Saturday, May 21, 2016

'नेपाल-चीन सम्बन्ध नयाँ उचाईमा लैजाने यो सबैभन्दा उपयुक्त समय हो'— प्राध्यापक ली ताओ



प्राध्यापक ली ताओ, ५०, चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको इञ्चिच्युट अफ साउथ एसियन स्टडिज (आइएसएएस)की कार्यकारी निर्देशक हुन् । आइएसएएस चीन सरकार अन्तर्गतको दक्षिण एसियाली मामिला हेर्ने चीनको प्रमुख र एकमात्र प्राज्ञिक संस्था हो । चीनको दक्षिण एसियाली नीति निर्माणमा यसको प्रभाव प्रमुख मानिन्छ । तिब्बती संस्कृतिकी ज्ञाता तथा दक्षिण एसिया, भारत, अमेरिका मामिलाकी विज्ञ लीले चीनको राज्य सञ्चालनको प्रमुख निकाय चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिलाई दर्जनौं त्यस्ता परामर्श प्रतिवेदन बुझाइसकेकी छन् । गतसाता छेन्दुस्थित आफ्नै कार्यालयमा लीले नेपालका लागि प्रदीप बस्यालसँग नेपाल–चीन मामिलाका पछिल्ला आयामबारे झण्डै डेढ घन्टा खुलेर कुराकानी गरिन् ।
   
प्रधानमन्त्री केपी ओलीको पछिल्लो चीन भ्रमणलाई कसरी हेर्नुभएको छ ? के यो सामान्य रुपमा भइरहने द्विपक्षिय अभ्यास हो या धेरैले भनेजस्तो ‘ऐतिहासिक’ ? 

प्रधानमन्त्री केपी ओलीको भ्रमणको महत्वपूर्ण अर्थ छ । वहाँ निकै व्यावहारिक व्यक्ति हुनुहन्छ । चीनमा सबैतिर वहाँले निकै आत्मिय स्वागत, सत्कार पाउनुभयो । चीनियाँ सञ्चारमाध्यमले भ्रमणलाई महत्व र गहिराईका साथ प्राथमिकता दिए । चीन र नेपालबिच विभिन्न तहमा भएका सम्झौताको गहिरो छाप चीनियाँ जनतामा परेको छ जसले हामी दुवै देशको भविष्यका लागि योगदान गर्नेछ । त्यसैले केही हदसम्म यो भ्रमण ऐतिहासिक नै हो ।

नेपालमा चीनको स्वार्थलाई भूराजनीतिक, आर्थिक र तिब्बती मामिलाका सेरोफेरोमा धेरैले भिन्नभिन्नै ढंगबाट बुझ्दै आएका छन् । यसमा यहाँ के भन्नुहुन्छ ?
चीन—नेपाल सम्बन्धको मुख्य आधार त हामी छिमेकी हुनु हो । इतिहासदेखि नै मैत्रीपूर्ण सहअस्तित्वसाथ चलेको हाम्रो सम्बन्ध नङमासुको जस्तो छ । युवा अवस्थामा मैले थुप्रै बर्ष तिब्बतमा काम गरेकी छु । त्यहाँका स्थानियहरुले प्राचिन समयमा तिब्बती व्यापारीहरुले उत्तर पश्चिमको सिंनज्याङबाट जनावरमा नुन बोकेर नेपालसम्म लैजाने र उताबाट नेपाली सामान किनेर ल्याउने गरेका किस्सा सुनाउँथे । कतिले त नेपालमा जहान छोराछोरी पनि हुनेगरेको भन्दै ठट्टा गर्थे । हाम्रो सम्बन्ध पुस्तौंपुस्तामा त्यसरी हुर्कंदै आएको हो । मैले नेपाल र चीनबिचको यही पुरानो सम्बन्धबारे थुप्रै लेखेकी छु । हालै नेसनल जियोग्राफिक म्यागेजिनले मलाई पुनः एकपटक त्यसबारे लेख्न आग्रह गरेको छ । उतिबेला मैले तिब्बतभित्र मात्र रहेर लेखेकी थिएं, योपटक ती प्राचिन कथासँग जोडिने नेपाललाई नजिकबाट जोड्दै मानवशास्त्रीय तरिकाबाट लेख्दैछु । तिब्बती मामिलाका बारेमा भन्नुपर्दा नेपालका हरेक सरकारले एक चीन नीतीलाई बलियो ढंकबाट समर्थन गरेका छन् । त्यसैले त्यो ठूलो समस्या होइन ।


अहिले नेपाल इतिहासमै पहिलोपटक चीनसँग सबैभन्दा बढि सहकार्य गर्न खोजिरहेको छ । के चीन त्यसरी सहकार्य गर्न चहान्छ ? यदि चाहेको खण्डमा त्यो नेपालले थेग्न सक्छ ?

