
"यस्तो पनि हुन्छ है !" सुदीप श्रेष्ठ, २९, ले नर्वे छिरेको पहिलो रात अचम्मित हुँदै जिब्रो टोकेका थिए। कारण थियो, मध्यरातसम्म आकाशमा चम्किरहेको सूर्य। सम्झन्छन्, "शरीर थाकेको थियो तर अँध्यारो नदेख्दा सजिलै निद्रा लाग्दो रहेनछ।" नर्वेमा पाँच वर्षअघि पहिलोपल्ट सामना गरेको सो परिवेश श्रेष्ठका अहिले सामान्य भइसकेको छ।
दिन-रातमा देखिने यस्तै फरकबाहेक भूगोलका हिसाबले नर्वे हजारौँ माइल परको नेपालभन्दा खासै फरक छैन। तर, नेपालीहरू नर्वेमा हरेक दिन सामना गर्ने घटनाबाट चकित हुन्छन्। ट्रोन्डियममा डेढ दशकदेखि बसिरहेका इन्जिनियर उमेश थापा भन्दै थिए, "हाम्रा लागि त यो देश छिर्नु नै विश्वविद्यालय छिरेजस्तो हो। सिक्ने कुरा विश्वविद्यालयभित्र र बाहिर सायद बराबरजस्तै होलान्।" सायद त्यही कारण हो, मानव विकास सूचकांक होस् वा सुखी राष्ट्रको सूचीमा, नर्वे शीर्ष दुई/तीनभन्दा तल विरलै र्झछ। त्यसमाथि उत्तरी गोलार्द्धबाट पाँच सय किलोमिटर मात्र दूरीमा रहेको ट्रोन्डियम विद्यार्थीको सहर हो, जहाँको झन्डै एक चौथाइ जनसंख्या अन्तर्राष्ट्रिय विद्यार्थीले ओगटेको छ।
यही भावनालाई आत्मसात् गर्दै ट्रोन्डियममा बर्सेनि विद्यार्थीको दुई ठूला महोत्सव हुन्छन्। एउटा हो, इन्टरनेसनल स्टुडेन्ट फेस्टिबल इन ट्रोन्डियम, जसमा विश्वका विभिन्न विश्वविद्यालयमा पढ्ने विद्यार्थी त्यहाँका विद्यार्थी र स्थानीय परिवारसँग बस्न आउँछन्। अर्को हो यूकेए, जसलाई नर्वेको ठूलो सांस्कृतिक उत्सवका रूपमा लिइन्छ। यो महोत्सवको सञ्चालन ट्रोन्डियममै पढ्ने विद्यार्थीहरूले गर्छन्। नर्वेमा यूकेए कतिसम्म चर्चित छ भने सन् २००९ मा मात्र विद्यार्थीले ९० हजार टिकेट बेच्न सफल भएका थिए। खनाल थप्छन्, "विद्यार्थीप्रति त्यसैले यो ठाउँका मानिसहरू निकै स्नेही छन्।"
नर्वेलीहरू निकै शान्त स्वभावका हुन्छन्। "हाम्रो स्वभाव भने कोही मान्छे भेट्यो कि चिनापर्ची गर्ने वा गन्थन सुरु गरिहाल्ने छ," एनटीएनयूबाट इलेक्टि्रकल इन्जिनियरङि्मा स्नातकोत्तर सकेकी ममता महर्जन सुनाउँछिन्, "तर, त्यो चल्दैन यहाँ।" बाटोमा कुरा गर्दै हिँड्ने नर्वेलीहरू कमै भेटिन्छन्। शान्तिप्रेमी भएकाले नै बस वा रेलमा यात्रा गर्दा सकेसम्म सबै सिट एक-एक जनाले ओगटिसकेपछि मात्रै दुई जना सँगै बस्न थाल्छन्। यसको अर्थ उनीहरू अप्ठ्यारा हुन्छन् भन्नेचाहिँ होइन। हात बढाउने तरिका भने जान्नुपर्छ। "फरक यत्ति हो कि हाम्रो मन कमलो छ तर सिस्टममा काम गर्ने मामिलामा हामी कमजोर छौँ," महर्जन थप्छिन्, "अधिकांश नर्वेलीहरू कुकुरका सोखिन हुन्छन्, त्यसैले उनीहरूसँग मित्रता गर्नुपहिले उनीहरूको कुकुरसँग नजिकिन सक्नुपर्छ।"
कम जनसंख्या भएको ट्रोन्डियम, त्यसमाथि गर्मीयाममा विद्यार्थीहरू छुट्टी मनाउन जाने हुँदा सडकहरू सुनसान देखिन्छन्। तर, सुनसान सडकमा पनि ट्राफिक संकेतहरूको पालना शतप्रतिशत हुन्छ। मलिक्युलर मेडिसिनकी विद्यार्थी रीनु श्रेष्ठ भन्छिन्, "उनीहरू ससाना कुरामा बढी संवेदनशील हुन्छन्।" हरेक बिसौनीमा तोकिएभन्दा एक मिनेट पनि तलमाथि नगरीकन बस आउँछन् र आउनु अगावै कति मिनेटमा त्यहाँ आउँदै छ भन्ने सूचनाहरू स्त्रिmन उपलब्ध हुन्छन्। आफ्नो कारण गाडीले हर्न बजाउनुपर्यो भने यहाँ जो-कोहीलाई ग्लानि महसुस हुन्छ।
