Monday, July 28, 2014

मेसिन लर्निङको काइदा

कहलिएका विश्वविद्यालय, पत्रपत्रिकामा नाम सुनेका प्राध्यापक र आफूले पढ्न चाहेका कोर्स । अब विद्यार्थीको पछिल्लो ग्रेड, एप्लिकेसन एसे वा आर्थिक क्षमतासँग मतलब राख्दैनन् । मतलब राख्छ त सीर्फ पढ्ने इच्छाले । ती कोर्स र पढाउने प्राध्यापकहरु केही क्लिककै भरमा कोसौं पर रहेका विद्यार्थीसम्म आइपुग्छन् । र, ‘मेसिन लर्निङ’मा एकैपटक जुट्छन् विश्वका विभिन्न भेग, परिवेश धर्म र संस्कृतिका हजारौं विद्यार्थीहरु ।

“सिक्न खोज्नेका लागि विश्वविद्यालयले दिने सामाग्रीदेखि विद्यार्थीको नेटवर्क सायद साँच्चिकै कक्षामा पुगेभन्दा कमका हुँदैनन्,” अमेरिकाको युनिभर्सिटी अफ इलिनोइजको ‘माइक्रो इकोनोमिक प्रिन्सिपल’ पढेका श्रीकृष्ण सिलवाल सुनाउँछन्, “बरु जुनसुकै समय र आफ्नै गतिमा पढ्न सकिने हुँदा त्यो झन् आरामदायी हुन्छ ।”

सामान्यत: विश्वविद्यालयमा दिइएको काम समयमै फत्ते नगरे प्राध्यापकले अंक कम दिन सक्छन् । कक्षाको नियम अनुसार न्युनतम उपस्थिति नभए परिक्षाका लागि योग्य नभइन सकिन्छ । अनलाइन कोर्समा यस्ता नियमले भने कमै बाँध्छन् । सिलवालको तर्क छ, “खासमा ग्रेडभन्दा ज्ञानको दायरा बढाउन खोज्नेका लागि हो अनलाइन अध्ययन ।” त्यही कारण कतिपय कोर्समा पढाई पूरा गरेको भनेर प्रमाण पत्र दिइन्छ भने कतिमा त्यो पनि दिइंदैन । प्रमाणपत्र नदिनेहरुको तर्क हुन्छ हजारौं विद्यार्थीलाई व्यक्तिगत रुपमा चिन्न सम्भव हुँदैन र नचिनीकन प्रमाणपत्र दिनु मिल्दैन । यद्यपि प्रमाणपत्र दिने सर्टिफाइड कोर्सहरु पनि हुन्छन् जसका लागि विद्यार्थीले २५ देखि ५० हाराहारीमा अमेरिकी डलर तिर्नुपर्छ ।

यसरी अनलाइन पढाउनका लागि सन् २०१२ मा सिलिकन भ्यालीमा दुई स्टार्टअप ‘कोर्सेरा’ र ‘उडासीटी’को शुरुवात भएका थिए । सोही बर्ष म्यासाच्युसेट्स इञ्चिच्युट अफ टेक्नोलोजी (एमआइटी) र हार्वड विश्वविद्यालयले समेत अन्य केही विश्वविद्यालयसँगको सहयोगमा अनलाइन प्लेटफर्म ‘इडिएक्स’ शुरु गरे । अहिले सबैभन्दा ठूलो सञ्जाल भएको कोर्सेरासँग मात्र विश्वभरका १०८ भन्दा बढि कलेज तथा विश्वविद्यालयका ७०२ वटा कोर्स उपलब्ध छन् । उसका दर्ता भएका प्रयोगकर्ताको सङ्ख्या ७१ लाख भन्दा बढि छ । अन्य यस्ता सुविधा दिने साइटमा खान एकेडेमी, उडिमी, ओपन लर्लिङ, एकेडेमीक अर्थ, फ्युचरलर्न लगायत छन् ।

म्यासिभ ओपन अनलाइन कोर्स (एमओओसी) भनिने यस्ता कोर्सहरु अधिकांश नि:शुल्क पढ्न मिल्ने हुन्छन् । ती कोर्स केही हप्तादेखि महिनौंसम्म लम्बिने खालका हुन्छन् । तर कोर्समा भर्ना हुने तर अन्त्यसम्म नटिक्ने दर बढेपछि कोर्स डिजाइन गर्दा नै ससाना भाग लगाएर गरिन्छ । र, विविधता हुने विद्यार्थीको समूहलाई बुझाउनु पर्ने हुंदा सक्दो बढि सलरिकरण गरिएका हुन्छन् ।

