Monday, October 17, 2016

यात्राभूमि नेपाल




प्रदीप बस्यालमनबहादुर बस्नेत

फोटोग्राफर जगदीश तिवारीले खिचेका हजारौँ तस्बिर नेपाल चिनाउने पोस्टकार्डका रूपमा बजारमा छन् । त्यसका लागि उनले तीन दशकयता मुलुकका पचहत्तरै जिल्ला चहारेका छन् । उमेरले ५० काटेका यी ‘मुडी’ फोटोग्राफर अझै पनि अपर्झट यात्रामा निस्किन्छन्, हप्तौँ हराउँछन् । फोटोग्राफर हुनुको एउटा विशेष पक्ष के छ भने उनले पुगेका ठाउँको पनि सबैभन्दा उत्कृष्ट दृश्यावलोकन गरेका छन् ।

झन्डै एक दशकअघि पूर्णिमाको रात एक्लै कालापत्थरमा काटेका रहेछन् तिवारीले । रात जति ढल्कँदै जान्थ्यो, चन्द्रमाको उज्यालो हिमालमा ठोक्किएर विचित्रको चमक देखिन्थ्यो । “सुनसान त्यस रातमा १ सय ८० डिग्रीमा सगरमाथा अगाडिपट्टि राखेर आकाशका तारा हेरेँ,” उनी सुनाउँछन्, “मलाई लाग्यो, स्वर्ग त्यही हो ।”

नेपालमा अझै त्यस्ता थुप्रै ठाउँ छन्, जहाँ स्वर्ग महसुस गर्न सकिन्छ । नेपाल त्यस्तो देश हो, जहाँ घुम्न हिँड्नुअघि धेरै सोचिरहनु आवश्यक छैन । निकै छोटा दूरीमै भेटिन्छन्, विभिन्न जातजातिका, संस्कृति र जीवनशैली । उस्तै विविधतापूर्ण मौसमयुक्त भूगोल । “एउटा खोल्सोमा कलकल पानी आइरहेको हुन्छ । थोरै ढिस्को नाघ्दा झरना देखिन्छ । थोरै माथि उक्लँदा क्रमैसँग मगर गाउँ, शेर्पा गाउँ । नाकै ठोक्किने हिमाल,” तिवारी भन्छन्, “घुम्दा यसभन्दा बढी के चाहियो ?”

भ्रमणका सोखिनहरू विकासका पूर्वाधार खडा भइनसकेको हाम्रो दुर्गम र पिछडिएको जस्तो लाग्ने परिवेशलाई नै वरदान ठान्छन् । जसले यात्रामा साहसीपन अनुभूति गराउँछ । थुप्रै ठाउँका ‘आइटिनरी’ नै बनेका छैनन् । यात्रा कति दिन लम्बिन्छ र के के देखिन्छ भन्ने थाहा हुँदैन । पुगिसकेपछि सबै कुरा ‘सरप्राइज’का रूपमा आउँछन् ।

गत वर्ष रारा ताल पुग्दाको अनुभव त्यस्तै छ, आर्थिक विषयका शोधकर्ता सुरथ गिरी, ३०, सँग । गुगलमा भेटिएको नेपालगन्ज–ताल्चा–रारा रुटलाई छाडेर उनी दैलेखबाट पदयात्रामा हिँडेका थिए । ६ दिन लगाएर पुगेको त्यो रुट त्यस्तो थियो, जसबारे दैलेखीलाई नै खासै थाहा थिएन । यात्रामा इँट्टा भन्ने गाउँमा खण्डहर भएका घर र मानवरहित बस्ती देख्दा द्वन्द्वलाई नजिकबाट अनुभूत गरेझैँ लागेछ उनलाई ।

कालीकोटको सिञ्जा उपत्यकाको छेवै छेउ रारानजिक पुग्दा पनि कहाँ बस्ने के खाने पत्तो नभएर केही बेर त सुरथ र उनका साथीहरू अत्तालिएछन् पनि । “मुस्किलले भेटिएको सानो झुप्रोमै विशेष आतिथ्य पाइयो,” उनी सुनाउँछन्, “यसरी पाइलैपिच्छे भेटिने कथाहरू नै पछिसम्मका लागि यात्राका अमिट स्मृति हुन् ।”


पदयात्राको स्वर्ग 
‘हिमाली मुलुक’को उपमा पाएको नेपाल भन्नासाथ एकथरी विदेशी हिमालकै काखमा मानिस जन्मन्छन्/हुर्कन्छन् भन्ने सोच्छन् । यस्तै प्रतिविम्बकै कारण नेपाल पदयात्रा गर्ने देशका रूपमा खडा भएको छ । अध्यागमन विभाग र नेपाल पर्वतारोहण संघले सन् २०१२ मा निकालेको तथ्यांकले बर्सेनि १ लाख ५० हजारभन्दा बढी पर्यटक पर्वतारोहण र पदयात्राकै लागि भनेर आउने गरेको देखाउँछ । तर, अन्नपूर्ण पदयात्रा मार्गमै एक लाखभन्दा बढी र सगरमाथामा ३६ हजारभन्दा बढी पर्यटक केन्द्रित छन् । अन्यमा केही सयदेखि हजारको संख्यामा पर्यटक सीमित छन् ।

