Friday, June 27, 2014

६० सेकेन्डको शक्ति

६० सेकेन्ड अब सानो समय रहेन । २ साता अघि काठमाडौंमा ४ सय मध्येबाट छानिएका २० देशका ३८ फिल्म ‘६० सेकेन्ड अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०१४’ मा  स्क्रिनिङ भए । त्यही सेरोफेरोमा फेस्टिभल निर्देशक अब्दुस मियाँ हेलो शुक्रबारलाई भन्दैथिए, “घन्टौं लामो फिल्म हेरिसक्दा पनि अन्त्यमा बनाइने निचोड सानै हुन्छ । ६० सेकेन्डमा मानिसले धेरै नसोचिकन सिधै त्यही निचोडसम्म पुग्छ ।”

त्यसो भन्दैमा ६० सेकेन्डमा के मात्र गर्ने –– कस्तो स्क्रिप्ट लेख्ने ? कति जनाले अभिनय गर्ने ? कथाको फराकिलो दायरा नबिगारीकन कसरी त्यसलाई खुम्च्याउने ?

अर्कोतिरबाट हेर्दा ६० सेकेन्ड यस्तो समय पनि हो जसबिचमा एउटा औसत मानिस १५ देखि २० सेकेन्ड त आँखा बन्द गरेरै बिताउँछ । “चिन्ता नगर्नुस् ! फिचर फिल्ममा कुनैबेला रोमोञ्चक दृश्य आउँछ भने कुनैबेला पट्यारलाग्दा पनि,” अब्दुस भन्छन्, “यस्तो फिल्मको हरेक सेकेन्डमा चुम्बकिय क्षमता हुन्छ ।”

फेस्टिभलमा देखाइएको पाकिस्तानका असान इजको फिल्म ‘चेन्ज योर माइन्डसेट’ यस्तो थियो । भिड बसमा एक युवक र युवती उभिरहेका हुन्छन् । पछाडिपट्टि रहेको युवकलाई अन्तिम सिटमा बसिरहेका अन्य केटाहरुले धकेलिदिंदा युवतीलाई धक्का लाग्छ । दोस्रो पटक पनि त्यस्तै भएपछि ती युवतीले चड्कन नै लगाउँछिन् । बसका अन्य यात्रुले ‘तमिज नभएको मान्छे’ ‘क्या जमाना आयो’ जस्ता शब्दले लान्छना लगाउँछन् । केहीबेरमा युवक अगाडि आउँछन् । त्यसबेला अघि उसलाई परेजस्तो समस्या ती युवतीलाई पर्छ । तर उक्त युवक रिसाउँदैन । भन्छ, “चिन्ता नगर्नुस म बुझ्छु, यस्तो हुन्छ भन्ने ।” लैंगिक विवेधको कुरामा धेरै साँघुरो मानसिकताबाट बाहिर निस्कनुपर्ने सन्देस हो फिल्मको ।

सर्ट फिल्म हाउस ‘ओनियन फिल्मस्’का निर्देशक गोविन्द सिवाकोटी यस्तो अभ्यासलाई ‘विशेष’ तर ‘क्रितिम क्षमता’ भनेर अथ्र्याउँछन् । भन्छन्, “यस्तो फिल्मको अनुभव भएको मानिसले पनि लामो फिल्म नै बनाउँदा पनि त्यसको हरेक सानो समयलाई महत्व दिन सिक्छ ।” त्यसो त फिल्मी क्षेत्रमा आफ्नो करिअर बनाउने सोचिरहेका तर सानै कामबाट आफ्नो क्षमता देखाउन खोज्नेका लागि ६० सेकेन्ड फिल्म लाभदायक भइरहेका छन् । जसमा मानिसहरु क्यामेरा, कथा, निर्माणजस्ता थुप्रै काममा एक्लै भिड्न सक्छन् । र, निर्माण गर्ने मानिसको अर्को क्षमता त्यतिखेर देखिन्छ जतिखेर उसले गैरकलाकारलाई नै आफ्नो पात्र बनाउन सक्छन् ।



सिवाकोटी स्वयंले केही अघि त्यस्तै एउटा फिल्म बनाएका थिए, ‘पेनीफूल स्माइल’ (एक सिक्काको मुस्कान) । बसमा यात्रा गरिरहेका बेला एउटा बच्चा माग्दै हिंडिरहेको थियो । ऊ सिवाकोटीसम्म आइपुग्यो जसलाई उनी छल्न खोजिरहेका छन् तर बच्चा पैसा नलिइकन जानेवाला छैन । अन्तत: उनले १ रुपियाँको सिक्का थमाइदिन्छन् जतिखेर उसले दिएको मन्द मुस्कानले उनलाई समेत आनन्द दिएको हुन्छ । यस फिल्ममा सिक्का दिने मानिस कतै देखिंदैन तर क्यामेराको मुभमेन्ट जसरी गराइएको छ, त्यो नै एकखाले अभिनय हो । उनी भन्छन्, “मेरो फिल्मको सन्देस पनि माग्ने मानिसलाई थोरै पैसा दिएर हामीले समेत केही न केही फिर्ता पाइरहेका हुन्छौं भन्ने हो, यस्तै सुन्दर मुस्कान जसरी ।”