हाम्रो सम्बन्ध अहिले निकै महत्वपूर्ण चरणमा छ । एउटा चिनियाँ भनाई नै छ कि यदि कुनै काममा सफलता चाहिरहेका छौ भने सही अवसर, राम्रो माहोल र सही व्यक्ति चाहिन्छ । यी तीनवटै दृष्टिबाट हेर्दा हाम्रो द्विपक्षिय सम्बन्धलाई नयाँ दिशा दिनलाई अहिले सबैभन्दा उत्कृष्ट समय छ ।   

अहिले निकै महत्व पाइरहेको वान बेल्ट वान रोड (ओबिओआर)मा चीनले नेपाललाई कसरी सहभागि गराउन चाहन्छु ? 
ओबिओआरको सफलताको लागि नेपाल अन्योन्याश्रित पक्ष हो । यससँगै नेपाल–चीन सम्बन्ध अर्को नविन तहमा प्रवेश गरेको छ किनकि नेपाल त्यस नीति कार्यान्वयनको ढोकैमा पर्छ । त्यसबाहेक नेपालकै लागि समेत यसको अर्थ झनै बढि हुनेछ । चीन र नेपालका स्रोतहरु एकअर्काका लागि परिपुरक छन् । नेपाललाई चीनको आर्थिक सहायता र प्रविधि उपयोगी हुनसक्छ । नेपालको जलविद्युत, पयर्टन र धार्मिक पक्षलाई यसले सघाउनेछ ।

त्यसकै लागि बंगलादेश, चीन, भारत र म्यानमार आर्थिक सहकार्य मञ्च (बिसिआइएम)मा नेपाललाई पनि समेट्ने तयारी भइरहेको हो ?
व्यक्तिगत रुपमा चाहिं मलाई नेपाल बिसिआइएममा जानुपर्छ जस्तो लाग्दैन । किनकि यो सीर्फ उपक्षेत्रिय सहकार्य हो जसको आफ्नै चुनौति छन् । जस्तो, म्यानमार, भारतका आफ्नै जातिय समस्या छन् जसको सहज समाधान देखिंदैन । अर्कोतर्फ चीन–पाकिस्तान आर्थिक कोरिडोरको मोडलमा जाने हो भने त्यो सीर्फ उर्जा सहकार्यमा केन्द्रित छ ।

त्यसोभए नेपाललाई नजिकबाट जोड्ने मञ्च कुन छ त ?
यो बर्ष हामी ट्रान्स हिमालय सहकार्यको नयाँ मोडेलमा जाँदैछौं । म्यानमार, भुटान, भारत, नेपाल, पाकिस्तान, अफगानिस्तानसम्म यसमा जोडिनेछन् । मौसम परिवर्तन, जलस्रोत, प्राकृतिक स्रोतजस्ता विषयमा नेपाल निकै प्राथमिकतामा पर्नेछ । गतबर्ष हामीले २० भन्दा बढि देशबाट ३० बढि विज्ञहरुलाई सल्लाहका लागि निम्त्याएर ट्रान्स हिमालय मञ्च आयोजना गरेका थियौं । नोभेम्बरमा छेन्दुमा हुने वेस्ट चाइना एस्पोमा समेत हामीले यसलाई अझ व्यापक बनाउनेछौं ।

हालै मात्र चीनको लान्झाउबाट नेपाली सामान बोकेका कन्टेनरहरु सहितको रेल सिगात्सेका लागि छुटेसँगै भारतिय सञ्चारमाध्यमले व्यापक प्रतिकृया जनाए । नेपालले चाइना कार्ड खेलिरहेको आरोप समेत बेलाबखत आइरहन्छ । यसलाई कसरी हेर्नुभएको छ ?