कोर्सका लागि केही प्राध्यापक र शिक्षण सहायक तोकिएका हुन्छन् । उनीहरुले ती प्रत्येक हप्ताका लागि क्रमैसँग रिसर्च पेपर, थेसिसजस्ता अध्ययन सामाग्रीदेखि १० मिनेट हाराहारीका भिडियो लेक्चर पठाउँछन् । जसलाई विद्यार्थीले दिनभरमा आफूलाई अनुकुल हुने कुनै समयमा डाउनलोड गरेर पढ्न सक्छन् । भिडियो लेकचरको बेला समेत छेवैमा ह्वाइटबोर्डमा जसरी मुख्य कुराहरु आउंछन् । “कोर्सको प्रकृति नै यसरी तयार पारिएको हुन्छ कि आफ्नो दैनिक काम वा व्यावसायमा जान्न खोजिएको बिषय होस वा आफूले कलेजमा पढिरहेको बिषयमा थप प्रस्टिकरण चाहिएको बेला यस्ता अनलाइन कोर्सलाई केही हप्ता पछ्याउन सकिन्छ,” कोर्सेरा मार्फत नेदरल्याण्ड्सको लिडेन युनिभर्सिटीमा चेन्जिङ ग्लोबल अर्डर पढिरहेका सुप्रलराज जोशी सुनाउँछन्, “जसले मलाई कलेजमा एक कदम अगाडि पुगेर बिषयबस्तु बुझ्न सघाउँछ किनकि मलाई पढाउने अरु केही प्राध्यापक पनि भेटिएका छन् जो चानेचुने होइनन् ।” उनले पढिरहेको कोर्समा अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तदेखि चीन र रसियाको विश्व मामिलामा बढ्दो प्रभावसम्म समेट्छ । यस्तो कोर्स पढ्ने अधिकांशले कुनै न कुनै डिग्री लिइसकेको तथ्य देखिनुले पनि अनलाइनमा पढ्न मानिसहरु के कारण जुटिरहेका छन् भन्ने छनक दिन्छ ।  

केही अघिसम्म पश्चिमा जगतका चर्चित एमआइटी, हावर्ड, स्ट्यान्डफोर्ड, टोकियो, यल, जस्ता दर्जनौं विश्वविद्यालयले आफूलाई अनलाइन लर्लिङमा लगेता पनि अहिले त्यसमा भारतको इन्डियन इन्स्चिच्युट अफ टेक्नोलोजी (आइआइटी) मुम्बई समेत प्रवेश गरिसकेको छ । आइआइटी एसियाबाट त्यसरी अनलाइनमा जाने सातौं उच्च शैक्षिक संस्था हो । 

“शताब्दी लामो इतिहास भएका विश्वविद्यालयका संरचनालाई यस्ता कोर्सले झक्झक्याउन सफल भएसँगै अहिले यस्तो सञ्जालमा प्रवेश गर्ने विश्वविद्यालयको लहर एकपछि अर्को गर्दै अघि बढिरहेका छ,” स्ट्यान्डफोर्ड युनिभर्सिटीको समाजशास्त्रको परिचय पढेका दीपेन्द्र केसी भन्छन्, “विश्वविद्यालयहरु भmन् फराकिलो र व्यापक दायरामा आफ्ना अध्ययनका निश्कर्ष लैजान मात्र पाएका छैनन्, उत्तिकै नयाँ कुराहरु प्नि सिकिरहेका छन् ।” प्रतिस्पर्धी बन्दै गइरहेको अन्तर्राष्ट्रिय शिक्षाको यो परिवेशमा एउटै बिषय एक लाख बढि विद्यार्थीले एकैपटक पढ्न सक्छन् भन्ने कुरा केही अघिसम्म कल्पना बाहिरको बिषय थियो ।

अहिले चाहे मानविकी होस् वा चिकित्सा विज्ञान्, इञ्जिनियरिङ होस वा बिजनेस, थुप्रै रोचक कोर्सहरु ती साइटमा छन् । जसको संक्षिप्त परिचय (धेरैजसो प्राध्यापकको भिडियो सहित), पढाई शुरु र अन्त्य हुने समय, कोर्सको साप्ताहिक बाँडफाँडजस्ता कुराहरु राखिन्छन् । कोर्सहरु रमाइलादेखि निकै जटिल मानिएका बिषयसम्म हुन्छन् । जस्तो, युनिभर्सिटी अफ लन्डन इन्टरनेसनल प्रोगामको एउटा ६ साताको कोर्स यस्तो छ, ‘द क्यामेरा नेभर लाइज’ । जसमा बिसौं शताब्दीका तस्विरलाई राखेर इतिहास कसरी तस्विरले जोगाएको छ वा तस्विरकै कारण कसरी इतिहास बांगिएको छ भन्ने सिकाइन्छ । त्यस्तै बालबालिका तथा युवाको क्लिनिकल साइकोलोजी, लघुवित्तको शक्ति, खेलकुद र समाज, गीतलेखनदेखि लिएर गेम थेउरीसम्मका फराकिलो दायराका सयौं कोर्स छन् ।