अन्नपूर्ण क्षेत्र अमेरिकाको सबैभन्दा बढी बिक्री हुने म्यागेजिन एएआरपीको सर्वेक्षणमा विश्वकै उत्कृष्ट पदयात्रा मार्ग चयन भएको थियो भने सगरमाथा मेल अनलाइन ट्राभल र वल्र्ड एक्सपिडिसनले निकालेको विश्वका ६ उत्कृष्ट पदयात्रा रुटमा एक नम्बरमा परेको थियो ।

पदयात्रामा यी रुट पूर्वाधारका हिसाबले अगाडि देखिए पनि अरू थुप्रै चर्चामा आउन बाँकी नै छ । जस्तो : उपल्लो मुस्ताङ वा उपल्लो डोल्पाको पदयात्रा रुटसमेत विश्वकै लागि विशेष हुन सक्छन्, भौगोलिक मौलिकता, संस्कृति र जीवनशैलीका दृष्टिले । उपल्लो मुस्ताङको मानव निर्मित एवं मानव बसोवासका गुफा प्राचीन सभ्यताका बाँकी रहेका सुन्दर चिनारी हुन् ।

त्यता अझै कतिपयले मृत व्यक्तिलाई काटेर चराको आहाराका लागि छाड्ने संस्कृति पनि छ । उपल्लो डोल्पामा बुद्ध धर्मभन्दा पुरानो मानिएको बोन धर्मावलम्बीका केही परिवार अझै छन् । डोल्पा सर्किटको २६ दिने यात्रा गरेकी यात्रा पत्रकार शान्ता नेपाली भन्छिन्, “आँखाले भेट् नेसम्मका सुक्खा र शान्त पहाडी यात्रामा दिनभर हिँडेपछि दुई–तीनवटा मात्र परिवार भएका गाउँ आउँछन् । कल्पनासम्म नगरेका ती गाउँ र मानिस नै सबैभन्दा रोचक भइदिन्छन् ।”

अन्नपूर्णतिरको नार्फु ट्रेकमा समेत बिहान ७ बजे हिँडेपछि साँझ ९ बजेतिर मात्र अर्को गाउँ पुगिन्छ । त्यहाँ तीन–चार घरको गाउँ छ । बास त्यहीँ बस्न सकिन्छ । भोलिपल्ट पनि बिहानै नहिँडे बास भेट्न मुस्किल पर्छ । पदयात्रामा साहसिक बन्ने वा सामाजिक बन्ने दुवै विकल्प भएको देश हो नेपाल । जसका कारण अहिले थुप्रैतिर सांस्कृतिक ट्रेलको विकास भएको छ । तल्लो मनासलु ट्रेक त्यस्तै हो, जहाँ दुई साता लगाएर हिँड्दा गुरुङ र घले समुदायका हरेक कुरा थाहा हुन्छ । घले गाउँबाट पोखरा निस्कने गुरुङ हेरिटेज ट्रेलमा त्यसै गरी यात्रा गरेका थिए, गिरीले । चिया खान छिरेको एउटा घरमा महीको ठेकी देखेर जिज्ञासा राखेपछि त्यसमा भएको मही मात्र खान पाएनछन् उनले, पैसा तिर्न खोज्दा हप्की पनि खाएछन् । उनी स्थानीय गुरुङले भनेको सम्झन्छन्, “तपार्इंहरू हाम्रो गाउँ हेर्न भन्दै सहरबाट आउँदा हामी भने मही खाएको पनि पैसा लिऊँला त ? तर, चियाको भने पैसा लिए, चिनी र चियापत्ती किनेको भनेर ।”


सबैतिर मानिस व्यावसायिक भइसकेका छैनन् । किनेरै खाए पनि ठूलो कुरा होइन । तर, त्यही आतिथ्यले गर्दा घरमा बसेको अनुभव हुन्छ । त्यसैले मानिस घुम्ने राम्रो समय यस्ता स्थान व्यावसायिक नहुँदै हो । शान्ताको तर्क छ, “व्यावसायिक भएपछि बिस्तारै भावना मर्छ, अहिलेजस्तो विशेष अनुभव नभेटिन सक्छ ।”

हरेकजसो पदयात्रामा केही न केही विशेष आकर्षण छन्, कतै हिमाल, कतै ताल त कतै सूर्योदय/सूर्यास्त हेर्ने ठाउँ । जहाँ पुग्दा प्रकृतिसँग निकै नजिकबाट ‘कनेक्ट’ हुन्छन् पदयात्री । रारा, तिलिचो, च्छो रोल्पा, पाँचपोखरीजस्ता तालसम्म पदयात्रा गरेरै पुगेका गिरीको अनुभव छ, “फेवा पनि ताल नै हो तर त्यहाँ पुगेर म प्रकृतिसँग कनेक्ट हुन सक्दिनँ तर राराजस्ता ठाउँमा भने जताततै आफू मात्र भएको अनुभूति हुन्छ ।”
पर्यटनविद् सर्वेन्द्र पाछैसँग स्याङ्जा नौडाँडा हुँदै पुनहिल जाने बाटोमा पर्ने लेस्पार भन्ने ठाउँको विशेष स्मृति छ । भन्छन्, “रंगीचंगी फूल फुलेको, अगाडि सेताम्मे हिमालको सम्मिश्रणले मलाई लेस्पार नै स्वीट्जरल्यान्डजस्तो लाग्छ ।”

