Monday, November 2, 2009

लन्डन ड्रिम्स

नाम 'लन्डन ड्रिम्स' भए पनि यो संगीतको सपनाको कथा हो। पञ्जाबमा जन्मेर 'माइकालाल जयकिसन' बन्न चाहने केटाको संगीत सपनालाई कसरी उसकै 'स्वाँठ' साथीले उडाइदिन्छ, फिल्मले त्यसको कथा भन्छ ।

सन् १९८४ मा आठ वटा ओस्कर जितेको फिल्म 'एमाडुस' र हिन्दी फिल्म 'रक अन'को अस्वभाविक मिश्रणबाट 'लन्डन ड्रिम्स'को घोल तयार हुन्छ। फिल्मको मूल द्वन्द्व जन्मिदै ल्याउने प्रतिभा ठूलो कि मान्छेको मेहनत र ज्ञान भन्ने हो। सफलता/असफलताको जश अपजश जन्म र भाग्यलाई दिने समाजमा जस्तै यो फिल्ममा पनि मान्छेका तमाम मेहनत र ज्ञानमाथि जन्मजात प्रतिभाले विजयको झन्डा फहराउँछ।

'लन्डन ड्रिम्स'लाई मुर्ख फिल्म भन्दिए हुन्छ। बलिउडी निर्देशकको खुबी भनेकै दर्शकलाई मुर्ख बनाउने खुबी हो। तर, बेलाबेला थाहै नपाई 'लन्डन ड्रिम्स'मा झैं निर्देशक आफै मुर्ख बन्न पुग्छन्। गोराहरूले भरिएको लन्डनको स्टेडियम (जसलाई फिल्ममा संसारको सबभन्दा ठूलो स्टेडियम भएको गलत सुचना दिएको छ) मा हनुमान चालिसा गाएर रकस्टार बनाउन खोज्नु बेबकुफी हो। फिल्ममा जता पनि हिन्दी बोलिरहेका गोरा भेटिन्छन्। मानौं, भारत बेलायतको होइन, बेलायत चाहिँ भारतको उपनिवेश थियो!


अर्जुन दृष्टिले विम्ब्ले स्टेडियम ताकेर बसेको संगीतकारले जब त्यही स्टेडियम पाउँछ, उ दर्शकलाई गाली गर्न थाल्छ। मनले एउटी केटी मन पराउँदा उ पेटीले हिर्काएर आफैलाई सजायँ दिन्छ। तर, आफ्नो सबभन्दा मिल्ने साथीलाई समाप्त पार्नजस्तो अपराध गर्न पनि तयार हुन्छ।

अर्को पात्र छ, जो आफ्नो साथीको महानताको तारिफ गरेर थाक्दैन तर त्यही साथीको मनस्थिति र मनोविज्ञान कहिल्यै बुझ्दैन। तर, भयंकर झगडापछि जब माफी माग्न साथी भारत फर्किन्छ, उ भन्छ, 'मलाई थाहा थियो तँ आउँछस्।' फिल्मको सबैभन्दा ठूलो कमजोरी यसको निर्देशन हो। अत्यन्त जटिल मानवीय भावना र मनोविज्ञानलाई फिल्मले एकदमै सतहीरूपमा पेश गर्छ। अतिनाटकीयताको बलिउडी रोगले यो फिल्मलाई पनि ठाउँठाउँमा समाउँछ। जबजब द्वन्द्व बढ्न तबतब पात्रहरू भगवानलाई एक झमट गाली गरेर उम्किन्छन्। न त फिल्मका चरित्र विश्वसनीय र प्रभावशाली छन् न घटना नै। संगीतका विषयमा बनेको फिल्मको संगीत पनि उत्तिकै कमजोर छ। चालीसको उमेर पार गरेका फिल्मका हिरोहरू रकस्टारको भूमिकामा निकै थकित देखिन्छन्।

सामान्यतयाः निकै मिल्ने साथीका रुची, स्वभाव र जीवनका प्राथमिकता पनि मिल्छन्। तीनै प्राथमिकताले मान्छेलाई नकिज ल्याइपुर्‍याउँछन्। तर, 'लन्डन ड्रिम्स'का साह्रै मिल्ने साथीका यी कुनै पनि कुरा मिल्दैनन्। तैपनि, पटकथालाई तन्काउनु पर्ने श्राप परेझैं यी पात्र आपसमा मिल्छन्। अर्को अचम्म लाग्दो कुरा के छ भने 'दुई हिरोवाला फिल्मको धर्म निर्वाह गर्दै' यिनले पनि एउटै केटी मन पराइदिन्छन्। दोस्रो भाग चाहिँ यिनको भयंकर ईष्या, षडन्यत्र र हिनताबोधले भरिएको छ।

त्यसमाथि ओसिएको बारुदजस्तो फिस्स पड्किने क्लाइमेक्सले फिल्मका सारा द्वन्द्व र घटनालाई बेकार सावित गरिदिन्छन्। पूरै फिल्मभरी कठोर खलनायकका रूपमा पेश भएको पात्र अन्त्यमा काकाको एक लाइनको संवादमा आगो बिना नै मैनझैं पग्लिन्छ र माफी माग्न तयार हुन्छ।

'लन्डन ड्रिम्स' सलमान खानको आजसम्मको सबैभन्दा राम्रो अभिनय भएको फिल्ममा पर्छ। महत्वकांक्षा र ठूला योजना नभएको युवाको हल्काफुल्का भूमिकामा सलमान खान मनोरञ्जक छन्। सलमानका केही जोक पनि नहुने हो भने यो फिल्म झेल्नु सजाय हुनेछ। आइरिस ब्यान्ड युटुका प्रसिद्ध गायक बोनोको 'लुक' धारण गरेपनि अजय देवगन रकस्टार लाग्दैनन्। प्रशस्त खलनायत्व बोकेको चरित्रमा उनको अभिनय भने प्रभावशाली छ। 'गजनी'जस्तो फिल्मबाट बलिउडमा आएकी आसिनले कुनै प्रभाव पार्दिनन्। न उनको चरित्र गतिलो छ न अभिनयमा कुनै जादु।

copied from http://nagariknews.com

No comments:

Post a Comment