Saturday, December 6, 2014

[QnA] अन्तर्राष्ट्रिय पुस्तकको बजार निकै क्रुर छ -- नारायण वाग्ले

पत्रकार नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’को फ्रेन्च संस्करण हालै सार्वजनिक भएको छ । २०६१ सालमा पहिलोपटक प्रकाशित उपन्यास अंग्रेजी र कोरियन संकरण यसअघि नै बजारमा आइसकेका छन् । यही परिवेशमा लेखक वाग्लेसँग गरिएको कुराकानी ।

ट्रेन्डसेटर पुस्तकको लेखक हुनुको मज्जा के छ ?
ट्रेन्डसेटर अरुको टिप्पणी हो । मेरा लागि त यो उपन्यास मात्र हो । लेखक हुनुको मज्जा उसको निरन्तरतामा हुन्छ किनकि उसले कथा भन्ने पदवी पाएको हुन्छ । एउटा लेखेर थन्किनु भनेको चट्याङ परेजस्तो हो ।

पुस्तक कसरी लामो समयसम्म विकिरहन्छ ?
कथाभित्रको तत्व र त्यसले बोक्ने समयको शक्तिले लामो कालखण्डसम्म तान्छ । पल्पसा क्याफेको कथामा समयलाई स्पन्दन गर्ने शक्ति छ ।

अन्तर्राष्ट्रिय बजारमा जानुको चुनौति के छ ?
हाम्रा पुस्तक अनुवाद भएर बाहिर जाने बलियो परम्परा नहुँदा विदेशी भाषाका पाठकसँग हाम्रो पहुँच छैन । नाम नसुनिएका लेखकको किताब सितिमिति विदेशी बजारमा जाँदैनन् ।

अन्तर्राष्ट्रिय बजारमा कस्ता पुस्तक विक्छन् ?
अन्तर्राष्ट्रिय पुस्तकको बजार निकै क्रुर छ । जसले अन्तर्राष्ट्रिय पुरस्कार, रोयल्टी वा अन्तर्राष्ट्रिय पहिचान पाएका आधारलाई हेरेर पुस्तकको बजार तय गर्छ । नेपाली पुस्तकको त्यो परिवेश नहुँदा विक्री र प्रतिक्रिया दुवै कम आउँछन् । 

पहिलो कृतिले धेरै चिनाउँछ कि राम्रो कृतिले ?
ती सबै पाठक र बजारको अवधारणामा निर्भर हुन्छ जुन लेखकको बसमा हुँदैन । तर पहिलोबाट धेरै चिनिएका छन् । जस्तो, सलमान रुस्दीको मिडनाइट चिल्ड्रेन होस वा पारिजातको शिरिशको फूल जत्तिको उनीहरुले कहिल्यै लेखेनन् भनिन्छ ।

पत्रकार भएर उपन्यासकार हुनुको फाइदा ?
म पत्रकार नभएको भए पल्पसा क्याफे नै जन्मंदैनथ्यो । लेखिए पनि यसरी लेखिन्थेन । तत्कालिन द्वन्द्वको बस्तुगत अवस्था र सुचना प्रत्यक्ष देख्न पाएं ।

पुस्तकबारे सम्झिरहने प्रतिक्रिया ?
हालै नगरकोटको एउटा एटिएम बाहिर दुई जना मलाई भेट्न पर्खिरहेका थिए । एउटा चित्रकार थिए जसले पल्पसाको नाममा आर्ट ग्यालरी खोलेका रहेछन् । अर्को अक्सर पढ्न नरुचाउने मान्छे हुँदाहुँदै पनि फ्लाइटफोमिया मेट्न साथीबाट पाएर पढेछन् । उनलाई किन राम्रो लागेछ भने अरु किताब नै पढेका रहेनछन् ।
एउटा हिट लेखकलाई दोस्रो किताबको लागि कत्तिको दबाब हुन्छ ?
दबाब हुँदो रहेछ । सकृय पत्रकार भएकाले मयुर टाइम्सलाई पूर्णकालिन भएर लेख्ने अवस्था थिएन । तर बजारको दबाबले लेखियो । मानिसहरुले कति पल्पसाको ब्याज मात्र खाएर बसको भन्थे ।

पहिलो पुस्तकको माया बढि कि सबैको लागि समान हो ?
म पहिलोलाई बढि माया गर्छु । पहिलो लामो समयको संघर्षपछि आएको हो । पाठकहरु पनि पहिलोले धेरै बनायो । पहिलो जन्मदाको अनुभूति विशेष हुन्छ त्यसपछिका निरन्तरता हुन् ।

पुस्तक लेख्दाको सबैभन्दा जटिल क्षण के रहेछ ?
पात्रसँग लेखकको संघर्ष किताब आउनुभन्दा आगाडिको सबैभन्दा महत्वपूर्ण चरण हो । किनकि पात्रहरु एक तरिकाले बढ्न चहान्छन् म भने उनीहरुलाई आफ्नो नियन्त्रणमा राख्न चहान्छु । 

The Edited version has appeared in Nepal Magazine.

No comments:

Post a Comment