Tuesday, April 28, 2015

टेन्टको सहर

शुरुमै नोट: १२ वैशाख २०७२ मा आएको महाभुकम्पका कारण नेपाल साप्ताहिकमा प्रकाशित यो आवरण कथा बजारमा पठाइएन । शनिवार दिउसो आएको भुकम्पले सन् २०१५ को सगरमाथा आरोहण समेत रद्द गरिएको थियो । 



सगरमाथा आधार शिविर ।। लुक्लाबाट थालिएको साता दिन लामो एकोहोरो पदयात्राको पछिल्लो दुई दिन हामी हिमपातमा फसेका थियौँ । सेताम्य हिउँका बीच याकले खोलेको बाटोको भरमा हिँड्दा एकातर्फ लुगा निथ्रुक्क भिजेका थिए भने अर्कोतर्फ समुद्री सतहभन्दा माथि पाँच हजार मिटर उचाइमा बढेको स्वासप्रश्वासका बीच दर्जनौँपटक हिउँमा चिप्लिसकिएको थियो ।

नयाँ वर्षको पहिलो दिन अनगिन्ती हिमाल छिचोलेर सगरमाथा आधार शिविर पुग्नासाथ साता दिन सँगै बिताउन लागेका आरोही र शेर्पाले न्यानो स्वागत गरे । आरोहीका कथा र सपनाहरू सुनेपछि मन्दमन्द दुखिरहेको टाउकोमा बेग्लै ऊर्जा भरिएर आयो ।

सपना व्यक्तिगत भए तापनि त्यसलाई पूरा गर्न आधार शिविरमा थुप्रै मानिस आ–आफ्ना भूमिकामा जुटिरहेकै छन् । भान्छामा खाना पकाउने, बेस क्याम्पसम्म भारी बोकेर ल्याउने, बेसक्याम्पमाथि ओसार्नेदेखि आरोहीको सहयोगी र पथप्रदर्शक भएर चुचुरोसम्म लैजानेसम्म । आधार शिविरको चक्र वर्षौंदेखि यसै गरी चल्दै आएको छ ।

तिनै सपनालाई भेट्न सयौँ त्यस्ता मानिस खुम्बु आइसफलको ठ्याक्कै तलपट्टि खुम्बु हिमनदीको काख लागेर बर्सेनि वसन्त याममा जुट्छन् । शरद याममा थोरै संख्यामा झुल्किने भए तापनि वसन्त ऋतुमा खडा हुने विशाल अस्थायी बस्तीले आरोहीमाझ ‘टेन्ट सहर’कै दर्जा पाएको छ । त्यो सहरलाई चराझैँ माथिबाट हेर्दा रंगीचंगी पताकाका टुक्रा फिँजारिएझैँ देखिन्छ ।



औतारी आरोही
चारैतिरबाट हिमालले घेरिएको बेसक्याम्पमा थुप्रै यस्ता रोचक मानिसको जमघट नहुँदो हो त यो कुनै विशेष ठाउँ बन्दैनथ्यो, न त त्यहाँबाट सगरमाथा नै देख्न सकिन्छ । हामी पुगेको तेस्रो दिनसम्म त्यहाँ हिमपात हुने–रोकिने क्रम चलिरहेको थियो । त्यही सही, व्यग्र आरोहीहरू खुम्बु हिमनदीमा थुप्रिएको हिउँका रासमा अभ्यास सुरु गरिहाल्थे । झन्डै तीन घन्टाको पदयात्रामा पुगिने कालापत्थर, पुमोरी हिमालको बेसक्याम्प र पुमोरी क्याम्प वानसम्म पुगिहाल्थे ।

हरेक कम्पनीले आरोहणअघि विशेष पूजा गर्छन्, जसमा वरपरका निम्तालुलाई मदिरासहितको सत्कार गरिन्छ । पूजाबिना आरोहणको थालनी शुभ मानिँदैन ।

