Thursday, October 29, 2009

आकाशमा अनौठा यान

खुला आकासमा हामीले ठूलासाना हवाइजहाज र हेलिकप्टर उडेको त देखिरहेकै हौँ । त्यो त अब कुनै नौलो कुरा नै भएन । यहाँ हामीले कुरा गर्न लागेको चाहीँ आकासमा बेलाबखत देखिने अनौठा यानहरु हुन् । कोहीकोहीले त त्यस्ता अनौठा यानबारे हिन्दी र अंग्रेजी फिल्महरुमा पनि देखेको छौ होला । आखिर ति यानहरु कहाँबाट आउँछन् र कहाँ जान्छन् ? , यानभित्र मानिसहरु हुन्छन् कि हुँदैनन्, भएपनि ति मानिसहरु कस्ता हुन्छन् । यी प्रश्नका उत्तर त अहिलेसम्म कसैसँग पनि छैन । यि यानहरु आकासमा बेलाबखत अचानक देखिन्छन् र केहीबेरमै हराउँछन् । यिनीहरु निकै तिब्र गतिका हुन्छन् कि पृथ्वीमा बनेका ठूलाठूला हवाइजहाजले समेत यिनीहरुलाई भेटाउन सकेका छैनन् । यो झट्ट हेर्दा रिकापी (गोलो टोपी) जस्तो देखिन्छ । तर बैज्ञानिकहरु पनि हालसम्म यसको वास्तविक आकार कस्तो हुन्छ भनेर पत्ता लगाउन सकेका छैनन् । कसैले त यसलाई अन्य ग्रहका मानिसले पठाएको शक्तिशाली यान भन्छन्, कोहीले भगवानका दूत पनि भन्न भ्याए । अझ कोहीकोहीले त पृथ्वीभित्रकै मानिसहरुले बनाएको जासुसी यान पनि भनिराखेकै छन् । तर पनि अहिलेसम्म यो के हो कसैलाई थाह छैन ।


त्यस्ता अनौठा यानलाई उडनतस्तरी भन्ने गरिन्छ । उडन तस्तरी अंग्रजी शब्द फ्लाइङ ससरबाट लिइएको हो । तर बिश्वभरी यस्ता यानहरु युएफओ अर्थात अनआइडेन्टिफाइङ फ्लाइङ अब्जेक्ट नामबाट प्रचलित छन् । यसको बास्तविक न्वारन पनि भएको छैन । यो ठ्याक्कै के हो भन्ने पत्ता लागेपछी मात्र यसको नाम राखिएला । अघि भनिएका नाम त मानिसहरुले आफूलाई जान्न सजिलो होस् भनेर बोलचालमा ल्याएका मात्र हुन् । सयौँ बर्ष अघिदेखि नै यस्ता अनौठा यानहरु पृथ्वीका आकासमा देखिन्थे । तर पनि पहिलेका मानिसहरुले यसको खासै वास्ता गरेनन् । गरुन् पनि कसरी त्यसबेला अहिलेजस्तो बिज्ञान र प्रविधिको राम्रो बिकास भएको थिएन । तर सन् १९४७ को जुन महिनामा अमेरिकाका बिभिन्न राज्यका आकासमा अचानक धेरै उडनतस्तरीहरु देखिएपछी मात्र यसबारे ब्यापक खोजिनीति हुन थालेको हो । अहिले त बिभिन्न देशहरुले यसबारे निकै ध्यान र खर्च गरेर अध्ययन गरिरहेका छन् । उडनतस्तरीबारे हुने अध्ययनलाई युफोलोजी भनिन्छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले त बाहिरी ग्रहहरुमा मानिस भएको थाह पाउन सकिनेभन्दै उडनतस्तरीको ठूलै अनुसन्धान गरिराखेको छ ।


अहिलेसम्म उडनतस्तरी मानिसहरुले केही सेकेन्डदेखि केही मिनटसम्म देखेका छन् । उडनतस्तरीका तस्वीर र भिडीयोहरु अहिले त मानिसहरुले आफ्ना क्यामेराले खिच्नसम्म सकेका छन् । नेशनल जोग्राफी र डिस्कभरीजस्ता बिज्ञान च्यानलहरुमा यसबारे धरै डकुमेन्ट्री पनि बनेका छन् । २००३ फेब्रुअरी १३ मा एकजना अमेरिकी ब्यापारीले सबेरै यस्तो यान देखे । शुरुमा त उनले त्यो एयरपोर्टमा झर्न लागेको हवायजहाज होला भन्ने सोचे । तर पछि त्यो बिमानभन्दा निकै ठूलो र गोलो देखेर अचम्म माने । त्यसले त हत्का गुलाबी रंग पनि निकालीरहेको थियो । त्यसको २ दिनपछी अमेरिकाकै भर्जिनिया र ३ दिनपछी मेरिल्याण्डमा देखिएका थिए । र त्यसै महिनामा भारतमा पनि दिनेश हुकमानीले राती आकासमा तारा हेरिरहँदा त्यस्तो अनौठो यान देखेको बताए । केहीबर्ष अघि अमेरिकामा उडनतस्तरी देखेकाहरुलाई बोलाएर आफ्ना अनुभव सुनाउन लगाउँदा उनीहरुले त्यसो भनेका हुन । उडनतस्तरी देखेका मानिसहरुले त्यस भेलामा भनेअनुसार त्यसले शुरुमा चम्किलो सेतो र त्यसपछी सुन्ताला पहेँलो रँगमा प्रकाश निकाल्थ्यो । न त कसैले यस्ता यान कहिल्यै जमिनबाट उडेको पनि देखेनन् । एकजना श्रीलंकाली सैनिकले आफ्नो क्याम्पमाथी उडनतस्तरी देखेपछी त्यो के हो भनेर जाँच्ने यन्त्र रडारमा हेर्दा आकासमा केही पनि देखिएन । त्यसैले पनि मानिसहरुलाई यसबारे जान्न ठूलो कौतुहलता जागेको छ । आकासमा हवाईजहाज उडाउँदा धेरै पाइलटहरुले पनि यस्ता यान देखे । उनीहरुका अनुसार यो कहिले उडिरहेको जहाजजस्ता त कहिले आकासमा स्थिर बेलुनजस्तो पो देखे । बेल्जिएमका एकजना सैनिक अधिकृतले एकपटक १४० वटा उडनतस्तरी देखेपनि त्यसको बानीब्याहोरा र आकारबारे केही भन्नै नसकेको बताए । उनले भने “यो हामीभन्दा निकै चलाख छ, म त अनुमान गर्न पनि सकिन ।” एकपटक इरानको राजधानी तेहरानमा यस्तै यान देखिएपछी त्यहाँका मानिसहरु आत्तिए । तत्कालै यहाँ एउटा लडाकु हवाइजहाज पठाउँदा त त्यसले समेत त्यसको नजिक पुगेर नियन्त्रण गुमाउन थालेपछी फिर्ता बोलाइयो ।

रहस्यै रहस्यले घेरिएको उडनतस्तरी के हो भनेर पत्ता लगाउन बैज्ञानिकहरु त् दिनरात लागेकै छन् । उनीहरुको मिहिनेत एकदिन पक्कै लक्ष्यमा पुग्ला र हामीले पनि उडनतस्तरी के रहेछ भन्ने थाह पाउँला ।

No comments:

Post a Comment