Friday, July 19, 2013

नोटबुक #Norway

के दिन, के रात
प्राय: विदेश भ्रमणमा जाँदा मेरो सुत्ने तालिका नमज्जाले विथोलिन्छ । निकै कम समयका लागि गइने ठाउँमा सक्दो बढि घुमघाम र भेटघाट गर्न मन लाग्ने नै भो । मनले सोच्छ, “सुत्नलाई त नेपाल छंदैछ नि ।” हालै अन्तर्राष्ट्रिय विद्यार्थी उर्जा सम्मेलनमा सहभागि हुन एक हप्ताका लागि नर्वे पुग्दा पुरानै स्वभावकाबिच त्यहाँको रातनपर्ने विशेषताले झन् बढि सुत्नु न उठ्नु पार्‍यो ।

मध्यरातमा सूर्य झुल्कने देश हो नर्वे । त्यसमाथि सम्मेलन भएको सहर ट्रोन्डियम उत्तरी गोलाद्र्धभन्दा ५ सय किलोमिटर मात्रै दक्षिणतिर रहेकोले पनि त्यहाँ गर्मीयाममा अंध्यारो नै हुँदैन भने पनि हुन्छ । मध्यरातसम्म त आकासमा सूर्य नै देखिने । त्यसपछि भने साँझजस्तो उज्यालो । घडि नहेरे रात परेकै पत्तै पाइंदैन । अंध्यारो नदेखी निद्रै नलाग्ने वातावरणमा हुर्केका हामीलाई थाकेको ज्यानका बिच सुत्नु न उठ्नु किन नहोस् त । त्यसैले रातको समय हो भन्ने जनाउ दिन त्यहाँ गाडिले उज्यालैमा हेडलाइट बाल्छन् । रेष्टुराँका टेबलमा मैनबत्ति बालिन्छन् ।

कतिसम्म भने नर्वेजियन युनिभर्षिटी अफ साइन्स एण्ड टेक्नोलोजी (एनटिएनयु)मा ‘स्टुडेन्टरसमफन्डेट’ नामको एक शताब्दी पुरानो गोलघर क्रितिम अंध्यारो तयार पारेर कन्सर्ट गर्ने प्रिय ठाउँ रहेछ । उद्घाटन समारोहमा चर्चित नर्वेली गायिका इल्से भेट्सभागले आफ्नो प्रस्तुति दिइरहंदा मसँगै बसिराखेका एनटिएनयुका एक विद्यार्थीले खुसुक्क भन्दैथिए, “इल्सेको कन्सर्ट मेरो लागि कुनै नौलो होइन, म यहाँ बसिराखेको त्यो भन्दा पनि अंध्यारोको रमाइलोले हो ।” उता नेपालबाट फेसबुकमा एकजनादाजु जिस्किंदै भन्दैथिए, “भनेपछि नर्वेलीहरु रक्सी पनि दिउसै पिउँछन् हो ?”

नदिकिनारमा मध्यरात
एकसाँझ हामीलाई रमाइलोको लागि त्यहाँको नाइट क्लबमा लगिएको थियो । तर मलाई क्लबको माहोलले त्यति तान्न सकेन र एक्लै शहर घुम्न निस्किएँ । घुम्दै जाँदा ट्रोन्डियम शहरबिचबाट बग्ने नदि निडिल्भा किनारतिर लागें । शहरकै बिचबाट बग्ने भएर पनि त्यति कंचन पानी र सुन्दर नदिकिनारा भएको नदि यसअघि मैलै कतै देखेको थिइन । धेरैतिर किनारामा दुबो उम्रेको बस्न लायक ठाउँ छन् । म त्यतै लागें ।
सायद रात छिप्पिंदै गरेर होला मानिसहरु थोरै मात्र थिए । म अलि एकान्त ठाउँ खोजेर मोवाइलमा गीत सुन्दै बसिरहें । साँझमा निडिल्भा सुन्दरता झनै बढि खुल्छ । त्यही सुन्दरताको प्रशंसा गर्दै सन् १९४० मा एक गीतकारले ‘निडिल्भा तिमी कति शान्त र सुन्दर छौ’ भावमा एक चर्चीत गीत लेखेका थिए । संयोगले उक्त गीत उनले नदिकिनारामा बसेर रातमै लेखेका रहेछन् । त्यही सुन्दरताले मलाई समेत यति मोहित पारेछ कि त्यहाँ झण्डै एक घण्टा बितेको पत्तै पाएनछु । घडि हेर्दा रातको पौने बाह्र पो भएछ । म भने उज्यालोको प्रभावले रात हो भन्ने पत्तै पाएनछु । बाह्र बजे, अर्थात मेरो दिमागमा रहेको ‘घोस्ट आवर’ को बुझाई । भूतमा विश्वास गर्दिन भन्दा भन्दै पनि रातको बाह्र बजे म ब्युँझेकै छु भने घरभित्रै पनि डर लाग्छ । त्यसबेला त अझ म नदि किनारमा थिएँ । धेरै सोच्दै नसोची कुलेलाम ठोकें र होटल पुगेपछि मात्र लामो स्वास फेरें ।