लोत्से चढ्न आएका २२ वर्षे जर्मन अल्पाइन (एक्ला) आरोही योस्ट कोबुसले सुरुका चार दिन सन्चो नभएको भन्दै आराम गरे । सन्चो भएका के थिए, ४० किलोको भारी एक्लै बोकेर आइसफलतिर लागे । अल्पाइन भएका कारण उनलाई कसैले रोक्न त सक्दैनथ्यो तर रातभर क्याम्पका अन्य आरोहीमा अघिपछिजस्तो हँसी–मजाकको वातावरण बनेन । भोलिपल्ट थाहा भयो, योस्ट त्यस रात आइसफल बीचमा बास बसेर अर्को दिन सबेरै क्याम्प वान लागेछन् । उनले त्यहाँबाट अहिलेसम्म कसैले नखिचेको बेसक्याम्पको रातको तस्बिर खिच्न त्यसो गरेका थिए । ब्लगर तथा युट्युबर उनको जीवनको मन्त्र नै रहेछ, ‘योस्ट गो फर इट, पुस योर लिमिट ।’ (योस्ट अघि बढ, आफ्नै क्षमतालाई चुनौती देऊ ।)

नभन्दै उनले गत वर्ष जाडो याममा एक्लै आमादब्लम हिमाल चढेर रेकर्ड कायम गरेछन्, बिनाशेर्पा, बिनाडोरी र बिनाअक्सिजन ।

सगरमाथा चढ्नलाई शारीरिक क्षमता एउटा आधारभूत तत्त्व हो । तर, योस्टको आदर्शझैँ थुप्रै त्यस्ताले क्षमताभन्दा माथि उठेर आफूलाई प्रमाणित गर्न खोजेका भेटिन्छन् । ४० वर्षअघि उत्तरी मोहडाबाट सगरमाथा चढ्दा चुचुरोभन्दा चार सय मिटरभन्दा तल मात्र मौसम बिग्रिएर दुवै खुट्टा गुमाएका थिए, ६४ वर्षे चिनियाँ आरोही सिया बोयुले । उनी अहिले फलामे खुट्टाको भरमा चुचुरो चुम्ने सपना बोकेर आएका छन् ।

“मेरो शारीरिक अवस्थाका कारण चिनियाँ मोहडाबाट कानुनी रूपमा सगरमाथा चढ्न नमिल्ने भएकाले दक्षिणी मोहडाबाट चढ्न लागेको हुँ,” त्यही खुट्टाको भरमा लुक्लादेखि हिँड्दै बेसक्याम्प आएका उनले नेपालसँग भने, “सगरमाथा चढ्ने सपना एकपटक देखेपछि जसरी पनि पूरा गर्न खोजिन्छ ।”

सियाजस्ता आरोही बेसक्याम्पमा जुट्ने अन्यका लागि प्रेरणा बन्छन् । आरोहीहरू एकअर्कालाई भेटेर आफ्नो कथा साट्छन् र चुचुरो पुग्नका लागि मानसिक रूपमा तयार हुन्छन् । हामी चर्चित अमेरि की आरोही एलन अर्नेटकहाँ पुग्दा सगरमाथा चढ्न आएको मलेसियाली तन्नेरीको टोली सगरमाथासँग जोडिनुको कथा र तयारीबारे भलाकुसारी गरिरहेको थियो ।

गत वर्ष मात्रै ५८ वर्षे उमेरमा पाकिस्तानको केटु हिमाल चढेर सबैभन्दा ज्येष्ठ अमेरिकीको रेकर्ड बनाएका उनलाई भेट्न आउनेको भीड देखिन्थ्यो, म्याडिसन माउन्टेनरिङको क्याम्पमा । त्यसो त अहिले बेसक्याम्पमा रहेका धेरैजसो पोहोरको घटनाका कारण क्याम्प वानसमेत पुग्न नपाई फर्केकाले एकआपसमा परिचित छन् । गत वर्ष आरोहण मौसमको सुरुमै खुम्बु आइसफलमा हिमपहिरो जाँदा १६ जना हाई अल्टिच्युड वर्करको ज्यान गएपछि आरोहण रोकिएको थियो ।

