Friday, July 19, 2013

रेडक्रस आइकन

खासमा रेडक्रस स्वयंसेवक हुन् यशोदा अर्याल, २६। गृहजिल्ला सुर्खेतदेखि काठमाडौँसम्म उनले थुप्रै ठूला-साना आपतविपत्मा स्वयंसेवा गरेकी छन्। त्यही स्वयंसेवी कामकै लागि उनलाई उत्तरी गोलार्धसँगै टाँसिएको मुलुक नर्वेसम्म पुग्ने अवसर जुर्‍यो। नर्वेजियन रेडक्रसमा रहेर विभिन्न सहरमा काम गररिहेकी यशोदाले यहाँ आउनुअघि सोचेकी थिइन् रे, 'नर्वेजस्तो विकासको उत्कर्षमा रहेको र सुखी कहलिएको मुलुकमा हामीजस्ता स्वयंसेवीको के काम होला र ?'

मध्यरातसम्म सूर्य झुल्किने देशमा दस महिना कति छिट्टै बित्यो भन्ने उनलाई पत्तै भएन। तर, त्यही अवधिमा एउटा ब्रह्मज्ञान भने पाएकी छन् उनले। भन्छिन्, "दुःख र समस्या सबै ठाउँमा छन्। स्वभाव मात्र फरक हो।" नर्वेमा उनको मुख्य काम रेडक्रसमा युवाहरूलाई आबद्ध गराउँदै संगठनात्मक स्वरूप दिने र स्वयंसेवाका लागि प्रेरति गर्नु हो। एक आदर्श रेडक्रस कार्यकर्ताका रूपमा उनले दिगो हुने खालका नमुना अभियानसमेत सञ्चालन गर्नुपथ्र्यो। यस्तो काम हाम्रो परिवेशमा सुन्दा जति सहज लाग्थ्यो, नर्वेमा उत्तिकै गाह्रो। किनभने, यहाँका नागरकिलाई सरकारले सेवा/सुविधा दिनमा कुनै कसुर बाँकी राख्दैन। भन्छिन्, "हाम्रो आँखाबाट हेर्दा त्यो सुन्दर लागे तापनि त्यसले नर्वेलीहरू सामाजिक रूपमा कमजोर बनिरहेका छन्।"

एक्लोपन अहिले यहाँको ठूलो समस्या बनेको छ। यसबाट बालबालिकाबाहेक अन्य सबै उमेर समूह प्रताडित छ। त्यसबाहेक विभिन्न देशका शरणार्थीलाई नर्वेको परिवेशमा अभ्यस्त बनाउने चुनौती पनि छ। यशोदाका विचारमा यी सबै पैसा वा प्रविधिले दिन सक्नेभन्दा माथिका विषयवस्तु हुन्।

नर्वेमा सामाजिक सुरक्षा उम्दा भएकै कारण सामाजिक सम्बन्धहरू कमजोर छन्। हाम्रो परिवेश ठ्याक्कै उल्टो। आधारभूत आवश्यकताकै लागि लडिरहेका हामीमाझ अन्य कैयौँ समस्या समस्या नै लाग्दैनन्। जस्तो ः यहाँ धेरैजसो वृद्धवृद्धाहरू केयर होम्स -हेरचाह गृह)मा राखिन्छन्। आवश्यक सम्पूर्ण सेवा-सुविधाका बीच पनि त्यसले उनीहरूलाई एक्लोपन महसुस गराइरहेको हुन्छ।  उनीहरूलाई त्यसरी राख्न हुने/नहुनेबारे नर्वेमा बहस चलिरहेको छ अहिले। कोही त्यहाँ नगई घरै बस्न चाहन्छ भने उसलाई स्याहार-सुसारका लागि कर्मचारी एवं स्वयंसेवीहरू घरमै समेत जान्छन्।

यशोदासँग एउटा गजबको अनुभव छ। स्याहारका लागि ८९ वर्षकी एक महिलाको घर जाँदाको। उनी युवा टोलीसाथ पुगेकी रहिछन्। भन्छिन्, "अरू मालिस गरिदिने र नुहाइदिनेजस्ता काममा व्यस्त भए तर मैले उनीसँग कुरा गरेँ।" लामो समयदेखि निकै कम बोल्न थालेकी उनले जब आफ्नो किशोरावस्थादेखिको कहानी सुनाउन थालिन्, तब तिनको अनुहारमा चमक आउन थालेछ। भन्छिन्, "नेपाल कहाँ छ भन्नेसम्म पत्तो नभएकी उनको अनुहारमा खुसी ल्याउन सक्दाको आनन्दको म अहिले महसुस मात्र गर्न सक्छु।"

नर्वेमा एक त अंग्रेजी कम बोलिन्छ। त्यसमाथि रहनसहनको हिसाबले पनि एसियाली वा अफ्रिकी देशबाट आएकालाई अभ्यस्त हुन गाह्रो छ। शरणार्थीलाई 'होस्ट' गर्ने एउटा प्रमुख राष्ट्र हुनाले पनि नर्वेमा शरणार्थीहरू सरकारी पहल र सेवाका बाबजुद असहज महसुस गररिहन्छन्। महिला अधिकारवादी भएकै कारण आफ्नो देशबाट लखेटिएर शरणार्थी बनेकी एक इरानी महिला दुःखद विगत र नर्वेमा घुलमिल हुन नसक्नुको समस्या झेलिरहकी थिइन्। रेडक्रस समूहमा आएपछि उनका नर्वेली साथीहरू बने। नयाँ परिवेशमा उनी रमाउन मात्र थालिनन्, नर्वेली भाषासमेत अरूभन्दा छिट्टै सिकिन्। अहिले उनी जागिर खान्छिन्। विश्वविद्यालय जान थालेकी छन्।

यस्ता थुप्रै सम्झना बोकेर यशोदा नेपाल र्फकंदै छिन्। सुर्खेतमा स्थानीय रेडक्रसका युवासँग काम गर्दै छिन्। भन्छिन्, "अहिलेसम्म हामीले भौतिक पाटोमा मात्र मलम लगाउन खोज्यौँ तर मनभित्रको घाउ उत्तिकै पीडादायी हुन्छ भन्ने बुझ्न जरुरी छ।" ८ कक्षामा सुर्खेतको एसओएस स्कुलमा पढ्दादेखि एचआईभी/एड्सबारे सचेतना जगाउँदा उनलाई साथीहरू 'एड्स आइकन' भन्थे। उनी हाँस्दै भन्छिन्, "अब झन् के के पो भन्ने हुन् !" साथीहरूले जे भने पनि उनी 'रेडक्रस आइकन'चाहिँ भइसकेकी छन्।

No comments:

Post a Comment