दोलखाको च्छो रोल्पा तालसम्म पुग्दा गिरीले गाउँपिच्छे रोचक कथा भेटेका थिए । बीचको सिमी गाउँ पुग्दा चार महिना हिमालतिर जाने, चार महिना तराई झर्ने र चार महिना मात्र गाउँमा बस्ने कथा भेटियो । त्यसैले गन्तव्यको आकर्षण एउटा पक्ष भए पनि हाम्रा पदयात्रा मार्गका यात्रा नै रमाइला हुन्छन् । सिन्धुपाल्चोकको पाँचपोखरी जाँदा गिरी र उनका साथीहरू गर्मीमा प्रयोग गरिने गोठमा बास बसेका छन् । उनीहरूसँगै बसेका एक गोठाला रातभर बाहिर निस्केर एकोहोरो कराउँदा रहेछन् । रक्सी खाएर होला भन्ने सोचेका उनीहरूले भोलिपल्ट बाघ लखेट्न त्यसो गरेको पत्तो पाए ।

चराको पछिपछि 
वर्षमा झन्डै एक महिनाजति नेपालमा बिताउने विश्वप्रसिद्ध नेपाली वाइल्ड लाइफ गाइड बुच लामाको नेपाल बसाइ चरा हेरेरै बित्छ । व्यस्त बसाइका बीच पनि केही दिन चितवन, चोभार, फूलचोकी, नागार्जुन, शिवपुरी, चम्पादेवी र धादिङतिर गएर टहलिन्छन् उनी । “चरा हेरेर संसार झन् सुन्दर लाग्छ,” उनी भन्छन्, “यो मेडिटेसन गरेजस्तै हो ।”

८ सय ७१ प्रजातिका चरा पाइने देश हो नेपाल, जुन संसारभर पाइने चराको नौ प्रतिशत हो । तर, हामीभन्दा २२ गुणा ठूलो भारतमा १ हजार ३ सय १४ प्रजातिका चरा मात्र पाइन्छन् । त्यसैले सानो भूगोलभित्र तुलनात्मक रूपमा सजिलोसँग ‘बर्ड वाचिङ’ गर्न सकिन्छ यहाँ ।

अरुण उपत्यका हुँदै कोसी टप्पु, सगरमाथादेखि पश्चिम पर्ने रोल्वालिङ उपत्यका, सुनकोसी उपत्यका, गणेश हिमाल र मनासलुबीचको मस्र्याङ्दी उपत्यका, माथिल्लो मुस्ताङको कालीगण्डकी उपत्यका र कर्णाली करिडरमा साइबेरिया र तिब्बतरिबाट बसाइँ सरेका चरा आउजाउ गर्छन् ।

जाडोमा बसाइँ सर्नेहरू उत्तरतिरबाट आउँछन् भने गर्मीमा बसाइँ सर्नेहरू श्रीलंका र दक्षिण अफ्रिकातिरबाट । धेरै चरा भन्ज्याङ र खोल्साहरू पछ्याउँछन् ।

धेरै उचाइमा उड्ने बार हेडेड गुज (खोया हाँस) पनि शरद् र वसन्त ऋतुमा बसाइँसराइका क्रममा नेपालबाट उड्छ । नौ हजार मिटर माथिबाट उडेर आउँदा जब उचाइ घटाउँदै तल झर्छ, तब नेपाल कटिसकेको हुन्छ । फर्कने बेलामा बल्ल त्यसको राम्रो अवलोकन गर्न सकिन्छ ।

सारसले बसाइँ सर्दैन । तर, डेमोसिल क्रेन नामक सारसकै एक प्रजाति भने कालीगण्डकी हुँदै नेपालतर्फ आएको पाइन्छ । यसको बसाइँ सराइबारे त बीबीसी नेचरको डकुमेन्ट्री ‘अर्थ फ्लाइट’को एसिया र अस्ट्रेलिया संस्करणमा पनि समेटिएको छ । बीचमा आउने समस्या, मौसमदेखि चीलहरूले गर्ने आक्रमणहरू उक्त वृत्तचित्रमा देखिन्छ । आफ्नो नेपाल यात्राका क्रममा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरले तेस्रोपटक मात्रै काँडे भ्याकुर हेर्न पाएका थिए । बर्ड कन्जरभेसन नेपाल (बीसीएन)का अध्यक्षसमेत रहेका पर्यटनविद् सर्वेन्द्र पाछै भन्छन्, “प्यासन नभएको भए त्यो सम्भव थिएन । चाहेर मात्रै हेर्न सकिँदैन । चरा अवलोकन प्राकृतिक दृश्य हेरेजस्तो होइन । दृश्यका लागि हामीले प्रकृतिलाई पछ् याए पुग्छ । तर, चरालाई पछ् याइरहनुपर्छ, कुरिरहनुपर्छ, धैर्यताका साथ ।”