अहिले दक्षिण कोरियाका दृष्टिविहीन सोङ क्युङ ताई, ५४, चुचुरोमा पुगेर आफ्नो देशका लागि पहिलो रेकर्ड बनाउँदै छन् भने त्यहाँकै अर्का कीर्तिमानी आरोही किम होङ विन दुवै हातका बूढी औँलाबाहेकका सबै औँला गुमाएर पनि तेस्रोपटक सगरमाथा चढेर ल्होत्सेतिर लाग्ने विचारमा छन् । उनी डोरी वा हिउँ बन्चरो समात्न त सक्दैनन् तर दाँत र काँधको सहाराले धेरैजसो काम गर्छन् । सन् १९९१ मा अमेरिकाको माउन्ट म्याकिन्ली चढ्दा उनका औँला हिउँले खाइदिएको थियो ।

बेलायती आरोही केन्तोल कुल, ४१, एकै याम अर्थात् तीन महिनामा सगरमाथा, कञ्चनजंगा र केटु आरोहणको नयाँ कीर्तिमान खडा गर्ने होडमा छन् । अस्ट्रेलियाकी १८ वर्षे आइसा अजर कान्छी अस्ट्रेलियन सगरमाथा आरोही हुने होडमा छिन् । एक भारतीय आरोहीले सगरमाथा चढ्नकै लागि सन् १९९४ यता पैसा जम्मा पार्दै आएका रहेछन् । विडम्बना के भने पछिल्ला केही वर्षयता उनी निरन्तर आइरहे तापनि चुचुरोमा पुग्न सकेका छैनन् । तर, आशा मारेका छैनन् ।

सगरमाथालाई लामो योजनामा राख्दै अन्य ससाना हिमाल चढ्ने र बेस क्याम्प आएर शिखर चुम्न चाहनेको कुनै कमी छैन । पोहोर आरोहण गर्न नपाएका महाराष्ट्र, भारतका कुन्तल जोइसर पाँचौँपटक बेसक्याम्प आइपुगेका छन् । सुनाउँछन्, “हरेक बिहान उठ्दै खुम्बु आइसफल चियाउनु वा एकैछिन घोत्लिएर हेर्नुको पनि धेरै अर्थ छ आरोहणमा ।”

आइसफल मुन्तिरको टेन्टमा बसिरहँदा अक्सर आइरहने हिमपहिरो र त्यसको आवाजले समेत बेसक्याम्पमा रहँदै माथितिर हुन सक्ने चुनौती सम्झाउँछ । मौसमसँग घुलमिल हुन बसेका आरोहीहरू आइसफलमाथि जानुअघि थुप्रैपटक पुमोरी हिमालको बेसक्याम्प र क्याम्प वान तथा कालापत्थरसम्म आउजाउ गरिरहन्छन् ।
गोर्खा भर्तीको दुई सय वर्षको अवसरमा ब्रिटिस गोर्खाको आरोहण दल र पहिलो भारतीय आरोहणको रजत जयन्तीको अवसर पारेर भारतीय सेना र कर्मचारी पनि बेसक्याम्पमै छन् । दुवै देशमा गोर्खाहरूको भावनात्मक सम्बन्धका कारण पनि उनीहरू आपसमा कौशल आदानप्रदान र जमघट गरिरहन्छन् ।

आरोही कि क्लाइम्बिङ पर्यटक ?
सन् २०१० यताको तथ्यांकलाई हेर्ने हो भने बर्सेनि आरोहीको संख्या बढिरहेको छ । त्यसैले चर्चित अल्पाइन आरोही रियोनर मेसनर आरोही र ‘क्लाइम्बिङ पर्यटक’लाई फरक रूपमा हेर्नुपर्ने ठान्छन् ।

हुन पनि त्यहाँ भेटिएका थुप्रै आरोही आफ्नो एकलकाँटे दैनिकीबाट पुन:ताजगीका लागि भन्दै केही महिनाको आरोहण तालिमपश्चात् सगरमाथा चढ्न आएका छन्, जसको इच्छा शेर्पाहरूले पूर्ति गरिदिन्छन् । साढे तीन वर्ष अफगानिस्तानमा सुरक्षा विशेषज्ञका रूपमा काम गरेका जापानी नागरिक थारो आफ्नो काममा तनाव महसुस गर्न थालेसँगै एकवर्षे बिदा लिएर सगरमाथा चढ्ने मिसनमा जुटे । त्यसका लागि चार महिना चिली पुगेर तालिमसमेत लिए । कसैले आफ्नो सोखका लागि त्यसो गर्नु ठीकै होला तर त्यसको असर पर्यावरणमा पर्न सक्ने चिन्ता व्याप्त छ । त्यसले हिमालमा ट्राफिक जाम बढाइरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष आङदोर्जे शेर्पा बताउँछन् । भन्छन्, “त्यसैले सरकारसँग एक सिजनमा दिइने पर्मिटको अधिकतम हद तोक्न आग्रह गरिरहेका छौँ ।”

