Thursday, March 8, 2018

सिरिया रोइरहेछ



६ फागुन यता पुन: एकपटक सिरियाले विश्वको ध्यान खिचेको छ । राजधानी दमास्कस छेवैको पूर्वी गुट शहरमा रसिया समर्थित सिरियाली सैन्यबलले गरेको हमलामा १० दिन बिचमा ६ सय बढि मानिसहरु मारिए । ४ लाख जनसङ्ख्या भएको उक्त क्षेत्र उसै पनि विद्रोही आधार क्षेत्र भन्दै शुरुदेखि नै आन्तरिक नाकाबन्दीमा थियो । भोकमरीका कारण बालबालिकाहरु कुपोषणको समस्या झेलिराखेका थिए । त्यहाँ टर्की, रसिया र इरानबिच त्यस क्षेत्रमा हवाई उडान नगर्ने सहमति समेत थियो । तर राजधानीलाई पर्नसक्ने संकटको मूल्यमा सरकारपक्ष जोखिम मोल्न चाहेन । त्यहाँ रसायनिक हतियारको समेत प्रयोग भएको आशंका गरिएको छ जसलाई भने सरकारी र रसिया पक्षले अस्विकार गर्दै आएका छन् ।

यसै पनि सिरिया भद्रगोल छ । युद्धरत पक्षहरु ७ बर्षपछि थुप्रैतिरबाट झन् बढि विभाजित छन् र सबैतिर विदेशी हस्तक्षेप छ । ती विदेशी शक्तिहरु कसलाई कहाँसम्म पुर्‍याउने हो भन्नेमा स्पष्ट छैनन् । न त उनीहरु आफू एउटा कुनै मिलनविन्दु खोज्ने प्रयासमा छन् । अमेरिकाको निशाना कमसेकम देखिनेगरी यसअघिसम्म आइएस भनिने ईस्लामिक स्टेट्ससँग थियो जुन पछिल्लो समय सिधै राष्ट्रपति बसर अल असादप्रति लक्षित छ । साउदी अरब, रसिया इरानका आफ्नै भूमिका, स्वार्थहरु झन्झन् जेलिइराखेका छन् । ३ लाखदेखि ५ लाखबीचमा भिन्नभिन्न दावीबीच मृत्युकै स्पष्ट आँकडा नै राख्न छाडिएको छ ।

इजिप्टदेखि यमनसम्म, लिवियादेखि बहराइनसम्म फैलिएको ‘अरब स्प्रिङ’ भनिने प्रजातन्त्रको लहर त्यतिखेर सिरियामा समेत बेरोजगारी र प्रजातन्त्रको बहानामा उठेको थियो । त्यसको शुरुवाती कडी भित्तामा सरकारविरोधी नारा लेखेका कारण पक्राउ परेका १५ बालबालिका परे, जसलाई यातना समेत लिइएको समाचारहरु आएका थिए । उनीहरुको रिहाईको माग गर्दै सन् २०११ को मार्चमा प्रजातन्त्र पक्षधर आन्दोलनकारी समूहको शान्तिपूर्ण प्रदर्शनमा भएको हमलाबाट सिरिया युद्धको झिल्को उठेको थियो । एकपछी अर्को गर्दै प्रदर्शनकारी र सत्तापक्षबीच संकट चुलिन थाल्यो । प्रदर्शनकारी पक्षबाट समेत शृङ्खलाबद्ध गोलाबारी शुरु भयो ।

केही सिरियाली सेनाहरु नै जागिर छाडेर प्रदर्शनकारीको कित्तामा गएर आफूलाई ‘फ्रि सिरियन आर्मी’ घोषित गरेपछि प्रदर्शनले गृहयुद्धको स्वरुप लिएको थियो । अतिवादी सोच बोकेका मुस्लिमहरु विश्वभरबाट सिरिया पुग्न थाले । त्यसैबेला असाद आफैले जेलमा रहेका अतिवादी आतंककारीहरुलाई छाडिदिएपछि युद्धले नयाँ मोड लिएको थियो । असादको उद्देश्य चाहिँ सिरियामा खेल्न खोजिराखेका विदेशी शक्तिलाई रोक्ने कवचको रुपमा त्यसले काम गरोस् भन्ने थियो । उनले सोचेजसरी अल कायदाले सन् २०१२ को शुरुमै सिरियामा आफ्नो शाखाको रुपमा जबात अल नुर्साको स्थापना गर्‍यो । त्यसै बेला उत्तरी सिरियामा लामो समयदेखि स्वायत्तता खोजिराखेका कुर्दिसहरु पनि असादको शासनबाट आफूलाई अलग्याउँदै हतियार समाते ।