ऐतिहासिक बसाई
ऐतिहासिक बिषयबस्तु सधै मेरो रुचिमा पर्छन् । ट्रोन्डियम सहर आफैमा एउटा ठूलो इतिहास बोकेको थियो । दशौं शताब्दीतिर स्थापना भएको र एकताका नर्वेको राजधानी नै रहेको ठाउँमा इतिहास, मानव सभ्यता र संस्कृति जोडिएका असङ्ख्य बास्तुकला देख्न पाइन्छन् । शहरका हरेक कुनामा देखिने थुप्रै आकर्षक मूर्तिले त्यहाँको आकर्षण बढाएको देख्दा मलाई टुढिखेल वरपर कुनामा थन्काइएका घोडसवार राणाहरुको शालिक सम्झाउँथ्यो । जो मैले त्यहाँ देखेका भन्दा कुनै अर्थमा कम थिएनन्, बरु बढ्तै आकर्षक लाग्थे । नदिसँगै जोडिएका पुराना काठे घरहरु अर्का आकर्षण हुन् ।

त्यसबाहेक त्यहाँ झण्डै ३ शताब्दी लगाएर निर्माण भएको चर्च निडारोस कार्डियलको अवलोकनको अवसर जुर्‍यो जुन वास्तुकलाका हिसाबले निकै अद्भूत थियो । कतिसम्म भने म बसेको क्यालियन कलेक्सन ब्याकलरियट होटल नै सन् १८९७ मा स्थापना भएको रहेछ । झण्डै ६० बर्ष पुरानो नेपालको पहिलो ‘द रोयल होटल’ होस् वा झोछेंमा आधा शताब्दीअघि हिप्पी युगमा खुलेका पुराना होटलका कथा लेखेकोमा निकै गर्व गर्ने मेरा लागि त्यो निकै गज्जबको अनुभव थियो । खैर, ती सबै ऐतिहासिक बस्तुका अवलोकनमा एउटै समानता पाइन्थ्यो कि ती हालै निर्माण भएकाझैं लाग्थे, ऐतिहासिक मौलिकता पनि नबिगारिकन  ।

अवस्थाभन्दा तर्कको भर
उर्जा सम्मेलनमा दुइखाले कुरा हावी भए । एउटा पक्षले भन्थ्यो, अहिलेको अवस्थामा न त तत्काल वैकल्पिक उर्जाले फोसिल इन्धनलाई विस्तापित गर्न सक्छ न त सञ्चारमाध्यममा आएजसरी पेट्रोल/ग्यासको भण्डारण पृथ्वीबाट त्यति छिट्टै सकिन्छ । त्यसैले उर्जामा अगाडिको बाटो खाली छ जसमा हावी हुनका लागि ‘इनोभेसन’मा लगानी आवश्यक छ । अर्को धारले भने कि एकोहोरो हरित क्रान्तिको वकालत गर्थे कि त पेट्रोल/ग्यासमै ।

पछिल्लो केही दशकमा मात्र उदाएको आणविक उर्जाको पक्ष/विपक्षमा समेत उत्तिकै कुरा भए । सबैका तर्क र तथ्यांकका विश्लेषण, दिमाग घुम्नेगरी, उत्तिकै बलिया लाग्थे । विश्व पेट्रोलियम परिषद्का कार्यकारी निर्देशक डा पियर्स रिमले आफ्नो मन्तव्यको क्रममा दिएको एक उदहारण झनै रोचक थियो । भन्दैथिए, “यस शताब्दीको शुरुतिर टाइम, द इकोनोमिस्टजस्ता प्रभावशाली पत्रिकाले पेट्रोलियम र ग्यासबारे गरेका भविष्यवाणी अहिले गलत सावित हुनुले पनि ग्यास र तेलको संकट तत्कालको लागि चिन्ता गरिहाल्नु पर्दैन ।” आफ्नो तर्कलाई सघाउन उनले गतसाल मात्रै अमेरिकामा त्यहाँको हालसम्मको ठूलो मात्रामा तेल उत्पादन भएको सन्दर्भ जोड्दैथिए । संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन, नेटो, विश्व पेट्रोलियम परिषद्, उर्जा कम्पनी एवं विभिन्न देशका प्रभावशाली विश्वविद्यालयको आ–आफ्नै सकृयता हेर्दा लाग्थ्यो, उर्जा विश्वमा अवस्थाको कुरा एकातर्फ छ अर्कोतिर सबै आफूअनुकुलका रणनीति विश्वलाई मोड्न खोजिराखेका छन् ।

First Appeared in Nepal Magazine

No comments:

Post a Comment