स्टेरोटाइप बन्द हुनुपर्छ भन्ने ठान्छ’ आदि । 
 
तन्नेरीहरु डिबेट गर्दैगर्दा बिषयबस्तुलाई यतिधेरै ‘इन्टरनलाइज’ गर्दा रहेछन् कि कहिलेकाहीं तयारी नै नगरेको कुरा समेत शक्तिशाली बनेर मुखबाट निस्कंदो रहेछ । साजल प्रधानले समलिंगी विवाह वैद्य गर्नुपर्छ भन्ने बिषयमा बोल्नु परिरहेको थियो । सबैले प्रेम, स्वतन्त्रता, आफ्नो रुचि पछ्याउने अधिकार भन्ने जोडेर तर्क दिइरहेका बेला उनले भनिछन्, “हामीले अहिले भन्ने गरेको विवाह नै प्राकृतिक होइन । यो धेरै बर्षअघि निर्माण गरिदिएको । किन हामी यस्तो व्यर्थको कुरामा बहस गरिराको छौं ?’ मृत्युदण्डको पक्षमा बोल्दा उनले चोरबाटो निकालिन्, सिद्धान्तमा विश्वास गर्ने तर व्यावहारमा नगर्ने । भनिन्, “जघन्य अपराधीलाई मृत्युदण्ड दिनु ठिक हो त्यस्तो गर्नु किन हुन्न भने त्यसमा कुनै निर्दोश मानिस समेत फस्न सक्छ ।”

शिक्षा न्यौपानलाई त आफैले विश्वास नगर्ने कुरामा अरुलाई कन्भिन्स गर्दाको अनुभव पनि छ । आफू भेज भइकन पनि ननभेजको पक्षमा बोल्न परेको थियो उनले । अनुभव सुनाईन्, “बोल्दा बोल्दै भेजको पक्षमा कुरा निस्केला भन्ने डर हुन्थ्यो ।” तर उनले ढुंगे युगदेखि जनावर मार्दै खाएको भरमा विकास भएको मानव सभ्यता हो यो भन्दै तर्क दिइन । माछामा पाउने प्रोटिन वनस्पतिमा पाइंदैन समेत भनिन् । तर उनी असली भेजिटेरियन न थिइन्, अन्त्यमा भनिछन्, “सबैको च्वाइटको कुरा हो ।” 

खास हामी जीवनभर एउटै कुरामा जमेर बस्छौं तर डिबेटले फराकिलो बनाउँछ । मनिष कंडेल भन्छन्, “डिबेट गर्ने मान्छे कसैले ललिपप दिंदा पनि मख्ख परिहाल्दैन । विकसित देशमा त्यही भएर स्कुलदेखि विश्वविद्यालयसम्म बहसलाई हालिएको हुन्छ । बहसले असली चुनावी संस्कृति निर्माण गर्छ, पार्टीको अन्धभक्त भएर कोही हिंड्दैनन् । राजनीति भन्दा आफ्नो स्वार्थमा बढि केन्द्रीत हुने भनिएको अमेरिकामा समेत जब चुनाव हुन्छ डेमोक्याट र रिपब्लिकनबिच हुने यस्तै डिबेटकै भरमा जनताले नेता चुन्छन् ।

घिमिरे भन्छन्, “हामीकहाँ त्यही डिबेट संस्कृति नभएकै कारण सहमतिहरु धेरै हुन्छन् जुन पछि झन् बल्झिन सक्छन् । जीवन्त प्रजातन्त्र भनेकै बहस र छलफलबाटै फैलन्छ । त्यसैले डिबेट गर्नु जरुरी छ ।” 

First Appeared in Hello Shukrabar (Kantipur). 

No comments:

Post a Comment