Sunday, November 8, 2009

रेडियोमा बोल्दै बालबालिका

चेतनारायण सापकोटा एक स्कुले बिद्यार्थी हुन् । शुक्रबार स्कुलबाट फुर्सद पाउनेबित्तिकै उनी सामुदायिक रेडियो बिजय एफ.एम.को कार्यालय गैंडाकोट पुग्छन् । त्यहाँ उनले हप्ताभरीका बाल समाचारलाई बालबालिकाले बुझ्ने सजिलो भाषामा सम्पादन गर्छन् । ति समाचार रेडियोकै संवाददाता, बिद्यालय, बाल क्लब र बालबालिका स्वयंले पठाउँछन् । उनले अन्य पत्रपत्रिकाबाट पनि बालबालिका सम्बन्धी समाचार झिकेर सजिलो भाषामा तयार पारेपछी शनिवारको बाल समाचारमा पाठ गर्छन् । उता अपेक्षा सापकोटा र रश्मी सापकोटा भने हप्ताभरका ५ दिन साँझ बिजय एफ.एम.मै बाल कार्यक्रम संचालने गर्छन् । स्कुलबाट फर्केपछीको केही समय रेडियोमा बिताउन पाउँदा उनीहरु दंग छन् । उनीहरुजस्ता धेरै बालबालिकाहरु रेडियोमा आएर आफ्ना सिर्जनाहरु सुनाउँछन् ।

अहिले यताका रेडियोहरुमा बालबालिकाको सहभागिताको क्रम बढ्दो छ । कोही कार्यक्रम संचालकका रुपमा त कोही बाल कार्यक्रमहरुमा आफ्ना सिर्जना पस्तुत गर्ने सहभागिका रुपमा । कक्षा ३ मा पढ्दै गरेकी कोपिला पराजुली समयसमयमा रेडियो लुम्बिनी, मणिग्राममा गएर गीत सुनाउँछिन् । “रेडियोमा बोलेको सबैले सुनें भन्दा साह«ै खुसी लाग्छ ।”– कोपिलाले भनिन् । त्यस्तै कक्षा ५ मा पढ्ने संदीप गैरे पनि बेलाबखत रेडियोमा गएर आफ्ना रचनाहरु सुनाउँछन् । उनको स्कुलबाट पनि आजकल रेडियोमा रचना पढ्न आउनेको ताँती नै लाग्छ । “आफूमा भएको प्रतिभा रेडियोबाट सबैलाई सुनाउन पाइने हुँदा हामीलाई निकै हौसला मिलेको छ ।”–सन्तोष भट्राईले भने । उनी रेडियो लुम्बिनीमा कविता सुनाउन भनेर आएका थिए । बालबालिकाहरु आँफै समूह बनाएर रेडियोमा नाटक पनि प्रस्तुत गर्छन् । ति नाटक बालबालिका आँफैले लेख्छन र पात्र चयन पनि आँफै गरेर आउँछन् । “बिद्यार्थीहरुलाई पायक पर्नेगरी रेडियोले प्रत्येक दिन बेलुका ६ बजेदेखि आधा घण्टाको लागि समय छुट्याएको छ ।”– रेडियो लुम्बिनीका कार्यवाहक प्रमुख गुरुदत्त ज्ञवालीले भने । “यदि टाढाका बिद्यार्थी भएमा हामी अन्य समयमा पनि उनीहरुका सिर्जना रेकर्ड गराएर बजाउने गरेका छौं ।”– ज्ञवालीले थपे । रेडियोमा प्रस्तुत हुने कार्यक्रम मुलतः बाल अधिकार, बालिका शिक्षा, बाल श्रम र बिभिन्न कुरितिबारे केन्द्रीत हुन्छन् । हप्ताभरका बाल कार्यक्रमहरु उनीहरुलाई नै लक्षित गरेर तयार गरिएका छन् । “फूलबारी, कोशेली नाम गरेका कार्यक्रमहरुमा बालबालिकाहरु स्वयं स्टूडियोमा आई रचना प्रस्तुत गर्छन् । शनिवारको हेलो साथी कार्यक्रममा फोनबाट बालबालिकाहरु बोल्छन् भने अन्य दिनका कार्यक्रमहरुमा बालबालिकाहरुले नै लेखेर पठाएका रचनाहरु पढ्ने, नाटक सुनाउने र बालप्रतिभाको अन्र्तवार्ता लिने समय तालिका रेडियोले तयार पारेको छ ।”– रेडियो लुम्बिनीकै बाल संचालक बिष्णु पौडेलले बताए ।

