Saturday, June 21, 2014

सिटी म्युजियमको परख

कसिसदाश श्रेष्ठ डकुमेन्ट्री फोटोग्राफीका सौखिन् हुन् । जिजुबुवादेखि उनीसम्मको चार पुस्ता फोटोग्राफीमा छ । नेपालको पुरानो एवं कहलिएको दास स्टुडियो उनीहरुकै हो । पछिल्लो समय कसिस भने व्यावसायिक रुपमै वातावरण र दिगो विकासका क्षेत्रमा मोडिएका छन् । त्यतिखेर पनि उनलाई आफ्नो पुस्ताले खिचेका तस्विर सहयोगि बनेका छन् जसलाई राखेर उनले दरबारमार्गस्थित सुरा भवनमा ‘सिटी म्युजियम’ खोलेका छन् । भन्छन्, “यसले हामीलाई वर्तमानमा रहेर विगतसँग तुलना गर्न विवस पार्नेछ । र, भविष्यको लागि थुप्रै प्रश्नहरु तेस्र्याउनेछ ।”

आधुनिक भवनको तेस्रो तलामा रहेको संग्राहलय छिरेपछिको माहोलले जो कोहीलाई झण्डै ६ दशक अघिदेखिको फ्यासब्याकमा लैजान्छ । उनका हजुरबुवा द्वारिकादास श्रेष्ठले सबैभन्दा सकृय भएर काठमाडौंको फोटो खिचेको समय सन् १९५५ देखि १९६५ बिचको हो । कसिस भन्छन्, “त्यो त्यस्तो समय थियो जतिखेर न काठमाडौं आधुनिक भइसकेको थियो न त्यतिसारो परम्परागत नै थियो ।” पानीको पाइप, बिजुलीका तारहरु भर्खर बिछ्याईंदै थिए ।

तस्विरमार्फत हेर्दा त्यसबेलाको काठमाडौं पत्याइनसक्नुको रोचक देखिन्छ । पाटनमा खिचिएको एउटा तस्विरमा सबैजसो मानिसहरु खाली खुट्टामा छन् । तर त्यहीं एउटा गाडि छ । नम्बर प्लेटमा अझै ‘३ पुलिस’ देखिने मोटरसाइकल पनि छ । नारायणहिटी राजदरबार अगाडि खिचिएको एउटा तस्विरमा दरबारमार्गको नामोनिसान छैन । अहिले त्यही काठमाडौं अहिले दक्षिण एसियाकै सबैभन्दा तिब्र गतिमा शहरीकरण भइरहेको शहरमा पर्छ ।

तस्विरमार्फत शहरको बदलिंदो स्वरुप देखिरहंदा संग्राहलयभित्र झण्डै एक शताब्दी पुराना इट्टा परम्परागत रुपमा खापेर र बारेर त्यसबेलाकै माहोल बनाउन खोजिएको छ । त्यसका लागि काठमाडौंमा भत्काईंदै गरेका प्राचिन घरबाट झण्डै १२ हजार पुराना इट्टा संकलन गरिएका थिए ।  त्यहाँ गल्ली र बहालझैं स्वरुप दिइएको छ । तिनको माथिपट्टि गजुर राखिएका छन् ।

पुराना तस्विरका त्यतिधेरै संग्रह आफ्नै घरमा भइकन पनि कसिसले त्यसको सुईंको एक दशकअघिसम्म राम्रोसँग पाएका थिएनन् । ९० को दशकको अन्त्यतिर इमेज एफएममा कार्यक्रम चलाउँदा हरेक सो अगाडि हजुरबुवालाई भेट्न जान्थे । त्यसबेला उनले सुनाउने काठमाडौंका पुराना किस्साले कसिसलाई रोमाञ्चित पाथ्र्यो जसको कल्पना तस्विरमा गर्थे उनी । “त्यस्ता धेरैका तस्विर हजुरबुवासँग थिए तर प्रर्दशनी गर्ने र चर्चा कमाउने भन्ने कुराले कहिल्यै तान्दैनथ्यो,” उनी सुनाउँछन्, “सन् २००४ मा भने निकै आग्रहपछि हजुरबुवाले प्रदर्शनीका लागि तस्विर दिन मान्नुभयो ।” तर हजुरबुवाले आफ्नो तस्विरको प्रदर्शनी देख्न पाउनुभएन, त्यही बर्ष वहाँको निधन भयो ।

वहाँको पलङमुनि एउटा सुटकेसमा त्यस्ता झण्डै ६ सय तस्विर राखिएका रहेछन्, कुनैका नेगेटिभ त कुनै धुलाएरै राखिएका । बर्षौं नछोइकन राखिएका ति तस्विरलाई विभिन्न विधामा छुट्याएर राख्न र डिजिटलमा ढाल्न उनले लामो समय खर्चिए । त्यसबेला व्यावसायिक रुपमा यहाँको पोस्टकार्ड बनाउने काम दास स्टुडियोले गथ्र्यो । जसमा काठमाडौं उपत्यका, हिमाल, संस्कृति र जीवनशैलीका थुप्रै दुर्लभ तस्विरहरु थिए । संयोग कस्तो पनि रहेछ भने एभरेष्टको तस्विर जिजुबुवादेखि उनीसम्मले खिचेका रहेछन् ।

कसिसका बुवा ज्ञानेन्द्रदास श्रेष्ठ पोट्र्रेट फोटोग्राफिका सौखिन हुन् । कसिसको फोटोग्राफी स्वभाव भने धेरैजसो आफ्ना हजुरवुवासँग मिल्छ जुन कि दुवैलाई परिवेशलाई श्रृङ्गारेर भन्दा पनि जे छ त्यस्तैको खिच्नेमा छ ।
दास स्टुडियो सन् १९२७ मा दार्जलिङमा जिजुवुवा ठाकुरदास श्रेष्ठले खोलेका थिए । हजुरबुवा द्वारिकादास भने भारतिय सेनाको आरोहण दलका लागि लामो तयारी गरेता पनि परिवारको आग्रहमा त्यता नलागि काठमाडौं आएर सन् ५० को दशकको अन्त्यतिरबाट व्यावसायिक फोटोग्राफी शुरु गरेका थिए । हजुरबुवाले सन् ५० को दशकतिर खिचेको एउटा ४५ मिनेट लामो भिडियोको स्पुल समेत भेटेका छन् जसमा पोखरा एयरपोर्ट, गोरु जुधेकाजस्ता थुप्रै फुटेज छन् । भन्छन्, “इतिहासको मजा भनेकै यही हो जसमा धेरै कुराको अहिले अनुमान मात्र गर्न सकिन्छ, ठ्याक्कै के हो भन्न सकिंदैन ।”

कसिस संग्रालयलाई अझै बढि विस्तार गर्न जुटिरहेका छन् । आफ्नो परिवार बाहेक पनि तस्विरमा कहलिएको चित्रकार (लक्ष्मीलाल चित्रकारको पुस्ता) र फोटो कन्सर्नका डिबी थापाका तस्विरहरु पनि संग्रहित गरेका छन् । छिट्टै केही पुराना क्यामेरा र ग्लास स्लाइडहरु पनि संग्राहलयमा थप्दैछन् । भन्छन्, “विगत भुल्नका लागि होइन चिनेर भविष्य सोच्नका लागि हुनुपर्छ । मेरो संग्राहलयको प्रमुख उद्देश्य पनि त्यही नै हो ।”   
First Appeared in Nepal Magazine

No comments:

Post a Comment