सन् २०१२ मै घटनाक्रमले छद्मयुद्धको स्वरुप लियो । सिया मुस्लिम कित्ताको नेतृत्व गरिराखेको इरानले अघोषित रुपमै असाद राजलाई सघाउन थाल्यो । उतिखेरै पर्सियन खाडिबाट साउदी अरब नेतृत्वका सुन्नी बाहुल्य देशहरुले इरानलाई रोक्ने दाउमा असादविरुद्ध लडिरहेका बिद्रोहीहरुलाई हतियार र पैसा पठाउन थाले । इरानले लेबनानी सैन्य दस्ता हेजबुल्लालाई असाद पक्षबाट लड्न लगायो । हेजबुल्ला लेबनानको सिया राजनीतिक पार्टी समेत हो, जसलाई अमेरिका, बेलायत, इजरायल, गल्फ कोअपरेसन काउन्सिल र अरब लिग समेतले आतंककारी घोषणा गरेका छन् । युद्धमा हेजबुल्लाको प्रवेशसँगै सुन्नी मुलुकहरुले विद्रोहीलाई गरिराखेको आफ्नो सहयोगलाई बढोत्तरी गरे । सिरिया युद्धले सिया–सुन्नी युद्धको रंग लियो ।

सिया र सुन्नी कित्ताको नेतृत्व गरिराखेका मध्यपूर्वका दुई शक्ति इरान र साउदी अरब अहिलेसम्म सिधा युद्ध त लडेका छैनन् तर उनीहरुबीचको द्वन्द्व एक अर्कासँग दौत्य सम्बन्ध राख्ने/टुङ्ग्याउनेजस्ता घटनासँगै सतहमा आइराखेको हुन्छ । सिरिया, इराक र यमन उनीहरुको त्यही ‘प्रोक्सी वार’ लडिराखेका छन् । यसलाई पछिल्लो समय मध्यपूर्वको शीतयुद्धको संज्ञा पनि दिन थालिएको छ ।

यतिखेर इरान र साउदी दुवै अनपेक्षित र भद्रगोल मोडमा छन् । तर युद्धबाट पछि हट्ने सुविधा पनि छैन दुवैलाई ।

अमेरिका सिरिया युद्धमा छिरेको सन् २०१३ मा थियो । राष्ट्रपति बाराक ओबामाले आफ्नो गुप्तचर संस्था सीआइएलाई एक गोप्य आदेशमार्फत् असादविरुद्ध लडिराखेका विद्रोहीलाई तालिम र हतियार दिन लगाए । उतिखेरै अमेरिकाले सुन्नी मुलुकहरुलाई विद्रोहीहरु पोस्ने काम नगर्न समेत भन्यो । सुन्नीहरुले सुनेको नसुन्यै गरे । तर जब असादले अगस्त २०१३ मा रासायनिक हतियारको प्रयोग गरे, सारा विश्वले सिरियाको आलोचना मात्र गरेर, खुलेरै असादविरुद्ध उत्रने अवसर पायो । राष्ट्रपति ओबामाले तत्काल ह्वाइट हाउसबाटै असादको कदम सिधै अमेरिकी राष्ट्रिय सुरक्षासँग जोडिएको भन्दै उनलाई ‘जवाफ’ दिन आवश्यक रहेको बताएका थिए ।

सन् २०१४ मा पुग्दा अल कायदाभित्रको आन्तरिक विवादले उसमा फुट उत्पन्न भयो । उसबाट टुक्रिएको आइएस खालिफा भनिने धर्म कानुनको राजतर्फ मोडियो र आइएसआइएस अर्थात् इस्लामिक स्टेट्स इन इराक एन्ड सिरिया बन्यो । सिरियामा बिग्रिएको अवस्थालाई आफ्नो उदयका लागि सबैभन्दा उत्कृष्ट अवसर सोचेको आइएस उसको उद्देश्य अनुसार धेरै हदसम्म सफल मात्र भएन, संसारकै सबैभन्दा क्रुर संगठन समेत बन्यो ।

