Thursday, October 29, 2009

कौराकी कान्छी


त्यसो त उनी त्यती गफी होलिन्जस्ती छैनिन् । त्यसैले पनि होला उनीसँग दिनहूँ आँखा जुध्दा पनि अझै परिचयसम्म हुन सकेको छैन । रुचाङ्ग छिरेको तेस्रो दिन स्थानिय युवा क्लबले हाम्रो सम्मानमा राखेको कौरा नाच मा फेरी उनीसँग जम्काभेट भयो । “आज त नबोली छाड्दिन ।” मैले मनमनै योजना बुन्दै थिएँ । तर पनि मलाई सोचेजस्तो सहज थिएन, त्यहाँ । कारण म त्यहाँ अतिथिको रुपमा थिए । एक बिकासे सँस्थाको प्रायोजनमा स्थानिय बालक्लबका सदस्यहरुलाई बाल पत्रकारिता तालिमका लागि हामी त्यहाँ पुगेका थियौँ । रुचाङ्ग, सम्भवत नवलपरासी जिल्लाको सबैभन्दा बिकट उच्च पहाडी भाग हो । न मोवाइल, न टिभी । बेलाबखत रेडियो नेपाल भने मेरो मोवाइलमा टिप्थ्यो । पूरा एकदिनको डरलाग्दो बाटो, पुरानो रसियन मोडलको जीप, अझ त्यसमाथी पनि जीपको छतमा बसेर यात्रा । हाम्रो लागि रुचाङ्गसम्मको यात्रा कम्ती रोचक थिएन । जीपभित्र बसेर यात्रा गर्न समयअगावै टिकट लिनुपथ्र्यो । जसमा हामी चुकेका थियौँ । धन्न हाम्रो पुर्पुरो बलियो रहेछ । कमसेकम गाडीमा पाइला टेक्न त पाइयो । अझ त्यसमाथी म घर थाह नदिई रुचाङ्ग हानिएको थिए । मसँग कान्तिपुर टिभीका रिपोर्टर केबी राना साथै थिए । मगर गाउँ भएको हुँदा त्यहाँ उनको रौनक बेग्लै थियो । म त बाहुनको छोरो । मगरभाषा पनि त्यतिसारो बुझ्दििनथेँ । सबै मगर भेषमा सजिदाँ म भने जिन्सपान्ट र टिसर्टमा थिएँ । जसले मलाई अफ्ट्यारो महसुस गराइरहेको थियो । म कताकता त्यो भिडमा म आफूलाई जेम्स बन्ड महसुस गरिरहेको थिएँ । जेम्स बन्ड सिरिजको डिटेक्टीभ पात्रजस्तो ।


घडीमा रातीको आठ बज्दै गर्दा युवायुवतीहरुको भिड ठूलै भइसकेको थियो । छिमेकी गाउँका मगर युवाहरु ठाँटिएर आउने क्रम जारी थियो । रुचाङ्गकै स्थानिय केटीहरु पनि मगर भेषमा सजिएर बसेका थिए । आगनको अघिल्लो भागमा एकपट्टीबाट केटाहरुले कौरा गाउन शुरु गरे....