हिमालयसँग जोडिएका सबै देशहरु शान्तिपूर्ण सहअस्तित्वसाथका साथ रहनुपर्छ । सहअस्तित्वको पहिलो आधार भनेकै कनेक्टिभिटि हो । कनेक्टिभिटिका लागि हामीले सबैभन्दा पहिले भौगोलिक अवरोधहरु तोड्नुपर्नेछ । रेलको सवाल त्यस्तै हो जसलाई अस्वभाविक रुपमा हेर्नुपर्छ भन्ने मलाई लाग्दैन ।

पछिल्लोपटक सरकार परिवर्तनका सवालमा धेरैले चीन जोडिएको ठाने नि ?

हामीमाथि लगाइका आरोप र त्यसैबखत नेपाली राष्ट्रपतिको भारत भ्रमण रद्द, नयाँदिल्लीबाट नेपाली राजदूत फिर्ता बोलाएका घटनालाई चासोसाथ हेरिरहेका छौं । तर के बुझ्नु बिर्सनु हुँदैन भने चिनियाँ सरकार सधै निकै गम्भिरताका साथ अहस्तक्षेपकारी नीतिमा अडिक छ । भारतिय सञ्चारमाध्यमहरु चीनबारे लेख्दा बढि नै आत्मपरक हुनेगर्छन् जुन विस्तारै परिवर्तन हुँदै पनि छ । यसको एउटा कारण सन् ६० को दशकमा भएका चीन–भारत युद्धले छाडेको छाप हो । अर्को यी दुवै विश्वका ठूला विकासशिल मुलुक हुन् र यीबिच सधै को ठूलो भन्ने प्रतिस्पर्धा चलिरहेको पाइन्छ । तर अर्को चिनियाँ भनाईले के भन्छ भने आफ्नो बाटो हिंडिराख, अरुलाई गनथन नै गर्न देऊ । त्यसैले हामी के विश्वास गर्छौं भने हामीलाई उचित लागेको बाटो पछ्याइरह्यौं भने भ्रमहरु आफै हट्दै जानेछन् ।

पछिल्लो मधेस आन्दोलन र त्यसक्रममा चिनियाँ झण्डा समेत जलाइएको कुरालाई चीनले कसरी हेरिरहेको छ ?
मधेसी जनता र चीनबिच कुनै प्रत्यक्ष सम्बन्ध छैन । तर उनीहरु किन त्यस्तो गरे भन्नेले हामीलाई अचम्मित बनाएको छ । चीनको पेट्रोलियम सहयोगलाई उनीहरुले आधार मानेर त्यसो गरेका हुन् भने त्यो डुब्न लागेको व्यक्तिलाई बचाउन हात दिएजस्तै हो । त्यसो गर्न हामीलाई कसैले रोक्न हुँदैन ।

नेपालको नयाँ संविधान जारी भएसँगै भारत लगाएत केही पश्चिमा देशले सबै पक्ष नसमेटिएको भन्दै संसोधनको पक्षमा बोलिरहेका छन् । चिनियाँ धारणा चाहीं के हो ?
म फेरी पनि दोहो¥याउन चाहन्छु चीन सधै अहस्तक्षेपकारी नीतिमा अडिक छ । जबसम्म नेपाली जनता आफैले आफ्नो संविधान लेखेको अनुभूति हुन्छ, चीनले त्यसमा साथ र समर्थन नै गर्छ ।

यो बर्ष राष्ट्रपति सि जिनपिङले नेपाल भ्रमण गर्ने सम्भावना कत्तिको देख्नुहुन्छ ?
राष्ट्रपति यो बर्ष नेपाल भ्रमणमा जानुभयो भने त्यो निकै महत्वपूर्ण र अर्थपूर्ण हुनेछ । चिनियाँ राष्ट्रपतिको पछिल्लो नेपाल भ्रमण सन् १९९६ (२०५३ साल) मा ज्याङ जेमिनको थियो । हामी सबैलाई थाहा छ ओबिओआर राष्ट्रपति सिको ठूलो सपना हो । नेपाल आफैले भ्रमण गर्नुभएको खण्डमा त्यस लक्ष्यमा हामी बढि कामको अपेक्षा गर्न सक्छौं । जसकै कारण पनि हामीहरु समेत यो भ्रमण छिटोभन्दा छिटो भइदियोस भन्ने आशा र पहल गरिरहेका छौं ।

