माडवारी समुदायमा विभिन्न चरणमा हुने विवाहमा एउटा अलग्गै पाटो छ, 'संगीत,' जहाँ गीतसंगीत र नाचगानमा रमाइलो गरिन्छ । कोरियोग्राफर प्रतिमा श्रेष्ठले जसका लागि प्रशिक्षण दिन जान्थिन् । तन्नेरीहरू नाच्न चाहन्थे, ऐश्वर्या राय, ऋतिक रोशनजसरी । उनीहरूले सिक्ने नाचका स्टेप पनि सही नै हुन्थ्यो । 'तर सोचेजस्तो राम्रो भने हुँदैनथ्यो,' झन्डै एक दशक अगाडि मनमा खड्किएको कुरा सम्झिन्छिन् श्रेष्ठ ।
अनि श्रेष्ठ स्वयं लागिन् स्वःअध्ययनमा । यु-ट्युबमा सयौं भिडियो हेरिन् । थुप्रैका नाच्ने शैलीलाई सूक्ष्मसँग केलाइन् । थप्छिन्, 'हामीमा बडी, पोज र जेस्चर (अंगहरूले दिने संकेत) को पक्ष निकै कमजोर छ ।' डान्समा यही नै हुनुपर्छ भन्ने त छैन । तर केही सतही तथ्यलाई नकार्न पनि मिल्दैन । जस्तो, साल्सा नृत्य हिपमा धेरै निर्भर रहन्छ त चरिया औंलामा । ब्रेक डान्स खुट्टामा निर्भर हुन्छ भने वेभडान्स छाती र हिपमा । तिनको पोस्चर ठीक भएन भने जुन कुनै राम्रा सूत्रसमेत असफल हुन्छन् । त्यसमाथि नृत्यमा जीवन्तता भर्न शरीरका ५ भाग अनुहार, हात, छाती, हिप र खुट्टा संवेदनशील हुन्छन् । अनुहारले नृत्यले दिन खोजेको भाव बोल्छ, हातले त्यसलाई आकार दिन्छ, खुट्टाले शक्ति सन्तुलन गर्छ, छातीले बहाव/तरंग बनाउँछ भने हिपले मुभमेन्ट देखाउँछ । प्रतिमा भन्छिन्, 'यसैले पनि नृत्यमा शरीरका हरेक अंगको स्फूर्तिदेखि पोस्चर कतिसम्म महत्त्वपूर्ण छ भन्ने बोल्छ ।'
प्रायः पार्टीहरूमा जोडीहरू अँगालिएर 'लिड एन्ड फलो' गर्दै नाच्ने ट्याङ्गो डान्स सिकाउने नेपालमा कोही नभेटिएपछि प्रतिमासम्म प्रस्ताव पुगेको थियो । उनी स्वयंलाई धेरै थाहा थिएन तर पनि केही समय अध्ययन गरेकै भरमा त्यो कामसमेत सकिन् । भन्छिन्, 'यु-ट्युब त मेरा लागि सीप सिकाउने प्राध्यापक वा विश्वविद्यालयझैं नै छ ।' दिल चाहता हैमा चर्चित भारतीय कलाकार मुरद अलीले समेत अभिनय गरेका थिए । त्यसमा सेन्ट अफ अ वमन, अटम इन न्युयोर्क, प|mान्की एन्ड जोनी, वान्स अपन अ टाइम इन अमेरिकाजस्ता चलचित्रका दृश्यहरू जोडेर प्रस्तुति दिइएको थियो । क्विकस्टेप र ट्याङ्गो दुवै बलरुम डान्सका प्रकार हुन् जसमा प्रायः रोयल वा उच्च घरानियाँ नाच्छन् । यस नृत्यमा जोकोही राजकुमार/राजकुमारीजस्तो देखिन्छन् ।
कारण, त्यसमा त्यही पोस्चरलाई बढी ख्याल गरिएको हुन्छ । ट्याङ्गो डान्सको कोरियोग्राफी गरेकी थिइन् । हलिउडमा तिनै दृश्यलाई निकै संवेदनशील रूपमा प्रयोग गरिएका हुँदा त्यसको असली भाव बिग्रन सक्ने संवेदनशील जिम्मेवारी उनले राम्रोसँग फत्ते गरेकी थिइन् । पोस्चरलाई नै जोडेर बिकिनी शो, लिटिल मिस वल्र्ड नेपाल, सन् २०१२ मा एउटै मञ्चमा ६२ जना बालिकाको नृत्यजस्ता थुप्रै रोचक कार्यक्रमको कोरियोग्राफीमा उनको हात छ । भनिन्छ, आकर्षण भन्ने कुरा शरीरसँग भन्दा कैयौं गुणा बढी मोडलको पोजसँग सम्बन्धित हुन्छ । 'पोज त्यतिखेर राम्रो हुन्छ जब नृत्यका स्टेपमा शरीरका भागको अनुपात मिल्छ,' प्रतिमाको भनाइ छ, 'त्यही मिलेन भने सुन्दर लाग्न सक्ने व्यक्ति भल्गर भइदिन्छ ।' यो सूत्र ग्ल्यामरस फोटोसुट होस् या अभिनय दुवैमा उत्तिकै लागू हुन्छ । किनकि पोस्चर वा जेस्चर दुवैको सम्बन्ध बढी ल्याङ्वेजसँग जोडिन्छ ।
बि्रटिस कमेडी अभिनेता चार्ली चाप्लिनलाई नै उदाहरणका रूपमा हेर्न सकिन्छ । 'बडी ल्याङ्वेजका पीता' उनको प्रसिद्धि साइलेन्स इरामा भयो । अर्थात् सन् १९२९ सम्म फिल्ममा रेकर्डेड संवादको सुविधा थिएन । सन् १९१४ मै करियर सुरु गरेका उनले बडी ल्याङ्वेजकै भरमा उत्कृष्ट मनोरञ्जन दिन्थे । 'हाम्रो त्यस्तो युग नै पनि आएन जसको कारण कहिले बडी ल्याङ्वेजको महत्त्व र शक्ति बुझ्न सकिएन,' प्रतिमा भन्छिन्, 'बोलेर बुझाउने त अन्तिम विकल्प हो । तर हामी सुरुमै त्यसमा हतारिन्छौं ।' एउटा राम्रो फिल्ममा नन भर्भल कम्युनिकेसन ६० प्रतिशत हुने भनिन्छ, त्यसमा कलाकारको हाउभाउदेखि वरपरको वातावरण कस्तो छ भन्नेले महत्त्व राख्छ । नृत्यमा भने वातावरणको भूमिका त्यति धेरै हुँदैन जसकारण बडी ल्याङ्वेज र पोस्चर नै मुख्य हुन्छ ।
उनी थप्छिन्, 'हाम्रा फिल्महरू नै हेर्नुस् न, क्लोज सर्टहरू बढी पाइन्छन् किनकि हामी बडी ल्याङ्वेजमा कमजोर छौं ।' पछिल्लो समय चलेका आइटम डान्समा समेत मात्र छोटा कपडाको आड लिन खोजिएको उनी बताउँछिन् । जहाँ असली रूपमा डान्स 'सेक्सी' नभएर 'भल्गर' देखिन पुग्छ । धेरै मोटोपन नृत्य, अभिनयमा समस्या ठान्ने गरिए तापनि खासमा त्यो मोटोपनभन्दा बढी त्यसले पोस्चरमा पारिराखेको असर हो । प्रतिमाको लगाव र प्रयासको अर्थ एउटै हो, शरीर देखिँदैन मात्र शरीर बोल्छ पनि ।
No comments:
Post a Comment