युनिभर्सिटी अफ वासिङटनबाट पब्लिक स्पिकिङको ७ हप्ते कोर्स सकेकी उर्सला सिंह भन्छिन्, “सबैभन्दा सुन्दर पाटो त के हो भने त्यस्ता कोर्स यहाँका विश्वविद्यालय वा रिसर्च इन्स्चिच्युटमा पैसा नै तिर्छु भन्दा पनि पाइंदैन ।” त्यतिखेर पाएका भिडियो ट्युटोरियलबाट उनले प्रभावकारी पब्लिक स्पिकिङ के हो र कसरी गर्ने मात्र बुझिनन्, असाइनमेन्ट स्वरुप आफ्ना दुई भिडियो समेत बनाएर पठाइन् । त्यसबेला भर्चुअल गु्रपमा भएका छलफल र टिचिङ एसिस्टेन्टको सहायताले उनले आफ्ना कमजोरी समेत थाहा पाएकी थिइन् । भन्छिन्, “मेरो बडि ल्याङवेजमा ठूलो समस्या रहेछ, हात बढि हल्लाउने, यताउता हेर्नेजस्ता ।”

भिडियो लेकचरहरु प्राध्यापकले दिने भएता पनि प्राध्यापकसँग सिधै सम्पर्कमा आउन भने सहज हुँदैन । बरु हरेक कोर्सका लागि केही शिक्षण सहायक तोकिएका हुन्छन् जसले समस्या आउँदा सघाउँछन् । यद्यपि कुनै बेला प्राध्यापकले केही विद्यार्थी छानेर गुगल ह्याङआउट पनि गर्छन् । “तर त्यसभन्दा अगाडि नै पनि डिस्कसन फोरममा छलफल गरेर आफ्ना समस्यालाई सुल्झ्याउन सकिन्छ, जुन झन् रमाइलो र अन्तरक्रियात्मक हुन्छ,” द नेटवर्क युनिभर्सिटीबाट ‘ग्लोबल एजुकेसन: द ह्युमन राइट्स डाइमेन्सन’ पढेका दिपेश दुलाल भन्छन्, “आफूलाई कुन हदसम्म इन्गेज गराउने भन्ने विद्यार्थी स्वयंको बसको कुरा हो ।”

हाल आएर कतिपयले यस्ता कोर्सलाई क्रेडिट दिनुपर्ने बहस चल्न थालेको छ । तर एमआइटी र हार्वडले आफ्नो समिक्षा प्रतिवेदनमा भने त्यो तहसम्म पुग्नका लागि थप लगानी र सोच आवश्यक रहेको निश्कर्ष निकालेको थियो ।

अहिले कोर्स भर्ना भएर पूरा गर्नेको औसत दर १० प्रतिसत भन्दा कम छ जसलाई हेरेर पढाइने ढाँचाकै आलोचना गर्नेहरु पनि छन् । “क्रेडिट नहुने भएकाले थुप्रैले कोर्स पूरा गर्नुभन्दा त्यसले दिने सन्दर्भ सामाग्री र भिडियो लेक्चरमा मात्र बढि केन्द्रित भएको पाइन्छन्,” स्ट्यान्डफोर्ड युनिभर्सिटीले आयोजना गरेको अनलाइन लर्निङको एक बहसमा समेत सहभागि भएका केसीको तर्क छ, “अर्कोतर्फ हेर्दा झण्डै एक लाख भर्ना हुने कक्षामा दस प्रतिसतले नै पूरा गरे भने पनि त्यो युनिभर्सिटीले १० बर्षमा लिने भर्ना भन्दा पनि दोब्बर नै हुन आउँछ ।” सोही बहसमा कोर्सेराकी सहसंस्थापक डफ्नी कोलरले यसरी अनलाइनका लागि कोर्स तयार पारेर विश्वविद्यालयले सेवा मात्र नगरीकन सिक्ने–सिकाउने व्यावहारबारे नयाँ धारणा विकास गर्न सकेको बताएकी थिइन् । विश्वविद्यालयले गरिरहेका अबौं लगानीका बावजुत पनि थोरै विद्यार्थी मात्र सिधै कक्षा कोठामा राखेर पढाउन सकिरहेका विश्वविद्यालयलाई यस्तो कोर्सले आफ्नो निश्कर्षलाई धेरैजनासम्म पुऱ्याउन झन् सहयोगी बनेका छन् ।

नेपालको सुस्त इन्टरनेटको गति र लोडसेडिङको कारण यहाँ अझै अनलाइन लर्निङ रामोसँग फस्टाउन सकिराखेको छैन । अर्कोतर्फ स्वयं प्रतिबद्ध भएर समय व्यावस्थापन गर्नुपर्ने चुनौति विश्वभरको हो । दीपेन्द्रको तर्क छ, “तर पनि हामी कृतज्ञ र लगनशील यसकारण हुनुपर्छ कि नि:शुल्क पढ्न पाइरहेका यी कोर्ष केही अघिसम्म आम व्यक्तिका पहुँचबाट निकै टाढा थिए ।”

First Appeared in Nepal Magazine.

No comments:

Post a Comment