त्यस्तै रेडियो लुम्बिनीमै संचालन हुने अपाङ्ग आवाज कार्यक्रम कक्षा ९ मा पढ्ने दृष्टिविहीन बिद्यार्थी मदन भण्डारीले संचालन गर्छन् । साप्ताहिक रुपमा संचालन हुने कार्यक्रममा उनले अपाङ्गका सरोकारका बिषयलाई उठाउँछन् । “अपाङ्गलाई परेको समस्याबारे ठूलाबढासँग अन्र्तवार्ता लिंदा अपाङ्गबारे बहस हुन थालेको छ ।”– मदनले भने । उनकै कार्यक्रमको पहलमा दृष्टिबिहीनलाई यातायातमा ५० प्रतिसत छुट हुने अभियानले सफलता पाएको छ ।

सामुदायिक रेडियो मदनपोखराले भने बालक्लबहरुसँग मिलेर बाल कार्यक्रम संचालन गर्छ । सेभ द चिल्ड्रेन नर्वेले खोलिदिएका बाल क्लबहरु भित्रै रेडियोको बाल श्रोता क्लबहरु स्थापना भएका छन् । तिनै श्रोताक्लबहरुले पठाएका सामाग्री कार्यक्रममा मुख्य रुपमा बज्छन् । त्यसका साथसाथै रेडियोका कर्मचारीहरु स्वयं ति बाल क्लब एवं बिद्यालयहरुमा पुगी बालबालिकाका रचना र क्रियाकलापहरु उनीहरुकै स्वरमा रेकर्ड गराई रेडियोमा बजाउने काम पनि गरेको छ । “भौगोलिक बिकटताका कारणले स्थायी रुपमा बाल संचालक राख्न नसकेता पनि कोहीले रहर गरेमा उसको क्षमता हेरी बालबालिका नै संचालक राख्ने सोच रेडियोले बनाएको छ ।”– रेडियो मदनपोखराका स्टेसन म्यानेजर गुणाकर अर्यालले बताए । यहाँको बाल कार्यक्रममा उनीहरुका रचनाका अतिरिक्त बाल समाचार, सफलताका कथा र बाल अधिकार सम्बन्धी बिषयबस्तु प्रमुख हुन् ।

उता रेडियो लुम्बिनी र रुपन्देही एफ.एम.ले स्थानीय भोजपुरी र थारु भाषामा पनि बाल कार्यक्रम संचालन गर्छ । स्थानीय भाषामा कार्यक्रम संचालन गर्दा अभिभावकमा सचेतना फैलाउन सजिलो हुने रेडियोको तर्क छ । त्यसैगरी पाल्पाको मुक्तिनाथ एफ.एम.ले पनि हप्ताका सातै दिन बाल कार्यक्रम संचालन गर्छ । जसमा स्थानीय चाडपर्व, सामान्यज्ञान र बालअधिकारका बिषयहरु पर्नेगरेको संचालकद्वय सम्झना रोका र माया बिक बताउँछन् ।

लुम्बिनी अञ्चलभर अहिले ९ वटा एफ.एम. संचालन रहेकोमा पश्चिमाञ्चल एफ.एम. पाल्पाबाहेक सबैले बालबालिकाको लागि भनेर समय छुट्याएका छन् । अहिले परिक्षण प्रशारण गरिरहेका रुपन्देहीका २ नयाँ एफ.एम.ले पनि बालबालिकाको लागि कार्यक्रम बनाउने सोच रहेको बताएका छन ।

No comments:

Post a Comment