हालसम्म नेपालमा पाइने ७ सय ४२ प्रजातिका चरा अवलोकन गरिसकेका चराविद् हठन चौधरीका भनाइमा, चराको व्यवहार बुझेर मौसम अनुसार पछ्याउने हो । भन्छन्, “पहिले छरछिमेकमा देखिने चरा चिन्नुपर्‍यो । र, त्यससँग तुलना गर्ने हो ।”

पहाडतिर चरा हेर्न जानुपरे वसन्त ऋतुमा हिँड्नुपर्छ, जुन फूल फुल्ने समय पनि हो । तराईमा मंसिर–पुसदेखि माघ–फागुनसम्म देखिन्छ । रैथानेका लागि त्यस्तो विशेष छैन । पर्यटकहरू यस्तै आइटिनरीमा रहेर बर्ड वाचिङ गर्छन् । रैथाने चरामा पनि पानी चरा हेर्न कोसी टप्पु ठीक छ । त्यहाँ प्राकृतिक ब्रिडिङ कोलोनी पनि छ । घाँसे मैदान र सालघारीमा पाइने चराका लागि चितवन प्रख्यात छ । त्यहाँ लाँचे र धनेसको प्रजाति पाइन्छन् । फार्मल्यान्ड धेरै भएको लुम्बिनी सारसका लागि विशेष हो ।

बर्दियाको बढैया तालमा पेन्टेड स्टोर्क नामको दुर्लभ चरा गर्मी याममा आउँछ । यस्ता चरा चौधरीले ३२ वटासम्म गणना गरेका छन् । जलअप्सराको ब्रिडिङ पनि त्यहीँ हुन्छ । नेपालमा मात्रै पाइने लोपोन्मुख प्रजातिको काँडे भ्याकुर उपत्यकानजिकैका शिवपुरी र चम्पादेवीमा सजिलै देख्न सकिन्छ । चौधरी ठान्छन्, “दुर्लभ चरा आफ्नै आँखाले देखियो वा तस्बिरमा कैद गर्न सकियो भने त्यो विशेष आनन्दको क्षण हो ।”

चराका प्राकृतिक रंग यति सुन्दर र कलात्मक हुन्छन् कि त्यसले पनि अर्को आनन्द थप्छ । चौधरी भन्छन्, “कसरी त्यस्तो भयो होला जस्तो लाग्छ, ढाडको सेतो, पुच्छरको रातो । टालेको कपडा लगाएजस्तो ।” चरा हेर्न धैर्य धेरै चाहिन्छ । आधारभूत ज्ञान भने थोरै भए पनि पुग्छ । तर, यसको आनन्द चरा पछ्याउन थालेपछि मात्रै थाहा हुन्छ । चौधरी दसैँलगत्तै चरा हेर्न रारातिर लाग्दै छन् । भन्छन्, “यसपटक मेरो मिसन हिमालयन स्नोकक हेर्ने हो । मुस्ताङको थोराङ पासमा यसको आवाजचाहिँ मैले सुनिसकेको छु ।”

वरदान वन्यजन्तु 
हलिउड अभिनेता लियोनार्दो डी क्याप्रियो आएर बर्दियामा बाघ हेरेको घटना होस् वा नेसनल जियोग्राफिक च्यानलका लागि अमेरिकी टेलिभिजन प्रस्तोता बिल्ली बुसको ‘चेजिङ राइनो विथ बिल्ली बुस’ कार्यक्रम, नेपालका वन्यजन्तुको पाटो नै चर्चामा आउँछ ।

पछिल्लो बाघ गणनामा बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ र सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १ सय २० को संख्या देखिए पनि बर्दिया ‘भिजिबिलिटी’का आधारले सबैभन्दा लोकप्रिय छ । टाइगर टप्सका चिफ नेचरलिस्ट रामदिन महतो भन्छन्, “यहाँ कर्णाली नदीले थुप्रै टापु बनाएको छ, जसले गर्दा बाघको पानीको स्रोतलाई पछ्याउँदै अवलोकन सम्भव छ । चितवनमा जस्तो ठूला झाडी नभएकाले पनि अवलोकन सहज हुन्छ ।” महतो हालै अन्तर्राष्ट्रिय टफ टाइगर वाइल्ड लाइफ टुरिजम अवार्डमा ‘नेचरलिस्ट अफ द इयर २०१४’ तर्फ रनर अप भएका थिए । बाघ लजालु स्वभावको हुने भएकाले अवलोकनअघि शान्त र धैर्य रहने कला सिक्नुपर्ने उनी ठान्छन् ।

