Sunday, October 12, 2014

[यात्रा] रेन्जो पासको थकान मेट्ने गोक्यो ताल

सगरमाथा पदयात्रामा हाम्रो रुटको केन्द्रमा थियो, गोक्यो ताल । लुक्लाबाट नाम्चेबजार, थामे उपत्यका, रेन्जो पास हुँदै गोक्यो ताल पुगेर डोले हुँदै पुन: नाम्चेबजार पुगेर लुक्ला झर्ने रुट । मेल अनलाइन ट्राभल र वल्र्ड एक्सपिडिसनले यसै वर्ष जीवनकालमा एकपटक पुग्नैपर्ने एक नम्बरको पदयात्रा मार्ग घोषणा गरेको छ । नेसनल जियोग्राफिकले छानेको विश्वका ५० अद्भूत ठाउँमध्ये एक । ट्राभल एड्भाइजरीहरूमा १४ देखि १७ दिनसम्म लाग्ने भनिएको यो यात्राका लागि नाम्चेबाट गोक्योको चक्कर लगाई पुन: नाम्चे फर्कन हामीसँग जम्मा चार दिन थियो । तर, गुगल गर्दा भेटिएका गोक्यो तालका तस्बिरका कारण थोरै समय नै सही, हामी रोकिएनौँ र आफूलाई तयार पार्‍यौँ एउटा दुस्साहसी यात्राका लागि ।

हिमालमा यात्रा गर्दा हरेकजसोले एउटै साझा सन्त्रास झेल्छन्, लेक लाग्ने । विश्वकै खतरनाक मानिएको तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा जहाज अवतरण गर्नेबित्तिकै मेरो टाउको झमझमाउन थाल्यो । खासमा १३ सय मिटरको उचाइबाट एक्कासी २ हजार ८ सय ६० मिटरमा पुग्दा त्यसो भएको रहेछ । पटक–पटक लसुनको सुप र तातो चियाको चुस्की बढाउँदै एक रात लुक्लामा काटेपछि भोलिपल्ट बिहान उठ्दा बल्ल तन–मन उकालो लाग्नका लागि तयार भयो ।

पहाडमा त्यति धेरै ओहोरदोहोर नगर्ने मानिसका लागि लुक्लाबाट नाम्चे पुग्ने बाटो १० देखि १२ घन्टाको हो । विदेशीहरू दुई दिन लगाएर त्यहाँ पुग्छन् । हिमालका केही चुचुरा लुक्लाबाटै देखिन थाल्छन् । त्यसमाथि बाटोभरि फुलिरहेका फूल, कलकलाउँदा झरना हेर्दै दूधकोसी नदी किनारै किनार र त्यसमाथि रहेका थुप्रै झोलुंगे पुलबाट वारि र पारि गर्दै पुगिन्छ ।

काटमार नहुने खुम्बु क्षेत्रभरको यात्रा गर्दा कुनै ध्यानातीत यात्राको अनुभव हुन्छ । पाइलैपिच्छे भेटिने ठूला–साना गुम्बा, माने, ध्वजा र खादाले कुनै पुण्यभूमि पुगेको अनुभव गराउँछ । मन्जोबाट युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रिय निकुञ्ज सुरु हुन्छ । नाम्चे पुगेपछि भने चारैतिर हिमाल टल्किन थाल्छन् । कचौराजस्तो सहरमा रंगीचंगी र स्थानीय बौद्ध संस्कृति झल्किने घरहरूले पोस्टरहरूमा अक्सर देखिने युरोपेली सहरको अनुभव गराउँछ । सियोदेखि सिमेन्टसम्म जहाजबाट लुक्लामा उतारेर भारी बोकाएरै नाम्चेसम्म आउँछन् । त्यसैले सामानको मूल्य चार गुणासम्म महँगिन्छ । त्यहाँ आधुनिक कफी सपदेखि डिस्को र क्लबसम्म छन् ।


