Wednesday, August 31, 2011

नयाँ विकल्प


"जमाना फेरिएको छ।" हिजोआज धेरैले उच्चारण गर्ने यस वाक्यको सान्दर्भिकता शैक्षिक क्षेत्रमा समेत उत्तिकै छ। अब पहिलेजस्तो चिकित्साशास्त्र, इन्जिनियरङि् वा पाइलटजस्ता केही सीमित पाठ्यक्रम पढ्ने मात्र समाजमा 'ठूला मान्छे' गनिँदैनन्, पैसा र प्रतिष्ठा दुवैका दृष्टिबाट।

दीपेन्द्र हुमागाईं, २५, र महेश ढकाल, २६, केही उदाहरण हुन्। कतारको दोहास्थित इन्टर कन्टिनेन्टल होटल गु्रपमा एसिस्टेन्ट फुड एन्ड विभरेज म्यानेजर दीपेन्द्र र दुबईको जेडब्लू मारिओटमा सहायक कुक महेश दुवैको मासिक तलब प्रतिमहिना एक लाख रुपियाँको हाराहारीमा छ। स्वदेशमा उनीहरूको सान कुनै डाक्टर, इन्जिनियरको भन्दा कम छैन। विदेशमा समेत उनीहरूलाई लगातार नयाँ कम्पनीले 'अफर' गररिहन्छन्। काठमाडौँबाटै होटल म्यानेजमेन्टमा स्नातकसरहको 'स्वीज हाइअर डिप्लोमा'को छमहिने इन्टनरसिपका लागि दोहा पुगेका थिए उनीहरू। त्यहाँ पढाइ नसक्दै व्यावसायिक जीवन सुरु गर्ने माहोल बनेको थियो। दोहाबाट इमेलमा हुमागाईं लेख्छन्, "व्यावसायिक जीवन सफल बनाउन आफूले पढ्ने पाठ्यक्रमले कत्तिको एक्स्पोजरको व्यवस्था गरेको छ भन्ने महत्त्वपूर्ण हुन्छ।"

स्वीट्जरल्यान्डको युनिभर्सिटी अफ एप्लाइड साइन्स अन्तर्गतको स्वीस स्कुल अफ टुरजिमले तयार पारेको पाठ्यक्रम काठमाडौँमा पनि पढाइ भइरहेको छ। छ सेमेस्टरमा पढाइ हुने यस पाठ्यक्रमको विशेषता भन्नु नै विद्यार्थीलाई सीपमुखी बनाउनु हो। अघिल्ला दुई सेमेस्टरमा अपरेसनल (कुकिङ्, सर्भिस, हाउसकिपिङ्, फ्रन्टअफिस) पढाइको सैद्धान्तिक ज्ञान पाएपछि तेस्रो सेमेस्टरमा 'पि्र इन्टर्न' हुन्छ भने चौथो र पाँचौँ सेमेस्टरमा फेरी सैद्धान्तिक ज्ञान लिनुपर्छ। र, अन्तिम सेमेस्टरमा फेरी इन्टरनसिप गर्नुपर्छ। गेट कलेज अफ टुरिज्म एण्ड हस्पिटालिटी म्यानेजमेनटका प्रमुख कार्यकारी खेमराज लकाई, ३५, भन्छन्, "र, ती सबैले विदेशी स्टार होटलमा इन्टरनसिप गर्नाले यसबाट उत्पादन हुने सेवा क्षेत्रका जनशक्ति अन्तर्राष्ट्रिय स्तरका हुन्छन्।" कारण यही हो, दीपेन्द्र र महेशजस्ता युवा उच्च मूल्यमा देशबाहिर र भित्रै पनि सहजै खपत हुन्छन्।

नयाँ विषयमाथि चर्चा भइरहँदा डाक्टर र इन्जिनियरङि्को महत्त्व घटेको भने होइन। तर, पहिले विकल्प सीमित थिए। राम्रो अंक ल्याउँदा तिनै विषय पढ्नुपर्छ भन्ने हुन्थ्यो। अहिले अर्थतन्त्रको विस्तार भइरहेको छ। मानिसका आवश्यकता र चाहना फैलिँदै गएका छन्। सूचनाप्रविधि र विज्ञानको विकासले विश्व साँघुरिंदो छ। नयाँनयाँ व्यावसायिक क्षेत्रहरूको विस्तार भएको छ, भइरहेको छ। त्यसैले लकाईको भनाइ छ, "मान्छेको मूल्य अबको जमानामा सीपले निर्धारण गर्छ।" होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरजिम, हस्पिटालिटी म्यानेजमेन्टजस्ता सेवा उद्योगमा खपत हुने त्यस्ता सीपले अरूको जागिर खानलाई मात्र होइन, नेपालजस्तो पयर्टनको राम्रो सम्भावना भएको देशमा स्वरोजगार सिर्जना गर्नसमेत निकै सघाउँछ। सोनी आले, २२, यसैका एक उदाहरण हुन्। 'कफीमेकिङ्'मा दक्षता हासिल गरेकी उनी अब छिट्टै आफ्नो कफी सप खोल्ने अन्तिम तयारीमा छन्। कामना कटुवाल, २३, आफ्नो उद्यम गर्नेमध्येकी अर्की त्यस्तै युवती हुन्, जो सिभिल मलको हिमालयन बेन्जमा कफी एक्सपर्टका रूपमा काम गर्छिन्। 
विभिन्न प्रकृतिका पाठ्यक्रमको सम्मिश्रण नै नयाँ पाठ्यक्रमको विशेषता हो। काठमाडौँ विश्वविद्यालय अन्तर्गत पढाइ हुने डेभलपमेन्ट स्टडिज त्यस्तैमध्येको एक हो, जसले व्यवस्थापन, सामाजिक विज्ञान, वातावरणजस्ता तीन फरक विषयलाई समेटेको छ। र, व्यावसायिक जीवनमा समेत यसको क्षेत्र व्यापक बनेको छ। नेसनल कलेज, सेन्टर फर डेभलपमेन्ट स्टडिज, बालुवाटारका कार्यक्रम संयोजक उकेश भुजु त्यसैले पनि यसलाई देशको विकासका निम्ति चौतर्फी कोणबाट योजना बनाउने जनशक्ति निर्माण गर्ने पाठ्यक्रम ठान्छन्।

