Thursday, October 29, 2009

बालक्लबले जन्माएको पत्रकार केबी राना

( केबी राना, २१ नवलपरासीमा बालक्लबको लागि एउटा आफै उदहारण हो । बिकट पहाडी गाबिस रुचाङ्गमा जन्मिएर नमुना बाल समूहको अध्यक्ष, बालसमूह जिल्ला समन्वय समितिको संस्थापक सचिव हुँदै अहिले कान्तिपुर टेलिभिजको पत्रकार बन्दासम्मको एउटा संघर्षपूर्ण जीवनको अनुभव छ । बाल सिर्जना बाल पत्रिकाबाट आफ्नो पत्रकारिताको यात्रा शुरु गरेका रानाले तीन बर्ष उषा बालपत्रिकाको कार्यकारी सम्पादक भएर काम गरे । अहिले उनी टेलिभिजनका अतिरिक्त रेडियो नेपालका समाचारदाता र मध्यबिन्दू एफएफका निर्देशकको रुपमा काम गरिरहेका छन् । एउटा समय थियो, जतिखेर रानासँग बिहान खाना खाएपछी साँझको छाक टार्ने समस्या प¥थ्यो । तर अहिले बिहान उठेदेखि राती नसुतेसम्म उनको ब्यस्त दिनचर्या छ । २ भाइ र १ बहिनीलाई अहिले उनी आफ्नै खर्चमा पढाइरहेका छन् । एउटा पत्रकारसँग चाहिने मोटरसाइकल, कम्प्युटर, भिडियो क्यामेरा, डिजीटल क्यामेरा, सुश्म रेकर्डर उनी अहिले सबै बोकेर हिड्छन् । नेपाल प्रेश युनियनका पूर्व सभापति बिष्णु लामिछाने भन्नुहुन्छ “बालक्लबको उत्पादन केबी एउटा आइडियन जर्नालिस्ट हो ।” बालक्लबसँग जोडिएका रानाका केही सम्झना प्रदीप बस्याललाई बाताएअनुसार उनकै शब्दमा...............)


‘म खिच्दै छु है’- टेलिभिजन पत्रकार केबी राना
मेरो घर नवलपरासीको दुर्गम रुचाङ्ग गाविस वडा नं ४ मा पर्छ । मैले नमुना बाल समुह बाट आफ्नो बालक्लबको यात्रा शुरु गरेको हुँ । मेरो बाल्यकालकोसपना विरामीको सेवा गर्ने थियो । तर समयको परिवर्तनसंगै आज पत्रकारीता क्षेत्रमा आईपुगेको छु । सायद मैले बाल्यअवश्थामा गाउँमा रहँदा लामाभन्दा सम्मानित पेसा अरु नदेखेर पनि होला लामा बन्ने लक्ष्य लिएको । १५ वर्ष अगाडी गाउँमा डाक्टर हुन्थेनन् । विरामीलाई लामा धामीलाई झारफुक गर्नेभन्दा अरु विकल्प थिएन । एक दिन म पढने श्री लोकप्रिय निमाविको वार्षिक नतिजा प्रकाशन गर्ने कार्यक्रम थियो । सोही कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष धन बहादुर मिधुनले तिमीहरु लामा र हली बन्ने सपना नदेख धरै पढेर विद्धान, डाक्टर, मास्टर बन्नुपर्छ भन्नुभयो । म त अलमल्लमा परे । घर फर्के पछि आमासंग सोधे किन होला लामा र हली नबन्नु भनेको ? आमाले भन्नुभयो डाक्टर, शिक्षकजस्तो सम्मानित पेशा लामा र कृषक होइन । ८१ प्रतिशत कृषिमा आश्रृत देशमा कृषक नबन्नु भन्ने शव्दले खुव पोलेको थियो । बाल्यकाल देखि नै कुनै पनि नयाँ कुरालाई गहिरिएर बुझ्न खोज्ने जिज्ञासु स्वभाव थियो मेरो । २०५४ सालमा एक्सनएड नेपाल नामक संस्थाले मेरो गांउमा बाल क्लबको अवधारणा ल्यायो । त्यतीखेर बाल क्लवमा बसेपछि खेलकुद, नाचगानमा सहभागी हुन पाइन्छ भन्ने कुरा मैले थाहा पाएको थिए । पछि विभिन्न तालिम, गोष्ठी ,सभा, समारोहमा हिँडन थालेपछि बाल अधिकारका कुराहरुको बारेमा सिक्ने अवसर पाएँ । मलाई अनुभव भयो, मेरो गाउँमा चरम रुपमा बाल अधिकार हननका घटनाहरु भएका छन् । बालविवाह, अशिक्षा ,बालश्रम शोषण, अन्धविश्वास र रुढीबादी परम्परागत मान्यताले जकडिएको मेरो समाज । त्यसैले बाल क्लबलाई संगठीत बनाएर ती समस्याहरुको चिरफार गर्ने प्रण गरेँ । हामीले विभिन्न जनचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्नथाल्यौ । शुरुमा विश्वास नगर्ने अभिभावकहरुले पनि बालबालिकाहरुको कृयाकलापबाट निकै प्रभावित भएर सहयोग गर्न थाले । शुरुमा बाल अधिकारको कार्यान्वयनको कुरा गर्दा फलामको चिउरा चपाउन भन्दा पनि कठिन थियो । तर हामी हरेस खाएनौं । बाल क्लबमा रहेर करिव एक दशक विताउंदा जति मैले समाजको सेवा गरें त्यो भन्दा बढी व्यक्तिगत फाईदा पनि हासील गरेको महशुस भएको छ । बालबालिकाको चौतर्फी विकास गर्ने कडी नै बाल क्लब हो भन्ने मेरो बुझाई छ ।

