Wednesday, February 6, 2013

'एक्टिभिजमका लागि मोडलिङ्’

काठमाडौँ स्कुल अफ लमा दोस्रो वर्षकी विद्यार्थी पुष्पा पलाञ्चोकी, २०, आफूलाई कलाकारभन्दा महिला अधिकारवादी भन्न रुचाउँछिन्। उनको अवधारणामा गत साता दामिनी फोटो प्रदर्शनी काठमाडौँ र बनेपामा सम्पन्न भयो। प्रदर्शनीमा राखिएका तस्बिरहरूले महिलाहरू समाजमा कसरी कुण्ठित, अपहेलित र असुरक्षित छन् भन्ने देखाएको छ । त्यसकी मोडलसमेत उनै हुन्। तस्बिर भने अभिषेक मास्के र शिलु जैनले खिचेका हुन्।

दामिनी फोटो प्रदर्शनी के कुरामा पृथक् रह्यो ?
सबैमा मैले एक्लै मोडलिङ् गरेकी छु। समाजमा महिलाले भोगिरहेका पीडालाई सादा कपडामा रंगको प्रयोगमार्फत अभिव्यक्त गरेकी छु भने फोटो सुट गरएिका स्थानले समेत धेरै अर्थ प्रकट गरेका छन्।

कुन रंगले कस्तो अवस्थाको प्रतिनिधित्व गरेका छन् ?

मैले पहेँलो, हरियो र सेतो रंग प्रयोग गरेकी छु। पहेँलो रगले दक्षिण एसियाका महिलाबारे बताउँछ भने हरियो रंगले उनीहरूका समस्या र त्यसबाट कसरी गुजि्ररहेका छन् भन्ने देखाउँछ । सेतोले कतैबाट साथ नपाएपछि हुने शारीरकि, मानसिक र भावनात्मक मृत्यु झल्काइरहेको हुन्छ।

अनि, स्थानको प्रयोग नि ?

स्थानको प्रयोग कतै प्रतीकात्मक छ भने कतै कुनै घटना सम्झाउन खोजिएको छ। जस्तो : मैले नागदहमा फोटोसुट गरेँ, जसको अर्थ महिलाहरू पवित्र भईकन पनि पखालिइरहनुपर्छ भन्ने थियो। ग्वार्कोमा बसभित्र विक्षिप्त अवस्थाको फोटोसुट गरेर दिल्ली ग्याङ् रेपको झल्को दिन खोजेकी छु। डुंगा तरेको फोटोमा मृत्युलाई झल्काइएको छ।

दामिनीको अवधारणाचाहिँ कसरी आयो ?

दामिनीको खास अर्थ बिजुली हुन्छ। मैले महिलाहरू बिजुलीझैँ बल्न सक्नुपर्छ भन्ने आवाज उठाएकी हुँ। दिल्ली ग्याङ् रेपको सिकार बनेकी युवतीको 'फेक' नाम पनि दामिनी नै थियो। यी दुई सन्दर्भको सम्मिश्रण हो यो। दिल्ली घटनापछि जसरी भारत र नेपालमा विरोधहरू भए, त्यसमा मैले समेत केही योगदान दिनुपर्ने ठानेर यसो गरेँ।

तपाईं कलाकार, मोडल कि अधिकारवादी ?

 मैले न कहिले मोडल बनुँला भन्ने सोचेँ, न भावी सोच नै छ। मैले त एक्टिभिजमका लागि मोडलिङ् गरेकी हुँ। आफूलाई कलाकार मान्दिनँ। किनभने, तस्बिर अरूले खिचेका हुन् । बरू, म महिला अधिकारवादी नै हुँ।

No comments:

Post a Comment