दूरीका हिसाबले बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र थोरै माथिको खप्तड राष्ट्रिय निकुञ्ज निकै नजिक छन् । त्यही भएर अचेल शुक्लाफाँटामा बाह्रसिंगा, कृष्णसार र हरिण हेरेर खप्तडको हिउँ खेल्न सम्भव छ । शुक्लाफाँटामा सयौँका संख्यामा बाह्रसिंगाहरू दगुरेको दृश्य सहजै देखिन्छ । उता चितवनमा लामा काठे ढुंगामा खोलामा क्यानोइङ गर्दा छेउमा घाम तापिरहेका गोहीले मन फुरुंग पार्छ । बर्दियाको बबई नदीमा घडियाल र मगर गोही देखिँदा यात्रारत गाडीसमेत केही बेरलाई रोकिन्छन् । फोटोग्राफर तिवारीको बुझाइ छ, “मानिस यस्ता दृश्य हेर्न नै समय र पैसा खर्चन्छन् । हामीकहाँ त हेर्दिनँ भने पनि देखिन्छ ।”

असली गन्तव्य 
लुम्बिनीदेखि जनकपुर, पोखरादेखि इलाम, जोमसोमदेखि नाम्चेबजार । गन्तव्य मात्र पुग्छु भन्नेलाई सहज विकल्प हुन्, यस्ता गन्तव्यहरू । जनकपुरको जानकी मन्दिरमा विवाह पञ्चमीका दिन पुग्दा त्रेता युगमा राम–सीताकै बिहेमा पुगेको अनुभूति हुन्छ । मन्दिरको मुगल शैलीको वास्तुकला जोकोहीका लागि विशेष आकर्षण हो । लुम्बिनी र आसपासका बौद्ध धाममा त्यस्तै आत्मिक शान्ति महसुस हुन्छ । फोटोग्राफर तिवारी भन्छन्, “कहीँ पुग्दा मनले औसतभन्दा बेग्लै अनुभूत गर्छ भने असली गन्तव्य त्यही हो ।”

पोखरा पुगेर एकै दिनमा थुप्रै आनन्द उठाउन सम्भव छ । बिहानै सराङकोटबाट सूर्योदय हेर्नु, त्यहीँबाट प्याराग्लाइडिङ गर्दै तल झर्नु । दिउँसो फेवातालमा डुंगा चढ्नु, गुफाहरू हेर्नु र साँझपख लेकसाइडका ‘कस्मोपोलिटन’ संस्कृतिका प्रभाव झल्कने रेस्टुराँमध्ये आफू अनुकूलको छानेर ‘ह्याङआउट’ गर्नु । फेवातालमा हिमालको प्रतिविम्ब वा होटलको झ्यालबाटे हिमालको दृश्य, पोखरा पुगेपछि यति त सामान्य नै हुने भए ।

त्यसबाहेक स–साना गन्तव्यका रूपमा देशमा इलाम, धनकुटा, पाल्पा, डडेलधुराजस्ता थुप्रै हिल स्टेसन छन् । त्यसमाथि अहिले होमस्टेको अवधारणा जताततै फस्टाएको छ । टीकापुरको थारू होमस्टे होस् वा चित्लाङको पुरानो नेवार बस्ती । कतै थारूले खाने घोँगीका परिकार त कतै बाख्राको दूधबाट बनाइने चिज । यात्रा पत्रकार नेपाली भन्छिन्, “होमस्टेको फैलँदो लहरले दिगो पर्यटनको जग निर्माण गरिरहेको छ ।”

काठमाडौँका मन्दिरमा हिन्दु र बौद्ध धर्मको सम्मिश्रण हुनु यहाँको सांस्कृतिक सुन्दरता हो । यस्तो अरू देशमा छैन । जस्तो : हिन्दुले पूजा गर्ने मच्छिन्द्रनाथ र बौद्ध धर्मावलम्बीले पूजा गर्ने लोकेश्वर एकै हुन् । कुमारी हिन्दुले पूजा गर्छन् । तर, कुमारी छनोट भने बौद्ध धर्म अँगाल्ने शाक्य समुदायबाट हुन्छ । “सांस्कृतिक अन्तरघुलनका यस्ता सुन्दर पक्ष नेपालमा थुप्रै पाइन्छन्,” पाछै भन्छन् ।

फोटोग्राफर तिवारीको सुझाव छ, “मगरले थारूका बारेमा, थारूले शेर्पाका बारेमा थाहा पाउनुपर्छ । त्यस्तो बन्धनलाई कसैले टुटाउनै सक्दैन र राष्ट्रियता बलियो हुन्छ ।” नेपालमा पर्यटक आउने सिजनको सुरुआत नै सांस्कृतिक पर्वबाट हुन्छ, जसको पहिलो खुड्किलो इन्द्रजात्रा हो । यो जात्राताका पर्यटक भित्रिने क्रम सुरु हुन्छ । दसैँ–तिहारजस्ता ठूला पर्वमा त पर्यटक आगमनको हिस्सा दर ठूलै हुन्छ ।

