Thursday, October 29, 2009

संस्कृत पढ्न गुरुकुल

“तिमी ठूलो भएर के बन्ने ?” भनेर कसैले बालबालिकालाई सोध्यो भने धेरैले डाक्टर, इन्जिनियर वा पाइलट भनेर जवाफ फर्काउलान् । तर खगेन्द्र पाण्डेको रहर भने बेग्लै छ । उनी संस्कृतमा आचार्य गरेर एक कुशल गुरु बन्न चहान्छन् । त्यसैले उनी संस्कृत पढ्न नै भनेर जुम्लादेखि रुपन्देहीको नयांमिल आएका हुन् । त्यस्तै गुल्मीका टिकाराम पोख्रेलको इच्छा भने आफ्नो रितिरिवाज संरक्षण गर्ने पण्डित बन्ने छ । उनीहरुको जस्तो ईच्छा बोकेका देशका बिभिन्न जिल्लाका ४० बिद्यार्थीहरु अहिले श्री दुर्गा वैद्धिक संस्कृत बिद्यापीठ, नयांमिल, रुपन्देहीको गुरुकुलमा बसेर संस्कृत पढिरहेका छन् ।

यहां कक्षा ६ देखि १० सम्म संस्कृत पढाई हुन्छ । नेपाल सरकारको वेद बिद्याश्रम अन्र्तगत रहेर पढाई हुने यस विद्यापीठमा नेपाली, गणीत, सामाजिक अध्ययन, जनसङख्या तथा वातावरणका अतिरिक्त वेद, कर्मकाण्ड, संस्कृत ब्याकरण र संस्कृत भाषा पढाई हुन्छ । “पढाइका साथसाथै हामी स–साना पूजापाठ पनि गर्न सक्छौं ।”– दिनेश भट्राईले भने । उनीहरु वेदपाठ, चण्डिपाठ र रुद्रीपाठ पनि गर्न सक्छन् । “गाउंटोलमा हुने पूजाआजाहरुमा सहभागि भइदिन धेरैले उनीहरुलाई आग्रह गर्छन् ।”– बिद्यापीठका प्रधानाध्यापक झगेन्द्र खतिवडाले बताउनुभयो । “ बिज्ञान पढ्ने बिद्यार्थीले बिज्ञान प्रयोगशालामा गएर ब्यावहारिक ज्ञान हासिल गरेजस्तै संस्कृत पढ्ने बिद्यार्थीले पूजाआजामा सहभागि भएर ब्यावहारिक ज्ञान लिन्छन् ।”– खतिवडाले थप्नुभयो । गुरुकुल परिशर भित्रको नियम पनि उनीहरु अनुशासित ढंगले पालना गर्छन् । उनीहरुलाई आफ्ना गुरुले गुरुकुलमै बसेर धेरै कुरा सिकाउनुहुन्छ । “सूर्योदय अघि नै नुवाइधुवाई, जप, रुद्रीपाठ र आरती गर्ने काम हुन्छ । हामी दैनिक मन्दिरमा पूजा पनि गर्छौ ।”– कक्षा ६ मा पढ्दै गरेका थानेश्वर ज्ञवालीले वताए । विद्यापीठ परिषरमै एउटा मन्दिर पनि छ । बिद्यालय समयमा उनीहरु दौरा सुरवाल र ढाकाटोपी लगाउंछन् भने अन्य समयमा सेतो धोती, भोटो र पहेंलो पछ्यौरा लगाउंछन् । निधारमा तिनधर्के टिका कहिल्यै खाली नै हुंदैन । सबैले लामो टुप्पी पनि पालेका छन् । “समय जती नै आधुनिक भएता पनि हाम्रो धार्मीक परम्परा एवं रितिरिवाजको संरक्षण गर्नु हाम्रो दायित्व हो । ”– विद्यापीठका बिद्यार्थी सुमन न्यौपानेले बताए । त्यसैले उनी संस्कृत पढ्न हौसिएको बताए । “हाम्रो रितिरिवाज धान्ने ब्यक्तिहरुको सङख्या दिनदिनै घट्दै छ, त्यसैले हामी यो बिद्यापीठको स्थापना गरेका हौं ।”– बिद्यापीठका संस्थापक नरहरि खरेलले बताउनुभयो । “धार्मीक क्रियाकलाप बिनाको जीवन हामी कल्पना पनि गर्न सक्दैनौं । हामी जन्मेदेखि मृत्युसम्म धार्मीक रितीमा बांधिएका छौं ।”– खरेलले थप्नुभयो ।