आज मलाई सन्चो छैन

घर जान मन छैन

यो नानीले बस भन्दैन


केटीहरु मच्चिएर नाच्न थाले । जसमा मैले शुरुमा कुरा गरेकी पात्र पनि थिइन् । सबैको ध्यान उनैमाथी थियो । मलाई रमाइलो नहुने त कुरै भएन । अझ मगर संस्कारमा उमेर पुगेकाहरुले आफ्नो बिहेको लागि केटा÷केटी छान्न यो राम्रो अवसर हो । प्रायः मगरहरुको बिहे रोदी, झाम्रे र कौरा गाउँने क्रममा छिनिन्छ । त्यसैले पनि त्यहाँ आउने युवायुवतीले आफ्ना नजिकका नातेदारलाई लिएर आउँछन् । गाउँदा गाउँदै केटाकेटीको मन मिलेमा त्यहीँ बिहेको कुरा छिनिन्छ । बिहेको प्रस्ताव पनि शहरिया पारामा “आइ लभ यु” भन्दै गुलाफको फूल दिएर होइन । कौरा भाकामै गाएर । केटीलाई केटा मन परेमा गाएर उसको प्रस्ताव स्विकार्छन् । कौरामा केटीले गाउँने भनेको सामान्यतया त्यही बेला मात्र हो । कौरा यस्तो नाच हो, जसमा केटाहरु बढी गाउँछन् । केटीहरु नाच्छन् । अझ त्यसमा पनि अर्को गाउँमा गएर गाइने कौरा नै वास्तविक कौरा नाच हो । होस्ट गाउँका केटीहरुले अन्य गाउँका केटाहरुलाई आफ्नो गाउँमा कौरा गाउन लागि निम्तो दिन्छन् । त्यहाँ ति आगन्तुक केटाहरुको बिशेष संस्कार गरिन्छ । केटाहरु फर्कने बेलामा मन परेकी केटीहरुलाई पैसा र गरगहना दिन्छन् । यो नाच आपसी मित्रता बढाउने अवसर पनि हो । सबैले आफू सुहाउँदो जोडिको खोजिमा थिए । अझ गाउनुपूर्व उनीहरुलाई छ्याङ ख्वाएपछी त कौराको वास्तविक रौनक झल्किँदो रहेछ । नशामा उनीहरुले लज्जा महसुस गर्दैन र खुलेर गाउँछ थाल्छन् । तर त्यसमा छाडा उश्रृङखलता मिसिँदैन । पाउना केटाहरुले त्यहाँका केटीहरुको प्रशंसा खुबै गर्दारहेछन । जो कौरा सफल हुने ठूलो कडी रहेछ..........................


तिमी कती भएकी राम्री

बनाउन पाए हुन्थ्यो नी हाम्री


कौरा अनुभव मेरा लागि पहिलो थियो । त्यसभन्दा ठूलो अनुभव मलाई आफ्नो संस्कृतिप्रति जिम्मेवार ति मगर गाउँका युवाहरुको संस्कृति मोह लाग्यो । कार्यक्रमको अन्त्यमा मैले ती युवाहरुको प्रशंसा बोलेरै गरे । किनकि मसँग कौरा गाउने साहस थिएन । चार दिन चार रात खेल्दा समेत नसकिने रहेछ यो नाच । जति लम्ब्यायो त्यती लम्बिने । अझ कुनै केटी असाध्यै मन परेमा उसले बिहेको प्रस्ताव नस्विकार्दासम्म कौरा गायन चलिरहन्छ । मलाई कलेज पढ्दाका ति साथीहरुको याद आयो । जो ग्लोबलाइजेसनको नाममा छाडा पश्चिमा संस्कृतिको घोतक डान्सबारमा र डान्सरेष्टूरामा रमाउँछन् । पैसाको भरमा मात्र कामुकताको लागि । जो आफूलाई निकै पढइया सोच्छन् । तर रुचाङ्गका ती युवाहरु काठमाण्डौँ खाल्टोका युवाभन्दा धेरै कम पढेका होलान् तर आफ्नो संस्कृतिलाई बचाएर राखेका छन् ।


बिहान ५ बजेतिर कौरा नाच सकिएछ । हामी भने ४ बजेको पहिलो जीपको टिकेट लिइसकेका थियोैँ । र फर्कियौँ । साँझ पख कावासोती पुग्दा नेटवर्कमा फ्याकिएका दुइ दर्जन मेसेज मेवाइलमा छिरे । आधाजसो पिताजीकै थियो “प्रदीप, तिमी कहाँ छौ ?” जस्ता नानाथरी लेखिएका । तर ममा भने त्यही लेखको शुरुमा उल्लेख गरेकी पात्रसँग परिचय गर्न नसकेको पछुतोले सताइरहेको थियो । सायद मैले रुचाङ्ग छाड्दै गर्दा उनको पनि बिहे पनि छिनियो होला । कान्छी भनेर बोलाइने ति सायद मेरा लागि कान्छीमै बिदा भइन ।


Copied from Hello Shukrabar, a youth suppliment on KANTIPUR daily via http://www.ekantipur.com/

1 comment: