Sunday, November 8, 2009

कथा: बुबासँग हिमाली गाउँ

“आज पनि घुम्न नजाने ?” किरणले बुबालाई सोध्यो । बुबा केही बोल्नु भएन । शनिवार भएता पनि आज पनि वहाँको अफिसको काम गर्नुपर्ने थियो । “अरु कुनै दिन जाउँला नि है” बुवाले किरणलाई सम्झाउने प्रयास गर्नुभयो । तर उसले मानेन । ऊ त रुन पो थाल्यो । बुवाले शनिवार घुम्न जाने भनेको पनि महिनादिन नाधिसकेको थियो । तर अफिसको कामले गर्दा उहाँले कुनै शनिवार पनि उसलाई घुमाउन भ्याउनुभएको थिएन । छोरा रोएको देखेर वहाँलाई निकै नमज्जा लाग्यो । वहाँले भोलि आफू जाने हिमाली गाउँको यात्रामा उसलाई पनि साथै लाने बाचा गर्नुभयो । अफिसको कामले गर्दा वहाँ हिमाली गाउँ जान लाग्नुभएको थियो ।

अर्कोदिन किरण बुवाभन्दा चाँडै उठेर नवाइधुवाई गरेर जाने सुरसार गर्न शुरु ग¥यो । आमाले उसलाई राम्रा लुगा लगाएर चिटिक्क पार्नुभयो । हिमालतिर जाडो हुने हुनाले आमाले उसलाई न्यानो ज्याकेट लगाइदिनुभयो । त्यसपछी बुवासँग किरण किमाली गाउँको यात्रामा लाग्यो । हिमालतिर कहाँ जहाँतँही मोटरबाटो हुन्छ र ? केही घण्टाको बसयात्रापछि उनीहरु पैदल यात्रा गर्न थाले । नयाँ ठाउँ एवं नौलो परिवेश देखेर किरण निकै रमाइलो मानिरहेको थियो । उसलाई हिँड्नु परेता पनि थकाई चाहीँ लागेन । तै पनि बेलाबखत बुवाले उसलाई काँधमा बोक्नु हुन्थ्यो । हिँद्डा–हिँड्दा रात पनि पर्न थाल्यो । तर अफिसले पठाएको गाउँ पुग्न अझै एकदिन लाग्थ्यो । आज उनीहरु त्यतैकतै बास बस्नुपर्ने भयो । त्यता घरहरु थोरै थिए । सायद सबै सुगम ठाउँतिर झरेर पो हो कि ? निकैबेर खोजेपछि एउटा सानो घर भेटियो । बुवाले ‘बास पाईन्छ कि ?’ भनेर सोध्दा धेरैबेर उनीहरु केही बोलेनन् । एकले अर्काको मूखतिर हेर्न पो थाले । तर एकछिन्पछी बुढीआमैले ‘हुन्छ’ भनिन् । किरण पनि निकै थाकेको हुँदा विस्तारामा गएर आराम गर्न हतार मानिसकेको थियो । तर कहाँ उसको घरको जसतो आरामदायी बिस्तारा होस् ? त्यै पनि बुढिआमैले बिस्तारा र एउटा सिरक ल्याइदिइन् ।

राती परिसकेको हुँदा उनीहरु सुत्ने तर्खरमा थिए । बाटाभर धेरै खाँदै आएको हुँदा खासै भोक पनि थिएन । एकछिन पछी आमैले ढोका ढक........ढक.........गरिन् । उनले दुध ल्याइदिएकी रहिछन् दुवैले दुध खाएर सुत्न थाले । दुइवटा मात्र कोठा भएको त्यस घरमा हामी दुईलाई एउटा कोठा दिएर उनीहरु सबै अर्को कोठामा बसे । थकाई लागेता पनि दुवैलाई निद्रा चाँही लागेन । किरणले घडी हेर्दा रातको एघार बजेको रहेछ । सुनसान रातमा अचानक आवाज सुनियो । त्यो अर्को कोठाबाट थियो । ति घरका केटाकेटीहरु कराइरहेका थिए । रोएजस्तो पनि सुनिन्थ्यो । आवाजमा ‘मलाई हात, मलाई खुट्टा, मलाई टाउको’ भनेको सुनियो । किरणले एउटा कथामा हिमाली मान्छेले मान्छे नै खान्छन् भन्ने सुनेको थियो । त्यसले ऊ झन् आत्तियो । तर बुवाले आत्तिनु पर्दैन् भन्दै उसलाई काखमा च्यापेर राख्नुभयो । डरैडरमा रात बित्यो । धन्न केही चाँही भएन । भोलि बिहानै उनीहरु हिड्न खोजे । बाहिर निस्कँदा बुढीआमै बाहिरै थिइन् । डरैडरका बिच उनीहरुले बिदा मागे । बुवाले बास दिएवापत सय रुपैयाँ दिनुभयो । तर ति आमैले लिन मानिनन् । उनीहरु जान लाग्दा केटाकेटी पनि बाहिर आए । उनीहरुले झुत्रा लुगा लगाएका थिए । बुवा र किरणलाई ‘बाई–बाई’ गरे । हामी त्यहाँ बाट बिदा भयौं ।

बुवाको काम सकेर घर फर्किए । उक्त यात्रा किरणलाई एउटा कहिल्यै नभुल्ने घटना भयो । बुवाले पछिमात्र किरणलाई बताउनु भयो –“त्यो घरमा एउटा मात्र सिरक रहेछ , त्यै पनि हामीलाई दिँदा उनीहरु जाडो भएर कराएका थिए । एउटा सानो लुगाले सबैलाई आढ्दा नपुगेर मलाई हात, मलाई खुट्टा, मलाई टाउको भनेका थिए” । उनी भोकाएका पनि थिए किनभने उनीहरुको भागको दुध किरण र उसको बुवालाई दिइएको थियो । उनीहरु पाउनालाई देउता सरह मानेर सम्मान गर्न त्यसो गरेका रहेछन् । त्यै भएर उनीहरुले बास दिएवापतको सय रुपैयाँ पनि लिन मानेनन् । हिमालका मानिस निकै सहयोगी हुन्छन् भन्ने बोध किरणलाई भयो । त्यसै हिमालमा मान्छेले मान्छे खान्छन् भनेर लेखिएको उक्त कथा झुटो भएको उसले बुझ्यो । उक्त कथाका कथाकारलाई उसले एउटा चिठ्ठी लेख्यो– यस्तो झुटो कुरा नलेख्नु भनेर ।

No comments:

Post a Comment