बाल क्लवमा रहेर काम गर्दा मैले विर्सनै नसक्ने केही घटनाहरु जसले मेरो जिवनमा सफलताको कडी बन्यो । २०५८ साल बैशाख १८ गते मलाई यो धर्तीमा जन्माउने माताको स्वर्गरोहण हुनुभयो । त्यती बेला म १३ को थिए । म सबैभन्दा जेठो छोरो भएकोले पनि घरायसी, व्यवहारिक झमेला मेरो कांधमा आईप¥यो । गाउँका सवैले विवाह गर्ने प्रस्ताव ल्याए । मेरो गाउँमा बाल विवाह गर्ने प्रचलन व्यापक थियो । बाल विवाह हटाउन व्यापक रुपमा अभियान सञ्चालन चलाएका थियौं । जतिवेला क्लवको अध्यक्ष म आफैं थिएँ । विवाह गर्नेकी नगर्ने भन्ने कुरामा ठुलो धर्म संकट आई प¥यो । मैले विवाह नगरेमा घरबाट र गाउंबाट निकाल्ने तयारी थियो र विवाह गरेमा गाउंमा व्याप्त बाल विवाह संस्कारले झन वैधानिकता पाउने खतरा थियो । बाल क्लबको भिषण आन्दोलन तुहिने अवश्था थियो । त्यसै बेलामा तिलोत्तम पौडेल दाईको नेतृत्वमा जागृति बाल क्लबले बालबालिकाले संस्था खोल्न पाउनुपर्ने आन्दोलन सर्वोच्च अदालतले जागृति बाल क्लबको पक्षमा फैसला गरेको थाहा पाएं । यो मुद्वाले मेरो गाउंमा व्याप्त बाल अधिकार हनन्का घटना न्युनिकरणमा थप टेपा पुग्यो । मैले विवाह नगर्ने निर्णय गरें । मलाई जवरजस्ती विवाह गराएमा उजुरी दिने चेतावनी दिए । एसएलसी परिक्षा सकिएपछि विवाह गर्ने सम्झौता गर्न बाध्य भए म । गाउंलेको प्रस्तावलाई टार्न त्यो भन्दा अर्को उपाय थिएन मसँग । एसएलसी फेल भएको भएपनि मैले पढन नपाउने अवश्था थियो । संयोगले एसएलसी पनि पास भएँ । सायद उतिबेलै विवाह गरेको भए म गाउंमै खोरिया डालो गर्नुमा सिमित हुन्थेँ होला । अहिले बाल क्लबको प्रयासले गाउँंमा अहिले बाल विवाह न्युनिकरण भएको छ । यति मात्रै होईन गाउँका सवै बालबालिकाहरु विद्यालय भर्ना भएका छन । व्याप्त रुढीबाढी परम्पराको कम भएको छ । यो नै बाल क्लबको सकरात्मक कार्य हो । बाल क्लवको विभिन्न कार्यक्रममा हिड्दा पढनुपर्छ भन्ने कुरा सिकें । फलस्वरुप मैले गाउँमा नै पहिलो पटक नियमित दोश्रो श्रेणीमा एस एल सी पास गर्ने अवसर पाएं । यो मेरो जीवन बाल क्लबले दिएको देन हो । यहाँ अति कम बिद्यार्थी मात्र नियमिततर्फ एसएलसीमा पास हुन्छन् । पुरक परिक्षामै एसएससी पास गर्नु उनीहरुको लागि ठूलो महाभारत जित्नु सरह हो । नवलपरासी आफैमा एउटा तराइको जिल्ला भएता पनि यसका १२ वटा पहाडी गाबिसहरु निकै बिकट छन् । यो भेग अन्य भौतिक सुविधाजस्तै शैक्षिक पूर्वाधारका क्षेत्रमा समेत निकै पछाडी परेको छ । एउटा गाबिसबाट अर्कोमा जाने कुरा त कता हो कता एउटै गाबिसको अर्को वडामा जान समेत ३ दिनसम्म लाग्छ । यहाँका बिद्यार्थीको दिनचर्या बेग्लै हुन्छ । घन्टौँ हिँडेर मात्र बिद्यालय पुगिन्छ । अझ घरको घाँसदाउरा गरेर दिनहूँ बिद्यालय भेट्नु त सपनाजस्तै हो । अझ बिद्यालयमा दरबन्दी भएका धेरै शिक्षकहरु लामो समय बिदामा हुन्छन् । एउटै शिक्षकले सबै बिषयसम्म पढाउनुपर्ने अवस्था हुन्छ । प्रयाप्त किताब हुँदैनन् । यस्तो अवस्थामा यहाँ धेरै बालबालिका बिद्यालय नै भर्ना हुँदैनन् । भएका धेरैले बिचमै छाड्छन् । र कक्षा १० सम्म पढ्नेले समेत एसएलसी आउनुपूर्वको ४–५ महिना सुगम ठाउँतिर ऋणकाडेर गएर ट्युसन पढेकै भरमा एसएलसी दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा एसएलसी पास गर्नु नै उनीहरुको लागि ठूलो कुरा हो, डिस्टीङसनका कुरा त कता हो कता ? यो सुनेर ९० प्रतिसतको मार्कसिट भिर्ने बिद्यार्थी के सोच्दा हुन् ? अझ त्यस्ता भेगमा कम बिद्यार्थी भएको भन्दै सरकारले समेत प्रयाप्त शिक्षकको दरबन्दी नदिने पक्षपाती कानुन छ । बाल क्लबमा मेरो लगाव र सक्रियताले गर्दा नै होला बाल समुह जिल्ला समन्वय समिति नवलपरासीको संस्थापक सचिव हुने अवसर पाएँ । जिल्ला सम्मेलनमा पाल्ही बहुमुखी क्याम्पस कैलास ठाकुरसरसंग मेरो परिचय भयो । मेरो सक्रियता देखेरै होला सायद सरले मलाई आफ्नो क्याम्पसमा निशुल्क पढाईदिनुभयो । नत्र म क्याम्पस पढने चाहना भएर पनि सपनामा नै सिमित रहनुपर्ने अवश्था थियो । मैले बाल समुह जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय बाल मन्दिरमा बसेर उच्च माध्यामिक शिक्षा हासिल गरे । परासी रहंदा जिल्ला समन्वय समितिका अध्यक्ष प्रदीप बस्यालको बुवा जो जिल्ला बाल कल्याण समितिका सदस्य तथा साहित्यकार हुनुहुन्थ्यो । उहांको संघर्षशिल जीवनकथा सुनें । जसबाट म निकै प्रभावित थिए । त्यसैगरि समाजसेवि विष्णु लामिछानेको व्यवहारप्रति म साह्रै प्रभावित भए । त्यसैगरि समाजसेवि सुरविर स्थापित, शालिकराम पाण्डे, तत्कालिन प्रमुख जिल्ला अधिकारी माधव शर्मा जस्ता व्यक्तिहरुको मार्गनिर्देशनले मलाई सामाजिक सेवाको क्षेत्रमा लाग्ने अवसर प्राप्त भयो ।