नेपाल र चीनबिचको सहकार्यको यो तह बढ्दै गएमा के आगामी बर्षहरुमा भारतलाई उछिन्न सक्छ ?
नेपाल–भारत र नेपाल–चीन दुवैबिच आपसी सम्बन्ध र मित्रताको आफ्नैखाले इतिहास छ । भारत र चीन दुवै अहिले द्रूत गतिमा विकास गरिरहेका छन् । तर चीनले भारतलाई उछिन्छ कि भन्ने प्रश्नको जवाफ दिन भने केही समय कुर्नैपर्छ । तर हामी तीन देश मिल्नुको विकल्प छैन जसको अर्थ पूरै क्षेत्रको शान्ति र स्थायित्वमा पार्नेछ ।

चीनले नेपालमा सधै खोज्ने गरेको स्थायित्व कस्तो हो ?
यदि नेपालले छिटोछिटो सरकार फेरिरह्यो, मानिसहरु दिनदिनै बन्द÷हडतालमा लागिरहे भने कोही पनि विदेशी नेपालमा लगानी गर्न वा यात्रा नै गर्न पनि चाहंदैन । तर मेरो बुझाईको स्थायित्व भनेको राजनीतिक मात्र नभएर आर्थिक, सांस्कृतिक, सामाजिक पक्ष समेटिने समग्र स्थायित्व हो ।

त्यस्तो अवस्थामा नेपालको स्थायित्वको लागि छिमेकीका नाताले चीन–भारत सहकार्य हुनसक्छ ?
स्थायित्व राज्यको आफ्नो आन्तरिक मामिला हो । तर त्यसबिचमा सहकार्यको आवश्यकता प¥यो भने मुख्य एक्टर नेपाल नै हुनुपर्छ । तर नेपालको भलाई छिमेकीको आडमा भन्दा आफ्नै बलमा स्थायित्व हाँसिल गर्नुमा छ ।

कतिपयले चीनको दक्षिण एसिया छिर्ने मार्गको रुपमा नेपाललाई प्रयोग गर्ने स्वार्थ छ भन्छन् नि ?
चीन–नेपाल सम्बन्धको आपसी फाइदा पक्कै पनि दक्षिण एसियाको अन्य देशसँग भन्दा बढि छ । भौगालिक रुपमै हामी बढि जोडिएका छौं, हाम्रो प्राकृतिक स्रोत एकअर्काका पूरक छन् । नेपालको शान्तिपूर्ण सामाजिक अवस्थाले हाम्रो आपसी सम्बन्ध अरुसँग भन्दा बढि स्थिर पनि छ । नेपालमा आतंकवादको समस्या छैन । नेपालको प्राकृतिक र सांस्कृतिक धरोहरहरु  चिनियाँहरुको लागि निकै प्रिय छ । मसमेत अहिलेसम्म लुम्बिनी पुगेकी छैन तर पुग्ने जीवनको एउटा ठूलो धोको छ ।     

त्यसो भए चीन नेपालमा आफ्नो सफ्ट पावर बलियो पार्न पनि लागिरहेको हो ?
मेरो एकजना पुरानो नेपाली साथीले भन्नेगर्थे— तिमीहरु आफ्ना दक्ष इञ्जिनियरहरु पठाएर नेपालमा ठूल्ठूला पूर्वाधार बनाउँछौ तर उनीहरुलाई यहाँ कसैले चिन्दैनन् । पश्चिमा देशहरु भने सञ्चारमाध्यममा छाउने खाले सांस्कृतिक व्यक्तिहरु पठाउँछन् । पछिल्लो समय चीनमा समेत थुप्रै नेपाली विद्यार्थीहरु छात्रवृत्तिमा पढ्न आएका छन् जसले पक्कै हाम्रो प्रयास नेपालीहरुमा चिनाउन सघाउनेछ ।

तस्विरहरुः प्रवीण खनाल

Published in Nepal Magazine.

यो पनि पढ्नुहोस्:: 


No comments:

Post a Comment