अन्यत्र नामै नसुनिएका पाठ्यक्रमहरू उत्तिकै छन्, यहाँका विश्वविद्यालयमा। जस्तै : सोर ट्रोन्डेल्गबाट भर्खर पूरा गरेको कोर्स 'ब्याचलर इन हेल्थ एन्ड सोसियोलोजी' पढ्ने सुदीप श्रेष्ठ नै पहिलो नेपाली हुन्। यो कोर्सले मानसिक/शारीरकि अशक्तलाई साधारण मानिसझैँ जिउन सघाउने कला सिकाउँछ। सुदीप थप्छन्, "मानिस शारीरकि वा मानसिक रूपमा अशक्त हुँदैमा उसभित्रका चाहना मर्दैनन्। ती चाहना पूरा गर्न पाउनु उसको अधिकार पनि हो।" त्यही काम सिकाउँछ, सुदीपको पढाइले। जलविद्युत्मा स्नातकोत्तर विद्यार्थी पूजन बज्राचार्यको बुझाइ छ, "सायद विकासको उत्कर्षमा पुगिसकेको देश भएर होला, मानव जीवनलाई सक्दो सहज र सुखी बनाउने ससाना कुरामा नर्वेलीहरूको जोड रहन्छ।"
मलिक्युलर मेडिसिनका विद्यार्थी सन्तोष लामिछाने, २७, का अनुभवमा यहाँ गहिराइमा पुगेर शोध-अनुसन्धान गर्ने वातावरण छ। प्रोफेसरले कहिल्यै हतोत्साहित नगर्ने र हाँसीहाँसी विद्यार्थीलाई सिकाउने स्वभावले निकै प्रभावित पारेको छ, नेपाली विद्यार्थीलाई। प्राध्यापकहरू साथीका रूपमा प्रस्तुत हुन रुचाउँछन्। उनीहरू विद्यार्थीभन्दा बढी मिहिनेत गर्छन् पनि। अनुप सम्झन्छन्, "एक दिन राती ९ बजेतिर भेटका लागि समय माग्दै प्रोफेसरलाई इमेल गरेर सुतेँ, उसले त आधा घन्टामै रप्िलाई गरेर बिहान ८ बजे बोलाएछन्। मेरो अपोइन्टमेन्ट नै छुट्यो।" उता सन्तोष एउटा अर्को घटना सम्झन्छन्, ट्रोन्डियमनजिकैको स्वीडेनको एक सहर जाँदाको। उक्त स्वीडिस सहरका लागि ट्रोन्डि्रयमबाट हप्तामा दुईपटक निःशुल्क गाडी लाग्छ। त्यहाँ सस्तोमा चिकेन पाइने हुँदा विद्यार्थीहरू खुबै जान्छन्। एक दिन सन्तोषका दुई साथी स्वीडेनमै छुटेछन्। र्फकने क्रममा आधा बाटो लागिसकेपछि मात्र प्रहरीमार्फत ड्राइभरले थाहा पाए र फर्किए। छुट्नेहरूलाई लागेको रहेछ, ड्राइभर निकै रिसाउनेछ, कम्तीमा एकपटक झपार्नेछ। तर, ड्राइभरले उल्टै सरी भन्यो।
सामाजिक व्यवहारसँगै वैकल्पिक ऊर्जाका लागि कहलिएको मुलुक हो, नर्वे। त्यसमाथि जलविद्युत्को अध्ययनमा यसको नाम अग्रपंक्तिमै आउँछ। जस्तो : पछिल्ला समय नर्वेको ध्यान जलविद्युत्का बाँध बनाउँदा आउने अन्य वातावरणीय र सामाजिक असर कसरी न्यूनीकरण गर्ने भन्नेमा केन्दि्रत छ। प्राणीशास्त्रमा पीएचडी गररिहेका कमल आचार्यको बुझाइमा यहाँको सरकारले प्राविधिक रूपमा मात्र क्षमता विकास नगरेर सामाजिक प्रयासहरू पनि चाल्नुपर्छ भन्ने बुझेको छ। यसकै एउटा कडीका रूपमा हेर्न सकिन्छ, कर्मचारीमाझ साइकल अभियानलाई। यो रणनीति अनुसार तीन महिना लगातार साइकलमा कार्यालय आउनेले १० हजार नर्वेजियन क्रोनर (झन्डै डेढ लाख रुपियाँ) पाउँछन्। साइकल यात्रा सुरक्षित गर्नकै लागि सबैतिर साइकल लेन र पार्किङ् स्ट्यान्ड छन्। टनेल (सुरुङ मार्ग) पनि ठाउँ ठाउँमा भेटिन्छन्। त्यस्ता टनेल नर्वेभर नौ सय ठाउँमा छन्। इलेक्टि्रकल कम्पनी सिमेन्सका सिनियर डेभलपमेन्ट इन्जिनियर उमेश थापा भन्छन्, "सडकहरू यति सुरक्षित छन् कि सानो दुर्घटना भइहालेमा केही दिनसम्मका लागि ठूला समाचार बन्छन्।"
ट्रोन्डियममा अहिले झन्डै ८४ जना नेपाली बसोवास गर्छन्, जसमा धेरैजसो विद्यार्थी छन्। झन्डै एक दर्जन परिवार यहीँ जागिर गररिहेका छन्। "दसैँ, तिहार, तीज, होलीजस्ता पर्व मनाउँदा अन्य देशका विद्यार्थी पनि मिसिन्छन्, जसले चाडपर्वमा न्यास्रो महसुस गराउँदैन," नेपाली सोसाइटी इन ट्रोन्डियमका अध्यक्ष लीलाध्वज बस्नेत भन्छन्, "जहाँ भए पनि नेपाली भावना भुल्न सकिँदैन। यहाँको सूर्य हेरर अचम्मित हुनु त छँदै छ।"
No comments:
Post a Comment