आइएसको लडाईं त्यसपछि असादभन्दा बढि कुर्द र अल कायदाविरुद्ध हुन थाल्यो । उता त्यसै बर्षको अन्त्यतिर असादविरुद्ध लडिराखेको अमेरिकाको शक्ति आइएसविरुद्ध मोडियो । कालान्तरमा नयाँ अमेरिकी रणनीतिमा उसले त्यस्ता विद्रोहीलाई मात्र प्राथमिकतामा राखेर तालिम दिने भयो, जो आइएसविरुद्ध लड्नेछन् । सन् २०१५ मा आइपुग्दा अमेरिकी नेतृत्वको प्रतिरक्षा संगठन नेटो सदस्य रहेको टर्की सिरियामा जोडियो तर उसको हमला आइएसविरुद्ध नभई सिर्फ कुर्दिसहरुविरुद्ध सोझियो । अमेरिका र उसका मध्यपूर्वकै साझेदारका स्वार्थ र प्राथमिकता समेत बाझिन थाले । टर्कीले किन त्यसो गर्‍यो ? विकिलिक्सले सार्वजनिक गरेका दस्तावेजअनुसार राष्ट्रपति रिसेप एर्दोगानका ज्वाईं जो सरकारका बरिष्ठ मन्त्री समेत हुन्, को संलग्नता आइएसआइएस नियन्त्रित क्षेत्रका तेल प्रशोधन केन्द्रसँग भइराखेको पाइनुले उनीहरुबीच व्यापार भइराखेको हुनसक्ने बलियो आधार दियो ।

सन् २०१५ को अन्त्यतिर रसियाले आइएसविरुद्ध लड्ने भन्दै असाद राजको कित्तामा आफूलाई उभ्यायो । पछि उसका हवाई हमलाहरुदेखि प्रायोजित आतंककारीजस्ता अस्त्रहरु बाक्लिन थाले । तर रसियाको निशानामा आइएसजत्तिकै अमेरिकी साथ पाएका विद्रोहीहरु समेत पर्न थाले । अनि सिरिया विश्वका दुई ठूला सैन्यशक्ति अमेरिका र रसियाबीच छद्मयुद्धको रणभुमि बन्न पुग्यो ।

रसियाले खुला रुपमा आफूलाई सिरिया युद्धमा सामेल गराएपछि त्यसको सबैभन्दा बढि मारमा सर्वसाधारणहरु परे । त्यही उत्कर्षका बिच सन् २०१५ मा मध्यपूर्व र युरोपले दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो शरणार्थी संकट झेल्न पुगे । अहिले एक तिहाई सियिरालीहरु आफ्नै देशभित्र विस्थापित छन् भने ४० लाख बढि देशबाहिर शरणार्थी बनेका छन् ।

सबैभन्दा बढि छिमेकी इराक, जोर्डन, इजिप्ट, लेवनान र टर्कीका शरणार्थी शिविरमा छन् । जबकि साउदी अरब, कतार, कुवेत, बहराइन, युनाइटेड अरब इमिरेट्स (युएई), ओमानजस्ता पर्सीयन खाडिका अरब राष्ट्रहरुले मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलको शब्दमा ‘लज्जाजनक’ रुपबाट एकजना समेत सिरियालीलाई शरण दिएनन् । शताब्दीकै ठूलो शरणार्थी संकटका रुपमा अथ्र्याइएको सिरियाली संकटका लागि राष्ट्रसंघिय शरणार्थी नियोग (युएनएचसिआर) र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) दुवै तयार थिएनन् जसले शिविरहरुभित्रै पनि सिरियालीहरुको हालत भोक र रोगका दृष्टिबाट दयनिय अवस्थामा छ ।

अमेरिकामा ट्रम्प राष्ट्रपति बनेसँगै शुरुमा उनले सिरियमा आफू थप नफस्ने बताएका थिए । तर २०१७ को शुरुतिरै असादले प्रयोग गरेको रसायनिक हतियारले ओबामाजस्तै ट्रम्पलाई पनि तर्सायो । ‘टमहक’ भनिने लामो दूरीको मार हान्ने क्षेप्रास्तमा मार्फत् सिरियाली सैन्य आधारहरुमा हमला गर्‍यो । अमेरिकाले सिधै र खुला रुपमा सिरियामाथि गरेको पहिलो हमला थियो त्यो ।

बहुपक्षिय बनेको सिरिया युद्ध यतिखेर झन् भद्रगोल अवस्थामा पुगेको छ । केही गरी गुमेका क्षेत्र असाद राजले फिर्तै पाए पनि कसरी पुरानो स्वरुपमा आउंछ भनेर कल्पना समेत गर्न सकिंदैन ।

