Sunday, March 22, 2015

यसरी फैलंदैछन् डिजिटल पदचापहरु


आरोहणको सिजन सुरु हुनै लाग्दा खुम्बु क्षेत्र पुन: चर्चामा छ । अहिलेको चर्चा पर्वतारोही र पर्वतारोहणमा चासो राख्नेहरू भन्दा बाहिर पनि फैलनुमा कारण बनेको छ, गुगल स्ट्रिट भ्यु । गुगल म्याप्स र गुगल अर्थमा उपलब्ध यो त्यस्तो सुविधा हो, जसले संसारका थुप्रै ठाउँका बाटाघाटाको प्यानारोमिक दृश्य देखिने गरी नि:शुल्क घुमाउँछ । त्यो पनि कम्प्युटरअगाडि बसीबसी । र, २८ फागुनबाट त्यो सुविधा खुम्बु क्षेत्रका लागि समेत उपलब्ध छ ।

बाटाघाटासँगै त्यहाँका महत्त्वपूर्ण होटल, गुम्बा, स्कुल र अस्पतालभित्रका परिवेश स्थानीय ध्वनिसँगै आबद्घ छ । गुगल अर्थ आउटरिचसँग नेपाली संस्था स्टोरी साइकल मिलेर गरिएको यस्तो काम अक्सर संसारका महत्त्वपूर्ण स्थान, दरबार, संग्रहालय वा भवनमा भएका छन् । किनभने, त्यसका लागि प्रशस्त समय, लगन र प्रविधि आवश्यक पर्छ । खुम्बु क्षेत्रमा म्यापको डेटा संकलन र ३ सय ६० डिग्रीमा तस्बिर संकलन गर्नका लागि १५ वटा क्यामेरा भएको ट्रेकर डिभाइस बोकेर यात्रा गरिएको थियो, जसले प्यानारोमिक फोटो र जियो लोकेसन लिन्थ्यो । अर्को फिस आइलेन्स भएको क्यामेराले स्कुल, गुम्बा, घर खिच्न सकिन्थ्यो । जसका लागि गुगलकै तीन प्राविधिक, कीर्तिमानी आरोही आप्पा शेर्पा र स्टोरी साइकल टोली गरी १३ जनाले झन्डै दुई साता त्यस भेगमा बिताएका थिए । त्यसले त्यस भेगको उच्च कोटीको डिजिटल पदचाप (फुटप्रिन्ट) छाडेर आएको छ, जसलाई अब थुप्रैले पछ्याउनेछन् ।

खुम्बु क्षेत्रमा भएको त्यस्तो काम डिजिटल पदचाप खडा गर्ने थुप्रै पक्षमध्ये एउटा हो । पदचाप भनेको इन्टरनेटमा आफ्नो र आफ्ना कुराको उपस्थिति कसरी बलियो बनाउने भन्ने हो । जसका लागि ब्लग लेख्नु, युट्युबमा भिडियो अपलोड गर्नु, गुगल म्याप्समा आफ्नो कार्यस्थल खोज्नु, विकिपिडिया सामग्री तयार गर्नेजस्ता अनेकन काम हुन सक्छन् ।
सूचनाको भण्डारण

एक वर्षअघिसम्म गुगल म्याप्समा नाम्चे बजार हेर्दा त्यहाँ हुँदै नभएको एउटा बसपार्क देखिन्थ्यो । होटलहरूसमेत तीनवटा मात्र देखिन्थे । जबकि, अहिले नाम्चेको वास्तविक अवस्था अर्कै छ । सिन्धुलीमा पुगेर नजिकैको होटल खोज्दा म्यापमा धुलिखेल देखाउँथ्यो । प्रविधिमा निर्भर हुनेहरू त धुलिखेल नै फर्कन सक्छन् । अहिले यात्रा गर्नेहरू धेरैजसो गाइड लिएर नभई यस्तै फुटप्रिन्टमा निर्भर हुन्छन् । “यात्रा गर्ने मानिसहरू त्यही हेरेर इम्प्रेसन बनाउँछन्,” खुम्बुको स्ट्रिट भ्यु तयार पारेका सौरभ ढकाल भन्छन्, “आइहाल्ने समेत मुख्य सडकभन्दा वरपर ढल्किँदैनन् र वास्तविक कथासँग जोडिन पाउँदैनन् ।”

त्यसैले यस्तो काम डिजिटल फुटप्रिन्ट बढाउने मात्र नभएर नक्सामा आधारित भएर कुनै ठाउँको कथा भन्ने पनि हो । जस्तो : तिनै नक्सामा नीलो रंगमा हुने लोकेसन आइकनले त्यसबारे संक्षिप्त भिडियो पनि राखिएको छ भन्ने बुझाउँछ । त्यसै गरी त्यस बारेको विकिपिडिया पेजसँग पनि जोड्न सकिन्छ ।