सगरमाथा चढ्नुअघि कम्तीमा नेपालका कुनै सात हजार मिटरमाथिका हिमाल चढिसकेको भएमा आरोहण सहज हुने शेर्पाहरूको अनुभव छ । हिमालमा जाम हुँदाको असर सीधै साउथ कोलमा पर्न जान्छ, जसले आरोहीको अक्सिजन बढी खपत हुन्छ । चिसो हावा निकै चल्ने त्यस ठाउँमा अक्सिजन अभाव भएमा ज्यान जाने सम्भावना उच्च हुन्छ ।

सन् १९८७ यता नेपाल सरकारले एउटै यामका लागि धेरै दललाई आरोहण अनुमति दिन थालेपछि सगरमाथामा भीडभाड सुरु भयो । अझ शेर्पाहरू व्यावसायिक रूपमा अगाडि बढ्दा आरोहणसँग खासै साइनो नभएका अनेकथरी भूगोल, परिवेश र शारीरिक क्षमताका मानिस सगरमाथाका कीर्तिमानसँग जोडिन पाएका छन् । त्यसैले सगरमाथा आरोहणको सफलता दर पनि सन् १९९० यता तीन गुणाले बढेको छ ।

उसो त उत्तरी मोहडामा चिनियाँ पक्षको कडा नियमन छ भने बेसक्याम्पसम्म पुग्दा आरोहणको असली अनुभव नहुने शेर्पाहरूको कथन छ । उत्तरी मोहडामा घाम कम पर्ने भएकाले चिसोको समस्या प्रमुख छ तर आइसफलजस्तो कठिन चुनौती झेल्नुपर्दैन । त्यसमाथि सन् १९५० देखि ’७० को दशकको अन्त्यसम्म चीनतर्फबाट आरोहणमा रोक लगाइएकाले पनि आरोहीको आकर्षण दक्षिणी मोहडातिरै बढिरहेको छ ।

कठिन आइसफल
यस सिजनका लागि ६ वैशाखमा शेर्पाहरू क्याम्प वानसम्म सामानसहित ४ बजे बिहानै हिँडिसक्नुपथ्र्यो । जति नै अनुभवी भए पनि आइसफल चढ्ने भनेपछि शेर्पाहरूकै मन पनि अनायासै अमिलो भइहाल्छ ।
कतिपय शेर्पा आइसफलको भर्‍याङबाट खस्न पुग्छन् । धन्न भर्‍याङमा अड्काइने फलामे लकले बचाउँछ । एकपटक आरोहण गर्दा एउटा शेर्पाले आइसफलमा ४० पटकसम्म ओहोरदोहोर गर्नुपर्दा दुर्घटनाको सम्भावना झन् बढ्छ ।

प्रतिव्यक्ति ७० हजार अमेरिकी डलरसम्म लिने पश्चिमा कम्पनीहरूले क्याम्प टुसम्म बेसक्याम्प स्तरकै सुविधा दिन्छन् । “यसले शेर्पाको सुरक्षा सवालसँग हेलचेक्र्याइँ गरेको छ,” भारतीय आरोही कुन्तल जोइसर भन्छन्, “के क्याम्प टुसम्म कुर्सी वा टेबल लगेर डाइनिङ बनाउनु आवश्यक छ त ?”

