Sunday, August 31, 2014

परोपकारी ‘बाल्टिन’

फेसबुक र ट्विटर टाइमलाईनमा अहिले थुप्रै नेपालीहरु खानेकुरा भरिएका बाल्टिन वा बाल्टिन बोकेका आफ्ना तस्विरसाथ उपस्थित हुन थालेका छन् । ती बाल्टिनमा हुन्छन् केही केजी चामल र दाल, केही चाउचाउ र बिस्कुटका प्याकेट, केही जीवन जलका पोका र सिटामोलका पत्ता । त्यसैसाथ ह्यासट्यागमा लेखिएको हुन्छ, ‘फिल द बकेट’ (#FillTheBucket)

एक हप्ता अघिसम्म कसैले नसुनेको यो शब्द अहिले विशेषगरी नेपाली सोसल मिडिया जगतमा धेरैमाझ परिचित बनिसकेको छ । संकलन भएका ती भरिएका बाल्टिनहरु काठमाडौंका विभिन्न संकलन केन्द्रमा जुटाएर पश्चिम नेपालका बाढि तथा पहिरो पीडितमाझ पुर्‍याइन्छ ।  
 
त्यसको केहीअघि मात्र ह्यासट्यास अभियान ‘आइस बकेट च्यालेन्ज’ (#IceBucketChallenge) विश्वव्यापी रुपमा चलेको थियो, स्नायु रोग अम्योट्रोपिक लेट्रल स्क्ल्ेरोसिस (एएलएस) बारे सचेतना जगाउन तथा थप अध्ययन तथा अनुसन्धानका लागि रकम जुटाउन भनेर । जसमा बरफयुक्त पानी शरीरमा खन्याउन कसैले च्यालेन्ज गर्छन् । च्यालेन्ज स्विकार्नेले त्यसो गरेको भिडियो युट्युबमा अपलोड गरेर सेयर गर्छन् र अर्कोलाई च्यालेन्ज गर्न पाउँछन् ।

त्यसरी च्यालेन्ज स्विकार्नेले दश अमेरिकी डलर सहयोग गर्छन् । च्यालेन्ज नस्विकारे दश गुणा बढि अर्थात् एक सय अमेरिकी डलर सहयोग गर्नुपर्ने नियम बनाइएको थियो । केही पनि नगरे सहयोगका लागि रुचिकर नभएको मानिनु सामाजिक प्रतिष्ठाकै बिषय बन्थ्यो ।

आइस बकेट च्यालेन्जको चर्चा नेपालमा समेत राम्रै भएता पनि यहाँबाट क्रेडिट कार्ड प्रयोग गरी त्यसरी सहयोग सम्भव थिएन । त्यसले गर्दा पनि स्थानिकरण गरेर त्यस्तो अभियान गर्न सम्भव भयो । आइस बकेटकै लहर चलिराखेको बेला काठमाडौंका केही युवाले बाल्टिनलाई एउटा बिम्बको रुपमा प्रयोग गरे, पानी खन्याएपछि त्यसमा किन केही नभर्ने भनेर । भारतमा पनि आइस बकेट च्यालेन्जबाट प्रभावित ‘राइस बकेट च्यालेन्ज’(#RiceBucketChallange) शुरु भएको छ । जसले विपत्तिबाट पीडितदेखि शहरका भिखारीलाई बाल्टिनभरी चामल भरेर दिन्छन् । 

“यस्तो अभियानमा मानिसहरुको सद्भावमा विश्वास गर्नुको विकल्प हुँदैन । र,कसैलाई बाध्यकारी नभएकै कारण यस्तो अभियानले ठूलो स्वरुप लिन सकेको हो ।”
                                 - भुपेन्द्र खनाल, सोसल मिडिया विश्लेषक