फेस्टिभलमै देखाइएको अंकित केसीको फिल्म ‘इभन फर अ डे’ मा एउटा युवक रेष्टुराँको मेनु महंगो देखेपछि छाडेर सामान्य पसलमा म:म खाएर फर्कन्छ । गोजीमा ३ सय मात्र बोकेको ऊ शुरुमा २५० रुपियाँ प्रतिप्लेट पर्ने म:म खान नसक्दा निकै दु:खी हुन्छ । पछि समान्य ठाउँमा म:म खाएर बचाएकै कारण सडक छेउमा बसेकी बुढी आमैलाई दिन पाउँदा उसको मुहारमा देखिएको प्रशन्नता निकै विशेष हुन्छ । त्यो त्यस्तो फिल्म हो जहाँ मुस्कानमै फिल्म र अभिनय अडेको छ ।

यस्ता थुप्रै नयाँ नयाँ प्रयोग सम्भव छ यसमा । ६० सेकेन्डमा बनेका थुप्रै फिल्म संवाद विहीन हुन्छन् । जतिखेर कलाकारको शरीरको हाउभाव र परिवेशले कथा बोल्छ ।

सर्ट फिल्म स्कुल ‘योङ कट्स’मा गौरव कोइरालाले दौतरी दबाव सम्बन्धी ६० सेकेन्डको एउटा फिल्म बनाए । साथीहरुको एउटा समूहमा एक्ली युवती हुन्छिन् । उनीहरु भेटिरहंदा अन्य सबैले चुरोट पिउँछन् । यो क्रम सामान्य जसरी चलिरहन्छ । एकदिन अरु कोही आउँदैनन् । त्यसबेला ती युवतीले समेत एउटा चुरोट सल्काउँछिन् र फिल्म सकिन्छ । जसमा कतै संवाद वा अक्षर प्रयोग गरिएको छैन तर दौतरीको प्रभाव मनोवैज्ञानिक रुपमा कसरी एक अर्कामा पर्छ भन्ने देखाइएको छ यसमा । युवतीलाई लागेको हुनसक्छ, “कतै मैले चुरोट नखाएकै कारण मबाट उनीहरु एक्लिएका त होइनन् ?”

कथाको मर्मलाई छोटो समयभित्रै देखाउने क्षमता भएमा आफूसँग भएका सामान्यभन्दा सामान्य पूर्वाधारबाटै जोकोहीले यस्तो फिल्म बनाउन सक्छन् । सामान्य कम्प्याक वा मोवाइल क्यामेरा झन् बढि सहज मानिन्छन् यस्ता फिल्ममा । राम्रो तयारी गर्नेले ‘वान टेक’मै समेत निर्माण गरेका छन् छोटो फिल्महरु । फेस्टिभल निर्देशक मियाँ भन्छन्, “शक्तिशाली बन्दै गएका अति छोटा फिल्मले अब मानिसको फिल्म हेर्ने ठाउँ फिल्महलबाट सोसल मिडिया प्लेटफर्म तर्फ मोडिरहेको छ जहाँ यस्ता फिल्म फस्टाउन सक्छन् ।”

बेपत्ता परिवारमाथि बनाइएको फिल्म ‘नफर्केकाहरु’ गत माघमा भएको देशब्यापी ‘६० सेकेन्ड सर्ट फिल्म फेस्टिभल’ मा प्रथम भएको थियो, जुन केही अमूर्त ढंगबाट बनाइएको थियो । “मुख्य कुरा यसमा कि त पात्रलाई स्थापित गर्न कठिन हुन्छ किन अति छिटो स्थापित गर्न सक्नुपर्छ,” नफर्केकाहरु निर्माण गरेको टिम ‘जिजिविसा फिल्मस’का निराजन भण्डारी भन्छन्, “हरेक सानो फ्रेमले कथाको ठूलो हिस्सा बोलेको हुन्छ ।” त्यसैले भण्डारी सानो फिल्म भएता पनि सामूहिक प्रयासले गर्नुपर्ने काम ठान्छन् ।

First Appeared in Hello Shukrabar (Kantipur)

No comments:

Post a Comment