Showing posts with label Education. Show all posts
Showing posts with label Education. Show all posts

Wednesday, August 31, 2011

नयाँ विकल्प


"जमाना फेरिएको छ।" हिजोआज धेरैले उच्चारण गर्ने यस वाक्यको सान्दर्भिकता शैक्षिक क्षेत्रमा समेत उत्तिकै छ। अब पहिलेजस्तो चिकित्साशास्त्र, इन्जिनियरङि् वा पाइलटजस्ता केही सीमित पाठ्यक्रम पढ्ने मात्र समाजमा 'ठूला मान्छे' गनिँदैनन्, पैसा र प्रतिष्ठा दुवैका दृष्टिबाट।

दीपेन्द्र हुमागाईं, २५, र महेश ढकाल, २६, केही उदाहरण हुन्। कतारको दोहास्थित इन्टर कन्टिनेन्टल होटल गु्रपमा एसिस्टेन्ट फुड एन्ड विभरेज म्यानेजर दीपेन्द्र र दुबईको जेडब्लू मारिओटमा सहायक कुक महेश दुवैको मासिक तलब प्रतिमहिना एक लाख रुपियाँको हाराहारीमा छ। स्वदेशमा उनीहरूको सान कुनै डाक्टर, इन्जिनियरको भन्दा कम छैन। विदेशमा समेत उनीहरूलाई लगातार नयाँ कम्पनीले 'अफर' गररिहन्छन्। काठमाडौँबाटै होटल म्यानेजमेन्टमा स्नातकसरहको 'स्वीज हाइअर डिप्लोमा'को छमहिने इन्टनरसिपका लागि दोहा पुगेका थिए उनीहरू। त्यहाँ पढाइ नसक्दै व्यावसायिक जीवन सुरु गर्ने माहोल बनेको थियो। दोहाबाट इमेलमा हुमागाईं लेख्छन्, "व्यावसायिक जीवन सफल बनाउन आफूले पढ्ने पाठ्यक्रमले कत्तिको एक्स्पोजरको व्यवस्था गरेको छ भन्ने महत्त्वपूर्ण हुन्छ।"

स्वीट्जरल्यान्डको युनिभर्सिटी अफ एप्लाइड साइन्स अन्तर्गतको स्वीस स्कुल अफ टुरजिमले तयार पारेको पाठ्यक्रम काठमाडौँमा पनि पढाइ भइरहेको छ। छ सेमेस्टरमा पढाइ हुने यस पाठ्यक्रमको विशेषता भन्नु नै विद्यार्थीलाई सीपमुखी बनाउनु हो। अघिल्ला दुई सेमेस्टरमा अपरेसनल (कुकिङ्, सर्भिस, हाउसकिपिङ्, फ्रन्टअफिस) पढाइको सैद्धान्तिक ज्ञान पाएपछि तेस्रो सेमेस्टरमा 'पि्र इन्टर्न' हुन्छ भने चौथो र पाँचौँ सेमेस्टरमा फेरी सैद्धान्तिक ज्ञान लिनुपर्छ। र, अन्तिम सेमेस्टरमा फेरी इन्टरनसिप गर्नुपर्छ। गेट कलेज अफ टुरिज्म एण्ड हस्पिटालिटी म्यानेजमेनटका प्रमुख कार्यकारी खेमराज लकाई, ३५, भन्छन्, "र, ती सबैले विदेशी स्टार होटलमा इन्टरनसिप गर्नाले यसबाट उत्पादन हुने सेवा क्षेत्रका जनशक्ति अन्तर्राष्ट्रिय स्तरका हुन्छन्।" कारण यही हो, दीपेन्द्र र महेशजस्ता युवा उच्च मूल्यमा देशबाहिर र भित्रै पनि सहजै खपत हुन्छन्।

नयाँ विषयमाथि चर्चा भइरहँदा डाक्टर र इन्जिनियरङि्को महत्त्व घटेको भने होइन। तर, पहिले विकल्प सीमित थिए। राम्रो अंक ल्याउँदा तिनै विषय पढ्नुपर्छ भन्ने हुन्थ्यो। अहिले अर्थतन्त्रको विस्तार भइरहेको छ। मानिसका आवश्यकता र चाहना फैलिँदै गएका छन्। सूचनाप्रविधि र विज्ञानको विकासले विश्व साँघुरिंदो छ। नयाँनयाँ व्यावसायिक क्षेत्रहरूको विस्तार भएको छ, भइरहेको छ। त्यसैले लकाईको भनाइ छ, "मान्छेको मूल्य अबको जमानामा सीपले निर्धारण गर्छ।" होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरजिम, हस्पिटालिटी म्यानेजमेन्टजस्ता सेवा उद्योगमा खपत हुने त्यस्ता सीपले अरूको जागिर खानलाई मात्र होइन, नेपालजस्तो पयर्टनको राम्रो सम्भावना भएको देशमा स्वरोजगार सिर्जना गर्नसमेत निकै सघाउँछ। सोनी आले, २२, यसैका एक उदाहरण हुन्। 'कफीमेकिङ्'मा दक्षता हासिल गरेकी उनी अब छिट्टै आफ्नो कफी सप खोल्ने अन्तिम तयारीमा छन्। कामना कटुवाल, २३, आफ्नो उद्यम गर्नेमध्येकी अर्की त्यस्तै युवती हुन्, जो सिभिल मलको हिमालयन बेन्जमा कफी एक्सपर्टका रूपमा काम गर्छिन्। 