त्यसमाथिको उचाइका लागि आफूलाई अनुकूल बनाउन दुई रात नाम्चेमा काट्यौँ हामीले । त्यसपछि लाग्यौँ, थामे उपत्यकातर्फ । थामे अर्थात् कीर्तिमानधारी तेन्जिङ नोर्गे शेर्पा, आङरिता शेर्पा र आप्पा शेर्पाको गाउँ । बाटोभरि लागिरह्यो, यस्ता हिमवीरहरू जन्मिएको ठाउँ पक्कै केही विशेष होला । जब भोटेकोसी काटेर थामे टेकियो, आँखैअघि विचित्रले हिमाल टल्किएको दुर्लभ दृश्य देखेँ मैले । साँझ ६ बजेतिर थामेबाट माथि मार्लुङतर्फ उक्लँदै गर्दा हामी एक्कासि हुस्सुभित्र पस्यौँ । चौरीका हूल र खर्कहरूका बीचबाट हामी अगाडि लाग्यौँ । सुनसान बाटोमा छेउमा भोटेकोसी सुसाइरहेको मात्र सुनिन्थ्यो । रातीसम्म हिमाल टल्कनु त सामान्य भइसकेको थियो । मार्लुङ पुगेर भोलिपल्ट बिहानै रेन्जो पास उक्लने भन्दै जून र टर्चको उज्यालोको भरमै पाइला लम्काइरह्यौँ । चोरी–डकैँतीको त्रास नभएको रुट भए पनि धेरै अँध्यारोमा हिँड्न ठीक ठानेनौं हामीले ।

मार्लुङ पुग्नुअगावै तरंगामा एउटा घर भेट्यौँ । मधुरो बत्ती बलिरहेको त्यही घरमा जसोतसो भए पनि बास बस्ने हाम्रो मनसाय थियो । एक्लो बस्तीमा त्यो घरमा एउटा काखे बच्चासित एउटी महिला मात्र थिइन् । र, त्यो घर लज थियो । खुम्बु क्षेत्रको विशेषता के भने हरेकजसो घर बाहिरबाट हेर्दा सामान्य देखिए पनि भित्रपट्टि व्यवस्थित लज हुन्छन् । र, शरद् र वसन्त ऋतुमा पुरुष आरोहण र पदयात्रा व्यवसायमा जुट्छन्, महिला लज चलाउँछन् ।

भोलिपल्ट साढे दुई बजे नै उठ्यौँ । झन्डै ४ हजार २ सय मिटर उचाइमा रहेको उक्त ठाउँमा बिहानको अन्धकारमा यात्रा गर्दा आकाश पूरै तारामय थियो । ती तारा निकै नजिक लाग्थे । ‘सुटिङ स्टार’हरू तारन्तार झरिरहेका थिए । सुनेको थिएँ, झर्दै गरेको तारासँग पोखेका इच्छा पूरा हुन्छन् । त्यस रात मैले ताराको आनन्द मात्र लिइनँ, थुप्रै इच्छा पूरा गरिदिन आग्रह पनि गरेँ । त्यति धेरै सुन्दर दृश्य हेरिरहँदा हलिउड ब्लकबस्टर लाइफ अफ पाईमा समुद्रबाट रातमा भएको तारा अवलोकनको दृश्यझैँ लागिरहेको थियो ।

भोलिपल्ट सूर्योदय हुँदा रेन्जो पासको तल्लो भाग थ्री पास पुग्यौँ । खाना खाएर उकालो लाग्न थालेपछि पाइलैपिच्छे स्याँ स्याँ गर्न थाल्यौँ । त्यस बेला हाम्रो उचाइ झन्डै ४४ सय मिटरभन्दा माथि थियो । लेकाली हावापानीमा एक घन्टाजति हिँडेपछि हामी थलिएर सुतेका के थियौँ, केही पाइला अघि हिँडे मात्रै देखिने गरी हिमालका प्यानारोमिक दृश्य देखिँदै थिए । छिनछिनमा चिसो हावा बोकेको हुस्सुले शरीर छुन्थ्यो । तर, त्यो उचाइमा एक पाइला मात्रै सार्नु पनि निकै साहसिक काम थियो । एकातर्फ उकालो चढ्न नसकेको पीडा अर्कोतर्फ टाउको दुखिरहँदा म रेन्जो पास चड्न सकूँला भन्नेमा ढुक्क थिइनँ । साथी अंकित अधिकारीलाई पनि त्यस्तै भइरहेको रहेछ । अझ उनको त हातखुट्टा झमझमाइरहेको रहेछ । मलाई बान्ता होला जस्तो भइरहेको थियो । हामी त्यहीँबाट फर्कने कि भन्ने सोचमा जुट्यौँ ।
Gokyo