त्यस्तै रुपन्देहीकै मणिग्राममा रहेको श्री गीर्वाण संस्कृत तथा साधारण माबिमा पनि संस्कृत बिद्याश्रम छ । यहां अहिले कक्षा ८, ९ र १० मा गरेर ३६ जना संस्कृत पढ्ने बिद्यार्थी छन् । तर यहां भने पाठ्यक्रम बिकास केन्द्रले तयार पारेको पाठ्यक्रम अनुसार पढाई हुन्छ । नेपाली, अंग्रेजी, बिज्ञान, सामाजिक अध्ययन, गणीतका अतिरिक्त उनीहरु कर्मकाण्ड, संस्कृत भाषा र वैयाकरणसिद्धान्तकौमुदिं पढ्छ्न् । “संस्कृत पढ्ने बिद्यार्थीहरुलाई छात्रावासमा बस्ने–खाने निःशुल्क ब्यावस्था गरिएको छ भने भर्ना शुल्कमा पनि ७५ प्रतिसत छुट दिइएको छ ।”– बिद्यालयका शिक्षक रामचन्द्र पाण्डेले बताउनु भयो । “२०२२ सालमा संस्कृत मात्र पढाउने भनेर बिद्यालयको स्थापना गरिएता पनि पछि आधुनिक शिक्षा पनि साथसाथै दिने उद्देश्यले ३ वटा मात्र संस्कृत बिषय निर्धारण गरियो ।”– बिद्यालयका सहायक प्रधानाध्यापक यज्ञपुरुष गैरेले बताउनुभयो । संस्कृत पढ्ने रहरले देशका बिभिन्न ठाउंबाट निवेदन आएता पनि छात्रावासको न्यून क्षमताले गर्दा बिद्यालयले धेरै बिद्यार्थी राख्न सकेको छैन । स्थानीय स्रोतबाट संचालित उक्त छात्रावास प्रत्येक बर्ष हुने महायज्ञ र चन्दा संकलनबाट उठेको पैसाको भरमा चलेको छ । स्याङजा, गुल्मी, पाल्पा, प्युठान, पर्वत, अर्धाखांची, नवलपरासीजस्ता देशका धेरै जिल्लाबाट संस्कृत पढ्ने उत्साह लिएर आएका बिद्यार्थी पढाउन पाउंदा गुरु डोलराज बस्याल निकै सन्तुष्ट हुनुहुन्छ । “संस्कृत बिषय पढ्नु पण्डित हुनको लागि मात्र नभएर ब्याकरणिय शुद्धता र प्राचिन संस्कृतिबारे अध्ययन गर्नको लागि पनि लाभदायक हुन्छ ”– स्याङजाबाट पढ्न आएका प्रकाश तिवारीले भने । त्यस्तै पर्वतका हरिप्रसाद काफ्ले आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले संस्कृत पढेको बताउंछन् । “यहांबाट संस्कत पढेर गएका धेरैजनाले शास्त्री र आचार्य गरिसकेका छन् भने धेरै ठूला पण्डित एवं माहात्मा बनेर ख्याती कमाएका छन् ”– स्थानीय समाजसेवी यज्ञमूर्ति पाण्डेले बताउनु भयो । “यस बिषयमा बढ्दो आकर्षणलाई थेग्न सरकारले थप लगानी एवं चासो दिनुपर्छ ।”– पाण्डेले थप्नुभयो ।

No comments:

Post a Comment