Tuesday, December 10, 2013

साइन्स सीटीको रमाइलो

चन्द्रमामा पुगिएला वा नपुगिएला, विशाल समुद्रमाथि पानी जहाज चढिएला वा नचढिएला । यो विशाल पृथ्वी र त्योभन्दा कयौँ गुणा ठूलो सौर्यमण्डलका थुप्रै रोचक कुराहरू किताबमा पढिन्छ मात्र । धेरै पढेका कुरा नदेखेसम्म थोरै मात्र दिमागमा घुस्छन् । त्यसो भन्दैमा फेरि सबै कुरा देख्न पनि त सकिँदैन । र, अर्को कुरा के पनि हो भने हरेक कुराका पछाडि केही न केही विज्ञान लुकेकै हुन्छ । भारत सरकारले त्यही भएर कोलकातामा साइन्स सीटी भनेर एउटा सानो सहर नै बनाएको छ । जहाँ छिरेपछि जता गए पनि, जता हेरे पनि हाम्रो मनमा उब्जने ठुल्ठूला जिज्ञासाहरूको उत्तर पाइन्छ । साइन्स सीटी दक्षिण एसियाकै सबैभन्दा ठूलो हो ।

हामीले पढ्ने चाहे ती न्युटनका गतिसम्बन्धी नियम हुन् वा ऐनाले कसरी काम गर्छ भन्नेजस्ता थुप्रै कुराहरू जान्न सीटीको एउटा कुनामा चक्कर लगाए पुग्छ । हामी बसिरहेको पृथ्वी कस्तो होला भन्ने जान्न मन लाग्यो भने त्यहाँ 'अर्थ एक्सप्लोरेसन हल' पुग्नुपर्छ । त्यहाँ पृथ्वीको एउटा ठूलो ग्लोब छ । ग्लोब यति ठूलो छ कि पृथ्वीको उत्तरी ध्रुव हेर्न मन लागे एक तलामाथि नै चढ्नुपर्छ दक्षिणी धु्रव हेर्ने भए भुइँतलाबाट । ठूलो ग्लोब भएकाले विभिन्न ठाउँका विशेषताहरू धेरै त त्यसमै देखिन्छन् । कुन भागमा कस्ता मान्छे वा जनावर बस्छन्, उब्जाउ कता के हुन्छ, कुन ठाउँमा कस्तो मौसम हुन्छजस्ता थुप्रै अरू जान्न मन लागे त्यससँगै छेउमा हुने कम्प्युटरको सहायता लिनुपर्छ ।

साइन्स सीटीमा छुट्टाउनै नहुने अर्को ठाउँ हो 'इभोलुसन पार्क' । त्यो त्यस्तो पार्क हो जहाँ मानिस, जनावर र वनस्पतिको उत्पत्ति र विकास कसरी भयो भन्ने थाहा हुन्छ । त्यहाँ २६ वटा त डाइनोसर मात्र छन् । तर डराउनु पर्दैन, साँच्चिकै डाइनोसर त पृथ्वीबाट लोप भइसक्यो । बरु डाइनोसरको मुखबाटै छिरेर उसको शरीरभित्र हेर्न मिल्छ । डाइनोसर निकै ठूलो आकारको हुने हुँदा उनीहरूको विभिन्न अंगको आड लिएर लुकामारी समेत खेल्न मिल्छ । त्यसबाहेक त्यहाँ हामीले नामै पनि राम्रोसँग नसुनेका तर थुप्रै वर्षअघि पृथ्वीमा रहेका डाइनोसरजस्ता ७१ वटा जनावर छन् । कति त रोबटको सहायताले बनाइएका हुँदा हिँड्छन् पनि ।

अर्कोतर्फ त्यहाँ पुतलीघर पनि छ । पुतलीहरू विभिन्न ठाउँअनुसार फरक-फरक हुन्छन् । त्यहाँ भारतका विभिन्न ठाउँको जस्तै कृत्रिम वातावरण बनाएर थुप्रै खाले जीवित पुतलीहरू राखिएका छन् । धेरैथरी माछा देखाउन त्यहाँ विभिन्न मौसम र क्षेत्र अनुकूलका अक्वेरियम बनाइएको छ ।
 
साइन्ट सीटीमा फिल्म हल पनि छ तर त्यहाँ साइन्ससँग जोडिएका फिल्म मात्र लाग्छन् । जस्तो, कहिले चन्द्रमा यात्राको, कहिले समुद्री माछाको संसारको त कहिले पुतलीको जीवनचक्रबारे । हामी पुग्दा भने त्यहाँ 'ग्रयान्ड क्यानन एड्भेन्चर: रिभर एट रिक्स' फिल्म चलिराखेको थियो । जसमा अमेरिकाको कोलोराडो नदीको कथा थियो । साइन्स फिल्महरू भएका कारण हल पनि प्राविधिक रूपले यति राम्रो हुन्छ कि आप+mंै कोलोराडो नदीछेउ पुगेझैं हुन्छ । हलको पर्दा पनि हामीले फिल्म हेर्ने जस्तो सीधा अगाडि हुँदैन स्पेरिकल हुन्छ र सुतेजसरी अगाडिदेखि माथिसम्म टाउको घुमाउनुपर्छ ।
त्यहाँ एउटा घर छ जुन बाहिरबाट हेर्दा पानीजहाज जस्तो छ । भित्र छिरेपछि भने त्यहाँबाट बाहिर हेर्दा समुद्रमा यात्रा गरेझैं देखिन्छ । हाम्रो ब्रह्माण्ड सानोमा कत्रो र ठूलोमा कत्रो ठूलो होला भन्ने रोचक प्रस्तुति 'पावर अफ टेन' पनि देख्न पाइन्छ । त्यही रेलगाडीदेखि केबुलकारसम्म गुड्छन् । चड्ने अनुभवसँगै त्यो कसरी चल्दो रहेछ भन्ने पनि बुझिन्छ । त्यहाँ रहेको 'टाइम मेसिन' मा बसेर चाहे स्पेस होस् वा अन्य कुनै जमानाको संसार हेर्न सकिन्छ । त्यो मेसिन ६ दिशामा घुम्छ । मेसिनले कहिले पृथ्वी उत्पत्तिको अवस्थामा पुर्‍याउँछ त कहिले ढुंगेयुगमा । त्यसमा बसेर अन्य ग्रहहरू पनि हेर्न सकिन्छ ।

साइन्स सीटीमा त्यही रमाइलोका कारण बालबालिकाहरू धेरै त आउने नै भए, उनीहरूका बुवाआमा वा दाजुदिदी पनि सँगै आएर रमाउँछन् । कोलकाता त नेपालबाट धेरै टाढा पनि छैन । गइहाल्यौ भने साइन्स सीटी हेर्न नबिर्सनू है । 


No comments:

Post a Comment