सानो देश भए पनि भौगोलिक विशिष्टताका कारण नेपालमा अझै खोजी हुन बाँकी ठाउँ र आकर्षण छन् । यात्राका सोखिनहरू विश्वमै उत्कृष्ट मानिएको अन्नपूर्ण सर्किट अहिले सडक विस्तार भएसँगै पहिलेजस्तो विशेष नरहन सक्ने चिन्ता व्यक्त गर्छन् । त्यस्तो विकास बिस्तारै सबैतिर फैलिँदै जाँदा यात्रा सहज र व्यावसायिक त बन्ला तर अहिलेजस्तो प्राकृतिक स्वरूपको र विशेष नहुन सक्छ । त्यसैले विकासले गति लिइनसकेको यही समय घुम्नका लागि सबैभन्दा उपयुक्त हो, जुन अनुभव आउँदा पुस्ताका लागि पनि लोभलाग्दा कथाका रूपमा रहन सक्नेछन् ।

साहस जाँच्ने भूमि
पछिल्लो समय सबैभन्दा बढी फस्टाएको साहसिक पयर्टन हो । प्राकृतिक रूपमा हुने पदयात्राबाहेक यहाँ थुप्रै ‘प्रोडक्ट’ सुरु भएर व्यावसायिक रूपमा सफल पनि छन् । अचेल पारखीहरू पोखरा पुग्नासाथ सकेसम्म प्याराग्लाइडिङ गर्न छुटाउँदैनन् । त्यसैले पनि हो, पोखरामा खुलेका एक दर्जनभन्दा बढी प्याराग्लाइडिङ कम्पनीमार्फत एक सयभन्दा बढी स्वदेशी पाइलट तयार भएका । त्यसबाहेक खेलौनाजस्ता अल्ट्रालाइटमा पोखरा फन्को मार्छन् । उता भोटेकोसीमा बन्जी जम्प वा स्विङमा शरीरमा डोरी बाँधेर उचाइबाट फाल हान्दै साहसिक खेलको मज्जा लिन्छन् । देशका दर्जनौँ झरनामा क्यान्योनिङको सफल अभ्यास भएका छन्, जहाँ मानिस डोरी समातेर पानीसँगै तल झर्छन् । पोखरामा डाँडामा नपुगीकन समथर जमिनबाट ‘टेक अफ’ गर्न सकिने इन्जिनजडित प्यारामोटर र बिना इन्जिन अल्ट्रालाइटजसरी उड्न सकिने ह्यान्डग्लाइडरको अभ्यास भइसकेको छ । जिप फ्लायरमार्फत भर्टिकल जम्प पनि पोखराकै हेम्जामा सम्भव छ ।

एयरपोर्टबाट उडेर फेवातालमा ओर्लने अभ्यास पनि भइसकेको छ । स्काई डाइभिङका लागि पोखराको तामेमा समेत हेलिकप्टर र अल्ट्रालाइट जहाजबाट सफल अभ्यास भइसकेको छ । अर्कोतर्फ एभरेस्टमा समेत हवाईजहाजबाट त्यसको अभ्यास भएको छ । “पोखरालाई विश्वका थुप्रै पाइलटले स्काई डाइभिङका लागि उत्कृष्ट ठाउँ बताएका छन् तर अहिलेसम्म दक्ष पाइलटलाई मात्र त्यसको अनुमति छ,” एभिया क्लबका निर्देशक प्रवीण गौचन भन्छन्, “विश्वकै ग्लाइडिङ केन्द्रका रूपमा विकास हुने सामथ्र्य छ पोखरासँग ।”

पदयात्राको राजा- ग्रेट हिमालय ट्रेल 
-  सौरभ ढकाल
सुदूर–पूर्वदेखि सुदूर–पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेल (जीएचटी) झट्ट सुन्दा विदेशी लक्षित गन्तव्यजस्तो लागे पनि त्यो खासमा स्वदेशी पर्यटकका लागि उपयुक्त हो । बृहत् उच्च हिमाली पदमार्ग भनेर केही वर्षयता चर्चामा आए पनि यो पदमार्ग हाम्रा पूर्वज एक ठाउँबाट अर्को ठाउँ जाने चल्तीका बाटो हुन् । तिब्बतसँगको व्यापारमा पनि यी बाटो प्रयोग भए । उच्च हिमाली भेगमा अहिले पनि यही पदमार्ग मुख्य बाटो हुन् । किनभने, यता अझै सवारी गुड्ने बाटोहरू बनेका छैनन् । उच्च पहाडी र हिमाली जिल्लाको सदरमुकाम अलि तल नै छन् ।
हिमालको काखबाट अघि बढ्ने करिब १ हजार ७ सय किलोमिटरको क्षेत्र भए पनि यसको विशेषतालाई खण्ड खण्डमा व्याख्या गर्न सजिलो छ । फरक खण्डले फरक–फरक विषेशता, समुदाय, संस्कृति र हावापानी बोकेका छन् । ताप्लेजुडको कञ्चनजंघा क्षेत्रको विशेषता बेग्लै छ । हिउँचितुवाका लागि चर्चित यो क्षेत्रमा पातला बस्तीहरू छन् । पर्यटकीय सुविधाहरू पनि कम भेटिन्छ । ताप्लेजुड, संखुवासभाका तल्लो भाग अलैँची र रुद्राक्ष उत्पादनका लागि प्रसिद्ध छन् ।

