Wednesday, February 25, 2015

डिजिटल युगको विमर्श


एलियन-वल्र्डमा सवार भएझैँ लाग्छ, पुस्तक पढ्दा । तर, विषय हामी बाँचिरहेको विश्वकै छ । अहिले पनि डिजिटल युगका प्रशस्त झिल्का महसुस भइसकेका छन् । 'द न्यु डिजिटल एज, रिसेपिङ द फ्युचर अफ पिपुल, नेसन्स एन्ड बिजनेसेस'मा चाहिँ देख्न बाँकी दृश्यहरू केलाइएका छन् । त्यसो त यो कुनै रोमाञ्चक  फिक्सन होइन । बरू मानवशास्त्रको मापनमा नपर्ने डिजिटल युगको परिकल्पना हो ।

गुगलका कार्यकारी अध्यक्ष एरिक स्मिथ र गुगल आइडियाजका निर्देशक जर्ड कोहिनको यो पुस्तकले विश्वको सबैभन्दा ठूलो 'अन गभन्र्ड' क्षेत्रको भविष्यबारे नयाँ शिराबाट सोचेको छ । किनभने, आगामी दशक अनलाइन विश्वमा आबद्ध मानिसको संख्या दुई अर्बबाट सात अर्ब पुग्दै छ । त्यो भर्चुअल विश्वले भौतिक  विश्वलाई राम्रो गर्ला वा नगर्ला ? वा, कस्तो भिन्नता ल्याउला ? यही विषयमा पुस्तक केन्द्रित छ ।

सञ्चार प्रविधिको सबैभन्दा ठूलो उपलब्धि नै शक्ति बिस्तारै राज्य वा संगठनबाट व्यक्तिगत तहमा सर्दै जानु हो । मानिस सीमा, धर्म, भाषा र संस्कृतिका पर्खाल नाघेर यसरी जोडिएका छन् कि युद्ध, कूटनीति र आन्दोलनका स्वरूप परिवर्तन भइरहेका छन् । इन्टरनेट जगत् अराजकता (एनार्की)सम्बन्धी इतिहासमै सबै भन्दा ठूलो प्रयोग भइरहेको क्षेत्र बनेको छ । हरेक मिनेट लाखौँका संख्यामा इन्टरनेटमा जन्मिने सामग्रीलाई कुनै कानुनले बाँध्न सक्दैन । त्यसैले भौतिक विश्व र भर्चुअल विश्व कहिले एकअर्काका परिपूरकजस्ता देखिन्छन् त कहिले आपसमा जुधेजस्ता । 

स्वतन्त्रता र गोपनीयताको चर्को वकालत गर्ने पछिल्लो पुस्ताले डिजिटल युग प्रवेशसँगै थुप्रै कुरा गुमाउनुपर्नेछ । लेखकद्वय आन्तरिक गुटमै रमाउने 'बाल्कनाइजेसन'को नयाँ शृंखला डिजिटल संसारमा सुरु हुने सोच्छन् । मानौँ, सुन्नी मुस्लिम बाहुल्य रहेको साउदी अरब, यमन, अल्जेरिया, मौरिटानियाजस्ता धार्मिक  कट्टरपन्थी मुलुकको समूहले बाह्य प्रभाव नहुने 'सुन्नी वेब' निर्माण गर्न सक्छन् । त्यहाँ पश्चिमा जगत्को आलोचना वा आफ्नो सम्प्रदायको मात्र गुनगान सम्भव त होला तर त्यसका फाइदाभन्दा बेफाइदा बढी हुन सक्छन् । 

पुस्तकका अनुसार 'भर्चुअल बहुराष्ट्रवाद'को सम्भावना प्रबल छ, जहाँ बेलारुस, इरिटिया, जिम्बाबे, उत्तर कोरियाजस्ता निरंकुश राज्यले साइबर युनियन बनाउन सक्छन् । त्यसले सेन्सरसिप, नियमनकारी रणनीति र प्रविधि आदानप्रदानको वातावरण बनाउन सक्छ । यसको कुरा गरिरहँदा इन्टरनेटमा लाग्न सक्ने यस्ता प्र तिबन्ध र गुटबन्दीका कारण अन्य देशमा 'इन्टरनेट शरणार्थी'का रूपमा बस्नुपर्ने अवस्था दर्साइएको छ । 

'ग्लोबल भिलेज'को चर्चामा रमाइरहेका हामीमाझ उनीहरूले पुस्तकमा नयाँ शब्दावली क्वाइन गरेका छन्, 'भर्चुअल सार्वभौमिकता र राष्ट्रवाद' । भौतिक विश्वमा औपचारिक राष्ट्रवादबाट टाढा हुनेहरू अनलाइनलाई नै माध्यम बनाएर प्रतिस्पर्धामा लाग्छन् । यो अवसरले अन्ततः वास्तविक राष्ट्रवादकै पक्षमा अवसर सिजर् ना गर्नेछ । जस्तो: इरान, सिरिया र इराकमा रहेका कुर्दिस नागरिकले 'कुर्दिस वेब' निर्माण गरेर एक खाले भर्चुअल सार्वभौमिकता कायम गर्न सक्छन् । 