सिरिया संकटको मार शरणार्थीमार्फत् सबैभन्दा बढि पर्ने एउटा भुभाग युरोप पनि हो । तर शुरुदेखि यस मामिलामा पन्छिन खोजिराखेको छ । सन् २०१५ तिरबाट जब शरणार्थीको आउने क्रम बढ्यो युरोपेली युनियनले आफ्ना सीमामा उच्च स्तरको सुरक्षा संयन्त्र खडा गर्न भन्दै २ अर्ब युरो खर्चेर हाइटेक प्रविधिहरु जडान गरेको थियो । तर शरणार्थीका लागि उल्लेख्य केही खर्च सकेन वा चाहेन ।

युरोपमा पहिलोपटक पाइला टेकेकै देशमा शरण लिनुपर्ने कानुनी प्रकृया भएकाले थुप्रै देश कानुनी रुपबाटै संकटमा परेका छन् । तटिय मुलुकहरु उक्त कानुनी संकट निरुपण गर्न अन्यबाट साथ पाएका त छैनन् नै यस्तो मानविय संकटबिच विश्व एकजुट हुनुभन्दा बढि विभाजित देखिन्छ । सबैभन्दा नजिकको ग्रिस आफ्नो आर्थिक संकटकै बिच शरणार्थीको अर्को चेपुवामा परेको छ ।

बेलायतले भुमध्ये सागरमा शरणार्थीलाई रोक्ने र फिर्ता पठाउने अपरेसन ‘मारी नोस्टम’ नै चलायो जसको अर्थ थपले त्यस्तो बाटो नखोजुन भन्ने थियो । तर त्यो पाठ सिकाउने क्रममै थुप्रैको ज्यान समुद्रमा डुबेर गयो । ६ लाख शरणार्थी लिएको सानो जोर्डनभन्दा ७८ गुणा कुल ग्राहस्थ्य उत्पादन क्षमता भएको बेलायतले सन् २०२० सम्ममा जम्मा २० हजार सिरियाली लिन सक्ने बताएको छ । अमेरिकाको झनै कम अर्थात्् १० हजार लिने भन्ने छ ।

टर्की तटमा ज्यान गुमाएको एक बालकको तस्विरपछि बल्ल संसारको ध्यान यो घटनाक्रमतर्फ खिचियो । जर्मनीले नि:सर्त ८ लाख शरणार्थी लिने घोषणा गर्दै उनीहरुका लागि तयारी शुरु गर्‍यो । त्यो सङ्ख्या सन् २०१४ मा पूरा युरोपले लिएको शरणार्थी भन्दा बढि थियो ।

युरोपलाई मुस्लिमहरुको प्रवेशले आफ्नो समाजिक संयन्त्र, धार्मिक अतिक्रमण र उग्रवाद, उनीहरुको हुने उच्च जन्मदर र अपराधको सबैभन्दा ठूलो भयले यसका लागि सधै संशयमा राख्ने गरेको छ । यद्यपि युरोपमा अहिले नै पनि लाखौं मुस्लिमहरु छन् र ४० लाख नै शरणार्थी युरोपले लियो भने पनि त्यहाँको मुस्लिम जनसङ्ख्या ४ देखि ५ प्रतिसत मात्र बढ्ने आंकडाका बिच उनीहरुबाट धेरै संसय हुनु नपर्ने शरणार्थी पक्षधरहरु ठान्छन् । स्मार्टफोन बोकेका र जिपिएस नेभिगेसनका आडमा युरोप छिर्न खोजेका शरणार्थीहरु शिक्षित र व्यावसायिक दक्षता सहितका छन् जसले युरोपको बुढ्यौली समस्यालाई समेत सघाउनेछ । रियल टाइममा फेसबुक ग्रुपबाट एककिृत हुंदै आफ्ना समस्याहरुसंग जुधेका थिए ।

अधिकांश शरणार्थीहरुको घर फिर्ने आशा नै मरिसकेको छ । एक त सिरियामा युद्ध कहिले रोकिने टुंगो छैन भने अर्कोतर्फ रोकिए पनि सबैतिर भग्नावशेष मात्र बाँकी रहेको सिरिया कहिले पुरानै वा नयाँ स्वरुपमा फर्कने भन्ने टुंगो छैन । सबैभन्दा ठूलो डर त सिरियामा रहेको एउटै विकल्प तानशाहा कि अतिवादी धार्मीक कट्टरपन्थी भन्ने हो । जुनसुकै चयनले जीवनलाई हमेशा धारमा पर्नेछ ।

(एजेन्सीहरुको सहयोगमा)

First Appeared in Nepal Magazine. 




No comments:

Post a Comment