हिमाल हेर्ने मात्र नभई ग्रामीण परिवेशमा घुलमिल हुनका लागि पनि धेरै क्षेत्र छन् । जस्तो : लमजुङको घलेगाउँ, गोरखाको बारपाक, म्याग्दीको अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गमा चहलपहल बढेका छन् । यहाँ पुग्नेहरू काठमाडौँ, पोखराजस्ता सहरमा हुर्केका तन्नेरी नै बढी हुन्छन् । र, प्याकेज पनि नेपाली लक्षित नै गरेर बनाइएका छन् ।

नेपालीको घुम्ने स्वभाव धेरैजसो धार्मिक उद्देश्यबाट प्रेरित देखिन्छ । रसुवाको गोसाइँकुण्ड, प्यूठानको स्वर्गद्वारी, मुस्ताङको मुक्तिनाथ वा ताप्लेजुङको पाथीभरा, बाजुराको बडीमालिका र डोटीको खप्तड क्षेत्र यसका लागि विख्यात छन् ।

माओवादी द्वन्द्वको कथा बुझ्न गुरिल्ला पदमार्ग पनि अहिले चर्चामा छ । म्याग्दी, बाग्लुङ, रुकुम, रोल्पा हुँदै डोल्पा पुगेर टुंगिने यो रुटमा चरम विकास अभाव र त्यसमा पनि द्वन्द्वले ध्वस्त पारेका संरचनाको अवशेष देखिन्छ । यहीबीचमा ढोरपाटनको सिकार आरक्षण पनि पर्छ । रुकुम, डोल्पामा यार्सागुम्बा टिप्ने मेला नै लाग्छ ।

डोल्पाको से–फोक्सुन्डो र मुगुको रारा उत्कृष्ट ताल हुन् । कर्णालीको तिरैतिरको त झन् अर्के विशेषता छ । कर्णाली नदी पनि आकर्षणको केन्द्र हो । यसमा डल्फिनदेखि अनेक जलचर भेटिन्छन् । ठूला माछा मार्न र र्‍याफ्टिङका लागि पनि कर्णाली चल्तीको क्षेत्र हो ।

प्राकृतिक सुन्दरताका हिसाबले हेर्दा दक्षिणबाट एक सय किलोमिटर माथितिर लाग्दैमा हिमाल देखिन थाल्छ र केही किलोमिटर माथि जाँदा हिउँ पर्न सुरु हुन्छ । अझ केही किलोमिटर उत्तर लाग्नूस्, हिमालको काखमा पुग्नुहुन्छ । यो विशेषता पूर्वदेखि पश्चिमसम्म उस्तै हो । महाभारत शृंखलालाई आधार मानेर बन्दै गरेको मध्य पहाडी लोकमार्गले थप नयाँ पर्यटकीय सम्भावनालाई बाहिर ल्याउनेछ ।

ब्रह्मान्डको बोन्साई
- तीर्थबहादुर श्रेष्ठ, वनस्पतिविद्

दसैँ–तिहारको समयमा हिमाल, पहाड वा तराई जता पनि घुम्न र रम्न सकिन्छ । बाढी–पहिरोको डर नहुने, खेतबारीमा बालीनाली भरिभराउ हुने र चारैतिर फूल फुलेर लहलह देखिने याम हो यो । हामीकहाँ पर्यटनलाई भूगोल, समाजशास्त्र, मानवशास्त्र, भूगर्भका शैक्षिक कोर्सहरू बनाएर अफर गर्न सकिन्छ । करिब ४० वर्षअघि मैले काठमाडौँको बालाजुबाट जुम्लासम्म पैदल यात्रा गरेको थिएँ । त्यस बेला म पोखरा हुँदै थाकखोला भएर गएको थिएँ । त्यहाँको जस्तो आतिथ्य सत्कार मैले कहीँ भेटेको छैन । त्यस बखतको भूगोल र अहिलेको भूगोल परिवर्तन भएको छैन ।

काठमाडौँबाट सबैभन्दा नजिकको रमाइलो ठाउँ जानुपर्‍यो भने लाङटाङ र चितवन पुग्छु । सूर्योदयको अनुपम उदाहरण इलामको श्रीअन्तुमा देखिन्छ । मलाई भने माछापुच्छ्रेमुन्तिरको ल्वाङघलेको सूर्योदयको दृश्यले अद्भुत आनन्द दियो । शिरमा माछापुच्छ्रे, तल मादी खोला । बीचमा उपत्यका शैलीको ल्वाङघले । सूर्योदयको समयमा ल्वाङघलेबाट एकैछिन प्रकृतिको गजबको लीला देखिन्छ । सूर्य उदाउने बेलामा चाँदी टल्केजस्तो देखिने मादी खोला । ठूलो नदी नभई नसैनसा छरिएजस्तो । टुप्लुक्क सूर्य उदाउँदा उदाउँदै फेरि त्यो दृश्य सुनौलो हुँदै बग्छ ।