Sunday, October 31, 2010

बिक्रिमा थेसिस

‘एक्जाम, थेसिस, प्राक्टिकल, रुटिन, एसेसमेन्ट,..’ काठमाण्डौंमा मेरो बासस्थान कीर्तिपुर हुनाले मैले दिनहू धेरैपटक सुन्ने शब्दहरु हुन् यी । सायद कीर्तिपुरमा सबैभन्दा बढि उच्चारण पनि यिनै शब्दहरु हुनेगर्छन् । बिद्यार्थीको शहरमा मैले यसैगरी सुन्ने शब्दहरुमा आजकल ‘थेसिसको दर’ पनि थपिएको छ । साथै रहेको त्रिभुवन विश्वविद्यालय हातादेखि चिया पसलहरु सम्ममा थेसिसहरु किनबेचको कुराहरु बढ्तै हुनु त छंदैछ, विश्वविद्यालयको विभिन्न विभागहरुका नोटिस बोर्ड र भित्ताहरुमा समेत ‘थेसिस थाहिएमा यो नम्बरमा फोन गर्नुहोला’, ‘यहा थेसिस बनाइन्छ’ जस्ता विज्ञापन टासिएका हुन्छन् । विद्यार्थीहरुमा (सबैलाई भन्न खोजिएको होइन) पनि अब थेसिस अध्ययन र अन्वेशण गरेर भन्दा किनबेच र चोरचारमै टुङ्ग्याउने कुरा हो भन्ने मानसिकता बढ्दो छ जुन आफैमा शैक्षिक विकृतिको एउटा ताजा उदहारण हो ।

पश्चिमा मुलुकहरुमा विश्वविद्यालयको पढाई सक्नु त्यती ठूलो कुरा मानिदैन जति उसले अन्त्यमा कुन विषयमा थेसिस गरेको छ भन्नेले अर्थ लाग्छ । उनीहरुलाई थेसिस गर्न विश्वविद्यालयले धेरै सहयोग पु¥याउछ पनि–– थेसिस ‘के बिषयम गर्ने’ भनेर पहिल्यै नै प्राध्यापक–विद्यार्थीको घनिभुत छलफल हुन्छ, एउटा प्राध्यापकलाई धेरै विद्यार्थीको चाप नपर्ने गरी गाइड तोकिदिन्छ, आर्थिक र प्राविधिक सहयोग चाहिएमा त्यो पनि जुटाइदिन्छ, आदि । अन्ततः तिनै थेसिसहरु त्यहाका राष्ट्रिय सम्पत्ति मानिन्छन् । जसलाई सरकारी निकायदेखि धेरै क्षेत्रले उत्पादक क्षेत्रमा प्रयोग गर्छन् । तर नेपाली परिवेश ठ्याक्कै उल्टो छ, यहा“ सायद कतै काम नलाग्ने बस्तुहरुको पंक्ति बनाउने हो भने ‘थेसिस’ पनि कतै पर्छ ।

विद्यार्थीले बर्षौं लगाएर गरेको अध्ययन सकिदाको समय उसले विश्वविद्यालय वा देशलाई दिने अमूल्य उपहार हुनुपर्ने थेसिस दिनानुदिन यसरी बिक्रिको बस्तु हुनु राम्रो संकेत कदापी हुन सक्दैन । थेसिस आफैमा अमूल्य हुन्छ । शब्दकोशहरुमै हेर्ने हो भने पनि स्पष्ट हुन्छ कि यो ‘ओरिजिनल रिसर्च’ हो जहा विश्वविद्यालयमा बन्ने हरेर थेसिसले नया–नया महत्व बोक्नुपर्ने हुन्छ । तर यहा थेसिसहरु अक्सर एउटै विषयलाई तोडमोड पारेर, त्यस्तै अन्य पहिल्यै गरिएका थेसिसहरुबाट चोर–चार पारेर वा अन्यलाई गर्न लगाएर सकिन्छ जसले गर्दा थेसिस अन्ततः ‘झारा टार्ने काम’ बाहेक अन्य केही हुदैन । आखिर किन यस्तो हुन्छ त ? थेसिसहरु किन बिद्यार्थीले महत्व दिएर गरिरहेका छैनन् । कि यहा थेसिस तयार गर्ने प्रकृया नै ठिक छैन ? प्राध्यापक/बिद्यार्थीहरुको कमजोरी कहानेर छ ? थेसिस सकेपछि किन त्यो पुस्तकालयमा थन्क्याउने भन्दा बढ्ता कामको हुन सक्दैन ? यी र यस्ता धेरै थेसिससग जोडिएका प्रश्नहरु छन् जसबारे सम्बन्धीत धेरैले समयमै सोच्नुपर्ने भइसकेको छ । नत्र देश विकासमा सहायक हुन विश्वविद्यालयले उत्पादन गर्ने विद्यार्थीहरुमा उच्च अंक सहितको मार्कसिट बाहेक अन्य अर्थपूर्ण कुराहरु केही हुनेछैन ।

आफ्नो थेसिस किनबेचबाटै सकेका र गर्दैगरेका त्यस्ता धेरै विद्यार्थीहरु मैले भेटेको छु । कोही उपत्यका बाहिर रही घरमै बसेर पढ्छन्, कतिका आफ्नै जागीर/व्यावसाय छन् जसले प्रयाप्त समय दिएर वा रिसर्च गरेर थेसिस गर्न भ्याउदैनन् । अर्का यस्ता पनि छन् जसको एउटा डिग्रीकै अभावमा जागीरको बढुवा रोकिएको हुन्छ । तेस्रो यस्ता छन् जसरी डिग्रीसम्म चिट र अन्य चोरचारकै भरमा पढे र पूरा पढाइ सक्दासम्म त झन् त्यसको लत परेको हुन्छ । यिनै माथि उल्लेख गरिएका तीनथरी विद्यार्थीकै कारण थेसिसको किनबेचको बिकृति शुरु भएको हो जसको मारमा सिर्जनशील र लगनशील विद्यार्थीहरु पनि परिराखेका छन् ।