Sunday, November 8, 2009

कारागारः यातनागृह कि सुधारगृह

बिशाल दुनियामा चार पर्खालले घेरिएको सा“घुरो घेराभित्र बन्दी हुनु मानवजातिको रहरको बिषय कदापि हुनै सक्दैन । बन्दी हुनु मात्र परिस्थितिको उपज हो । लक्ष्यको खोजिमा भौंतारिने क्रममा सुखलिप्साले उब्जाएको लोभले ठाउँ लिन पुग्छ । शक्तिको होड र लालचाले डो¥याएको मानविय क्रियाकलापले कानुन, नैतिकता र मानवियता ओझेलमा पर्छ । फलस्वरुप समाजमा अपराध र कानुन उलंगनका घटना घट्ने गर्छन् । अपराध रोक्न र अपराधिलाई सजाए दिलाउन बिश्वमा प्रचलित एउटा साझा तरिका कारागार बनेको छ । बैदिक कालदेखि नै बन्दी बनाइने प्रकृया प्रचलनमा आएता पनि अहिलेको रुपमा रहेको साझा बन्दी गृहको प्रचलन भने १९औं शताब्दीको शूरुवातसँगै बेलायतबाट शुरु भयो । जेरिमि बेन्थमलेको विचारमा आधारित उक्त अवधारण शुरुवात गरेको त्यस समयमा त्यसलाई ठूलै उपलब्धी मानिएको थियो । कारण मृत्युदण्द दिइने त्यसबेलाको समाजमा कारागारमा बन्दी बनाइनु सयाय दिनको लागि नयाँ र सुधार गरिएको अवधारणा मानियो । तर कारागारको पछिल्लो बिकासक्रममा त्यति सुधार आएन ।
कारागारलाई बन्दी सुधारगृह भन्दा पनि यातनागृहको रुपमा बिकास हुनु बिडम्बना हो । परिस्थितिले बन्दी बनाइएका मानवजातिको आरोपित अपराध पक्ष बाहेक समग्र मानविय पक्षलाई सम्मान गर्ने परिपाटीको बिकास गराइएन । कारागार छिरेपछी बन्दीले आफ्नो एउटा नयाँ जीवनको शुरुवात गर्न सिकोस । जसले पछि ऊ त्यही समाजमा फर्कंदा एउटा कम्तिमा एउटा असल नागरिक बनेर निस्कन सक्ने वातावरणको सिर्जना होस् ।

नेपाली छापामा आउने कारागार सम्बन्धी समाचारका बिषयबस्तु सदै बन्द्रीहरुका आन्दोलन र तोडफोडसँग सम्बन्धीत हुन्छन् । ती जायज हुन् । काठमाण्डौंमा, नेपालगञ्ज लगायतका देशका प्रमुख स्थानमा रहेका केही ठूला कारागार बाहेक प्रत्येक जिल्लामा रहने जिल्ला कारागारको भौतिक अवस्था नै निकै दयनिय छ । पिताजी केन्द्रीय कारागार शाखा नेपालगञ्ज लगायत केही जेलमा जेलर हुँदा ति जेलका अवस्थालाई निकै नजिकबाट हेर्ने मौका पाएको छु । जिल्ला कारागारहरु त जेलको अन्तर्राष्ट्रिय मापदण्डसँग मेल नै नखानेगरी निर्माण गरिएका छन् । अझ त्यसमा पछि थोरै सङख्यामा हुने महिला बन्दीहरुलाई एउटै सांघुरो कोठमा कैद गरेर राखिनु कारागार यातनागृहको रुपमा रहेको स्पष्ट आभास गराउँछ । जेलभित्र केही हिँड्न मिल्ने ठाउँका अतिरिक्त सबैजसो धर्मका धर्मपिठहरु, पुस्तकालय जसमा आफ्नो औपचारिक शिक्षा समेत निरन्तर गर्न चहानेले पढ्ने अवसर पाउन, टिभी सहितका मनोरञ्जनका साधन, सक्दो ब्यायाम गर्ने जिम हल जस्ता आधारभुत आवश्यकता हाम्रा जिल्ला कारागारहरुले समेट्न सकिरहेका छैनन् । अझ मानसिक सन्तुलन सन्तुलन ठिक नभएका, सरुवा रोगले ग्रसित भएका जस्ता बन्दीलाई समेत आम बन्दीसँगै राखिन्छन् । फिनल्याण्ड त्यस्तो मुलुक हो जसले चार पर्खालभित्र कैद गराइनुलाई नै ठूलो सजाय ठान्छ । त्यहाँ कारागारको अन्तर्राष्ट्रिय मापदण्डलाई ख्याल गर्दै त्यहाँ प्रत्येक ब्लकमा १६ देखी ५० बन्दीलाई मात्र राखिएको हुन्छ । अझ हाम्रो कारागारमा बालबन्दी, राजनीतिक बन्दी, रोगी बन्दी सबैलाई एकै स्थानमा राखिएको छ ।

