Thursday, September 8, 2016

नैनसिंह महरलाई १० प्रश्न


पत्रकार हुँदै विद्यार्थी राजनीति थालेका डडेलधुराका नैनसिंह महर, ४२, नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए । उनीसँग गरिएको कुराकानी :
अध्यक्ष हुन ढिलो भएन ?
नौ वर्षअघि नै म केन्द्रीय उपाध्यक्ष भएको हुँ । दुई वर्षमै महाधिवेशन भइदिएको भए सात वर्षअघि नै अध्यक्ष भइसक्थेँ ।
ढिलो हुँदा के हानि भयो  ?
मलगायत थुप्रै साथीहरूको राजनीतिक योजना बिथोलियो । व्यक्तिगत उन्नतिमा बाधा पुग्यो । शैक्षिक नीति र कार्यक्रमका सवालमा संगठन खिइयो ।
अब के गर्नुहुन्छ त ?
धनी–गरिबबीचको शैक्षिक खाडल कम नगरे ठूलो सामाजिक जोखिम आउने खतरा छ । देशमा तीनखाले नागरिक उत्पादन भइरहेका छन् । यसले विद्रोहको वातावरण बनाइराख्छ । यसका लागि शैक्षिक माफियाकरण रोक्नुपर्छ । 

को हुन् ती माफिया ? 
शिक्षा र स्वास्थ्यलाई पूर्णत: निजीकरण गर्न खोज्नेमध्येकै हुन् ती । हामी निजीकरणका विरोधी होइनौँ । हामी लोककल्याणकारी राज्यका पक्षपाती हौँ । 
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव कहिले हुन्छ ?
स्ववियु नेविसंघको साख पनि हो । नेविसंघको आन्दोलनकै कारण तत्कालीन पञ्चायती व्यवस्थाले घुँडा टेकेर यसलाई स्थापना गर्न दिएको हो । कलेजहरूमा भ्रष्टाचारमुक्त शैक्षिक प्रशासनका लागि स्ववियुको विकल्प छैन । अब यथाशीघ्र निर्वाचन गर्नुपर्छ र हुन्छ । 
विद्यार्थी आन्दोलनको एजेन्डा के हो ?
समय अनुसार आन्दोलनको स्वरूप फेरिन्छ । अहिलेको आन्दोलन नैतिकताविहीन शिक्षा सुधार गर्दै समाज रूपान्तरण गर्ने हो । राजनीतिक चेतना, संविधान कार्यान्वयनका मुद्दासमेत बाँकी नै छन् । 
नेपाली कांग्रेससँगको सम्बन्ध कस्तो हुन्छ ?
वैधानिक भ्रातृ संगठन भएकाले कांग्रेसको विधान अनुसार चल्नुपर्ने बाध्यता छ । पूर्णत: स्वायत्त संस्था होइन यो । यसो भन्दैमा पार्टीका हरेक कदम आँखा चिम्लेर मान्ने पक्षमा चाहिँ छैनौँ ।
नेविसंघ अध्यक्ष हुनु वा नहुनुले तपाईंको राजनीतिक करिअरमा के फरक पार्छ ?
नैतिक बन्धनसहितको कांग्रेसको नर्सरीका रूपमा नेविसंघलाई लैजाने पुरानो सपना थियो । २० वर्षमा त्यो सपनाको नजिक पुगेको छु । संगठनको संरचनामा अब काम गरेर देखाउने अवसर र चुनौती एकसाथ जुटेको छ । 
अहिलेको शैक्षिक समस्याको जग के हो त ?
हामी सीधै एसएलसी र विश्वविद्यालयमा परिणाम खोजिरहेका छौँ । प्रारम्भिक बाल विकासको पक्षलाई बिर्सिरहेका छौँ । प्रविधिमुखी शिक्षा राज्यको नीति नै बन्नुपर्छ र त्यो सर्वसुलभ हुनुपर्छ भन्ने हाम्रो अभियान हुनेछ । 
विद्यार्थी राजनीतिको शैली परिवर्तन गर्ने बेला भएन ?
हाम्रो झन्डामा मसाल र कलम हुनुको अर्थ त्यही हो । कलमले काम गरेन भने मसाल पनि बल्छ । विद्यार्थी राजनीति यस्तै आवश्यकता अनुसार निरन्तर गतिशील हुन्छ । 

No comments:

Post a Comment