त्यसपछी २०५७ सालमा हिमालय सामुदायिक विकास मञ्च नामक संस्थाले कावासोतीमा ३ दिने बाल भित्त पत्रकारिता तालिम लिने अवसर पाएं । तालिमबाट फर्केपछि गाविसमा गएर २५ जनालाई आफैले तालिम दिए । र कोपिला नामक बाल भित्ते पत्रिका निकाल्ने निर्णय गरियो । जुन पत्रिकाको सम्पादक म स्वम थिए । त्यतिबेला दुर्गम क्षेत्रका दलित, गरिव, असाहय बालबालिकाहरुलाई हिकोडेफले छात्रावृत्ति स्वरुप नगद रकम दिने गर्दथ्यो । तर केही अभिभावकहरुले भने छात्रावृत्ति दिएको पैसा जांड रक्सि खाएर दुरुपयोग गरेको हामीले थाहा पायौँ । त्यसैलाई हामीले भित्तेपत्रिकामा प्रकाशन ग¥यौँ । परिणाम स्वरुप गाविस भरिका सवै अभिभावकहरु सचेत हुन थाले र दाता निकायले छात्रावृत्ति दिँदा नगद नभई कापी किताव दिन थाले । जसकारण बालबालिकाहरुले पढने अवसर पाए । मैले सोचें कि सामाजिक सेवाको महत्वपुर्ण पाटो भनेको सञ्चार जगत पनि रहेछ । त्यसपछि म बाल समुह जिल्ला समन्वय समितिको सचिव भएपछि हामीले उषा नामक बाल पत्रिका प्रकाशन गर्यौं । पत्रिकाको कार्यकारी सम्पादक म आफैं थिए । जिल्ला समन्वय समितिको सचिव रहंदा रुपन्देहीमा रहेका रेडियो लुम्बिनी एफ.एम, बुटवल एफ.एम, विजय एफ.एम.लगायत धेरै एफ.एम र पत्रपत्रिकामा अन्तरवार्ता दिने अवसर पाएं । सोही क्रममा रेडियो लुम्बिनीमा मगर भाषा कार्यक्रम प्रस्तोता मन माया थापासंग भेट भयो । उहांसंगको भेटपश्चात कार्यक्रम चलाउने अवसर पाए । ६ महिनापश्चात फेरी म गैंडाकोटमा रहेको विजय एफ.एममा मगरभाषाको कार्यक्रम प्रस्तोता तथा संवाददाता भएर काम गर्न थाले । काम गर्दै जांदा २ वर्ष अगाडी रेडियो नेपालमा काम गर्ने अवसर पाएं । त्यसपश्चात म मेरो व्यवसायिक जिवन पत्रकारिता क्षेत्रतर्फ मोडियो । त्यसै गरि कान्तिपुर टेलिभिजनमा पनि मलाई काम गर्न बोलाइयो । त्यसैगरी स्थानीय श्रोत साधनको परिचालन गरि कावासोतीमा रेडियो मध्यविन्दु एफ एम खोल्यौं । हाल म यो एफ.एमको साहयक प्रमुखको भुमिकामा कार्यरत छु । मैले पत्रकारिता क्षेत्रमा लागेको दौरानमा दुई पटक मृत्युको मुखबाट बचेको छु । नेपाल पत्रकार महांसंघका केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, महासचिव पोषण केसी, वरिष्ठ पत्रकार तारानाथ दाहाल लगायतसंग तालिम लिने अवसर पाएपछि अझ व्यवसायिक पत्रकारितामा थप पे्ररणा पाएको छ । म कार्यरत रेडियो नेपालका समाचार प्रमुख खगेन्द्र खत्री र कार्यकारी निर्देशकहरुले समेत मेरो कामको प्रशंसा गर्दा अझै पत्रकारिता क्षेत्रमा लाग्न हौसला मिलेको अनुभुति भएको छ ।

