Sunday, December 14, 2014

हिमाल हेर्ने पश्चिमा आँखा

जर्मन नागरिक गेर्डा पाउलर २५ वर्षपछि हठात् नेपाल आइन्। दोस्रोपटक काठमाडौँ आउने योजना भए पनि यात्रा अपर्झट भइदियो। सन् २०१२ मा ५४  लागेकी उनले पारपाचुकेको औपचारकितासँगै अदालतबाट निस्केर सीधै ट्राभल अफिस पुगी काठमाडौँको टिकट काटेकी थिइन्।

काठमाडौँ उत्रेपछि बसले उनलाई ताप्लेजुङ पुर्‍यायो। कञ्चनजंघा बेसक्याम्पसम्म हिँडेपछि सुरु भयो, जीवनकै एउटा महत्त्वपूर्ण यात्रा । पारपाचुकेको नमीठो क्षणबाट गुज्रेको केही दिनमै उनी यसरी हिमालको अलौकिक सौन्दर्यभित्र छिरेकी थिइन्। पाउलरको यात्रा संस्मरण ग्रेट हिमालय ट्रेल पनि त्यसरी  नै जन्मिएको हो।

पुस्तकको जन्मकथा व्यक्तिगत जगमा भए पनि हुर्काइ बेग्लै छ। १ सय २३ दिन लगाएर पूर्व-पश्चिम १ हजार ७ सय ५० किलोमिटरको दूरी नापेकी  पाउलरको पुस्तकमा दिनैपिच्छेको छुट्टाछुट्टै वर्णन छ। सेताम्य हिउँ, चिसो हावा, उकाली-ओराली, जुका, भिराला बाटा र उचाइसँगको संघर्ष त भइहाल्यो,  हरेक दिनको डायरीमा मानिसहरू नै केन्द्रमा छन्। चारपटक सगरमाथा र दक्षिणी मोहडाबाट अन्नपूर्णको पहिलो आरोहण गरेका सर क्रिस बोनिङटनले  भूमिकामै यसलाई 'यात्रा संस्मरणभन्दा धेरै माथि उठेको नेपालको कुनाकाप्चाको कथा बोल्ने पुस्तक' भनेका छन्।

म्युनिखबाहिरको सानो गाउँमा हुर्केकी भए पनि पाउलरका लागि हिमाल नौलो थिएन। हिमालका 'क्रेजी' उनका आमाबुबाले सानैमा उनलाई युरोपको पवर् तीय शृंखला आल्प्सतिर लैजान्थे। स्कुलसमेत सुरु नगर्दैको त्यो परिवेशमा फोका उठ्ने गरी लगाइएको हिउँ छल्ने गहु्रँगा जुत्ता, जीउमा बिझाउने ज्याकेट  र ह्वाङलांगे पाइन्ट लगाउनुपर्दा उनलाई विरक्त लाग्थ्यो। हो, त्यही अप्ठ्यारोको कमाल के भने स्कुले उमेरमै उनी हिमालतिर लहसिन्। कतिसम्म भने  केटी साथीहरूले लुगाफाटामा पैसा खर्चंदा उनी भने ट्रेकिङ ब्याग, स्लिपिङ ब्याग र यात्राका लागि पैसा जम्मा गर्न थालिसकेकी हुन्थिन्।

अक्सर शान्त भए पनि त हिउँ पग्लँदा गर्जिने हिमालको काखमा यात्रा भनेको साहस, रहस्य, अन्वेषण र रोमाञ्चसँग परिचित हुन पाउनु हो। त्यसमाथि  पाउलर त कहिलेकाहीँ नेपाली भरियाबाहेक धेरैजसो एक्लै हिँडेकी पदयात्री। यो यात्रामा उनले हिउँका तन्ना ओडेका ६ हजार मिटरमाथिका दुई र पाँच  हजारदेखि ६ हजार मिटर उचाइबीचका १६ वटा 'हाई पास' पार गरिन् ।
हिमाली जीवनका कष्टकर दिनचर्या, अन्धविश्वास, लैंगिक असमानता, स्वास्थ्य र सरसफाइ संयन्त्रका बारेमा पनि चर्चा छ पुस्तकमा। परचियमा 'हिमालय  भेट्रान' भनेर चिनाइएकी पाउलरमा कताकता पूर्वीयामाथि हेर्ने 'स्टेरियोटाइप' पश्चिमा सोच हावी देखिन्छ। हिमालमा समस्यै छैन भन्ने त होइन तर  हिमाली सभ्यताका केही आफ्नै नियम छन्, जसलाई आधुनिकताको कसीमा राखेर मात्र हेर्न मिल्दैन।