डेभलपमेन्ट स्टडिज र डेभलपमेन्ट फाइनान्स गरी दुईखाले डेभलपमेन्ट स्टडिजका पाठ्यक्रम पढेपछि वित्तीय, सामाजिक र सरकारी/गैरसरकारी संस्थाहरूदेखि नीति निर्माणका तहजस्ता व्यापक दायराको व्यावसायिक जीवनमा प्रवेश गर्न सकिन्छ भने स्नातकोत्तरमा सामाजिक विज्ञान र व्यवस्थापन पढ्न पाइन्छ। आराधना मल्लले त्यसै गरनि्। अहिले बैँक अफ काठमाण्डूको कमलपोखरी शाखाप्रमुख रहेकी मल्लले डेभलपमेन्ट स्टडिज सकेपछि थाइल्यान्डबाट एमबीए गरनि्। उनको भनाइ छ, "डेभलपमेन्ट स्टडिज पढेको मानिसले वास्तविक धरातल र सैद्धान्तिक पक्षलाई साथसाथै बुझिरहेको हुन्छ, जसले गर्दा उसको काम प्रभावकारी पनि हुन्छ।" औद्योगीकरणतर्फ लम्किरहेको अहिलेको विश्वमा व्यवस्थापकीय पक्ष राम्रो भए पनि सबै पक्षलाई समायोजन गर्न नसक्दा धनी-गरबिबीचको दूरी पनि बढ्दो छ। यस्ता कुरालाई 'हार्डकोर' व्यवस्थापन पढेको विद्यार्थीले भन्दा सामाजिक अवस्थासमेत बुझेको व्यक्तिले राम्ररी 'हेन्डल' गर्न सक्छ।

आजभन्दा एक दशकअघिबाट मात्रै व्यवस्थापन विषयले अधिक चर्चा बटुल्न थालेको हो। अबको विश्वमा डाक्टरभन्दा बढी व्यवस्थापकहरू चाहिने विज्ञहरू बताउँछन्। विकासोन्मुख मुलुकमा विकासका योजना बनाउन र विकसित मुलुकमा त्यसको उचित व्यवस्थापन बनाइराख्न व्यवस्थापकहरूको आवश्यकता दिनानुदिन बढिरहेको छ। हाम्रो परिवेशमा पनि दिनहुँ खुलिरहेका वित्तीय संस्थाहरूमा यस्ता जनशक्तिको माग बढिरहेको छ। ह्वाइटहाउस ग्य्राजुयट स्कुल अफ म्यानेजमेन्टका कार्यक्रम संयोजक गोविन्द सेठी दिनानुदिन प्रतिस्पर्धी बन्दै गइरहेको समाजमा व्यवस्थापकहरूको कुशलताले नै जुनकुनै संस्था वा मुलुकको भविष्य निर्धारण गर्ने हुँदा त्यसको महत्त्व हिजोभन्दा आज बढिरहेको ठान्छन्।

विज्ञानतर्फसमेत अब प्राविधिक पक्ष समेटिएको बायो केमेस्ट्री, बायोटेक, फार्मेसी, डेरीटेकजस्ता नयाँ विषय उदाइरहेका छन्। अब डाक्टर वा इन्जिनियरमा नाम ननिस्केमा अब 'शुद्ध विज्ञान' पढ्नुपर्ने बाध्यता रहेन। नाम निकाल्न नसक्नेहरूका लागि प्रायोगिक विज्ञान लिनसक्ने अवस्था सिर्जना भएको। युनिभर्सल साइन्स कलेजका रामचन्द्र कँडेल भन्छन्, "त्यस्ता पाठ्यक्रमहरूको स्कोप पनि बजारमा अहिले बढ्ता छ।"