आइसफलमा यस वर्षको रुटसमेत आंशिक रूपमा नयाँ हो । पोहोरको दुर्घटनापछि न्युजिल्यान्डका आरोहण व्यवसायी रुसेल ब्राइसको नेतृत्वमा पश्चिमा कम्पनीहरूले मार्ग परिवर्तनका लागि दबाब दिएका थिए ।
अहिलेको बाटो आइसफलमा पहिलेजस्तो सीधै बीचबाट नगई केही दाहिनेतर्फबाट गएकाले हिमपहिरोको सम्भावना कम रहेको शेर्पाहरू बताउँछन् । किनभने, अहिलेको रुट आइसफलको केन्द्रबाट १ सय ५० फिट दायाँ अर्थात् नुप्से फेसतर्फ मोडिएको छ । आइसफल झन्डै १५ सय फिट लामो छ जबकि आधार शिविरबाट चुचुरोसम्मको दूरी ११ हजार ५ सय ३५ फिट लामो छ ।


फोहरको चुनौती
शेर्पा तथा पुराना आरोहीहरूको भनाइ पत्याउने हो भने बेसक्याम्प पहिलेको तुलनामा निकै सफा छ । एसपीसीसीले सरसफाइको जिम्मा नलिँदासम्म यत्रतत्र पाइने मानव मलमूत्रले गर्दा कुनै बेला बेसक्याम्प ‘ट्वाइलेट पेपर ट्रेल’का रूपमा समेत चिनिन थालेको थियो ।

वसन्त ऋतुमा झन्डै १३ हजार किलो मलमूत्र र २२ हजार किलो हाराहारीमा अन्य फोहर संकलन हुन्छ । सुरुमा एसपीसीसीले बेसक्याम्प, तल्लो भेगका तीन गाविस र होटलहरूबाट मात्र फोहर संकलन गथ्र्यो । तर, त्यसले आर्थिक रूपले सघाउ नपुर्‍याएपछि आइसफल डाक्टरको अवधारणा ल्याइएको छ । त्यसैले प्रत्येक आरोहीले झन्डै ६ सय अमेरिकी डलर एसपीसीसीलाई बुझाउँछन् ।

बेसक्याम्पबाट संकलन गरेर ल्याइने ती मलमूत्र अहिले गोरक्सेपमा फ्याँक्ने गरिएको छ । तर, ऊर्जाको स्रोतका रूपमा रहेको सोलारको भरमा कुहाउनुपर्ने चुनौती छ । गत वर्षबाट प्रत्येक आरोही तथा शेर्पाले कम्तीमा आठ किलो फोहर तल ल्याउनुपर्ने नियमसमेत बनाइएको छ ।

सशंकित शेर्पा 
यसरी व्यवसायीकरण हुनुअगाडिसम्म भने शेर्पाहरू सगरमाथाको चुचुरोसम्मै पुग्दैनथे । साउथ कोलसम्म आरोहीका सहयोगीका रूपमा पुग्थे भने त्यहाँबाट माथि खास आरोही मात्र ।

अहिले लुक्लाबाट गाइडका रूपमा हिँड्ने अधिकांश शेर्पासँग सगरमाथाको अनुभव छ, चुचुरोसम्म नभए पनि कम्तीमा क्याम्प टु वा थ्रीसम्मको । आधार शिविर आरामदायी ठाउँजसरी ढल्किरहेको छ ।

अहिले आरोहण समुदाय र शेर्पाबीच क्याम्प टुसम्म हेलिकप्टरमै सामान ओसार्न दिन हुने कि नहुने भन्ने बहस चलिरहेको छ । कतिपयले एड् भेन्चर क्षेत्रमा पूर्ण सुरक्षा कहीँ हुन नसक्ने भन्दै त्यसलाई शेर्पाको रोजीरोटीसँग जोडेर हेरिरहेका छन् भने कतिपय सबैले जित्ने सुखद परिवेशका लागि यस्तो अनुमति दिनुपर्ने ठान्छन् ।
हुन पनि गत वर्षको घटनासँगै अहिले धेरै शेर्पा सशंकित छन् । घरायसी दबाबका कारण सिपालु शेर्पासमेत अहिले बेसक्याम्पसम्म मात्र जानका लागि राजी भएको आरोहण कम्पनी सञ्चालकहरूको गुनासो छ । तर, सगरमाथाको चुली चुम्ने सपना, साहस वा पागलपन नै सही, आरोहीहरू बर्सेनि चुम्बकीय ढंगले आकर्षित भइरहेका छन् ।

 (तस्बिरहरू : प्रदीप बस्याल)

No comments:

Post a Comment