सन् २००८ तिर ‘ब्याकप्याक पत्रकारिता’को लहर खुबै चलेको थियो । डिजिटल क्यामेरा र मोबाइल क्यामेरा भर्खर चल्तीमा आउँदै थिए । ल्यापटपको साइज घटेर नोटबुक बनेका थिए । वायरलेस इन्टरनेट चलाउन मिल्ने उपकरण तयार भए । त्यसले विश्वभर यात्रा गर्दा मानिसहरूलाई यी सबथोक एउटै झोलामा बोकेर हिँड्न सम्भव बनायो । मानिसहरू जहाँ पुग्थे, त्यहीँबाट केही लेख्ने र अनलाइनमा हाल्ने गर्न थाले । ब्लग लेखन फस्टाउन थाल्यो ।

पछि ‘नागरिक पत्रकारिता’ आयो र हरेक कोहीले सूचना निर्माणमा योगदान दिन सक्छन् भन्ने बुझायो । सामाजिक सञ्जालहरू, युट्युबले तिनलाई झन् फैलाउन मद्दत गरे । त्यसपछि ‘मल्टिमिडिया पत्रकारिता’, ‘स्टोरी टेलिङ’को लहर आयो । अहिले त्यो ‘नक्सामा आधारित स्टोरी टेलिङ’ सम्म आइपुगेको छ । यी सबैले दिएको एउटै कुरा हाम्रा डिजिटल पदचापहरू बढाउन सघाउनु हो । नेपाली विकिपिडियन सरोज ढकाल भन्छन्, “सायद यसले गर्दा नै पछिल्ला केही वर्षकै अन्तरालमा हाम्रा डिजिटल पदचाप व्यापक रूपमा थपिएका हुन् ।”
व्याकप्याक पत्रकारिता गर्दै गर्दा सौरभ ढकाल, अंकुर शर्मा र केही साथीहरू मिलेर आफैँले राख्न भन्दा अरूलाई राख्न सिकाउने सोचेर स्टोरी साइकल सुरु गरेका थिए । जसले गर्दा डिजिटल पदचापहरु छिट्टै फलन सघाउँथ्यो । अंकुरलाई डार्बिनले अध्ययन गरेको इक्वेडरको ग्यालापोगोस टापुको स्ट्रिट भ्युले निकै आकर्षित गरेकै कारण नेपालको खुम्बु क्षेत्रमा काम गर्ने रुचि गडेको थियो ।

काठमाडौँको गुगल म्यापमा अहिले नेभिगेसन सुविधा छ । यहाँबाट यति मिनेट पर छ । अब यहाँबाट यता जाऊ भन्दै देखाउँछ । अहिलेलाई यो सुविधा काठमाडौँ उपत्यकामा मात्र छ । यस्तो सुविधा फुटप्रिन्ट राम्रा हुने सहरमा ट्राफिकको अवस्था आकलन गरेरै मापन गर्न सकिन्छ । विकसित सहरमा सडकका नम्बर र घर नम्बर नै म्यापिङ हुनाले बढ्दो सहरीकरण समस्या बन्दैन ।

विकिपिडिया सामग्रीहरू विस्तार गर्दै जानसमेत उद्दरण गर्न अनलाइनमा भएका लिंक नै चाहिन्छ । “नेपालबारेका विकिपिडिया सामग्री फैलाउनसमेत अनलाइनमा बढीभन्दा बढी खुला सामग्री हुनु आवश्यक छ,” विकिपिडियन ढकाल भन्छन्, “सबै उद्दरण पुस्तकमा नै खोजेर हुँदैन र सकिँदैन पनि ।” सोसल मिडियामा फेसबुक, लिङ्टइनजस्ता स्रोतहरू अकाउन्ट जसरी सुरक्षित हुने हुँदा पूर्ण रूपमा डिजिटल फुटप्रिन्ट बढाउन सहयोगी नहुन पनि सक्छन् ।

कता डोहोर्‍याउँछ ?

गुगल हुन् वा विकिपिडिया, ओपन डेटा, ओपन स्ट्रिट म्याप युट्युब हुन् वा वर्डप्रेस सबैले आफैँ आएर काम गर्ने होइन । उनीहरू केवल त्यस्ता डिजिटल टुल्स वा मञ्च तयार पार्छन् । र, धेरैले प्रयोग गर्न अनुकूल होस् भनेर सक्दो सरलसमेत बनाइएको हुन्छ । मात्र इन्टरनेट छ र सामान्य डिभाइस भए आफू र आफ्नो ठाउँका बारेमा भन्न सकिन्छ ।

कुनै समय काठमाडौँबाट प्रकाशित हुने पत्रिकाका पाठक नेपालभित्र मात्र भन्ने हुन्थ्यो । अहिले काठमाडौँ र अमेरिकाको कुनै सहरमा बसेर पढ्ने पाठक उत्तिकै हुन्छन् । त्यसैले नक्सामा आधारित समाचार शैलीको महत्त्व झनै फैलिएको छ । काठमाडौँबाट नेपालगन्ज पश्चिममा पर्छ तर पत्रिका महेन्द्रनगर बसेर पढिएको छ भने त्यो अर्कै हुन सक्छ ।