यात्राकी अर्की सहकर्मी पत्रकार विना पुन भने त्यस बेलासम्म राम्रैसँग लम्किरहेकी थिइन् । उनलाई शेर्पा गाइडसँग जान आग्रह गरेर हामी तल झर्ने योजना बनायौँ । त्यसै बेला माथिबाट झरिरहेको एक शेर्पालाई पास काट्न कतिबेर लाग्ला भनेर सोध्दा ‘एक घन्टामा काटिन्छ त्यो नाथे डाँडा’ भनेपछि हामीमा एक्कासि शक्ति भरिएर आयो । तर, त्यो एक घन्टा झन्डै चार घन्टासम्म फेला परेन । त्यसै बेला हिउँ पर्‍यो र भिरालो गरी बनाइएका सिँढीको बाटो पुरियो । अवस्था त्यस्तो पनि आयो, हामी तीन जना मात्र नभएर शेर्पा गाइडले पनि एकैछिन त थलिएर लेक लाग्नबाट बच्ने औषधी खाए । थकान कस्तो भने एकैछिन थकाइ मार्न बस्दा निदाइहाल्ने र सपना देखिहाल्ने । त्यसरी थकाइसँगै निद्रा लाग्नु घातक मानिन्छ । कथम्कदाचित निदाइहालेमा मान्छे निदाएको निदायै हुने जोखिमसमेत हँुदो रहेछ । त्यो ठाडो उकालोबाट हिमालबाट झरेका पानीले बनेका दुईवटा सुन्दर हिमताल देखिएका थिए । हिमाल त त्यस बेलासम्म नाकैमा ठोकिएलान् जस्ता थिए ।

पास पुग्न झन्डै दुई सय मिटर बाँकी रहँदा म एक पाइला चाल्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ । यसै बेला हिमालबाट हिउँ पग्लेर सुसाउँदै पानी झर्न थाल्यो । त्यस्तोमा धेरै बेर बस्न ठीक नहुने ठानी हामी भएभरको बल लगाएर अन्तत: सकुशल रेन्जो उक्लियौँ । त्यो क्षण मेरा लागि हिमाल जितेजस्तो भयो । रेन्जोबाट हामीले सगरमाथा, लोत्से, मकालु, कञ्चनजंघा र चोयुको सुन्दर दृश्य देख्याँै । गोक्यो तालको ‘एरियल भ्यु’झैँ देखियो । त्यहाँ १० मिनेट केही तस्बिर खिचेर गोक्योतर्फ झर्‍यौँ । रेन्जोबाट देख्दा केही तल देखिएको ताल झर्न झन्डै तीन घन्टा लाग्यो ।

तालछेवैमा रहेको होटलमा पुग्दा रात परिसकेको थियो । १४ घन्टा लगातार हिँडेको ज्यान क्षणभरमै निदायो । भोलिपल्ट बिहान उठ्दा झ्यालबाटै गोक्योले हामीलाई स्वागत गर्‍यो । तालछेवैमा रहेको डाँडा गोक्यो री (५ हजार ३ सय ५७ मिटर) चढ्ने हिम्मत हामीमा थिएन, जहाँबाट तालको सबैभन्दा उत्कृष्ट दृश्य देखिन्थ्यो । यो ताल विश्वकै सबैभन्दा उचाइमा रहेको ‘फ्रेस वाटर’ पाइने ताल हो । यसलाई सन् २००७ मा रामसार क्षेत्रमा सूचीकृत गरिएको छ । तालको पृष्ठभूमिमा हिमालयको प्रमुख हिमनदी गोजुम्पा देखिन्छ ।

४ हजार ७ सयदेखि पाँच हजार मिटरको उचाइमा रहेका ६ वटा ताल एकअर्कामा जोडिएका छन्, जसलाई समग्रमा ‘गोक्यो ताल संयन्त्र’ भनिन्छ । हामी भने सबैभन्दा ठूलो थोनक (जसलाई गोक्यो पिता भनिन्छ) र त्यहाँबाट आमा र छोरी ताल हेर्दै झर्‍यौँ । बाटाभरि शेर्पा गाइडले तालसँग जोडिएका जनविश्वासका कथा सुनाउँदै हामीलाई दंग पारे । गोक्यो बास बसेको भोलिपल्ट हामी डोलेमा बस्यौँ भने थ्याङबोचे हुँदै नाम्चे झर्‍यौँ । नाम्चे पुग्दा रेन्जोको उकालोबाट बाँचेर फर्केकामा म जति दंग थिएँ, त्यत्तिकै पछुतो मरिने भयले खुलेर तस्बिर खिच्न छाडेकामा थियो । सहयात्री अंकित भन्दै थिए, “रेन्जो चढ्दाको अनुभव अनुपम थियो तर त्यो चढ्ने रिस्क लिन अरूलाई भने सुझाउँदिनँ ।”

First Appeared in Nepal Magazine.

No comments:

Post a Comment