पछिल्लो समयमा गाउं टोल टोलमा विद्यालयमा बाल क्लब स्थापना गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छन् । बाल समुह नै बाल अधिकारको बारेमा आवाज उठाने बालबालिकाहरुको आफ्नै संस्था हो । यतिमात्रै होइन बालबालिकाहरुको सामाजिक,शारिरीक,बौद्विक,संवेगात्मक विकास गर्ने थलो हो बाल क्लब । तर पछिल्लो समयमा बाल क्लबलाई विभिन्न विकासे संघसंस्थाहरुले आफ्नो लक्ष्य पुर्ति गर्नका लागि बाल क्लब स्थापना गरि प्रयोग गरिरहेका छन् । यस प्रति जिल्ला बाल कल्याण समितिले विशेष निगरानी गर्न जरुरी छ । यतिमात्रै होइन बालबालिकाको नाम बेचेर लाखौं डलर कुम्ल्याउने संघसंस्थाहरु पनि छन् । त्यसलाई पनि बाल क्लबले निगरानी गर्न जरुरी छ । बालबालिकाको नाममा छुट्याएका योजना परियोजनाहरुको निगरानी गर्न जरुरी छ । बालबालिका सम्बन्धि कुनै योजना तर्जुमा गर्नुछ भने बाल क्लबलाई पनि सहभागीता गराउनुपर्छ । अन्यथा बाल क्लबले त्यसता संघसंस्था माथी औंला ठड्याउन सक्नुपर्छ । अनीमात्र बालबालिकाको लागि सुहाउँदो बिश्वको निर्माण गनर्् हामीले योगदान पु¥याएको मानिनेछ ।

No comments:

Post a Comment