काठमाडौँमा म्याप कसैले सम्पादन गर्‍यो भने नजिकैका कम्युनिटीलाई नोटिफिकेसन आउँछ र उनीहरूले त्यसलाई प्रमाणित गर्नुपर्छ । आफ्ना कामहरू प्रमाणित हुँदै गएमा पछि उसलाई अन्यका प्रमाणीकरण गर्ने अधिकार हुन्छ । यसरी गुगल, विकिपिडियाजस्ता स्वयंसेवी समुदायहरू जति बढ्दै जान्छन्, डिजिटल पदचापहरू उत्तिकै फैलिन्छन् ।

सौरभको टोलीले नाम्चेमा स्टोरी क्याम्प सकेपछि अहिले त्यही नजिकैको फोर्से गाउँमा हरेक घर गुगल म्याप्समा समावेश भएका छन् । जसले एक घर एक होटल भएको त्यस ठाउँलाई चिनाउन निकै सघाउ पुगेको छ । नेपाली विकिपिडिया कम्युनिटीले अहिले एउटै विषयमा सामग्री नेपालीमा छ भने अंग्रेजीसँग जोडिदिन्छ । विकि लभ्स मोनुमेन्ट भन्ने धरोहरहरु सम्बन्धी र विकि लभ्स अर्थ भन्ने प्राकृतिक सम्पदाको फोटो प्रतिस्पर्धाबाट मात्र ५ हजारभन्दा बढि नेपाल सम्बन्धी खुला फोटोहरु इन्टरनेटमा अपलोड गरिएका छन् ।

युट्युबमा नेपाली च्यानलका टेलिसिरियल, म्युजिक भिडियोदेखि समाचारसम्म भेटिन्छन् । भीम निरौलाले गाएको नेपाली शैलीको अंग्रेजी गीत ‘सन्डे मर्निङ लभ यु’ विदेशीका माझ समेत उत्तिकै चर्चित भएको थियो । काठमाडौँका पसल–पसलका नक्सा लोड भइरहेका छन् । सबै एफएम रेडियोहरूले अनलाइन बोर्डकास्ट गरिरहेका छन् । “चाहे त्यो गुगल होस् वा विङ नेपालबारे खोज्दा भेटिनु पर्‍यो । छानीछानी विवरण प्रयोग गर्न सकियोस्,” विकिपिडियन ढकाल भन्छन्, “किनभने, अहिलेका मानिसहरूसँग विकल्प धेरै छन् र नेपालतर्फ उनीहरूलाई तान्न त्यो विकल्पको भीडमा छिर्न सक्नुपर्छ ।” जसका लागि ब्लग संस्कृति फस्टाउन सक्यो भने धेरै सहयोगी हुन्छ । एभरेस्टजस्ता महत्त्वपूर्ण कतिपय अवस्थामा गुगल आफैँले चासो दिइरहेको हुन्छ, जसका कारण त्यहाँ हाम्रा हिमालको नजिकको दृश्य देख्न सकिन्छ । गुगलका नेपालस्थित एक अधिकारी भन्छन्, “हामी पदचापहरुको पूर्णताभन्दा धेरै टाढा छौं तर सही मार्ग भने पकढिसकेका छौं ।”

अहिले मोबाइल र एप्सहरूबाटै मानिसहरू आफ्ना दैनिक जीवन चलाइरहेका छन्, जसको कारण अब ‘डिजिटल फुटप्रिन्ट’को अर्थ सूचना लिने मात्र होइन, त्यसलाई त्यहीँबाट काममा बदल्नेतर्फ ढल्किरहेका छन् । जस्तो : काठमाडौँको लोकेसनबारे बनेको एप्स एनलोकेट केही महिनाअघिसम्म आफूले खोजेको ठाउँ पुगेर त्यहाँबाट पाइने सेवा–सुविधासम्म पुगिन्थ्यो । एप्सका सहसंस्थापक मनोज घिमिरे भन्छन्, “अब सेवा सुविधाजस्ता वस्तुबाट ठाउँ भेट्नसमेत सकिन्छ ।” जस्तो : कुनै चिकित्सकीय सेवा चाहिएमा त्यो आफू नजिकैको कुन–कुन अस्पताल, कुन कुन चिकित्सकदेखि कति खर्च लाग्छ भन्नेसम्म आउँछ । प्रविधि डेस्कटपबाट पामटपमा सरिरहेकोले यस्तो आवश्यकता झनै खड्कीएको छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा नेपाल र नेपालीको परिचय अन्तर्राष्ट्रिय जगत्मा सहज र बलियो पार्छन् डिजिटल फुटप्रिन्टहरुले । नेपालबारे सुन्दै नसुनेकाहरु यस्तै पदचापमार्फत जोडिन सक्छन् । डायस्पोरालाई आफ्नो संस्कृति फैलाउन सघाउँछ । अर्कोतर्फ इन्टरनेट भनेको संग्रह गर्नु हो, जसले समयसँगै भइरहेको बदलाव देखाउँछ ।

First Appeared in Nepal Magazine.

No comments:

Post a Comment