अमेरिकी पृष्ठभूमिको भएकाले पुस्तकमा आतंकवाद र सुरक्षा चासोलाई महत्त्वका साथ उठाइएको छ । 'कोल्ड वार' सकिएको भर्खर दुई दशक नाघ्दा 'कोड वार'लाई नयाँ चुनौतीका रूपमा प्रस्तुत गरिएको छ । धेरै मुलुकले अनलाइनमा आफ्ना सूचना राखेका छन् । त्यससँगै साइबर प्रतिरक्षा र हमला क्षमता समेत  बढाइरहेका छन् । बलिया देशले नै अर्को बलियो देशलाई हमला गर्छन्, सीधै वा प्रोक्सीका माध्यमले । तर, बलिया कसलाई भन्नेमा डिजिटल वल्र्डका परिकल्पनाकारको व्याख्या फरक छ । उनीहरूका विचारमा भौतिक विश्वमा रहेको शक्तिले डिजिटल विश्वको शक्तिको मापन गर्छ नै भन्न सकिँदैन । यसले साना राष्ट्रका  लागि अवसरको नयाँ बाटो खोल्नुका साथै आत्मबल उकासिदिनेछ । त्यसका बाबजुद साइबर आतंकवादकै कारण अहिले शक्ति राष्ट्रहरू भौतिक शक्तिमा जत्तिकै सूचनामा पनि लगानी गर्न विवश छन् । व्यापारिक रणनीति चोर्ने, गोप्य सूचनामा कब्जा जमाउने, सरकारी संयन्त्रभित्र छिर्ने, गलत सूचना फैलाउनेजस्ता  कुराले साइबर हमला अझ भयंकर हुने  पुस्तकमा औँल्याइएको छ । 

प्रजातन्त्र र स्वतन्त्रताका नाममा हुने आन्दोलन डिजिटल युगमा देशका सीमा नाघेर हुने लेखकद्वयको मत छ । परिवेश कतिसम्म बलियो बनिसकेको छ भने अनुवाद गर्ने सफ्टवेरका कारण भाषा अब ठूलो समस्या रहेन । भौतिक रूपमा कोसौँ पर पनि आन्दोलनकारीले योगदान दिन सक्छन् भन्ने उदाहरणका रूपमा  सोसल मिडियाका भरमा भएको 'अरब स्पि्रङ'लाई प्रस्तुत गरिएको छ । डिजिटल युगको व्याख्या गर्न 'रिभोलुसन टुरिस्ट', 'अनलाइन भिजिलान्ते'जस्ता थुप्रै शब्दावली पुस्तकमा जन्माइएको छ, जसका कारण छुट्टै 'डिजिटल वल्र्ड डिस्कनरी'को आवश्यकता पनि खड्किन्छ ।

इन्टनेट प्रयोगकर्तालाई पनि विभिन्न वर्गमा विभाजन गरिएको छ । इन्टरनेटमा सबैभन्दा पहिले पहुँच पाउने वा बनाउने, उच्च जातका । र, अहिले उपभोग गरिरहेका मध्यम वर्गीय र पछि थपिनेहरू निम्न वर्गीय हुन् भन्ने पुस्तकमा व्याख्या गरिएको छ । लेखकद्वय आफ्नो परिकल्पनामा ढुक्क देखिन्छन् । घटनाक्रमलाई  'हुन सक्छ' वा 'सम्भावना छ' नभनीकनै 'विल' -हुनेछ) भन्नु केही अस्वाभाविक लाग्छ । पुस्तकमा उनीहरूले आफैँ काम गर्ने गुगलजस्ता कर्पोरेट शक्तिको भूमिकाबारे धेरै कुरा उठाएका छैनन् । इन्टरनेटको संसार नरुचाउने र त्यसबाट अलग्गिएर बस्न खोज्नेहरूलाई डिजिटल युग कस्तो हुन्छ भन्ने जवाफ पुस्तकभर खड्किरहन्छ । 

द न्यु डिजिटल एज, रिसेपिङ द फ्युचर अफ पिपुल, नेसन्स एन्ड बिजनेसेस

लेखक:   एरिक स्मिथ र जर्ड कोहिन
प्रकाशक:  र्‍यान्डम हाउस 
पृष्ठ:   ३५१
मूल्य:   ११.५१ (अमेरिकी डलर)

No comments:

Post a Comment