Thursday, July 3, 2014

के पूर्विय, के पश्चिमा ? -- सम्राट उपाध्याय

अंग्रेजीमा लेख्ने नेपाली लेखक सम्राट उपाध्यायको छैटौँ कृति द सिटी सन उपन्यास यही वर्ष प्रकाशित भएको छ । अमेरिकाको इन्डियाना युनिभर्सिटीका प्राध्यापक उपाध्यायको सन् २००३ को उपन्यास द गुरू अफ लभलाई न्युयोर्क टाइम्सले वर्षको सम्झनलायक  पुस्तकको सूचीमा पारेको थियो । नयाँ पुस्तकका सन्दर्भमा उनीसँगको कुराकानी:

द सिटी सनको कथावस्तु के हो ? नेपाली बजारमा पुस्तक कहिले आउँछ ?
आफ्नी सौतेनी आमासँग अस्वाभाविक सम्बन्ध बनाउन पुगेको युवाको कथा छ, यसमा । वाल स्टि्रट जर्नलले यसलाई 'बाल दुराचार र यौनिक अपनत्वबारेको तनावरहित उपन्यास' भनेको छ । पुस्तक केही महिनाभित्रै नेपाली बजारमा आइपुग्छ  ।

पश्चिमा पाठकलाई नेपाली परिवेशका कथा बुझाउन कत्तिको सहज छ ?
सहज किन पनि छ भने मैले पश्चिमा पाठकका लागि मात्र कथा भनिरहेको छैन । कथा सुन्न खोज्ने पूर्वीय, पश्चिमा वा त्यसबीचमा पर्ने जो-कोहीका लागि सोचेर कथा लेखिरहेको हुन्छु । बरु समस्या प्राथमिक भाषा अंग्रेजी नभएको परिवेश र मानिसका  कथालाई कसरी अंग्रेजीमा लेख्ने भन्ने हो । यद्यपि, कतिपय कुरा अनुवादका बेला चुनौती बन्छन् । तर, अंग्रेजीमा लेख्दाको रमाइलो आफ्नो स्थानमा छ ।

नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको सन्दर्भलाई कसरी बुझ्नुभएको छ ?
नेपाली साहित्यलाई विश्वस्तरमा कसैले चिन्न सकेन भनेर पछुताउनुको अर्थ छैन । यसरी तुलना गर्नेहरूले नै पर्याप्त मात्रामा विश्व साहित्यको अध्ययन गरेका छैनन् । अंग्रेजीमा अनुवाद भइरहेका नेपाली साहित्यको अनुवादको स्तरसमेत कमजोर  भएका कारण त्यस्तो पहल झनै निरर्थक बनिरहेका छन् । अध्ययनका उच्च तहमै पनि अंग्रेजीको स्तर नेपालमा निकै कमजोर छ ।

यहाँको पहिलो छोटा कथाको संग्रह अरेस्टिङ गड इन काठमाण्डूमा पूर्वीयवादलाई पश्चिमा जगत्को आँखाबाट प्रचार गरेको आलोचनालाई कसरी लिनुहुन्छ ?
म स्पष्टीकरण दिन किन पनि आवश्यक ठान्दिनँ भने ती आलोचनालाई त्यति धेरै सत्य मान्दिनँ । आलोचकहरूले त्यसलाई सतही रूपमा बुझेका छन् । ती साहित्य र सत्य वान टु वान सम्बन्धमा आधारित हुन् । मैले नबुझेको कुरा 'के पूर्वीय, के पश्चिमा'  भन्ने हो । कान्तिपुर टीभीले अंग्रेजी समाचार बजाउनुअघि नेपाली मन्दिर र लोकनृत्य देखाउँछ, पोखराका ट्याक्सी ड्राइभरहरू एकअर्कामा 'गुड मर्निङ' साट्छन्, त्यसलाई पूर्वीय भन्ने कि पश्चिमा ?

त्यसो भए यहाँको लेखनमा नेपाल कसरी समेटिन्छ त ?
मेरो काममा नेपाल तीखो रूपमा प्रस्तुत हुन्छ । जुन प्रायः अवस्था देखाउँदै, प्रश्न तेस्र्याउँदै, जिस्कँदै, परिवर्तनका तस्बिर पस्कँदै हुन्छ, जुन हामीले दुःख नगरी पाएका हुन्छौँ । हाम्रो यौन जीवनको कुरा पनि त्यस्तै हो । पहिलो  पुस्तक ल्याउँदा मलाई धेरैले पश्चिमा जगत्मा बिक्री गर्न 'पोर्नोग्राफी' लेखेको पनि भने । मलाई यस्ता आलोचनाको जवाफ दिएर समय खर्चिनु छैन ।

तपाईंका धेरै कथाले समाजका असहज यौन परिदृश्य देखाउन खोजेका छन् । केही विशेष पक्ष स्थापित गर्न खोज्नुभएको हो वा ती आख्यान मात्र हुन् ?
त्यस्तो केही होइन र ती सम्बन्ध असहज पनि होइनन् । हाम्रो समाजमा अझै यौन जीवन र तृष्णाका पक्ष तिरस्कृत छ । यौनका मामिलामा पुरुषहरू सहज हुनु र महिला दबिनु त्यसकै एउटा नतिजा हो । बाल दुराचार पनि हाम्रो समाजमा दबिएको  कुरा हो । यहाँ त्यसबारे बोल्नु नै राम्रो मानिँदैन । र, लेखक हुनुको सुन्दर पक्ष नै ती कुरामा स्वतन्त्र भएर लेख्न पाउनु हो ।

First Appeared in Nepal Magazine.

No comments:

Post a Comment