नवलपरासी जिल्ला कारागारमा ३ बर्षअघि त्यहाँका बन्दीले कारागार तोडफेड र आगजनी गरे । जसले गर्दा जिर्ण अवस्थामा रहेका त्यहाँको कारागारले अहिले पुर्नजिवन पाएको छ । त्यसक्रममा प्रशासनिक मातहतका ब्यक्तिहरु समेतले ती बन्दीहरुको प्रशंसा गरेको मैले सुनेको थिएँ । जसले के स्पष्ट बताउँछ भने यहाँका सरोकारवालाहरु कारागारका अवस्थाबारे जानकार हुँदाहुँदै केही गर्न सक्ने अवस्थामा छैनन् । अझ अर्को शब्दमा भन्नुपर्दा उनीहरु स्वयं कारागार बाहिरका बन्दी हुन् । बन्दीहरुको आवाजलाई कुल्चनुनै पर्छ भन्ने पनि छैन । “खाली दिमाग सैतानका घर” भनेजस्तै उनीहरुको खेर गइरहेको त्यस समयलाई सीपमुलक एवं सिर्जनात्मक काममा लगाउन सकेमा मात्र देशको कारागार ब्यावस्थापनमा खर्च भइरहेको ठूलो धनराशी सार्थक रुपमा उपयोग हुनसक्छ । जेलभित्र उनीहरुले गर्नसक्ने प्रशस्त कामहरु छन् । ससाना सिलाईबुनाईका कामहरु, हेन्डिक्राफ्टका कामहरु, सिर्जनात्मक लेखाइका कामहरु जस्ता अर्थोपार्जन र सीपबिकास दुबै हुने कामहरु उनीहरुलाई जेलभित्रै गर्ने वातावरणको बिकास गर्नुपर्ने देखिन्छ । अझ केही निश्चित इलाकालाई खुला कारागारको रुपमा बिकास गरी त्यहाँ बिकासनिर्माण र श्रमका काममा लगाएमा बन्दीहरु बन्दी भएर पनि उत्साहित जिवन जिउन सक्नेछन् ।

अस्ट्रेलिया यस्तो मुलुक हो जहाँको अधिकाश जनसङख्या अपराधकै कारण बेलायतले निर्जन ठह¥याइएको ठाउँमा सजाय दिन खुला कारागारको अवधारणाबाट पठाइएका थिए । बेलायतले दुई शाताब्दीअघि त्यहाँ ति गोराहरुलाई सजाय दिन पठाएको थियो । भेडापालनमा ठूलो सम्भावना बोकेको त्यस भेगमा बेलायतले आधुनिकता ल्याएर ठूलो बिकास गर्न सक्यो । त्यही बन्दीहरुद्वारा शिलान्यास गरिएको अस्टेलिया बिश्वकै बिकसित राष्ट्रको अग्रसुचिमा पर्छ । ति बन्दीहरुको अस्ट्रेलिया निर्माणमा ठूलो योगदान रहेता पनि उनीहरुको पृष्टभूमि अपराध नै थियो । ती बन्दीहरुले अस्ट्रेलियामा सजाय भोगेका पनि हुन् । तर सरकारले बन्दीहरुलाई उत्पादनशील काममा लगाउने राम्रो तरिकाको बिकास गर्नाले बन्दी र सरकार दुवैलाई फाइदा भयो । हाम्रो परिपेक्ष सोही ढंगबाट बिकास गर्न भलै नसकिएला तर बन्दीलाई सजायदिन नविनतम र उत्पादनशील अवधारणा ल्याउन उत्त उदहारण निकै महत्वपूर्ण छ ।

हामीकहाँ अझै बन्दीको माववीय पाटोलाई पनि अपराधसँगै जोडेर हेर्ने परिपाटीे छ । अर्कोतर्फ मानवीय र सामाजिक बिकासको आधारशीला निर्माणका निम्ति बिश्वबिद्यालय निर्माणलाई मात्र ध्यान दिने हो भने चार पर्खालभित्र रहेका बन्दीलाई समेत त्यसमा समाहित गर्न सक्नुपर्छ । जेलभित्र लामो समय काटेर फर्कंदा बन्दीले थप अपराधी निर्माण गर्न पोस्साहित गर्ने वातावरणको सिर्जना हुन दिनु हुँदैन ।
सरकारले बन्दी समेत देशकै नागरिक सम्झेर उनीहरुको मनोभावना अनुसार सुधारको बाटोमा लैजान सक्षम ब्यक्तिलाई मात्र जेलरको भूमिका सुम्पनु जरुरी छ । जुन आजका जेलरले गर्न सकेका छैनन् । जबसम्म जेलरको पद बन्दीहरुका लागि हाउजुजी जस्तो रहन्छ र माथिल्लो निकायका ब्यक्तिका लागि खाली समस्यामात्र ल्याइरहने पदको रुपमा रहन्छ । कारागार सदै दिशाहीन हुनपुग्छ । एउटा बिद्यालयका शिक्षकको भन्दा बढी भूमिका रहन्छ जेलरको । शिक्षकले पढाए पुग्छ तर जेलरले खराब बाटोमा फसिसको बन्दीलाई पुर्नजम्म दिनुपर्छ । जेलमा बन्दीले मायालु स्पन्दनको साटो सदा यातना र सझाए मात्र पाएमा कैदी झ्न अपराधी र खतरनाक हुनसक्छ । जसको फेरी हाम्रो समाजलाई कहालिलाग्दो बनाउँछ ।


http://nagariknews.com/

No comments:

Post a Comment