नेपालको परपि्रेक्ष्यमा मानविकीलाई अझैसम्म पनि हेपिएकै संकायका रूपमा हेरिने गरिन्छ। धेरैले यसलाई कमजोर विद्यार्थीको विषय भनेर बुझ्छन्। तर, पछिल्लो समयमा आमसञ्चार र सोसल वर्कजस्ता पाठ्यक्रमहरू सहित आइरहेका छन्, जसले मानविकी संकायप्रतिको आमधारणामा विस्तारै परविर्तन ल्याइरहेको छ। सञ्चारमाध्यमहरूको चर्को विस्तारसँगै युवामा त्यसप्रति आकर्षण बढ्दो छ। र, आमसञ्चार र पत्रकारिता पढ्नेको जमात बढिरहेको छ।

मानविकीतर्फ पनि ग्रामीण विकास र अर्थशास्त्रजस्ता केही पुरानै पाठ्यक्रमहरूमा पनि राम्रो गर्नेहरू प्रशस्तै छन्। "सामाजिक विज्ञान पढेर के गर्नेभन्दा पनि किन सामाजिक विज्ञान पढ्ने भन्ने कुराले बढी महत्त्व राख्छ," रत्नराज्य क्याम्पसमा अर्थशास्त्र तथा राजनीतिशास्त्रमा अध्ययनरत पंकज अधिकारी, २२, भन्छन्, "सामाजिक विज्ञानको महत्त्वलाई न यहाँ विश्वविद्यालयले बुझाउन सकेको छ, न त विद्यार्थीले नै बुझेका छन्।" अधिकारी पढाइमा कमजोर भएर मानविकी पढ्न आएका होइनन्। उच्च माविमा मात्र उनको ८२ दशमलव ३ प्रतिशत अंक छ। हिमालय टेलिभिजनका कार्यक्रम प्रस्तोतासमेत रहेका अधिकारी सचेत तथा राम्रा विद्यार्थी विस्तारै सामाजिक विज्ञानतर्फ पनि जाने क्रमको विकास गर्नुपर्ने ठान्छन्। तर, उनको गुनासो छ, "विश्वविद्यालयले पनि त्यसमा आकर्षण बढाउन सामाजिक विज्ञान पढ्ने पूर्ण सुविधा दिन सक्नुपर्छ।"

शिक्षाविद् तीर्थ खनियाँ अधिकारीको भनाइसँग सहमत छन्। भन्छन्, "हाम्रो सामाजिक विज्ञानको अध्यापन कमजोर हुनुमा यसको व्यावहारकि पक्ष कम हुनु हो।" उनी अबको जमानामा इतिहास मात्र पढेर विद्यार्थीले केही गर्न नसक्ने ठान्छन्। भन्छन्, "कतिपय देशमा सामाजिक विज्ञानका पाठ्यक्रम नै छैनन् तर त्यहाँ उनीहरूलाई पर्याप्त अनुसन्धानको व्यवस्था गरिएको हुन्छ।" त्यसैले नेपालको सामाजिक विज्ञानको कमजोर धरातललाई हटाउन पनि पाठ्यक्रमको परिमार्जन आवश्यक देखिन्छ, जसले विद्यार्थीका लागि सम्भावनाका नयाँ बाटोहरू त खोल्छ नै, मानविकी पाठ्यक्रमहरूको सच्चा बोधसमेत गराउँछ। शिक्षाविद् खनियाँ थप्छन्, "सुधार गर्नुपर्ने भनेकै विषयवस्तु र त्यसलाई सम्प्रेण गर्ने शैली नै हो।" ध

उदाउँदा पाठ्यक्रम

बिजनेस एडमिनिस्ट्रेसन

कमर्स स्टडिज

ट्राभल एन्ड टुरिजम

होटल म्याजेजमेन्ट

फेसन डिजाइन

हस्पिटालिटी एन्ड क्याटरिङ् म्यानेजमेन्ट

बीएस्सी -कृषि)

भेटेनरी साइन्स एन्ड एनिमल हजबेन्डी

बीएस्सी -बायोटेक्नोलोजी)

बीएस्सी -बायोकेमेस्ट्री)

बीएस्सी -वातावरण व्यवस्थापन)

बीएस्सी -फरेस्ट्री)

बीटेक -फुड)

बीटेक -डेरी)

मिडिया टेक्नोलोजी

पत्रकारिता तथा आमसञ्चार

लिबरल आट्र्स एन्ड साइन्स

इन्फरमेसन म्यानेजमेन्ट

फिल्म स्टडिज एन्ड म्यानेजमेन्ट

इन्टेरियर डिजाइन

सोसल वर्क

एलएलबी

बी फार्मा

पब्लिक हेल्थ

कम्प्युटर एप्लिकेसन्स -बीसीए)

बिजनेस एड्मिनिस्ट्रेसन इन बैँकिङ् एन्ड इन्सुरेन्स -बीबीए बीआई)

बिजनेस इन्फरमेसन सिस्टम

ग्रामीण विकास

No comments:

Post a Comment