थोरै घाम छिप्पिएपछि पूरा उपत्यका रगतजस्तो रातै हुन्छ । ल्वाङघलेबाट पश्चिम फर्किंदा नदीमा जुन रंग हुन्छ, त्यही दृश्य माछापुच्छ्रेको टुप्पोमा पनि हुन्छ । नदी चाँदी हुँदा माछापुच्छ्रेको शिर चाँदी नै बन्छ । हिमाल, नदी र सिंगो उपत्यकामा एकसाथ सूर्यको किरणको नाटक मैले कहीँ देखेको छैन । यो चैत–वैशाखतिर देखेको हुँ, मैले ।

सब–ट्रपिकल क्षेत्रमा पर्ने गोरखाको स्याला उपत्यका सूर्योदयका लागि ठ्याक्क मिलेको ठाउँ हो । अन्तुबाट उदाएको सूर्य जमिनबाट उम्रिएजस्तो देखिन्छ । सूर्यको किरणको प्रभाव कञ्चनजंघा हिमालमा देखिन्छ । मनासलु जाने बाटोमा पर्ने स्याला यस्तो उपत्यका हो, जहाँ माथि फर्कंदा नीलो आकाश, वरिपरि सेताम्मे हिमाल र बीचमा हरियाली देखिन्छ । यस्तो अलौकिक दृश्यले को पो मोहित नहोला ?

मेरो स्मृतिमा अझै रमिरहेको अर्को ठाउँ हो, गोरखाको सेराङगोम्पा । ‘हिडन भ्याली’ भनिने यसलाई माइकल एरिजले झुन्डिएको उपत्यका नाम दिएका छन् । बादलमाथिको देशजस्तो देखिन्छ यो । निकै तल बूढीगण्डकी बगेको छ । माथि अलिकति सम्म परेर सेराङगोम्पा टापु छ । एकातिर हिमाल छ । नजिकै केही देखिँदैन । टाढाटाढा मात्रै देखिन्छ ।
त्यहाँको स्थानीय भाषामा यसलाई बेयु अर्थात् खुसियालीको उपत्यका । यहाँ घोरलहरू पशुपति र स्वयम्भूमा बाँदर आएजस्तै बथानै आउँदा रहेछन् । त्यहाँका लामाले घोरललाई नुन दिँदा रहेछन् । मानिस र जनावरबीच जहाँ पनि शत्रुतापूर्ण व्यवहार/सम्बन्ध हुन्छ । तर, त्यहाँ समाजका सदस्यजस्ता रहेछन् ।

डोल्पामा सेगोम्पा भन्ने ठाउँ छ । अन्यत्रबाट हिमाल उत्तरतिर मात्रै देख्छौँ हामी । तर, म झन्डै आधा घन्टा त रनभुल्लमा परेँ । किनभने, नक्सा हेर्दै पूर्व हिँडेको पश्चिमतिर पो लागेछु । मसँगै गएका साथीहरूले देखेपछि कराए, त्यता होइन भनेर । हिमाल हेरेर मैले दिशा निर्धारण गरेको थिएँ । हाम्रो दिमागमा हिमाल उत्तरमै पर्छ भन्ने कम्पास बनिसकेको रहेछ । तर, त्यहाँबाट हिमाल दक्षिणतिर देखिने रहेछ ।

क्यानडामा ग्लोबल डोम भनिने एउटा म्युजियम छ । त्यहाँ विश्वका सबै किसिमका हावापानी, संस्कृति, भूगोल राखिएको छ । उत्तरी गोलाद्र्धदेखि दक्षिणसम्म पाइने सबै चीज यही म्युजियमभित्र तीन–चार घन्टाको दूरीमा देख्न पाइन्छ । यो कृत्रिम डोम हो । तर, नेपाल भने प्रकृतिप्रदत्त डोम हो । यहाँ संसारका जुनसुकै कुनामा पाइने हावापानी, वनस्पति, संस्कृति, जीवनशैलीलगायत सबै कुरा पाइन्छ । तीन घन्टा घुम्दा संसार फन्को मारेजस्तो लाग्छ । यो विश्वका कुनै पनि देशको भूगोलमा छैन ।

रसुवादेखि रक्सौलसम्मका रमाइला ठाउँ पुग्दा यस्तो अनुभूति गर्न सकिन्छ । लाङटाङमा ब्रेकफास्ट । मकवानपुरको दामनमा लन्च र त्यही साँझ सौराहाको बसाइ । एउटै ट्रिपमा विश्व भ्रमण भयो । अल्पाइन, सब–अल्पाइन, टेम्परेट र ट्रपिकल हावापानी । काठमाडौँ, भोट, पहाड र तराईका जीवनशैली, रहनसहन देख्न र अनुभूत गर्न सकिन्छ । अर्को शब्दमा नेपाल संसारको प्रतिमूर्ति हो । जसरी जापानीले ठूलो रूखलाई बोन्साई बनाएर त्यसमा सबै चीज पाउन सकिने क्षमताको बनाउँछन् । त्यसै गरी नेपाल पनि ब्रह्माण्डको बोन्साई हो । सबै हावापानी, जैविक र सांस्कृतिक विविधता, मानिसका शरीरिक बनोट र विशेषता यो बोन्साईमा छन् ।

(२६ असोज ०७१ को नेपाल म्यागेजिनमा पहिलोपटक प्रकाशित)

No comments:

Post a Comment