यति हुँदाहुँदै पनि कतिपय पक्षले पुस्तकलाई साहसिक वा प्राकृतिक वर्णनको दायराबाट बाहिर ल्याएको छ। लेखकको एउटा राम्रो पक्ष भनेको आफ्नो २५  वर्षअगाडिको यात्रासमेत सम्झना गरेकी छन्। त्यतिखेर एउटा गाउँमा चर्पी कता छ भनेर सोध्दा 'जता गए पनि हुन्छ' भन्ने उत्तर आएको रहेछ। दोस्रो पटक भने धेरैतिर तातोपानी सुविधासहितको 'अट्याच' रुममा बास बस्न पाइन्।

तुलना उनको लेखनको उल्लेख्य पक्ष हो। नाम्चे बजारलाई उनले सन् '८० को ठमेलसँग तुलना गरेकी छन्। त्यहाँ देखिएको 'संसारकै अग्लो स्थानमा  रहेको ब्युटिपार्लर'को बोर्डले आकषिर्त गरेर छिर्दा भित्र पुरुष ब्युटिसियन देखेको रमाइलो क्षण पनि छ पुस्तकमा। मनाङको सिनेमा घर र नेस्क्याफेको  टिनबाट बनाइएको मानेले 'आधुनिकता'को झल्को दिने उनको अनुभूति छ।

उनको यात्राको एउटा उद्देश्य अटिजम (बालबालिकाको बोली र व्यवहारमा सुस्तता)बारे सचेतना जगाउने पनि रहेछ। स्कुल र गैरसरकारी संस्थाका प्रतिनिधिसँगको भेट उनले अटिजमबारे छलफल गर्ने अवसरका रूपमा प्रयोग गरेकी छन्। उनी जहाँ पुग्छिन्, त्यहाँको वर्तमान मात्र नहेरी धेरथोर इतिहास  कोट्याउन खोज्छिन्। जस्तो : मुस्ताङको थ्याङबो खर्क पुग्दा उनी खम्पा विद्रोहको सम्झना गर्दै अचेल चीन आर्थिक महाशक्ति भएपछि पश्चिमा जगत्ले  पनि त्यहाँ भइरहेको मानव अधिकार हननप्रति आँखा चिम्लिएको कुरा जोड्छिन्। सन् २००६ मै ७० जनाजति नि:शस्त्र तिब्बती धार्मिक यात्राका क्रममा  नाङपा भन्ज्याङमार्फत तिब्बत छाड्न लाग्दा तिब्बती सुरक्षाबलले गोली हानेको र त्यो चोयु बेसक्याम्पमा बसेका पश्चिमा आरोहीले देखेको उनले उल्लेख  गरेकी छन्। तिब्बतै गएर त्यहाँका मुद्दालाई अझ राम्ररी चिन्न र नेपालको उत्तरी भागमा चिनियाँ प्रभावबारे थाहा पाउन चाहे पनि सम्भव नभएको  उनले उल्लेख गरेकी छन्।

हुन पनि, हिमालय क्षेत्रमा राज्यको उपस्थिति अति न्यून वा शून्यप्राय: छ। उनले देखाएको चिनियाँ प्रभावलाई आधार मान्दा हरेक पाठक भूगोलकै  हिसाबले आफ्नो देशभन्दा छिमेकीको प्रभावमा पर्ने पक्षलाई गम्भीर भएर सोच्न बाध्य हुन्छन्। त्यसो त पाउलरले डोल्पामा विदेशी प्रवेशका लागि पाँच सय अमेरिकी डलर दस्तुर लिने सरकारले स्थानीयका लागि पानी, बिजुली र स्वास्थ्यसेवा दिन चुकेको प्रति रोष पनि पोखेकी छन्।

सारमा पुस्तकको सबल वा दुर्बल पक्ष जे भने पनि यो हिमाल हेर्ने पश्चिमा आँखाको उपज भने नि:सन्देह हो ।


ग्रेट हिमालय ट्रेल
लेखक  : गेर्डा पाउलर
प्रकाशक : बाटन विक्स, बेलायत
पृष्ठ:  २१८
मूल्य :  १२.९९ (पाउन्ड स्टर्लिङ)

No comments:

Post a Comment