Tuesday, February 16, 2016

[फिल्म] इराक–कुवेत युद्धको भारतिय कथा

विश्व राजनीतिमा कुवेतमाथिको इराकी हमलालाई धेरैले बिर्सेका छैनन् । सन् १९९० को अगस्टमा इराकले रातारात छिमेकी कुवेतमाथि हमला गरेर एउटा सार्वभौम राष्ट्रलाई आफ्नो १९औं प्रान्त भएको घोषणा गरेको थियो । एकातर्फ कुवेतसँग लिएको मोटो ऋण चुक्ता गर्न गाह्रो परिरहेको इराकले अर्कोतर्फ हमलाको केही महिना अघिदेखि उसैलाई तेल चोरीको आरोप लगाउँदै आएको थियो । उसले कुवेतलाई तेल उत्पादन कम गर्न दबाव समेत दिइरहेको थियो ।

त्यस्तो परिवेशमा मध्यपूर्वका यी दुई पेट्रोलियम शक्तिबिचको तनाव अस्वभाविक त थिएन तर देश नै कब्जा होला भन्ने तहको अपेक्षित पनि थिएन । इराकको कब्जाबाट हटाउन अमेरिका एक्लैले ७ लाख सैनिक मरुभूमिमा उतारेपछि ‘खाडी युद्ध’ शुरु भएर ७ महिनापछि इराक पछाडि हट्न विवस भएको थियो । राजकृष्ण मेनन निर्देशित ‘एयरलिफ्ट’ यही पृष्ठभूमिमा बनेको बलिउड चलचित्र हो । तर फिल्मको केन्द्रीय कथामा भने भारत छ जहाँ युद्धग्रस्त कुवेतमा त्यसबेला रहेका एक लाख सत्तरी हजार भारतियको उद्दार कसरी गरियो भन्ने देखाइएको छ ।

एक भारतिय व्यापारी रञ्जित कटियाल (अक्षय कुमार) कुवेतमा जमेर बसिरहेका हुन्छन् । उनको ‘डिल’ कुवेती अमिर तहसम्म हुन्छ । त्यही दम्भले गर्दा उनी आफूलाई कुवेती भन्नमा गर्व गर्छन् । आफ्नै कम्पनीमा काम गर्ने भारतियप्रति समेत उनको व्यावहार एउटै देशवासीजस्तो हुँदैन । जब रातारात कुवेती भूमिमा इराकी सैनिकहरु छिरेर बमबारी र हत्या गर्न थाल्छन् रञ्जित भारतीय दूतावासतर्फ लाग्छन् । बाटोमा आलाकाँचा इराकी सेनाले उनीहरुसँग अरबीमा बोल्ने उनका ड्राइभरलाई कुवेती सोचेर हत्या गर्छन् । रञ्जित भने भारतिय भनेकै कारण बच्छन् । दूतावास समेत केही गर्न नसक्ने अवस्थामा हुन्छ । केही दिनमा त इराकी सरकारले एकै देशमा दुईटा मिसन नचाइने भन्दै कुवेतमा रहेको भारतीय दूतावास समेत बन्द गरिदिन्छ । अनि त्यहाँ रहेका भारतीयहरु शरणार्थी बन्छन् । अनि रञ्जितमा एकाएक पलाउने भारतिय भावना र त्यसकै भरमा हुने ती एक लाख सत्तरी हजारको एयरलिफ्टसम्मको कथा फिल्ममा छ ।

तर भारत सरकारका लागि त्यो ठूलो समस्या भइरहेको हुँदैन । त्यतिखेरको कमजोर भारत, अहिलेजस्तो व्यावसायिक नभइसकेको भारतीय विदेश मन्त्रालयको परिवेशले त्यो किन भन्ने देखाउँछ । रञ्जितको आफ्नै बचेखुसेको साख, उसको लगाव र भारतीय विदेश मन्त्रालयमा रहेका एक सामान्य कर्मचारीको समन्वयले गैरसैन्य हवाईजहाजले गरेको अहिलेसम्मकै विश्वकै सबैभन्दा ठूलो उद्दार कार्य सफल भएको हुन्छ । शुरुमा युद्धग्रस्त क्षेत्रमा उड्न नमानिरहेका एयर इन्डिया र इन्डियन एयरलाइन्स पछि कसरी राजी भए भन्ने बलियो कारण दर्शकले भेट्दैनन् ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिजिल गरेर फिल्मले भारतीय राष्ट्रियतामा एउटा जुनुन थप्न सफल भएको छ । अक्सर एक्सन र कमेडिका लागि गनिने अक्षय कुमारले एयरलिफ्ट मार्फत आफूलाई नयाँ धारमा अब्बल सावित गरेका छन् । हिरोइक भूमिका बिनै पनि उनले आफूलाई ‘हिरो’को रुपमा प्रमाणित गरेका छन् । युद्धको परिवेश रहेता पनि फिल्ममा आंग जिरिंग पार्ने हिंसाभन्दा मन अमिलो पार्ने ‘आफ्टरमाथ’ दृश्य हुनु सवल पक्ष हो ।

बलिउडमा प्राय: छुट्टैजसरी आउनेजस्तो गीत छैन यसमा । ‘लन्चबक्स’मा एउटा मध्यमवर्गीय गृहणीमा आफूलाई अब्बल देखाएकी निम्रत कौर (रञ्जितकी श्रीमती) व्यापारीपत्नीमा समेत उत्तिकै स्वभाविक लाग्छिन् । इराक–कुवेत सम्बन्ध र खाडी युद्धबारे बढि नै अपेक्षा गर्नेका लागि भने फिल्मको दायरा साँघुरो लाग्नसक्छ । ‘कला निर्देशन’ अब्बल भएकै कारण भारतकै गुजरात र राजस्थानमा दोस्रो भाग र युएईमा तयार पारिएको पहिलो भागको सेटले कुवेत राम्रैसँग झल्काउन सफल छ । समग्रमा एयरलिफ्ट हेरेर निस्किंदा सायदै कोही दर्शक पछुताउनुपर्नेछ ।

---
रेटिङ: ४/५

No comments:

Post a Comment