‘फिल द बकेट’लाई त्यही भएर कसैले च्यालेन्जकै रुपमा प्रस्तुत गरिरहेका छन् भने त्यत्तिकै सहयोग भाव राखेर सहयोग गर्नेहरु पनि छन् । पूरा बाल्टी भर्न एक हजारदेखि १ हजार पाँच सय रुपियाँ सम्म लाग्छ । नेपाल बाहिर बसेर सहयोग गर्न चहानेका लागि वेवसाइट नै तयार भयो । जसमा एक बाल्टिनको लागि १० अमेरिकी डलर सघाउन भनिएको छ । त्यसबापत बाल्टिनमा के कहुने कुरा भनेर लेखिएको छ ।  कतिपय आलोचकले त्यस्तो अभियान पारदर्शी नहुने र काम भन्दा बढि व्यर्थको हल्ला हुने ठान्छन् । तर सोसल मिडिया विश्लेषक भुपेन्द्र खनाल भने यस्तो अभियानमा मानिसहरुको सद्भावमा विश्वास गर्नुको विकल्प नहुने बताउँछन् । उनको भनाई छ, “कसैलाई बाध्यकारी नभएकै कारण यसले ठूलो स्वरुप लिन सकेको हो ।”

यस्तो अभियानले सरकारी प्रयासलाई सघाउँछ वा राष्ट्रिय वा स्थानिय समस्याको समाधान गर्ने जिम्मेवारी हरेक व्यक्तिको हो भन्ने बोध समेत गराउँछ । सकारात्मक उद्देश्यका लागि शुरु भएर यसरी फैलिएको आइस बकेट च्यालेन्ज त्यस्तोखाले सबैभन्दा ठूलो परोपकारी अभियान भएको बताइन्छ । अहिलेसम्म युट्युबमा यसको २ लाख ८० हजार भिडियो बनेका छन् भने ट्वीटर फेसबुकमा त दशौं लाख मेन्सनहरु ।

जसका लागि हलिउडदेखि बलिउडसम्म, ह्वाइटहाउसदेखि सिलिकन भ्यालीका उद्यमीसम्म जुटेका थिए । ब्रिट्नी स्पेयर्सदेखि लियोनार्दो दि क्याप्रियोले च्यालेन्ज स्विकार्दै ट्वीट गरे । लाउरा बुसले आफ्ना पनि जर्ज डब्लु बुसलाई एक बाल्टिन पानी खन्याइन् । माइक्रोसफ्टका संस्थापक विल गेट्स हुन् वा फेसबुक प्रमुख कार्यकारी मार्क जुकरवर्गले आफ्नो टाउकोमा पानी खन्याए । जस्टिन बिबरले आफूले शरीरमा पानी खन्याएर बाराक ओबामालाई च्यालेन्ज गरे । ओबामाले उनको च्यालेन्ज त स्विकार गरेनन् तर सार्वजनिक नगरिएको रकम त्यसबापत सहयोग गरे । 

उता भारतिय अभिनेता अक्षय कुमारले रितेस देशमुखको च्यालेन्ज मात्र स्विकारेनन् ११ जनाबाट ८ डिग्री सेल्सियसको पानी खन्याए । जतिखेर उनले राम्रो पानी बचाउनका लागि भनेर आफूले समुद्री पानी प्रयोग गरेको भनेका थिए ।

यस्ता काममा भिडियो बनाएर राख्दा अरुलाई उत्प्रेरणा दिन सघाउने तत्वको काम गर्ने सोसल मिडिया विश्लेषकहरु बताउँछन् । ‘फिल द बकेट’मा भने त्यसलाई तस्विरले नै विस्तापित गर्न सक्छ जुन हाम्रो लागि अझ सहज छ । अहिले काठमाडौंमा विभिन्न संघ–संस्थाबाट संगठित रुपमा यति बाल्टिन बोकेर आउँछौं भन्न थालेका संकलन केन्द्रको अनुभव छ । यसलाई व्यवस्थित रुपमा अभियानको रुप दिलाउन काठमाडौंका केही युवा सकृयताका साथ लागेता पनि उनीहरु प्रकाशमा आउन चहान्नन् । एक अभियानकर्ताको भनाई छ, “किनकि यस्तोमा सबैले आफ्नै अभियान जसरी अपनत्व महसुस गर्न सक्नुपर्छ ।”

First Appeared in Nepal Magazine.

No comments:

Post a Comment